भर्खरै :

कोरोना त्रासको दुष्प्रभाव देखियो

–आरोही श्रेष्ठ
कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिए पनि त्यसको त्रासको दुष्प्रभाव भने विभिन्न क्षेत्रमा देखिन थालेको छ । कोरोना त्रासको दुष्प्रभाव मेडिकल मास्क, स्यानिटाइजर र औषधिहरूको कालाबजारी र मूल्यवृद्धिमा मात्र सीमित छैन । अधिकांश सञ्चारमाध्यमहरू र विभिन्न सामाजिक सञ्जालले यस्तो सही गलत हल्ला गरी त्रास उत्पन्न गरेका छन् कि कतिपय मानिसहरू अहिले घरबाटै निस्कन सकिरहेका छैनन् । सञ्चारमाध्यमबीच कसले बढी सङ्ख्यामा मृत्युको समाचार दिने भनी प्रतिस्पर्धा भइरहेको प्रतीत हुन्छ । त्यसको परिणामस्वरूप कोरोना भाइरसको त्रासले ‘बनको बाघ नआए पनि मनको बाघले खान्छ’ भने उखान चरितार्थ गरिरहेको छ । कतिपय अभिभावकहरूले आफ्ना केटाकेटीलाई विद्यालय पठाउन बन्द गरेका छन् । केही तथाकथित बुद्धिजीवीहरू तत्कालै सङ्घारमै आएको एसईई परीक्षालगायत कक्षागत अन्तिम परीक्षाहरू स्थगित गरेर बिदा दिनुपर्ने कुरा गरिरहेका छन् । मानिसहरूलाई भीडभाड हुने ठाउँमा नजान गरिएको आग्रह घरबाहिरै नजानु भनेर बुझेको देखियो । नेपालीहरूले आवतजावत र घुमफिर निकै कम गर्दा यातायात क्षेत्रका मजदुरहरू बरोजगारजस्तै भएका छन् । रिक्सा, अटोरिक्सा आदि चलाएर र भारी बोकेर गुजारा चलाउने मजदुरहरूको रोजीरोटी नै खोसिएको छ । पोखरामा डुङ्गा खियाएर पेट पाल्ने माझीहरू भोकभोकै पर्न थालेको समाचार आउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणको प्रक्रियाबारे सही ज्ञान लिएनौँ, सही विधिले त्यसको प्रतिरोध गरी त्रासमा रहन थाल्यौँ भने न हामीले रोग भित्रिएको खण्डमा त्यसको प्रतिरोध गर्न सक्नेछौँ न त हाम्रो दैनिक उपभोग्य वस्तुसम्म पनि जुटाउन सक्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *