भर्खरै :

डाम्बिसा मोयोको ‘मृत आर्थिक सहायता’ ः एक चर्चा

वैदेशिक सहायतालाई कुनै पनि देशले आफ्नो आम्दानी मान्नु गलत हुन्छ । विश्वका धेरैजसो देशहरूले आर्थिक सहायतालाई राष्ट्रको आम्दानीसँग जोड्ने गरेको पाइन्छ । त्यतिमात्र होइन सो सहायताबाट देशको आर्थिक विकास र वृद्धि हुने बताइन्छ । गरिब देशहरूको गरिबी हटाउन र जनताको जीवनस्तर माथि उकास्न वैदेशिक अनुदानले सघाउने विश्वास लिइन्छ । सच्चाइ के हो भने वैदेशिक सहायता या अनुदानलाई आम्दानी मान्ने र त्यसमा भर पर्ने देशहरू गरिबीबाट माथि उठ्न सक्दैनन् ।
विकासोन्मुख राष्ट्रले आर्थिक अनुदान स्वीकार्नु भनेको परनिर्भरता बढाउनु हो । मगन्ते प्रवृत्ति हुर्काउनु हो । अनुदानमाथिको निर्भरता सोचेभन्दा डरलाग्दो हुन्छ । आत्मनिर्भरता, आत्मस्वाभिमानको बाटोमा आर्थिक सहायता तगारो बनेर उभिन्छ । प्रत्यक्ष या अप्रत्यक्ष सर्तहरूसहितको आर्थिक अनुदानबाट देशले दीर्घकालीन राजनीतिक र रणनीतिक क्षतिसमेत भोग्नुपर्ने हुन्छ । निरन्तरको आर्थिक सहायता, आर्थिक उपनिवेशमा बदलिन्छ । अफ्रिकी महादेशको अनुभवले यही भन्छ ।
अफ्रिकामा विगत ५ दशकदेखि पश्चिमा आर्थिक सहायता भित्रिइँदैछ । ५४ वटा देशहरूसहितको दोस्रो ठूलो महादेश अफ्रिकामा ५० औँ वर्षदेखिको आर्थिक सहायताबाट विकास या प्रगति भएको देखिइँदैन । गरिबी, अभाव र दरिद्रता बेहोरिरहेका अफ्रिकी जनतालाई पश्चिमा ‘सहज मुद्रा’ले अझ बढी गरिब बनायो । डलरको लोभ देखाएर अफ्रिकाका महत्वपूर्ण र बहुमूल्य प्राकृतिक स्रोत र साधन सोहोरेर लग्यो । विश्वमै दोस्रो ठूलो जनसङ्ख्या भएको अफ्रिकी महादेशका हरेक सम्भावनाहरूलाई निमोठ्न पश्चिमाहरूलाई आफूले प्रदान गरेको अनुदानले सघायो । इतिहास साक्षी छ, संरा अमेरिका र पश्चिमको समृद्धिमा अफ्रिकी जनताको रगत र पसिनाको महत्वपूर्ण हिस्सा छ । अफ्रिकामा आर्थिक अनुदानको कथाले पनि इतिहासको यो सत्यलाई अझ बलियो बनाउँछ । अफ्रिकामा पश्चिमा राजनीतिक तथा रणनीतिक स्वार्थलाई उपेक्षा गरी विशुद्ध आर्थिक पक्षको सवालमा घोट्लिने हो भने पनि आर्थिक अनुदान घातक सिद्ध भयो । आर्थिक सहायतारूपी मन्द विषले अफ्रिकी मुलुक पछाडि परेको तथ्य बाहिर आउने क्रम जारी छ । आर्थिक सहयोगकै कारण आर्थिक उपनिवेश भोग्न बाध्य अफ्रिकाको इतिहास, अफ्रिकी जनताको अनुभवबारे आजको विश्वमा चर्चा आवश्यक छ ।
एक जाम्बियाली अर्थशास्त्री डाम्बिसा मोयो (Dambisa Moyo)o लिखित पुस्तक “Dead Aid” ले अफ्रिकी महादेशमा अनुदानको तीतो अनुभव पेश गर्छ । सन् २००९ मा प्रकाशित सो पुस्तकले किन अफ्रिकामा अनुदानले काम गरेन ? अफ्रिकाका लागि अर्को बाटो के हुन सक्दछ ? आदिबारे चिरफार गरेको छ । अफ्रिकी अर्थतन्त्रमा आर्थिक उतार चढावको बृहत् अर्थतान्त्रिक र सूक्ष्म अर्थतान्त्रिक विश्लेषण छलफलयोग्य छ । अफ्रिकी महादेशका अधिकांश देशहरूमा अनुदानले समस्या समाधान गरेन । आर्थिक अनुदान आफैँ विकराल समस्या बनेर उभियो भन्ने मोयोको ठम्याइमा नेपाली समाजले पनि विचार पु¥याउन जरुरी छ । नेपालको अर्थतन्त्र पनि अफ्रिकी मुलुकहरू जस्तै विकासोन्मुख हो । वर्षेनी थुप्रै अनुदान भित्रिन्छन् । हाल नेपालमा चर्चामा रहेको एमसीसी सन् २००४ मै अफ्रिका पुगिसकेको थियो । मदागास्करबाट सुरु भएको संरा अमेरिकी अनुदान कार्यक्रम एमसीसीले सुरुमा ५ अर्ब अमेरिकी डलर प्रदान गरेको थियो । मदागास्करले एमसीसीबाट आर्थिक लाभ पनि लिन नसकेपछि सम्झौताबाट हात झिक्यो । साथै अफ्रिकी देश मालीले पनि एमसीसी हानिकारक ठहर गर्दै पछाडि हट्यो । नेपाली शासकहरूले अफ्रिकाको अनुभवबाट सिक्न आवश्यक छ । अफ्रिकामा पश्चिमा अनुदान कार्यक्रमबारे तीखो आलोचना गरिएको यस पुस्तकबारे छलफल सान्दर्भिक तथा उपयोगी होला ।
सन् १९७० बाट अफ्रिकाका थुप्रै देशहरू स्वतन्त्र हुन थाले । तबदेखि आर्थिक सहायताको नाममा मोटो डलर अफ्रिका भित्रिन सुरु भयो र कहिल्यै नटुङ्गिने भ्रष्टाचार, बेथिति, रोग, गरिबी र अनुदान निर्भरताको चक्र पनि सँगै सुरु भयो । डाम्बिसा जिकिर गर्छिन् – “अफ्रिका गरिब महादेश रहिरहनुको मुख्य कारण पश्चिमा आर्थिक सहायता हो ।” पश्चिमा आर्थिक सहायता कार्यक्रमको घोषित लक्ष्य त गरिबी निवारण र विकासोन्मुख देशको प्रगति नै हो तर व्यवहारमा ठीक उल्टो भएको अफ्रिकी जनताले भोगेका छन् । वास्तवमै वैदेशिक सहायताले गरिब राष्ट्रलाई अझ गरिब बनायो र आर्थिक वृद्धि अत्यन्त सुस्त बनायो । विकासोन्मुख देशमा समाधान नै गर्न नसकिने राजनीतिक, आर्थिक र मानवीय संहारहरू निम्त्यायो । डाम्बिसा अफ्रिकाको अनुभवका आधारमा लेख्छिन् –“उपचारको बहानामा उपचारै गर्न गा¥हो रोग हो आर्थिक सहायता ।”

zzzzएक जाम्बियाली अर्थशास्त्री डाम्बिसा मोयो (Dambisa Moyo)o लिखित पुस्तक “Dead Aid” ले अफ्रिकी महादेशमा अनुदानको तीतो अनुभव पेश गर्छ । सन् २००९ मा प्रकाशित सो पुस्तकले किन अफ्रिकामा अनुदानले काम गरेन ? अफ्रिकाका लागि अर्को बाटो के हुन सक्दछ ? आदिबारे चिरफार गरेको छ । अफ्रिकी अर्थतन्त्रमा आर्थिक उतार चढावको बृहत् अर्थतान्त्रिक र सूक्ष्म अर्थतान्त्रिक विश्लेषण छलफलयोग्य छ । अफ्रिकी महादेशका अधिकांश देशहरूमा अनुदानले समस्या समाधान गरेन । आर्थिक अनुदान आफैँ विकराल समस्या बनेर उभियो भन्ने मोयोको ठम्याइमा नेपाली समाजले पनि विचार पु¥याउन जरुरी छ । नेपालको अर्थतन्त्र पनि अफ्रिकी मुलुकहरू जस्तै विकासोन्मुख हो । वर्षेनी थुप्रै अनुदान भित्रिन्छन् । हाल नेपालमा चर्चामा रहेको एमसीसी सन् २००४ मै अफ्रिका पुगिसकेको थियो । मदागास्करबाट सुरु भएको संरा अमेरिकी अनुदान कार्यक्रम एमसीसीले सुरुमा ५ अर्ब अमेरिकी डलर प्रदान गरेको थियो । मदागास्करले एमसीसीबाट आर्थिक लाभ पनि लिन नसकेपछि सम्झौताबाट हात झिक्यो । साथै अफ्रिकी देश मालीले पनि एमसीसी हानिकारक ठहर गर्दै पछाडि हट्यो । नेपाली शासकहरूले अफ्रिकाको अनुभवबाट सिक्न आवश्यक छ । अफ्रिकामा पश्चिमा अनुदान कार्यक्रमबारे तीखो आलोचना गरिएको यस पुस्तकबारे छलफल सान्दर्भिक तथा उपयोगी होला ।

आर्थिक सहायता अफ्रिकामा संस्कृतिको रूपमा हुर्कियो । ५० वर्षमा १० खर्ब अमेरिकी डलर विभिन्न पश्चिमा सङ्घ–संस्थाको माध्यमबाट भित्रियो । सहस्राब्दी चुनौती लक्ष्य र सहस्राब्दी चुनौती खाता (MCA) तीमध्येका केही कार्यक्रम या संस्था हुन् जुन अहिले नेपालमा पनि प्रवेश खोज्दैछन् ।
आर्थिक सहायतालाई संस्कृति बनाएका थुप्रै अफ्रिकी देशहरूको ३० वर्षभित्र आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित रह्यो । सन् १९७० देखि १९९८ सम्मको २८ वर्षमा ती देशहरूको गरिबी दर ११ प्रतिशतबाट बढेर ६६ प्रतिशतमा उकालो चढ्यो । अनुदान श्रापसिद्ध भयोे । पुस्तकले यही भन्छ ।
आर्थिक सहायताले राज्यहरूलाई अल्छी बनाउँदै लग्यो । आफै उत्पादन गर्ने र 
बढाउनेतर्फ कुनै योजना बन्न सकेन । सहायतास्वरूप प्राप्त रकम लगानी हुन सकेन र उपभोग्य खर्च ज्यादा भयो । त्यसकारण पनि उपलब्धि देखिएन । अनुदानले उल्टै भ्रष्टाचार र द्वन्द्व जन्मायो । बेरोजगारी बढ्नाले अफ्रिकी जनताको जीवनस्तर झन–झन खस्कँदै गयो । खुला व्यवसाय र साना उद्योगहरू पनि अगाडि बढ्न सकेन । अफ्रिकामा अनुदानबाट आएको डलर उत्पादनशील क्षेत्रमा खर्च नभई शासकहरूको खल्तीमा जान थालेको यथार्थ पुस्तकले अगाडि सार्छ ।
अफ्रिकी शासकहरूसँग कुनै ठोस राजनीतिक, आर्थिक योजना, नीति तथा नियम थिएन । आयो, खायो र सकियोमा टुङ्गियो – आर्थिक सहायता । त्यसकारण ‘Dead-Aid’ युद्धपश्चात्को विकास रणनीतिमा अफ्रिकाको असफलताको कथा पनि हो ।
यो पुस्तक ‘आर्थिक सहायताको विश्व’ र ‘आर्थिक सहायतारहित विश्व’ गरी दुई भागमा विभाजित छ । अफ्रिका आर्थिक सहायतामा निर्भर विश्वको रूपमा परिचित हुँदै गयो । आर्थिक परिवेश अत्यन्त ¥हासोन्मुख, भ्रष्टाचार अनियन्त्रित, सामाजिक पुँजी असाध्यै दुर्बल, जनतामाथि मुठ्ठीभर शासकहरूको शासन र भौतिक संरचना कमजोर हँुदै गयो । आशाका किरण भने अझै थिए । अफ्रिकाका अमूल्य वस्तुको मूल्य, बजारको सही व्यवस्थापन र सकारात्मक नीतिहरू तत्कालीन आवश्यकता बन्यो । तर, अफ्रिका कार्यान्वयन पक्षमा कमजोरीले थिचियो । असफल महादेशमा गनियो । अफ्रिकामा पश्चिमा अनुदानको प्रवाह बढेसँगै सोभियत रुसको समाजवादको प्रभाव घटेको तथ्य पनि उत्तिकै सत्य हो । अफ्रिकी महादेशका देशमा मानवता या आकस्मिक दिइने, दानको रूपमा दिइने र संरचनात्मक ढङ्गले दिइने तीन किसिमका सहायता अभ्यासमा थियो । संरचनात्मक सहायता दुईपक्षीय र बहुपक्षीय दुबै हुन्छ । सहायताअन्तर्गत ऋण र अनुदान पनि राखिन्छ ।
आर्थिक सहायताको इतिहास १९ औँ शताब्दीदेखिको हो । सुरुआती समयमा आर्थिक सहायता प्रत्यक्ष र पूर्णतः राजनीतिक पकडकै निम्ति केन्द्रित थियो । सन् १९३० को महामन्दी पछि भएको १९४४ को ब्रिटेन ऊड सम्मेलनले युरोपको सामाजिक, राजनीतिक र आर्थिक स्थिरता पुनःप्राप्ति गर्ने भन्दै आर्थिक सहायताको नीति अगाडि बढाइएको हो । त्यसपछि जे एम किन्सको नेतृत्वमा मिश्रित अर्थतन्त्रको विकासका लागि विश्व बैङ्क, आइएमएफ र विश्व व्यापार सङ्गठन स्थापना भएको बताइन्छ । सन् १९५० तिर अफ्रिकालाई युरोपले आर्थिक सहायताको उर्बर भूमिका रुपमा देख्यो किनभने घाना, केन्या, मलावी, गम्विया गरी करिब ३१ वटा अफ्रिकी देशहरू औपनिवेशिक शासनबाट सन् १९६६ मा मुक्त भइसकेका थिए । त्यही नै बेला आर्थिक उपनिवेशको युग पनि सुरु गरियो । केही देशहरूमा समाजवादी सोभियत सङ्घको प्रभाव थियो । संरा अमेरिकाले आर्थिक सहायतालाई प्रतिस्पर्धाको रूपमा अगाडि बढायो । सन् १९५५ सम्ममा ५० वटाभन्दा बढी राज्यहरू स्वतन्त्र बने । सन् १९६० तिर वैदेशिक सहायतालाई ठूल्ठूला औद्योगिक परियोजनामा केन्द्रित गर्ने भनियो तर त्यसो हुन सकेन । सन् १९७० को दशकमा वैदेशिक सहायता गरिबीतर्फ केन्द्रित गरियो तर मुद्रास्फितिले आकाश छोयो । सन् १९७५ मा घानाको कुल गार्हस्थ उत्पादन १२ प्रतिशतको दरले घट्यो । मुद्रास्फिति सन् १९७० मा ३ प्रतिशतबाट सन् १९७५ मा ३० प्रतिशत र सन् १९७७ सम्म पुग्दा ११६ प्रतिशत नाघ्यो । यो तथ्याङ्क एउटा सानो दृष्टान्तमात्रै हो । सन् १९८० को दशकमा त आर्थिक सहयोग एजेन्डाबाट विकास योजना नै हरायो । यही अवधिमा विश्वव्यापीकरण र नवउदारवादी अर्थतन्त्र या लेसिसफेयर आर्थिक प्रणाली अभ्यास गरियो । गरिब मुलुकहरूलाई बजेटमै आर्थिक सहायता दिने नीति अगाडि बढाइयो । निजीकरण र स्वतन्त्र बजार अवधारणाले सरकारलाई कम सक्रिय बनाउन थाल्यो । सन् १९९१ को शीत युद्धबाट सोभियत सङ्घ पछाडि हटेदेखि संरा अमेरिका अफ्रिकामा एकछत्र राज गरिरहेको बुझ्न सकिन्छ । सन् २००० को समयमा आर्थिक सहायताका लागि ग्लामोरको पनि प्रयोग गरियो ।
यसरी अगाडि बढेको आर्थिक सहायताको यात्राबाट अफ्रिकामा फल प्राप्त भएन । अफ्रिकाले गुमाएको भूमि र प्राकृतिक स्रोतको बदलामा आर्थिक उन्नयन प्राप्त हुन सकेन । प्रगति नहुनुपछाडि अफ्रिकी जनता र त्यहाँको संस्कृति, दरिद्र मानसिकता र स्वार्थको टकराव आदि कमजोरीको रूपमा पश्चिमाहरूले व्याख्या गरे । पुस्तकमा सन् १९४८ देखि १९५२ मा संरा अमेरिकाले अघि सारेको मार्सल योजनाबारे उल्लेख छ । दोस्रो विश्वयुद्धपश्चात् युरोपको पुनः निर्माणमा मार्सल योजनाले सघायो । मार्सल योजनाले आर्थिक सफलता मात्र होइन युरोपको राजनीतिक र सामाजिक पुनःस्थापना पनि सम्भव बनायो । मार्सल योजना भौतिक पूर्वाधारसँग बढी सम्बन्धित थियो । युरोपमा यसको सफलतापछि अफ्रिकामा आर्थिक सहायताको कार्यक्रम सफल हुन्छ भनी सोच्नु मिथ्या सावित भयो । मार्सल योजना सर्तहरूको पोको थियो ।
आर्थिक सहायताको सफल उपयोग हुनका लागि राम्रो घरेलु नीति आवश्यक छ । नाम मात्रको प्रजातन्त्र हुँदैमा त्यहाँ आर्थिक वृद्धि हुन्छ भन्ने होइन बरु आर्थिक वृद्धि र उन्नयन भएको व्यवस्थामा प्रजातन्त्र बाँच्छ भन्ने तर्क डाम्बिसा राख्छिन् । उनी थप्छिन्–“आर्थिक सहायता सौम्य हुने गर्दैन, यो घातक हुन्छ । यसमा समस्या समाधानको क्षमता हुन्न यो समस्याकै एउटा भाग हो । अझ प्रस्ट भाषामा आर्थिक सहयोग आफैमा ठूलो समस्या हो ।” अफ्रिकामा आर्थिक सहयोगले मन्द विषको काम गरेको तथ्यतथ्याङ्कसहित आफ्नो तर्कले पुष्टि गर्छिन् ।
आर्थिक सहायताको भीषण चक्रले अफ्रिकाको आर्थिक वृद्धि रोकेको तथ्य पुस्तकमा छ । जसले अझ आर्थिक सहायतामा निर्भरता बढायो । चरम् भ्रष्टाचारकै कारण घरेलु र वैदेशिक लगानी आकर्षित हुन छोड्यो । लगानी नभएपछि आर्थिक वृद्धि सुस्त भयो । आर्थिक गतिविधि कम हुनु बेरोजगारी बढ्नु हो । काम नभएपछि अफ्रिकी जनताको प्रतिव्यक्ति आम्दानी असाध्यै न्यून भयो । महादेशको गरिबी झन बढायो । गरिबी बढेपछि पुनः वैदेशिक सहायता उच्च दरमा भित्रियो । यसरी आर्थिक सहायताको भीषण चक्रले अफ्रिकी देशहरूलाई गरिबीबाट गरिबीसम्म पु¥याएको यथार्थ पुस्तकले सप्रमाण विश्लेषण गरेको छ ।
भ्रष्ट देशहरूमा आर्थिक सहयोग गर्न दाताहरू किन तयार हुन्छन् ? आर्थिक सहयोगसँग सामाजिक पुँजी, नागरिक समाज, गृह युद्धको आपसी सम्बन्धबारे पुस्तकले स्पष्ट जानकारी दिन्छ । आर्थिक सहयोगका आर्थिक सीमाहरूबारे दाता र ग्रहण गर्ने देश दुबै जानकार रहन आवश्यक छ । घरेलु बचतमा ¥हास आउनु, उपभोगभन्दा लगानी असाध्यै न्यून हुनु, मुद्रास्फिति बढ्नु, निर्यात निक्कै घट्नु पनि वैदेशिक सहायताले गर्दा बढ्ने थप समस्या हुन् ।
भ्रष्टाचार, मुद्रास्फिति, सामाजिक पुँजीमा क्षति, संस्थाहरू कमजोर बन्दै जानु र आधारभूत आवश्यक घरेलु लगानी घट्नु देशकै निम्ति घातक हुन्छ । यसले अझ बढी आर्थिक सहायतामा निर्भर बनाउँछ । तर यसैलाई संस्कृतिको रूपमा स्वीकार्न थालिएको थियो अफ्रिकामा । त्यो संस्कृति नै अफ्रिकी जनताको निम्ति अािर्थक दासताको सिक्री साबित भयो ।
पुस्तकको भाग दुईमा आर्थिक सहायतारहित विश्वको चर्चा छ । यो भागमा गणतान्त्रिक देश डोङ्गो (वर्तमान एङ्गोला) को आर्थिक प्रणालीबारे सङ्क्षिप्त जानकारी समेटिएको छ । सन् १९६७ मा युरोपेली उपनिवेशबाट मुक्त भएको डोङ्गोमा सन् १९७० तिर समाजवादी अर्थ प्रणाली लागू थियो । ग्लास्नोस्ट र पेरिस्ट्रोइका पछि सन् १९८० को मध्यतिर निजीकरण लागू गरी पुँजीवादी शासन प्रणाली सुरु गरियो । डोङ्गोलगायत अफ्रिकी मुलुकमा विकासका लागि वित्तीय एजेण्डाको निर्माण तथा कार्यान्वयनको रूपमा विकास भएको आर्थिक सहायताको रकमले आज मात्र होइन भविष्यको पुस्तालाई समेत आत्मनिर्भर बन्न दिने छैन । त्यसको न्यूनीकरणका लागि पुँजीगत समाधान, लगानी र उत्पादनबाट समाधान खोज्नुपर्ने कुरा उल्लेख छ । ऋणको रूपमा प्राप्त सहायताले थुप्रै अफ्रिकी मुलुक ऋण भारले थिचिएको यथार्थ पुस्तकले अवगत गराउँछ ।
‘चिनियाँहरू हाम्रा मित्र हुन्’ शीर्षकको लेखमा जनगणतन्त्र चीनको सहयोगी व्यवहारबारे उल्लेख छ । डलर या रकमभन्दा पनि भौतिक संरचना निर्माण, कृषि, उद्योग र आवश्यक क्षेत्रमा लगानीबाट चीनले अफ्रिकालाई सघायो । वैदेशिक प्रत्यक्ष लगानीको अवधारणाअनुरूप चीनका लगानीकर्ता संस्थाहरू अफ्रिकी देशहरूमा पुगे । पश्चिमा ऋणभारले थिचिएका थुप्रै अफ्रिकी देशहरू चिनियाँ सहयोगबाट मुक्त भएको तथ्य पनि पुस्तकले समेटेको छ । डोङ्गोमा एफडीआई आर्थिक वृद्धिको इन्जिनको रूपमा अगाडि बढ्यो । डोङ्गो एउटा उदाहण बनेर उभियो । कसैले लगानी नै गर्न नचाहने अफ्रिकामा चीनले प्रचूर सम्भावना केलायो र सहयोगको हात अघि बढायो । लगानी र आर्थिक सहायता नितान्त फरक विषय हुन् । लगानी सँगसँगै रोजगारीको अवसर, प्रविधि र ज्ञान भित्रियो । सन् १९९२ देखि २००२ को अवधिमा युगान्डाको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि भयो । एफडीआईले डोङ्गोको पुँजीबजार, बौद्धिक सम्पत्ति, स–साना व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग परिचित गरायो । ६० वर्षदेखि कुनैपनि देशले अफ्रिकी जनतालाई प्रभावित गर्न सकेको थिएन तर चीनले ग¥यो भन्नुहुन्छ, डाम्बिसा । ‘फोकाक’ को जन्म यसरी नै भयो । चीनले शिक्षा, उत्पादन र निर्माणलाई जोड दियो । अफ्रिकालाई आवश्यक प्राविधिक सीप र मेडिकल टोली पठाइयो । सहकार्यमार्फत व्यापारको विकासमा सघायो । चीन–अफ्रिका व्यापार सम्बन्ध त्यहीबाटै सुदृढ बन्यो । कृषि सहकार्य, ऋण मोचन, सांस्कृतिक आत्मीयता, स्वास्थ्योपचार, तालिम र अत्यन्त न्यून आर्थिक सहयोगले अफ्रिकीहरूको मनमा चीनको पृथक परिचय स्थापित भयो । सहकार्य, सहअस्तित्वसँगै जीत–जीत ( win–win) अवधारणामा चीनले काम ग¥यो । चीनको लागि आवश्यक तेल र कच्चा पदार्थको बलियो स्रोत बन्यो, अफ्रिका । अफ्रिकामा चीनको प्रत्यक्ष लगानी विविध क्षेत्रमा विभाजित थियो । टेक्सटायल, कृषिजन्य उत्पादन, ऊर्जा उत्पादन, बाटोघाटो निर्माण, पर्यटन र दूरसञ्चार, केही उदाहरण मात्रै हुन् । अफ्रिकामा चीनले सहयोग गरेको क्षेत्रहरूको सूची बनाई साध्य छैन । अफ्रिकी देशहरूमा चीनको योगदानकै कारण चीनले अफ्रिकीहरूबाट ‘हाम्रो साथी’ को संज्ञा पायो ।
लामो समयदेखि पश्चिमा शक्तिको राज रहेको अफ्रिकामा चीनको उपस्थितिको विरोध हुनु र व्यवधान खडा गर्नु स्वाभाविक थियो । युरोपेली लगानी बैङ्क र विश्व बैङ्कलगायत थुप्रै पश्चिमा नियन्त्रित सङ्घसंस्थाको दबाब अफ्रिकामा प¥यो । चीन थोरै पछि हट्न परे पनि उदीयमान चीनको स्वाभाविक र सकारात्मक प्रभाव रोक्न सकिन्नथ्यो । इथियोपिया, आतेरी कोस्ट, घाना, केन्या, माली, नाइजेरिया, सेनेगल, दक्षिण अफ्रिका, तान्जानिया र युगान्डालगायतका केही अफ्रिकी देशहरू चीनको निम्ति सकारात्मक थिए । अफ्रिकाको हितमा चीनको लगानीको कारण राम्रो प्रभाव स्थापित भएको हो । साथै अफ्रिकी जनताको हितनै चीनको उद्देश्य हो भन्ने समयक्रमले सिद्ध ग¥यो । संरा अमेरिकाको स्वार्थ समयसँग बाहिरिएपछि चीनको प्रभाव बढेको विश्लेषण पनि छ । अब संरा अमेरिकाले भन्दा चीनले अफ्रिकी महादेशको समस्या इमानदारीपूर्वक समाधान गर्छ भन्ने विश्वास जित्न पनि चीन सफल रह्यो । सबैभन्दा महत्वपूर्ण पक्ष भने अफ्रिकाको राम्रो राजनीतिक र सामाजिक वातावरण नै हो । अनुकूल राष्ट्रिय वातावरणमै मात्र अन्तर्राष्ट्रिय व्यापारको सम्भावना रहन्छ । अन्तर्राष्ट्रिय व्यापारले आर्थिक सहायतामाथि निर्भरता न्यूनीकरण गर्छ । तत्कालीन समयमा युरोपेली सङ्घ २६ प्रतिशतले अफ्रिकाको सबैभन्दा ठूलो व्यापार साझेदार थियो । त्यस्तै संरा अमेरिका १८ प्रतिशतले दोस्रो र चीन ११ प्रतिशतले तेस्रो थियो । तर पश्चिमाहरू अफ्रिकाको निम्ति असल साझेदार भनिए पनि वास्तवमा अफ्रिकाविरुद्ध चलखेल गरिनै रहे । चीन सबैभन्दा महत्वपूर्ण र उपयुक्त विकल्पको रूपमा उभिने विश्वास त्यसकारण पनि अझ बलियो बन्यो र चीन–अफ्रिका सम्बन्ध अवसरसिद्ध भयो ।
विकास सम्भव तुल्याउनका निम्ति आर्थिक सहायतामा आधारित विकास मोडल विस्थापित गरिन आवश्यक छ । व्यापार, एफडीआई, पुँजीबजार, रेमिटेन्स, लघुवित्तले पनि आर्थिक वृद्धिमा सघाउने तर्क पुस्तकमा छ । यसको लागि राजनीतिक इच्छाशक्तिको आवश्यकता रहन्छ । पुस्तकका लेखिका हार्वड विश्वविद्यालयका विद्यार्थी भएको कारण उनमा स्वतन्त्र अर्थतन्त्र र स्वतन्त्र बजारको प्रभाव देखिन्छ । आर्थिक सहयोगलाई, मात्र आर्थिक दृष्टिले व्याख्या गर्न खोजिएको छ । लुकेका राजनीतिक स्वार्थहरूबारे अप्रत्यक्षरूपले सन्दर्भहरू कोट्याइएका छन् । तर, हरेक दृष्टिले सत्य या वास्तविकताहरू अझै बाहिर ल्याइएका छैनन् । आर्थिक सहायताबाट अफ्रिकी जनताले भोग्नुपरेको दुःख र अप्थ्याराहरू तथ्य र तथ्याङ्कसहित पुस्तकमा प्रस्तुत गरिएको छ ।
आर्थिक सहायतासँगै भित्रिएको आर्थिक उपनिवेशको थिलथिलोमा परेका अफ्रिकी जनतालाई मुक्त गर्नेे केही समाधानका उपायहरू पनि लेखिकाले पस्केकी छिन् । ती कति व्यवहारिक छन्, छैनन् छलफल आवश्यक देखिन्छ । अर्थशास्त्रीय विश्लेषणसहित आर्थिक सहायताको कटु आलोचना गरिएको यस पुस्तक जानकारीमूलक भने अवश्य छ । पुस्तकले अफ्रिकी महादेशलाई पुस्तौँ–पुस्तासम्मका अफ्रिकीहरूको आर्थिक स्वतन्त्रता, राजनीतिक तथा सामाजिक स्वतन्त्रताको निम्ति आफ्नै खुट्टामा उभिन प्रेरित गर्छ । ‘मृत आर्थिक सहायता’ले विगत ५० वर्षको आर्थिक उतारचढावको इतिहास पस्कन्छ । साथै युगौंयुगदेखि गरिबीमा बाँचेका अफ्रिकीहरूलाई त्यहाँबाट उठ्न ऊर्जा प्रदान गर्छ । हरेक हिसाबले अफ्रिका अफ्रिकीहरूको हुनुपर्ने डाम्बिसाको अभिमत पुस्तकभित्र जताततै भेटिन्छ । गरिबी, रोग (HIV-AIDS), भ्रष्टाचार र अस्तव्यस्तता हटाएर अफ्रिकामा दीर्घकालीन विकासका निम्ति पहल गर्ने समय यही हो भन्छिन्, डाम्बिसा । पुस्तक एउटा अफ्रिकी भनाइका साथ टुङ्गिन्छ–“रुख रोप्ने सबैभन्दा उत्तम समय २० वर्ष अगाडि थियो । दोस्रो उत्तम समय भनेको आज हो, अहिले हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *