भर्खरै :

प्राविधिकको कमजोरीले भूकम्प पीडितले पाएनन् अनुदान

– तारानाथ आचार्य
बलेवा, २८ फागुन । वर्षौ बित्दासमेत यहाँका भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचीकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताएका छन् ।
एकमुष्ट रु. तीन लाख अनुदान पाउनुपर्नेको सङ्ख्या जैमिनी नगरपालिका वडा नं १ र २ मा धेरै छ । त्योबाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको छ । विशेष गरेर प्राधिकरणले प्राविधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचीकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङले जनाएको छ ।
घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौँले अझै ऋणको भारी बोकिरहेका छन् । सरकारले निजी निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा ग¥यो । सोहीअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर, उनीहरू जस्तै कयौँ पीडितले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राविधिकले जाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकाले उनीहरूका घर सरकारले बनाएको कार्यविधिमा परेका थिएनन् ।
वास्तविक भूकम्प पीडित भएकाले पीडितको सूचीमा सूचीकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए । “प्राविधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो”, लम्सालले भन्नुभयो । पछि पहिल्यै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रक्रिया पूरा गरेर गयौँ तर रकम पाइएको छैन । निजी आवास पुनःनिर्माणको अनुदानका लागि धाउँदा समयको बर्बादीमात्रै भएको लम्साल बताउनुहुन्छ । उनीहरूले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जैमिनीमा मात्रै ४२ परिवारले प्राविधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन ।
राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको विसं २०७५ माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकालाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका स्रोतव्यक्ति विक्रम सापकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार, प्राविधिक आउनुपूर्व घर बनाइसकेका ३७७ परिवारले एकमुष्ट रु. तीन लाख भुक्तानी पाएका छन् । “निर्णयअनुसार कार्यविधि बनेको छ, कार्यविधिले रोकेको कुरा हामीले गर्न मिलेन”, सापकोटाले भन्नुभयो । बाँकी पीडितको अवस्थाबारे रिपोर्टिङ भएको छ, माथिबाटै निर्णय होला । अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राविधिक पुग्नु अगावै घर बनाएका तर प्राविधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् ।
पीडितहरू प्राविधिकको लापरबाहीका कारण आफूहरूले पाउने रकम रोकिएको बताउँछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भन्नुभयो, “प्राविधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आइलाग्यो ।” आशा देखाएको अनुदान नपाउँदा आफूहरूलाई थप पीडा भएको उनीहरूको गुनासो छ । जिल्ला कार्यान्वयन एकाइले भने प्रक्रिया पूरा भएका कसैको पनि अनुदान नरोकिएको जनाएको छ । यसवर्ष बजेट नपुगेकाले प्रक्रिया पुगेकाको पनि रकम पठाउन सकिएको छैन । एकाइका सूचना अधिकारी चुर्णबहादुर कार्कीले भन्नुभयो, “दोस्रो किस्ता पाउनुभनेको प्राविधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन ।”
चालू आवमा बागलुङमा निजी निवास पुनःनिर्माणको लागि मात्रै रु. १२ करोड बजेट थियो । जिल्लामा सूचीकृत भएका २ हजार ६३१ पीडित छन् । पीडितमध्ये २ हजार २२६ ले पहिलो किस्ता, १ हजार ५९९ ले दोस्रो किस्ता र १ हजार ३२९ ले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रवलीकरण गर्नुपर्ने १६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले जानकारी दिनुभयो । दुई जनाले दोस्रो किस्ताको रकम पाएका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *