भर्खरै :

अन्धविश्वासीमाथि थप्पड ः कोरोना

राजन
‘कसैलाई के चिन्ता घर ज्वाइँलाई खानकै चिन्ता ।’ एकातिर संसारभर मानव जातिको लागि चुनौतीको रूपमा देखापरेको नयाँ रोग कोरोना भाइरस छ भने अर्कोतिर यही कोरोनालाई हतियार बनाएर आ–आफ्नो स्वार्थसिद्धिको लागि अनेक नौटङ्की गर्ने धार्मिक समुदाय पनि देखा परिरहेका छन् । विभिन्न धार्मिक समुदायका धर्मालम्बीहरू अप्रमाणित तर्क राख्दै कोरोनालाई सही ठाउँमा ल्याउनसक्ने आफ्नो भगवान नै सर्वेसर्वा रहेको जनताबीच भ्रम फैलाइरहेका छन् । यिनीहरूको निम्ति जनता आफ्नो कब्जामा राखिराख्ने साधन नै धार्मिक अन्धविश्वास हो । कार्लमाक्सले “धर्म अफिम हो” भनेर यत्तिकै भनेको होइन रहेछ ।
कोरोना उपचारबारे भारतीय तुजुक निकै हास्यास्पद छ । भारतमा एकथरी कट्टर हिन्दूहरूले गोमूत्र र गोबरमा कोरोना भाइरस निर्मूल पार्ने तत्व रहेको भनेर गोमूत्र पिउने कार्यक्रम चलाएका छन् । हिन्दू महासभाका चक्रपाणीजस्ता हिन्दू धर्मगुरु गोमूत्र वा गोबर लगाउन सर्वसाधारणलाई उक्साउँदै छन् । यी व्यक्तिहरू (चक्रपाणी) ले हिन्दू धर्मको खिल्ली उडाइरहेका छन् । हो, हाम्रो लागि गाई पवित्र छ र यसको दूध, गोमूत्र र गोबर सबैमा धेरै गुणहरू छन् । तर, यसप्रकारको अप्रमाणित हर्कत भने उपयुक्त छैन । कोही हजारौँ मान्छे जम्मा गरेर, समारोह आयोजना गरेर ड्रमका ड्रम गाईको मुत बाँड्दै छन् । कोही भजन गाउँदै छन् । आजको वैज्ञानिक युगमा यस्तो कुरा गर्ने हो ? भनेर आफूलाई आधुनिक ठान्ने मान्छेहरू पनि आफ्नो अनुकूल भए अन्धविश्वासको यस्तो हदसम्म जान तयार हुन्छन् कि विश्वास गर्नै गाह्रो हुन्छ । यो विज्ञानको युगमा कोरोना भाइरसबाट बच्न गाईको पिसाब खान मान्छेहरूलाई उत्साहित गर्ने धर्मका ठेकेदारहरूमात्र होइन राजनीतिज्ञहरूसमेत लागेका छन् । भाजपाका एक सांसदले त “मोदी चीनमा गएर गाईको पिसाब र गोबरको महत्वको बारेमा प्रचार गर्नुपर्छ” सम्म भन्न भ्याए ।

सबैको धर्मप्रतिको आस्थालाई सम्मान गर्दै भन्छु, कुनै पनि धर्मका भगवानले हामीलाई रक्षा गर्दैनन् । मानव जातिको रक्षा मानवले नै गर्ने हो । यदि भगवानले हाम्रो रक्षा गर्ने भए यसरी भगवानप्रति गरिने प्रार्थना रोक्नुपर्ने थिएन । कोरोनाले गर्दा काबा (अल्लाहको घर) पनि बन्द भएका छन् । कति गिर्जाघर, मन्दिर र बिहारहरू पनि बन्द गरिएका छन् । यतिबेला हामीलाई ईश्वरको होइन वैज्ञानिकको खाँचो छ, जसले कोरानाको भ्याक्सिन पत्ता लगाउन सकियोस् र हामी महामारीबाट बच्न सकियोस् ।
सबैभन्दा राम्रो कुरा हामीले आफैलाई हेरविचार गर्नु र हाम्रो नजिकको साथीभाइ परिवारलाई पनि सरसफाइमा ध्यान दिनुपर्ने सल्लाह र सुझाव दिनु जरुरी छ । हुल, भीडबीच कोरोना फैलिन सजिलो हुन्छ । त्यही भएर विदेशमा खेलाउनैपर्ने महत्वपूर्ण खेल पनि स्टेडियममा दर्शकबिना खेलाएका थिए । हामीकहाँ भने सिनेमा घर बन्द गर्ने सरकार निर्णयलाई पनि फिल्म निर्माताहरू सिनेमा घर बन्द गर्न अटेर गरिरहेका छन् । सङ्क्षेपमा भन्नुपर्दा कोरानाको प्रभावलाई न्यूनीकरण गर्न हामी जनता अनुशासित हुनुपर्छ ।

अर्कोतिर तथाकथित बाबा रामदेवहरू अचुक अस्त्र भन्दै आफ्ना घाटामा गएको प्रडक्ट बेच्दै छन् । कोही महायज्ञ गरेर होम आहुति दिँदै छन् । टेलिभिजन च्यानलहरू जीवित कोरोनाको ८४ हजार जुनिको व्याख्या गर्दै कथा पढाउँदै छन् । ब्राह्मणवादी सोचका मानिसहरू मूर्ख कुरा गर्नमा सीमा नाघिरहेका छन् । यी व्यक्तिहरू समाजलाई गहिरो खाडलमा लैजान चाहन्छन् । यी व्यक्तिहरू जनतालाई अन्धकारमा लैजान चाहन्छन् । यी मानिसहरूले मानिसभन्दा पशुहरूलाई बढी महत्व दिएका छन् । विज्ञानको सट्टा अन्धविश्वास उनीहरूको लागि शताब्दीयौँदेखि लाभदायक हतियार भएको छ र तिनीहरू यो अभियानलाई अगाडि बढाउनमा व्यस्त छन् । उनीहरू जनताको दिमाग मनुवादी सोच भर्दै आफ्नो विचारधारा प्रयोग गरेर आफ्नो सर्वोच्चता कायम राख्नमा व्यस्त छन् । जाति र धर्मको आधारमा यी व्यक्तिहरू आफूलाई उच्च र अरूलाई निम्न स्तरका र दोस्रो दर्जाको नागरिक ठान्छन् । यदि कुनै ब्राह्मणले १०१ रुपैयाँ लिएर ग्रहको दिशा बदल्नसक्छ भने “कोरोना भाइरस किन भारतबाट हटाउन सक्दैन ? गीतामा श्रीकृष्णले भनेका छन् “जब जब धरतीमा सङ्कट आउनेछ, तब तब म अवतार लिनेछु “के पृथ्वीमा अहिलेसम्म कहिल्यै सङ्कट आएको छैन त ? हिजो थिएन ? आज छैन ? भियतनाम, अफगानिस्तान, इराक, सिरिया आदि देशहरूमा निर्मम अमानवीय युद्ध भइरहँदा भगवान कृष्णले आफ्नो वचन पूरा गरे त ?
अर्कोतिर नमाज पढ्ने भएर मुसलमानहरूलाई कोरोना भाइरसले नछुने भनेर मौलानहरू मनगढन्ते हौवा फैलाइरहेका छन् । उनीहरूले केसम्म भन्न भ्याए भने “चीनको उइगुर प्रान्तमा रहेका मुसलमानहरूलाई कोरोनाले नछोएको र ती मुसलमानलाई चिनियाँ सरकारले दमन गरेकोले अल्लाहले कोरोना पठाएर चीनमाथि बदला लिएको हो ।” अचम्मको कुरा के भने ती धर्मभिरुहरूलाई थाहा भएन, कोरोनाबाट धेरै प्रभावित हुने मुलुकमध्ये इरान पनि प्रमुख हो जुन मुसलमान देश हो भनेर ।
त्यसरी नै पृथ्वी गतिशील छ र सूर्यलाई परिक्रमा गर्दछ भनेर वकालत गरेका कारण दार्शनिक जिर्योडानो बुरनोलाई जिउँदै जलाएर मार्ने पाखण्डी रोमन पादरीका चेलाहरूले नेपालमै पनि भगवान यशु ख्रिष्टले कोरोनाबाट सबैको रक्षा गर्ने भनेर ‘भाग कोरोना भाग’ भन्दै नाचगान गर्नेजस्ता केटाकेटी पाराको काम गरिरहेका छन् । दक्षिण कोरियाको चर्चका पादरीले जिजस क्राइस्टले कोरोना निको पारिदिन्छ भन्दै चर्चमा बोलाई प्रार्थना गराउँदा उल्टै पुरै कोरिया कोरोनाको चपेटामा आयो ।
कोरोना भाइरसले धेरै हदसम्म अन्धविश्वासलाई चिरफार गर्न पनि सहयोग गरेको छ । युरोपमा चर्चमा गएर प्रार्थना गर्न रोक लगाएको छ । कोरोनाको प्रकोपबाट बच्न हालैमात्र सउदी अरब र कतारले केही समयको लागि मस्जिदमा गएर प्रार्थना गर्नबाट रोक लगाएको छ । भारतमा कोरोना प्रकोपलाई ध्यानमा राख्दै थुप्रै हिन्दू मन्दिर अनिश्चित कालको लागि भक्तजनहरूको निम्ति बन्द गरिएको छ ।
सबैको धर्मप्रतिको आस्थालाई सम्मान गर्दै भन्छु, कुनै पनि धर्मका भगवानले हामीलाई रक्षा गर्दैनन् । मानव जातिको रक्षा मानवले नै गर्ने हो । यदि भगवानले हाम्रो रक्षा गर्ने भए यसरी भगवानप्रति गरिने प्रार्थना रोक्नुपर्ने थिएन । कोरोनाले गर्दा काबा (अल्लाहको घर) पनि बन्द भएका छन् । कति गिर्जाघर, मन्दिर र बिहारहरू पनि बन्द गरिएका छन् । यतिबेला हामीलाई ईश्वरको होइन वैज्ञानिकको खाँचो छ, जसले कोरानाको भ्याक्सिन पत्ता लगाउन सकियोस् र हामी महामारीबाट बच्न सकियोस् ।
सबैभन्दा राम्रो कुरा हामीले आफैलाई हेरविचार गर्नु र हाम्रो नजिकको साथीभाइ परिवारलाई पनि सरसफाइमा ध्यान दिनुपर्ने सल्लाह र सुझाव दिनु जरुरी छ । हुल, भीडबीच कोरोना फैलिन सजिलो हुन्छ । त्यही भएर विदेशमा खेलाउनैपर्ने महत्वपूर्ण खेल पनि स्टेडियममा दर्शकबिना खेलाएका थिए । हामीकहाँ भने सिनेमा घर बन्द गर्ने सरकार निर्णयलाई पनि फिल्म निर्माताहरू सिनेमा घर बन्द गर्न अटेर गरिरहेका छन् । सङ्क्षेपमा भन्नुपर्दा कोरानाको प्रभावलाई न्यूनीकरण गर्न हामी जनता अनुशासित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *