भर्खरै :

अमेरिकी ग्रीनकार्डको लागि विवाह

रसिक
शुक्रबार कार्यालय समयमा एक जना अभिभावक आफ्नी छोरी अमेरिकामा रहेको र निजको नेपाली स्थायी ठेगाना प्रमाणिकरणको सिफारिस लिन वडाध्यक्षलाई भेट्न आए । वडाध्यक्षले अङ्ग्रेजीमा लेखिएको सिफारिस खेस्रा पढे र रातो कलमले केही सच्याउन थाले ।
“अङ्ग्रेजीमा एमए गरेका भान्जाले लेखेको, यहाँ त सचिवलाई टाइपमात्र गर्न लगाएको वडाध्यक्ष ज्यू ।”
“रामै्र हो दाइ । तपार्इँकी छोरीको बिहे भएको होइन र ? बिहे भएपछि त मिसेस लेख्नुप¥यो नि । त्यसमाथि बिहे गरेपछि श्रीमान ठेगाना लेख्नुपर्ने, तपार्इँले त छोरीको माइतिको ठेगाना लेख्नुभयो । यो मिलेन दाइ ।”
“होइन वडाध्यक्षज्यू, मलाई छोरीको माइतिकै ठेगाना राख्नुपर्ने । मिल्दैन र ?”
“अहँ, हुँदैन दाइ । फेरि विवाहित छोरीलाई मैले अविवाहित भनेर वडा कार्यालयको लेटर प्याडमा सिफारिस गर्न मिल्दैन नि । छोरीको त विवाह दर्ता छ होला नि ?”
“छ वडाध्यक्षज्यू । तर पनि मलाई यसरी नै सिफारिस चाहिने । नभए समस्या हुन्छ ।”
“किन र दाइ ? छोरी र ज्वाइँबीच केही समस्या छ कि ?”
अभिभावकको मुख निन्याउरो देखियो । उनले कार्यालयमा आफूबाहेक अन्य सेवाग्राही पनि भएकोले खुलस्त पार्न चाहेनन् । अभिभावकको अप्ठेरो बुझेपछि वडाध्यक्षले अन्य सेवाग्राहीलाई एकछिन बाहिर बस्न आग्रह गरे ।
सबैजना बाहिर गएपछि अभिभावकले विस्तारै आफ्नी छोरीको विषयमा कुरा राख्न थाले ।
“खै, कुरा कसरी सुरु गरुँ ? बीएनको पढाइ सिध्याएर एउटा प्रतिष्ठित सरकारी अस्पतालमा मेट्रोन भई बिरामीको सेवा गरिरहेकी छोरीलाई एकजना आफन्त लमी भएर विवाह गराउने प्रस्ताव आयो । केटा पनि अङ्ग्रेजीमा एमफिल गरेको र पीएचडीको लागि अमेरिका जाने तयारी गरिरहेको भनेपछि हामी पनि मख्ख भयौँ । छोरीले त एक दुई वर्ष पर्खन भनेकी थिइन् तर हामी नै पछि त्यति राम्रो र अध्ययनशील केटा पाइएला कि नपाइएला भन्ने लागेर विवाहको निम्ति छोरीलाई सम्झाउन थाल्यौँ । छोरीले हाम्रो कुरा काट्न सकिनन् र विवाहको लागि राजी भइन् । विवाह धुमधामले गरियो । दुवै परिवार निकै खुशी थियौँ ।”
“विवाहको केही महिनापछि ज्वाइँ र छोरी दुवैजना अमेरिका जाने तयारीमा लागे । छोरी नर्स भएकीले उसलाई अमेरिकाको भिसा लगाउन सजिलो हुने र उसैको डिपेन्डेन्ट भिसामा ज्वाइँ पनि सँगै जाने कुरा गरियो । हामीलाई पनि ठिकै लाग्यो । एक जना नेपालमा र अर्को अमेरिकामा बस्नुभन्दा दुवैजना अमेरिका गए भने दुवैलाई सजिलो हुने र पैसा पनि कमाइने आशले छोरीले सरकारी अस्पतालको नर्सबाट राजीनामा दिइन् । छोरीको भिसा पनि लाग्यो, ज्वाइँले डिपेन्डेन्ट भिसामा एप्लाइ गर्नुभयो । दुवैजना अमेरिका उडे ।”
“अमेरिका पुगेपछि छोरी र ज्वाइँसँग बारम्बार अनलाइन कुराकानी भइरहन्थ्यो । राम्रै काम पाइरहेका थिए । ज्वाइँले पीएचडीका लागि विश्वविद्यालयमा दरखास्त दिनुभयो । अमेरिकाको जीवन कहाँ सजिलो हुन्थ्यो र ? छोरीले दुई सिप्mटमा काम गर्थिन्, ज्वाइँले पनि एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्नुहुन्थ्यो । दुई जनासँगै भेट्न र खाना खान आइतबार कुर्नुपथ्र्यो रे । अनलाइनमा कहिले ज्वाइँले अमेरिकाको जीवन सजिलो नभएको गुनासो गर्नुहुन्थ्यो त कहिले छोरीको थकित अनुहार देखिन्थ्यो । जे भए पनि दुवैजना खुशी भएकोमा हामीलाई सन्तोष लाग्थ्यो ।”
“ज्वाइँले अमेरिकाको ग्रीनकार्ड पाएको खबर पाएसँगै हामी निकै दङ्ग भयौँ । अब दुवैको भविष्य राम्रो बन्ने भयो भन्ने लाग्यो । वर्षदिनको अमेरिका बसाइपछि एक महिनाको लागि छोरी र ज्वाइँ दुवै नेपाल फर्किए । यहाँ आउँदा दुवैजना असाध्यै खुशी देखिन्थे । पोखरा, धरानलगायत विभिन्न ठाउँमा घुम्न गएका थिए । ज्वाइँ बरोबर घर आउनुहुन्थ्यो, अमेरिका बसाइको विषयमा र त्यहाँको काम गराइको विषयमा पनि हामीलाई जानकारी दिनुहुन्थ्यो । अमेरिकामा कसैले कसैलाई वास्ता नगर्ने, सबैजना काम र पैसाको पछि दगुर्ने गरिएको बताउनुहुन्थ्यो । अमेरिकाभन्दा नेपाल स्वर्ग भएको र आफ्नो पीएचडी भ्याएर केही पैसा कमाएपछि नेपाल नै फर्किने बताउनुहुन्थ्यो ।”
“छोरी र ज्वाइँले नेपाल आउने क्रममा नै अमेरिकाको फिर्ती टिकटसमेत काटेका थिए । त्यसैले अमेरिका फर्किने समय नजिकिँदै गर्दा दुवैजना आफन्तहरूलाई भेट्न र बिदावारी गर्न व्यस्त भए । अमेरिका फर्कनुभन्दा दुईदिन अघि दुवैजना बेलुकी ढिलासम्म हामीसँग रमाइलो छलफल गरिरहेका थिए । छोरी र ज्वाइँ फेरि अमेरिका जाने भयो भनी हामीलाई न्यास्रो लागिरहेको थियो । दुवैले चाँडै नेपाल फर्किने बाचा गरिरहेका थिए । त्यो दिन दुवैलाई घरमै सुत्न आग्रह ग¥यौँ । छोरीले हुन्छ भनिन् तर ज्वाइँ घर जाने कुरा गर्दै हुनुहुन्थ्यो । हामीले ज्वाइँलाई ससुराली घरमा रात बिताउन कर गर्न सकेनौँ र चाहेनौँ पनि । भोलि फेरि आउने वचनसहित राति ढिलो गरी ज्वाइँ फर्किनुभयो ।”
“भोलिपल्ट ज्वाइँ घर आउनुभएन । साथीभाइसँग भेटघाटमा व्यस्त हुनुभयो कि भन्ने लाग्यो । बेलुका ज्वाइँको फोन स्वीच अफ भयो । अबेलासम्म फोन गर्दा पनि ज्वाइँको फोन स्वीच अन भएन । फोनमा केही समस्या भयो कि भन्नेमात्र लाग्यो, अरू केही सोचेनौँ ।”
“अमेरिका फर्कने दिनमा पनि बिहानैदेखि ज्वाइँको फोन स्वीच अफ थियो । छोरी अमेरिका फर्कने तयारीमा थिइन् । के गर्ने, के नगर्ने भयो । छोरीसँग जेठानको नम्बर रहेछ । जेठानलाई फोन सम्पर्क गर्दा उहाँले भाइ घरको जरुरी कामले अचानक चितवन जान परेको र कसैलाई सम्पर्क नगरी गएको जवाफ दिनुभयो । केही दिनपछि फर्किने कुरा आएपछि छोरीको मन थामियो । शङ्का गर्ने कुनै ठाउँ नै थिएन ।”
“केही दिनपछि अमेरिकामा आप्mनो कोठा नजिकैको छिमेकी भारतीय साथीले अनलाइन कुराकानीको क्रममा ‘तिम्रो श्रीमान् अमेरिका पुगेको तर तिमी बिरामी भएर नआएको हो ?’ भनी सोधेपछि छोरीको होस गुम्यो । छोरीले त्यसपछि पटक पटक ज्वाइँसँग फोनमा, अनलाइन म्यासेन्जर, फेसबुक र भाइबरमा सम्पर्क गर्ने कोशिस गरिन् । ज्वाइँले छोरीलाई सबै सामाजिक सञ्जालमा अनफ्रेन्ड गरिसक्नुभएको रहेछ । ज्वाइँसँग सम्पर्क हुन नसकेपछि छोरी बेचैन भइन्, क्वाँ क्वाँ रुन थालिन् । श्रीमानसँगको विछोड सहन नसकेर आत्महत्या गर्ने प्रयास समेत गरिन् ।”
“हामीले छोरीलाई सम्झाउने प्रयास ग¥यौैँ । मिल्ने साथीहरूले पनि उसलाई धेरै सम्झाए । हामीलाई त छोरीले केही भनिन, तर मिल्ने साथीसँग एक्लै कुरा गर्ने क्रममा छोरीले अमेरिका बसाइको क्रममा कहिलेकाहीं सानो सानो कुरामा पनि ज्वाइँले निहुँ खोज्ने गरेको र विभिन्न कागजमा सही गर्न लगाएको बताइन् । अङ्ग्रेजीमा लेखिएको कागज १५–१६ पेजको थियो रे, केही बेर पढ्न खोज्दा ज्वाइँले के पढिरहेको ? मेरो विश्वास छैन ? भन्थ्यो रे । ज्वाइँले भनेको ठाउँमा सही गरेको कुरा छोरीको साथीबाट हामीले थाहा पायौँ । त्यो के कागज थियो, स्वयम् छोरीलाई थाहा थिएन, त्यसको एकप्रति फोटोकपी पनि नगरिएको रहेछ ।”
“त्यसबीचमा छोरी पटक पटक श्रीमानकाे घर पनि गइन् । तर श्रीमानले छोडेकी भनेर हेलाहोचो गरेपछि त्यहाँ बस्न सकिनन् र माइत बस्न थालिन् । दिनदिनैको छोरीको आँसु र निराशा हामीले देख्न सकेनौँ । हामीले पनि विभिन्न माध्यमबाट ज्वाइँसँग सम्पर्क गर्ने प्रयत्न ग¥यौं तर सम्भव भएन । अनेक प्रयास गर्दा पनि नभएपछि हामी कानुनी उपचारमा गयौँ । छोरीले ज्वाइँविरुद्ध अदालतमा मुद्दा हालिन् । प्रतिवादीको अदालती प्रतिउत्तरको क्रममा ज्वाइँको तर्फबाट छोरीले अमेरिकामा बस्दै गर्दा सही गरेको १५–१६ पेजको पत्र प्राप्त भयो । नेपालीमा अनुवाद गरी पढ्दा मात्र थाहा पाइयो कि त्यो पत्र सम्बन्ध विच्छेदको कानुनी कागजात रहेछ । पत्र पढ्दै गर्दा छोरी बेहोस भइन् ।”
“पत्रमा सम्बन्ध बिच्छेदसँगै पतिको नाउँमा अमेरिकामा र नेपालमा रहेको सम्पतिमा समेत पत्नीको कुनै दाबी नहुने समेत लेखिएको रहेछ । दुवैजना राजीखुशीले एक अर्काबाट छुटिन चाहेको कुरा प्रस्टसँग कागजमा लेखिएको थियो । हामीलाई त आकासै खसेजस्तो भयो । केही भन्नै सकेनौँ । बेहोस भएकी छोरीलाई नजिकैको स्वास्थ्य केन्द्रमा इमर्जेन्सीमा राख्यौँ । छोरीको हालत खराब हुन थाल्यो, कहिले होस खुल्ने, बर्बराउने र एकैछिनमा बेहोस हुने । हामी आत्तियौँ । चिकित्सकको सल्लाहमा छोरीलाई मनोसामाजिक परामर्शमा लग्न थाल्यौँ । हामीसँग अर्को कुनै उपाय थिएन ।”
“महिनौँको उपचारपछि छोरीले अमेरिका फर्कने अड्डी कसिन् । ‘मेरो श्रीमान जहाँ छ, म त्यहीं जान्छु, किन मलाई छोडेको भनी सोध्छु, झगडा गर्छु र त्यही बस्छु’ भन्न थालिन् । छोरीको जिद्दीको अगाडि हाम्रो केही चलेन । छोरी अमेरिका गइन् । हामी आत्तिएका थियौँ । उसले ज्वाइँलाई भेटिन् रे तर ज्वाइँले सम्बन्ध बिच्छेदको कागज देखाएर अमेरिकी प्रहरीको सहायता लिनुहुन्थ्यो रे । त्यहाँ पनि छोरी बेसहारा बनिन् ।”
छोरी अमेरिका गएको दुई महिनापछि उसको अमेरिकी भिसाको अवधि समाप्त भयो । अहिले उनी गैरकानुनीरूपमा अमेरिका बसिरहेकी छिन् । कानुनी सङ्घर्षका लागि नेपालबाट ठेगाना प्रमाणिकरणसहितको सिफारिस चाहिने भनेकीले म तपार्इँकोमा आएको हुँ बाबु । मलाई सहयोग गर्नु वडाध्यक्ष बाबु, नत्र मेरी छोरी विरानो देशमा विचल्लीमै पर्ने भइन् ।
निकै भावुक र रुन्चे आवाजमा अभिभावकको कुरा सुनेर वडाध्यक्ष गम्भीर भए । उनले फोनबाट केही कानुनविद् साथीहरूसँग छलफल गरे, नगरपालिकाको कानुनी सल्लाहकारसँग पनि सल्लाह मागे ।
वडाध्यक्षले अभिभावकलाई धाडस दिँदै भोलिपल्ट उनकै घरमा भेट्न आउने र केही कानुनी उपचारको उपाय लिएर आउने वचन दिए । वडाध्यक्षको आश्वासनपछि अभिभावकको अनुहारमा केही चमक देखियो । वडाध्यक्षलाई नमस्कार गरी उनी कार्यालयबाट बाहिर निस्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *