भर्खरै :

खरिपाटीमा ६३ जना क्वारेन्टाइनमा

भक्तपुर, ८ चैत । चीनको उहानबाट फर्काइएका नेपालीहरूलाई चौध दिन क्वारेन्टाइनमा राखिएको भक्तपुरको खरिपाटीमा दुबई, कतारलगायतका विभिन्न देशबाट स्वदेश फर्केका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । थाई एयरवेजबाट ४९ र एयर इन्डियाबाट १३ जना शनिबार नेपाल फर्केका हुन् ।
उनीहरूको व्यवस्थापनको लागि क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ ।
उनीहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारको लागि सहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लैजाने भएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लङ्घन गर्दै दुबई, कतारलगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएको बताइएको छ । सरकारले गत बुधबार युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि आगामी वैशाख ३ गतेसम्मको लागि नेपाल आउन प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *