भर्खरै :

बिस्केट जात्राबारे टोल–टोलमा चर्चा

– अर्जुन दुवाल
कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिरहेको सन्दर्भमा सतर्कता अपनाउनु जरुरी छ । सो रोगको सङ्क्रमणबाट बच्न, बचाउन हरेकले सतर्कता अपनाउनुपर्छ । यस्तो बेला हजारौँ मानिस भेला हुने बिस्केट (बिस्का) जात्रा कसरी मनाउने भन्नेबारे चिन्तनमनन या विचारविमर्श गर्नु अस्वाभाविक होइन । बिस्केट जात्रा मनाउने सजिलो उपाय खोज्नु नराम्रो पनि होइन । परिस्थितिलाई ध्यानमा राखेर सजिलो उपाय खोज्नु समयको माग पनि हो । यसै विषयमा ‘बिस्का जात्रामा यसो पो गर्ने कि ¤’ भन्ने के. श्रेष्ठको पाठक प्रतिक्रिया चैत ९ गतेको मजदुरमा छाप्यो । यसले बिस्केट जात्रा कसरी मनाउने भन्नेबारे चर्चा परिचर्चाको विषय बनायो । हुन पनि अहिले टोल–टोलमा बिस्केट जात्रा कसरी मनाउने भन्ने विषयमा टीक्का टिप्पणी भइरहेको छ ।
भीडमा कोरोना भाइरसको सङ्क्रमण फैलिने बढी सम्भावना हुन्छ, यसमा दुईमत नहोला । बिस्केट जात्राको थालनी हुने समय अझै दुई हप्ताभन्दा बढी छ । त्यतिञ्जेल यो भाइरसको सङ्क्रमण अझ व्यापक हुन्छ या नियन्त्रण हुन्छ, भन्न सकिंदैन । सङ्क्रमित र मृत्युहरूको सङ्ख्या बढिरहेको तथ्याङ्कले कोरोना भाइरस तत्काल पूर्णतः नियन्त्रण होला भन्ने विश्वास गर्ने ठाउँ छैन । तर, भैरवको रथ नै नबनाउने कुरा कति सही या गलत त्यो पनि छलफलको विषय छ । विश्वका १८६ देशमा कोरोना भाइरस पुगे पनि नेपालमा पसेको छैन । यो राम्रो पक्ष हो । त्यसको अर्थ यो रोग नेपालमा फैलिंदैन भनेर ढुक्क हुनु छैन । सङ्क्रमण फैलिरहेको हिसाबले टौमढीमा बनाइरहेको भैरवको रथ तानेर निर्धारित स्थानमा पु¥याउने या नपु¥याउने त्यो अर्को पक्ष हो । तर, रथै बनाइएन भने चाहेर पनि भैरवको रथ जात्रा मनाउनै पाइँदैन ।
बिस्केट जात्रा मनाउन भैरवको रथ र लिङ्गो आदि सबै तयारी अवस्थामा राखेर त्यसबेलाको समय हेरी उपयुक्त विधि अपनाउने हो कि भन्नेबारे पनि टोल टोलमा चर्चा परिचर्चा भइरहेको पाइन्छ ।
भैरवको रथ निश्चित व्यक्तिहरूले मात्र तान्ने व्यवस्था गरेर साँझपख नै निर्धारित स्थानमा पु¥याएर जात्रा सम्पन्न गर्ने हो कि ! लिङ्गो पनि साँझपख नै उठाएर जात्रा सम्पन्न गरे लामो समयसम्म मान्छेको भीड भइरहने छैन । स्मरणीय छ, लिङ्गो राति अबेलासम्म उठाउन नसकेर बिहान उठाएको समय पनि छ । भैरवको रथ त बिग्रेर समापनको दिन टौमढीमा पु¥याउन नसकेको धेरै वर्ष भयो । यस हिसाबले अप्ठेरो पर्दा, सङ्कटमा पर्दा सम्बन्धित व्यक्तिहरूले सजिलो या भरपर्दो उपाय अपनाउन सकिन्छ र गर्नुपर्ने संस्कार, रीतिथिति विधिपूर्वक गर्न र गराउन नसकिने होइन । यसो गर्दा कता कता के के नपुग भएको या कसो कसोजस्तो हुनु अस्वाभाविक होइन । बिस्केट जात्रा भैरवको रथ र लिङ्गोसित मात्र सम्बन्धित छैन । टोल–टोलमा पनि विभिन्न देवताका जात्रा हुन्छ । त्यसको के गर्ने या कसरी मनाउने अर्को चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *