के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, ६ चैत । वार्ता गर्ने भनी जिल्ला प्रहरी कार्यालय बोलाएर भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पतालको कर्मचारी कल्याणकारी सङ्घका अध्यक्ष शिवराम धुख्वालाई नियन्त्रणमा लिएपछि कर्मचारी एवम् सर्वसाधारण जनताले बिहीबार महानगरीय प्रहरी परिसर, भक्तपुर कार्यालयअघि नाराबाजी र जुलुस गरेका छन् ।
भक्तपुर क्यान्सर अस्पतालको भवनमा नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर जिल्ला समितिले कार्यालय सञ्चालन गर्दै आएको कोठामा अस्पतालका कर्मचारीहरूले लगाएको तालाबन्दीको विषयमा वार्ता गर्न बिहीबार कर्मचारी कल्याणकारी सङ्घका सदस्यलाई प्रहरी कार्यालयमा बोलाइएको थियो । तर, वार्ताका लागि गएका कर्मचारीमध्ये सङ्घका अध्यक्ष धुख्वालाई नियन्त्रणमा लिएपछि आक्रोशित कर्मचारी र न्यायप्रेमी जनताले उहाँको रिहाइको माग गर्दै नाराबाजी र जुलुस गरेका थिए ।
अस्पतालमा भएको भ्रष्टाचारविरूद्ध सङ्घर्षरत कर्मचारीहरूलाई नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर जिल्ला समितिका केही पदाधिकारीले भ्रष्ट पदाधिकारीकै पक्ष लिएपछि कर्मचारीहरूले अस्पताल भवनमै रहेको संस्थाको कार्यालयमा तालाबन्दी गरेका थिए । कर्मचारीहरूले अर्बुद रोग निवारण संस्था भक्तपुर जिल्ला समितिलाई भ्रष्ट पदाधिकारीलाई अस्पताल नभित्र्याउने र क्यान्सरसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने अवस्थामा सो कोठा प्रयोग गर्न दिन भनी गरेको सम्झौताको भावनाको उपेक्षा गर्दै संस्थाका केही पदाधिकारीहरूले ‘अस्पतालका कर्मचारीविरूद्धको मुद्दा जायज भएको’ भनी दिएको अभिव्यक्तिपछि कर्मचारीहरूले पुनः तालाबन्दी गरेका थिए । तालाबन्दी खुलाउन संस्थाका केही पदाधिकारी प्रहरी प्रशासन गुहार्न पुगेका थिए । प्रहरी प्रशासनले भ्रष्टाचारको अभियोग लागेका पूर्वपदाधिकारीहरूको लहलहैमा लागेर मङ्गलबार ताला तोडेको थियो । चैत ५ गतेको सो घटनाबारे भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी सङ्घले जारी गरेको वक्तव्यमा ‘कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीलाई कसरी उपचार गर्ने, कुन कोठामा राख्ने, आईसीयू कुन वार्डमा बनाउने र को–को चिकित्सक र नर्सलगायत कर्मचारी ड्युटीमा बस्ने विषयमा महत्र्वपूर्ण छलफल भइरहेको अवस्थामा अचानक बिनासूचना अस्पतालमा प्रहरी प्रवेश गरी कर्मचारी, बिरामीका नातेदार र बिरामीलाई आतङ्कित बनाई अस्पतालको एउटा कोठामा कर्मचारी सङ्घबाट लगाएको ताल्चा बिनासहमति एकपक्षीय रुपमा फोडेको’ उल्लेख छ ।
कर्मचारी कल्याणकारी सङ्घले सोही दिन अर्को ताला लगाएर आफ्नो आन्दोलनलाई निरन्तरता दिएको थियो । पुनः तालाबन्दी गरिएको विषयमा वार्ता गर्न बोलाइएका कर्मचारीमध्ये अध्यक्ष धुख्वालाई बिहीबार प्रहरीले दिनभरजसो नियन्त्रणमा लिएको थियो ।
जुलुस र नाराबाजीपछि साँझ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसरका एसपी सविन प्रधानलगायतको उपस्थितिमा भएको बैठकले अस्पतालको सो कक्ष कोभिड–१९ को सङ्क्रमण रोकथामको लागि आइसोलेसन कक्ष बनाउने गरी ताला खोल्ने सहमति भएको छ । सहमतिपछि प्रहरीले नियन्त्रणमा लिएका स्वास्थ्यकर्मी शिवराम धुख्वालाई रिहा गरिएको छ ।
रिहाइपछि आयोजित कोणसभामा स्वास्थ्यकर्मी धुख्वाले क्यान्सर अस्पतालमा भ्रष्टाचारविरोधी सङ्घर्ष चालू रहने बताउनुभयो । उहाँले क्यान्सर अस्पताललाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्ने सबै कर्मचारी र न्यायप्रेमी जनताप्रति आभार व्यक्त गर्नुभयो ।
कर्मचारी सङ्घले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाको कार्यकक्षमा तालाबन्दी गर्नुपर्नाको कारण खुलाउँदै चैत ५ गतेको विज्ञप्तिमा भनिएको छ, “केही महिना पहिले भ्रष्टाचारविरूद्ध अभियानमा कर्मचारीहरूले चालेको कदमलाई साथ दिनुको सट्टा भक्तपुर शाखाले हामीविरूद्ध नै मुद्दा हालेको, त्यसपछि बेला–बखत अप्रिय घटना घट्ने गरेकोले उहाँहरूको सुरक्षाको निम्ति केही समयको लागि गतिविधि नहोस् भनी नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर शाखामा ताला लगाइएको जानकारी गराउन चाहछौँ ।”
Leave a Reply