भर्खरै :

न्यौपानेहरू के गर्लान् कुन्नि ?

 करभिका
बिहीबारको नयाँ पत्रिकामा लेखनाथ न्यौपानेको ‘नेकपा अर्थात् भौतिकवादविरोधी’ शीर्षकको लेख छलफलयोग्य छ । न्यौपाने स्वयम् सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् । तथापि उनी नेकपाभित्र मौलाएका अनेकन सैद्धान्तिक र व्यवहारिक समस्याबारे लेख लेखिरहन्छन् । सायद पार्टीभित्र आफ्ना कुरा राख्ने ठाउँ नपाएपछि उनी यसरी नै अखबारमा अभिव्यक्त हुने गरेका छन् । केन्द्रीय सदस्यले नै आफ्नो कुरा राख्ने ठाउँ नपाएपछि नेकपाभित्र लोकतन्त्र कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।
बिहीबार प्रकाशित लेखमा उनले मूलतः सत्तारुढ दलभित्र मौलाइरहेको भौतिकवादविरोधी चिन्तन र व्यवहारबारे चर्चा गरेका छन् । संसारका कम्युनिस्टहरू भौतिकवादी तरिकाबाट कुनै पनि घटना, विषय र प्रवृत्तिलाई विश्लेषण गर्छन् । तर, आज नेकपामा भौतिकवादी चिन्तन र व्यवहार दुर्लभ भइसकेको अवस्थामा अब त्यो पार्टी कम्युनिस्ट हो वा होइन ? न्यौपानेले लेखमार्फत यो प्रश्न उठाएका छन् । नेतृत्व तहमा झाङ्गिएको यस्तो चिन्तन र व्यवहारको प्रभाव क्रमशः कार्यकर्तामा पर्दै गएको र समग्र पार्टी नै भौतिकवादी सोचाइबाट च्युत बनेको उनको निष्कर्ष देखिन्छ ।
माओ त्से तुङले भन्नुभएको छ–सबै कुराको निर्णय राजनीतिले गर्छ । नेकपामा देखापरेका यी सबै विरोधाभाषको मूल जड पनि नेकपाले अङ्गीकार गरेको राजनीतिक विचारधारा नै हो । एमालेको जन्म नै पुँजीवादी पार्टीको रूपमा भएको थियो । नाम र शब्दमा कम्युनिस्ट, माक्र्सवादी–लेनिनवादी भन्न नछोडे पनि एमालेले माक्र्सवाद–लेनिनवादबाट अलग भएको धेरै अघिबाटै हो । कम्युनिस्ट आन्दोलनभित्र माओवादीको उदयका धेरै राजनीतिक आधारमध्ये एउटा आधार एमालेको बुर्जुवाकरण पनि थियो ।
समयको विडम्बना, एमालेसँग माओवादी मिलेर आजको नेकपा बनेको हो । माओवादी एमालेकरण भयो वा एमाले माओवादीकरण भयो, अब यो छलफल निरर्थक छ । निष्कर्षमा दुवै पार्टी मिलेर नेपालमा नेपाली काङ्ग्रेसभन्दा ठूलो पुँजीवादी राजनीतिक दल बनेको छ । नेकपाले पुँजीवादी राजनीतिक विचारधारा अङ्गीकार ग¥यो । तर, उनीहरूले फेरि पनि आफूलाई कम्युनिस्ट र माक्र्सवादी–लेनिनवादी भन्न छोडेका छैनन् । यद्यपि उसले त्यसअनुसारका चरित्र भने पाइला पाइला गर्दै छोड्दै गयो । यो प्रक्रियाका धेरै आयाम र चरण हुन्छन् । यो प्रक्रियाको मूल जरा भने राजनीतिक दिशा हो । न्यौपानेले उठाएका सांस्कृतिक पक्ष त्यही राजनीतिक दिशाका परावर्तनमात्र हुन् ।
नेकपाले नेपाली जनताको आँखामा छारो फाल्न मात्र माक्र्सवाद–लेनिनवाद र काङ्ग्रेसभन्दा भिन्न देखिन मात्र कम्युनिस्ट शब्दको प्रयोग गरिरहेको छ । यसबाहेक पार्टी कार्यालयको साइनबोर्डमा लेख्नबाहेक नेकपाको लागि कम्युनिस्ट र माक्र्सवाद–लेनिनवाद शब्दको कुनै अर्थ छैन । नेकपाले बोकेको विचारधारा पुँजीवादी प्रजातान्त्रिक विचारधारा हो र उसले मलजल गरिरहेको राजनीतिक बन्दोबस्त पुँजीवादी प्रजातन्त्र हो ।

नेकपाभित्र जेलिएको वैचारिक स्खलन न्यौपानेहरूले कसरी छिचोल्लान् ? त्यो भन्न गा¥हो छ । न्यौपानेहरूका अखबारी लेखनले मात्र त्यो (डुब्ने सङ्केत देखिएको) टाइटानिक जहाजलाई जोगाउन सकिने हो वा होइन ? न्यौपानेहरूले उठाएका प्रश्नलाई ‘पुरातन’, ‘म्याद नाघेको सोच’ आदि भनेर पन्छाउन नेताको आशिर्वाद पाएका पैसावालहरूले कति खर्च गर्ने हुन् ? नेकपा नामको ‘अजियनको तबेला’ सफा गर्ने सामथ्र्य न्यौपानेहरूसँग छ वा छैन ? अथवा घनश्याम भुषालहरूको जस्तो मन्त्रीपद नपाउँदासम्मको लागि यो घुक्र्याइँ मात्र पो हो कि ? समयले बताउनेछ । तर, नेकपाको गलत र स्खलित वैचारिक र राजनीतिक सिद्धान्त र व्यवहारसँगको सङ्घर्षलाई भने जारी राख्न जरुरी छ ।

पुँजीवादी प्रजातन्त्रले संविधान र कानुनमा सबै जनतालाई कानुनी अधिकारको प्रत्याभूति गरेको हुन्छ । तर, सबै जनता आर्थिक रूपमा समान नबन्दासम्म त्यस्ता कानुनी अधिकार व्यापक नेपालीको लागि ‘आकाशको फल’ जस्तै मात्र हुन्छ । नेपालको अहिलेको संविधानमा समाजवादको कुरा उल्लेख छ । नेकपाले पनि समाजवादको कुरा गर्न छोडेको छैन । तर, समाजवाद नेकपाको देखाउने दाँतमात्र हो । समाजवादी कार्यक्रम कार्यान्वयनको नाममा नेकपाको सरकारले गरिरहेका केही कार्यक्रमले पनि पुँजीवाद र पुँजीपति वर्गकै सेवा गरेको छ । नेकपाले भन्दै गरेको समाजवादले पनि धनी र शोषकहरूकै सेवा गरेको हुन्छ । पुँजीवादी व्यवस्था र चिन्तनप्रणालीको मूल आधार भनेको नै पुँजी अर्थात पैसा हो । जोसँग पैसा छ, ऊ नै उत्तम मानिने प्रणाली नै पुँजीवादी व्यवस्था हो । कसले कसरी पैसा कमायो भन्ने कुरा पुँजीवादी व्यवस्थामा गौण बन्छ । पुँजीपतिले कसैलाई ठगेर, शोषण गरेर, दबाएर, जबरजस्ती श्रम गराएर पैसा कमायो कि भन्ने कुरा नेकपाले चाहेको समाजवादमा गौण हुन्छ । जसरी पनि पैसा कमाउनु नै यो व्यवस्थाका पुजारीको मुख्य धर्म हो ।
समाजमा पुँजी नै निर्णायक बन्दै गएपछि नैतिकता, सिद्धान्त, मूल्यमान्यता र विचारधारालाई बन्धकी राखेर पनि पैसाले धोक्रो भर्न सक्ने मानिस नै नेकपाभित्र प्रभावशाली बनेका छन् । नेतालाई पनि आफ्नो प्रभाव कायम राख्न पैसावाल नै चाहिएको छ । पैसावाललाई पनि आफ्नो नाफा बढाउन नेता चाहिएको छ । अनि नेकपासँग भएको सत्ता यो सम्बन्धको जग हो । नेकपासँग यतिबेला सत्ता छ, पैसावाललाई खोजिरहने नेता छन् अनि पैसावाललाई पनि सत्ता र आफूलाई जोगाउने र वैधता दिने राजनीति चाहिएको छ । यो गठजोड नै अहिलेको सत्ताको मूल अन्तर्य हो । सत्ता, नेता र पैसावालबीचको यो चक्रीय सम्बन्ध नै भक्तिरसको मुहान हो । भक्तिरस सदैव भौतिकवादी सिद्धान्तविपरीत र विरोधी हुन्छ । न्यौपानेले लेखमा उठाएको सांस्कृतिक समस्याको जड यही अवस्थाको उप–उत्पादन (बाई प्रोडक्ट) मात्र हो । जनताले कार्यकर्ताको, कार्यकर्ताले नेताको, नेताले अझ ठूलो नेताको, ठूलो नेताले शक्ति केन्द्रको चाकडी र सेवा नै यो उप–उत्पादनको मूल सार हो ।
नेकपाका नेताहरूले हिजो आफूलाई साँचो कम्युनिस्ट र भौतिकवादी देखाउन मूर्ति र मन्दिर भत्काउँदै हिँडे । आज उनीहरूलाई निश्चित चिन्तनप्रतिको भक्ति र इमानदारी प्रमाणित गर्नुछ, त्यसकारण आज भैंसी पूजा गर्दै हिँडेका छन् । नेकपा नेता प्रचण्डले आफ्नी श्रीमतीको मानसिक रोगको उपचारको लागि उनै श्रीमतीसँग ‘दोस्रो विवाह’ यही सांस्कृतिक स्खलनको सिलसिला हो । यसको स्रोत भने वैचारिक स्खलन र पतन नै हो ।
यस्तै परिस्थितिमा जन्मिने गर्छ–चाकडी र चाप्लुसी प्रवृत्ति । नेताको भक्ति, चाकडी र चाप्लुसी गरेपछि आफ्नो ‘प्रगति’ हुने चिन्तन स्वयम् वैचारिक र सांस्कृतिक स्लखनको अवतार हो । मुखले आफूलाई कम्युनिस्ट र माक्र्सवादी–लेनिनवादी भने पनि कार्यकर्ताले आफ्नो चाकडी गरोस् भन्ने सामन्ती चिन्तन नेकपाका नेताहरूमा भित्र कतै लुकेर बसेको व्यवहारबाट देखिन्छ । चाकडी र चाप्लुसी प्रवृत्ति हावी भएको सङ्गठनमा कहिल्यै पनि भौतिकवादी र वैज्ञानिक चिन्तनलाई ठाउँ हुँदैन । त्यो सङ्गठन अन्ततः जड र गतिहीन सङ्गठनमा बद्लिन्छ । त्यस्तो सङ्गठन क्रमशः नेता र उनीहरूको वरपर घुम्ने मानिसको गोलोमा परिणत हुन्छ । नेकपा आज त्यही दिशामा छ । यसको मूल कारण भने फेरि पनि उसको वैचारिक र राजनीतिक दिशामा आएको स्खलन हो ।
नेकपाभित्र जेलिएको वैचारिक स्खलन न्यौपानेहरूले कसरी छिचोल्लान् ? त्यो भन्न गा¥हो छ । न्यौपानेहरूका अखबारी लेखनले मात्र त्यो (डुब्ने सङ्केत देखिएको) टाइटानिक जहाजलाई जोगाउन सकिने हो वा होइन ? न्यौपानेहरूले उठाएका प्रश्नलाई ‘पुरातन’, ‘म्याद नाघेको सोच’ आदि भनेर पन्छाउन नेताको आशिर्वाद पाएका पैसावालहरूले कति खर्च गर्ने हुन् ? नेकपा नामको ‘अजियनको तबेला’ सफा गर्ने सामथ्र्य न्यौपानेहरूसँग छ वा छैन ? अथवा घनश्याम भुषालहरूको जस्तो मन्त्रीपद नपाउँदासम्मको लागि यो घुक्र्याइँ मात्र पो हो कि ? समयले बताउनेछ । तर, नेकपाको गलत र स्खलित वैचारिक र राजनीतिक सिद्धान्त र व्यवहारसँगको सङ्घर्षलाई भने जारी राख्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *