काठमाडौँ, ८ चैत । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा कायमै छन् ।
यसअघिको बरियतामा प्रिन्स १० औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । प्रिन्सले गत महिना सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेसनलमा उनले खेलेका तीन खेलमा दुईमा जीत र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जीत तथा एउटामा हार ब्येहोरेका थिए ।
यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११ औँ स्थानमा, पुस दोस्रो साता १४ औँ स्थानमा तथा मंसिरमा ३२ औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आबद्ध छैनन् । प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ ।
विश्व जुनियरतर्फको बरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ पनि यथावत छन् । दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौँ तथा फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा यथावत नै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *