भर्खरै :

रोगले भन्दा भोकले बढी मर्ने डर

–आरोही श्रेष्ठ
छिमेकी देश चीनलगायत विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिए पनि त्यसको त्रासको दुष्प्रभावबाट नेपाल अछुतो रहेको छैन । हो, पर्यटकको अभावमा यतिखेर नेपालको पर्यटन सुस्ताएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटकलाई सेवा दिने उद्देश्यले पूर्वाधारमा लगानी गरेका होटल व्यवसायीलाई मर्का परेको छ । होटल क्षेत्रका मजदुरहरू बेरोजगारजस्तै भएका छन्, कतिपय होटल व्यवसायीले तलब दिन नसकिने भन्दै कनिष्ठ कर्मचारी र मजदुरहरू निकाल्न थालेका छन् । पर्यटक लक्षित रेष्टुराँहरू तथा चित्रकला, मूर्तिकला र क्युरियो पसलवालाहरू पनि झिङ्गा धपाएर बस्नुपरेको अवस्था छ । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिएको हुनाले अरु उद्योग–व्यवसायमा खासै असर पुगेको देखिएको छैन । कोरोनाको असरले पर्यटन क्षेत्र र स–साना व्यापार गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् । काठमाडौँमा काम नपाएपछि कतिपय भरिया काम गर्नेहरू गाउँ फर्केका छन् । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरूलाई निर्माण सामग्री आपूर्ति नभएर वा रोग सङ्क्रमण व्यापक भएर काम गर्न नपाइएला भन्ने चिन्ता छ । उपभोक्ताहरू नआउँदा भृकुटी मण्डपलगायत विभिन्न बजारमा तयारी पोशाक, जुत्ता, चप्पल, व्याग आदि बेचेर गुजारा चलाउने साना व्यापारीहरू पनि मर्कामा छन् । ऋण लिएर ट्याक्सी, टेम्पो र अन्य गाडी किनेर चलाइरहेका स्वरोजगारहरू पनि उत्तिकै सकसमा छन् ।
उद्योगी–व्यापारीहरूका नेताहरूले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडासित भेट गरी आर्थिक सहुलियत मागेको समाचार सार्वजनिक भयो । तर आर्थिक क्षेत्रका विज्ञहरू सहुलियतभन्दा आर्थिक जोखिम न्यूनीकरणका उपायमा जोड दिनुपर्ने बताउँछन् । जोखिम न्यूनीकरण र सहुलियत प्याकेज ठूला व्यवसायीलाई भन्दा महिना दिन व्यापार नहुँदा ऋणको ब्याज तिर्न नसक्ने र चुलो नबल्नेहरूलाई लक्षित हुनुपर्ने बताउँछन् । त्यसो हुन नसके रोगले भन्दा भोकले मानिस मर्ने अवस्था आउन सक्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *