भर्खरै :

पोर्टो रिकोको स्वतन्त्रताका लागि समर्पित राफेल कान्सेल मिरान्डा

 प्रकाश
पोर्टो रिकोका देशभक्त नेता राफेल कान्सेल मिरान्डाको निधन यही मार्च २ तारिख सोमबार बेलुकीको ९ः१० बजे ८९ वर्षको उमेरमा सान जुआन नगरपालिकाको रियो पियेड्रासस्थित आफ्नै निवासमा भयो । उहाँको निधन उमेर र सक्रियताका कारण उत्पन्न शारीरिक थकानबाट भएको बताइएको छ । उहाँको निधन उहाँका आफन्त र नजिकका सहयोद्धाहरूको माझमा भयो । उहाँले आफ्नो विरासतका रूपमा आफ्नो जन्मभूमिको स्वाधीनताका लागि आफ्नो विचारधारा र जन्मभूमिप्रति प्रतिबद्ध कार्यहरू छोडेर जानुभएको छ ।
पोर्टो रिको आन्ध्र महासागर वा उत्तरपूर्वी क्यारिबियाली समुद्रमा रहेको टापूहरूको मेलबाट बनेको एक देश हो । जसको क्षेत्रफल १३ हजार ८ सय वर्ग किलोमिटर रहेको छ । पहिले आदिवासी टाइनो जातिको बसोबास रहेको यस देश सन् १४९३ मा कोलम्बसको दोस्रो अमेरिका यात्राको क्रममा पत्ता लगाइएपछि स्पेनले उपनिवेश कायम गरेको थियो । आदिवासी टाइनो जाति दास तुल्याइए र अधिकांश टाइनोहरू युरोपेलीहरूका सङ्क्रामक रोगहरूका कारण मरे र बाँकी बचेकाहरू आज पनि त्यहाँ रहेका छन् । छोटो समयका लागि फ्रेन्च, डच र ब्रिटिशहरूले नियन्त्रणमा लिए पनि अन्ततः यो देश ४ सय वर्षसम्म स्पेनको उपनिवेश रह्यो । स्पेनको उपनिवेशविरुद्ध पटक–पटक विद्रोह भयो र सन् १८६८ को सेप्टेम्बरमा पोर्टो रिको स्वाधीन भयो तर महिनादिनभित्रै पुनः स्पेनिश सेनाले त्यसलाई कुल्चिदियो । सन् १८९८ को विश्व चर्चित स्पेनिश–अमेरिकी युद्धमा स्पेनको पराजयपछि पेरिस सन्धिअनुसार पोर्टो रिको अमेरिकी नियन्त्रणमा गयो । ल्याटिन अमेरिका र क्यारिबियाका अन्य राष्ट्रहरूजस्तै पोर्टो रिको पनि स्वधीन राज्य हुनुपर्छ भनी पटक पटक आन्दोलन उठे तर ती आन्दोलनलाई संरा अमेरिकी सेनाले निर्ममतापूर्वक दबाउँदै आएको छ ।
कान्सेल मिरान्डाको जन्म पोर्टो रिकोको मायाग्वेज नगरमा जुलाई १८, १९३० मा भएको थियो । सन् १९३७ को मार्चमा पोर्टो रिकन नेशनलिस्ट पार्टीको आह्वानमा पोन्स सहरमा स्वाधीनताको पक्षमा ठूलो प्रदर्शन भएको थियो । त्यसमा मिरान्डाका आमाबुबाले पनि भाग लिएका थिए । धेरै इच्छा राख्दाराख्दै पनि राफेल र उनकी दिदीले भने भाग लिन पाएनन् कारण त्यतिबेला उनीहरूको शरीरमा दादुरा आएको थियो । पोर्टो रिकोमा दासता उन्मूलन भएको दिनको सम्झनामा आयोजना गरिएको प्रदर्शनमाथि पोर्टो रिकाली प्रहरीको पोशाकमा उतारिएका अमेरिकी सेनाले पन्ध्र मिनेटसम्म गोली चलायो । उक्त घटनामा १९ जनाको मृत्यु भयो र २३५ जना गम्भीर घाइते भए । उक्त दमनको घटनाले बालक मिरान्डालाई अमेरिकी उपनिवेशविरुद्ध विद्रोही बनाएको थियो ।
पछि उहाँ पोर्टाे रिकोको स्वाधीनता आन्दोलन र पोर्टोरिको राष्ट्रवादी पार्टीका नेताहरूमध्ये एक रहनुभयो । आफ्नो देशको स्वाधीनताका लागि सङ्घर्ष गर्दागर्दैै उहाँ पेड्रो अल्बिजु काम्पोस, लोलिता लेब्रोन, ख्वान मारी ब्रास, फिलिबेर्टो ओजेदा रियोस र गिल्बर्टो कन्सेपसियोन डे ग्रासियासँगै बीसौं शताब्दीका उच्च व्यक्तित्वमध्ये एक हुनुभयो ।
मार्च १, १९५४ को दिन कान्सेल मिरान्डा, लोलिता लेब्रोन, इर्भिन फ्लोर्स र एन्डे«स फिगुयरा कोर्डेरो ले संरा अमेरिकाको राजधानी वासिङ्टनस्थित अमेरिकी प्रतिनिधिसभा अगाडि ‘पोर्टो रिको जिन्दावाद ¤’ भन्दै स्वाधीन पोर्टो रिकोको झन्डा प्रदर्शन गर्नुभएको थियो । उहाँहरूले आफूहरूलाई नियन्त्रण गर्न आएका अमेरिकी सांसदहरूविरुद्ध हवाइ फायर गर्नुका साथै केही आक्रामक सांसदहरूमाथि गोली पनि चलाउनुभएको थियो । त्यसलाई पोर्टो रिकोको स्वाधीनता सङ्घर्षको इतिहासमा सबभन्दा साहसी कदमका रूपमा लिइन्छ । उहाँहरू पक्राउ पर्नुभयो र उहाँहरूमाथि र हत्या उद्योग, अवैध खरखजाना, शान्ति सुरक्षा तोडेको अभियोग लगाइयो । मुद्दाको प्रतिरक्षाको क्रममा मिरान्डा र उहाँका साथीहरूले आफूहरूमाथिको अभियोग अस्वीकार गर्दै आफूहरू पोर्टो रिकोको नैसर्गिक स्वाधीनताको माग अमेरिकी विधायिका र सरकारलाई सुनाउन मात्र आएको र त्यसका लागि आफूहरूलाई मृत्युदण्ड दिएमा पनि कुनै दुःख नरहेको र जन्मभूमिको मुक्तिका लागि ज्यान बलिदान गर्न तयार भएरै आएको भनेका थिए ।
जूरीले चारैजनालाई दोषी ठहर गर्दै मृत्युदण्ड दिनुपर्ने राय पेश ग¥यो तर न्यायाधीश अलेक्जाण्डर होल्जोफले लगाइएका सबै अभियोगका लागि अत्यधिक कैद सजाय गर्ने फैसला गरे । लेब्रोनलाई ५० वर्ष कैद र मिरान्डा कोर्डेरो र इर्भिङलाई समान ७५ वर्ष कैदको सजाय तोकिएको थियो । पछि चारैजनामाथि षड्यन्त्रको अभियोगसमेत लगाएर ६ वर्ष थप कैदको फैसला गरियो । उहाँहरूलाई संरा अमेरिकाको फरक–फरक जेलमा कैद गरियो, मिरान्डालाई अल्काट्राख टापूमा रहेको सङ्घीय ब्युरोको जेलको गोलघरमा ६ वर्षसम्म एक्लै कैद गरियो । मिरान्डा र उहाँका साथीहरूको रिहाइको माग गर्दै पोर्टो रिकोमा मात्र होइन, क्युवा, मेक्सिको, निकारागुवा, भेनेजुयला, हाइटीलगायत सारा ल्याटिन अमेरिका तथा स्पेन र अफ्रिकी देशहरूमा समेत ऐक्यबद्धता अभियानहरू सञ्चालन भए । मिरान्डा र उहाँका साथीहरू विश्व चर्चित हुनुभयो । विश्वव्यापी ठूलो विरोधपछि सन् १९६० मा मिरान्डालाई लिभेनवर्थ जेलमा सारियो र त्यहाँ उहाँकी श्रीमतीसित सिसा वारपार देखभेट गर्न दिइयो तर कुराकानी गर्न र छोराछोरीसित भेटघाट गर्न दिइएन । त्यस जेलमा पनि कैदीहरूमाथि भइरहेको अत्यन्त बढी श्रम शोषण र अत्याचारविरुद्ध काम नगर्ने हडतालको नेतृत्व गरेपछि मिरान्डालाई पाँच महिनासम्म एकान्त गोलघरमा कैद गरियो । सन् १९७० मा मिरान्डालाई लिभेनवर्थबाट इलियानोइस राज्यको विलियमसन काउन्टीस्थित मारियोन पेनिटेन्सियरी जेलमा जेलसार गरियो । त्यहाँ राजनीतिक कारणले जेल परेका धेरै कैदी एवम् बन्दीहरू थिए । कान्सेल मिरान्डा चाँडै नै उनीहरूसित घुलमिल हुनुभयो र स्वाधीन पोर्टो रिकोका निम्ति जनमत सिर्जना गर्ने अभियान चालू राख्न सक्षम हुनुभयो । त्यसबाट आजित भएको अमेरिकी प्रशासनले सन् १९७२ मा मिरान्डालाई कानुनविपरीत पुनः शिकागो प्रहरीको हिरासतको गोलघरमा १८ महिनासम्म थुन्यो । त्यसको विरोधमा मारियोन जेलका कैदीहरूको हडताल र त्यही जेलमा रहेका अफ्रिकी–अमेरिकी मूलका कैदी एड जोनसनले वकिल माइकल डेउस्चमार्फत गरेको कानुनी लडाइँपछि मिरान्डालाई जेलमा फर्काइयो ।
सन् १९७७ मा जब मिरान्डाका पिताको निधन भयो, जेलका उहाँका समर्थकहरूले उहाँलाई अन्त्येष्ठीमा सहभागी गराउनुपर्ने अभियान चलाए । जेलमा पनि हडताल भयो, अमेरिकी सरकारले बाध्य भएर कान्सेल मिरान्डालाई हवाइजहाजबाट पोर्टो रिको लाने र ल्याउने बन्दोबस्तका साथ ७ घण्टाभित्र जेल फर्काउने गरी अन्त्येष्ठीमा भाग लिने सहभागी हुन दियो ।
मिरान्डा र उहाँका साथीहरूको रिहाइको माग गरी ऐक्यबद्धता अभियानमा क्युवाली समाजवादी क्रान्तिका नेता एवम् राष्ट्रपति फिडेल क्याष्ट्रोको सुरुदेखि नै मार्गदर्शन र नेतृत्व थियो । संयुक्त राष्ट्र सङ्घको अनु उपनिवेशीकरण समितिमा क्युवाली कूटनीतिक मिशनले पोर्टो रिकोको अवस्था उपनिवेशको रहेको भन्दै पोर्टो रिकोको अनुउपनिवेशीकरणको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको थियो । संरा अमेरिकामा सन् १९७६ मा भएको निर्वाचनमा उदार राष्ट्रपति जिम्मी कार्टर निर्वाचिन भएपछि क्युवा अमेरिका सम्बन्ध केही सामान्यीकरणको दिशामा अगाडि बढेको थियो । क्युवा र संरा अमेरिकाले बन्दी बनाएका एक अर्का देशका गुप्तचर र नागरिकहरूको साटफेर गर्ने वार्ता अगाडि बढेको थियो । त्यस्तैमा क्युवाली राष्ट्रपति फिडेल क्याष्ट्रोले क्युवाको जेलमा रहेका चार अमेरिकी गुप्तचर अधिकारीहरूको बदलामा चार पोर्टोरिकाली स्वधीनता सङ्ग्रामीहरू रिहा गर्न माग गर्नुभयो । सुरुमा अमेरिकी प्रशासन त्यो कुरा सुन्न नै तयार भएन । जनदबाब र पटक पटकको वार्तापछि अन्ततः अमेरिकी प्रशासनले त्यसलाई स्विकार्नैप¥यो । सेप्टेम्बर ६, १९७९ को दिन अमेरिकी राष्ट्रपति कार्टरले २५ वर्षको कैदपछि पोर्टो रिकाली देशभक्तहरूलाई माफी दिई रिहा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । अन्ततः सेप्टेम्बर १०, १९७९ का दिन उहाँहरूले खुला आकास देख्न पाउनुभयो । मिरान्डा र उहाँका साथीहरूले अक्टोबर १४ का दिन न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि क्युवाली मिशनको मुख्यालयमा नेता क्याष्ट्रोसित भेट गरी आभार प्रकट गर्नुभयो ।
त्यसपछिका दिनमा कान्सेल मिरान्डा पोर्टो रिको समाजवादी पार्टी र क्युवा ऐक्यबद्धता समाज पोर्टो रिकोमा आबद्ध भई पोर्टो रिकोको स्वतन्त्रताको निम्ति साथै अरू राजनीतिक बन्दीहरूको रिहाइको निम्ति सक्रियतापूर्वक लाग्नुभयो । क्युवाविरुद्धका प्रतिबन्धहरू तथा क्रुर आर्थिक नाकाबन्दी अन्त्यको निम्ति तथा पाँच क्युवालीको रिहाइका लागि ऐक्यबद्धता अभियानको पनि नेतृत्व गर्नुभयो । मिरान्डा र उहाँका साथीहरूले क्युवाली जनतासित र क्युवाली उच्च नेताहरूसितको मित्रता इमानदारीपूर्वक निरन्तर कायम राख्नुभयो ।
क्युवाली क्रान्तिका सर्वोच्च नेता फिडेल क्याष्ट्रोको निधन हुँदा उहाँप्रति श्रद्धासुमन अर्पण गर्न मिरान्डा क्युवाको राजधानी हवाना पुग्नुभयो । पत्रकारहरूले क्याष्ट्रोको निधन तपाईँलाई कस्तो अनुभूति भइरहेको छ भनी सोधे । उहाँले जवाफ दिनुभयो, “मेरो पिताको निधन हुँदा अन्त्येष्ठीमा सहभागी हुँदा पनि मलाई यस्तै प्रश्न सोधिएको थियो । आज म आफ्नो दाजुको अन्त्येष्ठीमा सहभागी भइरहेको छु । सम्मानका साथ भन्छु उहाँ मेरो दाजु हुनुहुन्थ्यो । तर, म यहाँ उहाँको मृत्युको शोकमा डुब्न आएको होइन बरु उहाँको जीवनको सफलता स्मरण गराउन आएको हुँ । फिडेलले कहिल्यै मृत्युको कुरा गर्नुभएन, बरु जीवनको कुरा र जीवन बचाउने कुरा मात्र गर्नुभयो । फेरि फिडेलजस्ता मानिसको कहिल्यै मृत्यु पनि हुँदैन, उहाँ त्यस्तो मानिस हो जसले स्वाधीनता र स्वाभिमानको निम्ति आजीवन लड्नुभयो । फिडेल मानवतावादको एक ज्वलन्त उदाहरण हुनुहुन्थ्यो । उहाँको मृत्यु कुनै लाज होइन, हामी सबै एकदिन मर्नुपर्छ । हामीले सम्झनुपर्ने र खुशी मनाउनुपर्ने उहाँले जसरी जीवन जीउनुभयो त्यसको निम्ति हो । विश्वासघातीहरू र अत्याचारीहरू मर्छन् तर जो आफ्नो जन्मभूमिको स्वाभिमानका लागि र मानव जातिको हितका लागि लड्छन् कहिल्यै मर्दैनन् ।”
‘फिडेल मैले तपाईँको बारेमा भन्न नसकेका धेरै कुरा बाँकी छन् तर यस क्षणमा म पोर्टो रिको र सबैका तर्फबाट तपार्इँलाई भन्न चाहन्छु – राम्रो संसारको निम्ति हामीले लड्ने लडाइँमा तपाईँ सधैँ हाम्रो उदाहरण रहनुहुनेछ । धन्यवाद फिडेल !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *