जेनेभा, ९ चैत , एएफपी। महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार साँझ ७ बजेसम्म विश्वभर १३ हजार ७१ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार ६१५ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८३४ जना उपचारपछि घर फर्किएका छन् । कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो । हाल ५३ हजार ५७८ जना सङ्क्रमित रहेको इटालीमा ६ हजार ७२ जना व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिनुभएको छ । करिब ६ करोड जनसङ्ख्या रहेको इटालीमा कोरोना भाइरसको कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनभरि तीन हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४ जना सङ्क्रमित भएका थिए । तर, चीनमा ७२ हजार ४४० जना निको भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुपेइ प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतको आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको छ भने २१ हजार ६३८ जना सङ्क्रमित रहेका छन् । सात हजार ९ सय १३ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ७ सय २४ जनाको मृत्यु भएको छ । हाल २८ हजार ६ सय ३ जना सङ्क्रमित रहेका छन् । जर्मनीमा ९३ जनाको मृत्यु भएको छ भने २३ हजार १ सय २९ जना सङ्क्रमित रहेका छन् ।
संयुक्त राज्य अमेरिकामा ३४० जनाको मृत्यु भएको छ । हाल अमेरिकामा २८ हजार ६ सय ३ जना सङ्क्रमित रहेका छन् भने १७६ जनाको उपचार गरिएको छ । फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । हाल १४ हजार ४ सय ५९ व्यक्ति सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ८ सय ९७ जनामा अझै पनि सङ्क्रमण छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण स्वीजरल्यान्डमा ८० जना, बेलायतमा २३४ जना, नेदरल्यान्ड्समा १३७ जना, बेल्जियममा ७५ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन् ।
विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै ‘लकडाउन’ घोषणा गरिएको छ । एक अनुमानअनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरू रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् ।
कोराना भाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरूले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *