भर्खरै :

कोभिड – १९: ठगहरूको विरोध गरौँ !

-राकस्था
धामी तथा झाँक्रीलाई नै कोरोना विरुद्ध लगाउने कि !?
करिब दुई दशकअगाडि यो पङ्क्तिकार जुम्लाको खलङ्गा बजार पुगेको थियो । एकसाँझ एकजना मित्रले खाना खान घरमा बोलाए । खाना खानको लागि सबै अगेना वरिपरि पलेटी कसेर बसे । खाना पस्किन बसेकी महिला एकाएक काम्न थालिन् । खसभाषामा ती महिलामा ‘देउता’ चढ्यो । पस्किएको खाना अगाडि थियो । पाहुनाहरू मुखामुख गर्नथाले । कुरा के रहेछ भने खाना खान लागेका पाहुनामध्ये एकजना जुम्लाकै एक ‘दलित’ परेछन् ! तिनले लोटामा पानी सार्न लाग्नेबित्तिक्कै खाना पस्कन लागेकी महिलामा ‘देउता’ आएको रहेछ !
शिक्षा र स्वास्थ्य क्षेत्रमा तुलनात्मकरूपमा पछाडि परेको कर्णाली प्रदेशमा आफ्नो घरआँगनको कालो माटोको टीका लगाएपछि कोरोना भाइरस भाग्छ भन्ने एउटा हल्ला चल्यो । जौ र तिल हवन गरी तिलकको टीका लगाउने प्रचलन छ, त्यता पनि । स्थानीय भाषामा सिकापात्ति (तिलक) लगाउने भनिन्छ । सिकापात्तिजस्तै कालो माटो लगाउँदा रोगव्याधि लाग्दैन भन्ने अन्धविश्वासले जकडिएको छ सिङ्गो जनमानस कर्णालीको । त्यतिमात्र होइन कालो बोका र कुखुरा देवदेवीलाई चढाउने परम्परा व्याप्त छ, कर्णालीको सांस्कृतिक साम्राज्यमा । कहाँसम्म भने, महामारीबाट बच्न कुलदेवतालाई बली चढाइएको र यसले मानिसमा आत्मबल बढाउँछ भन्ने (कू)तर्क गरेका छन् जाजरकोटको एक गाउँका वडाध्यक्षले ।
भूतप्रेत (भ्याउन्या) बारेको अन्धविश्वासमा रहेका नागरिकलाई सुशिक्षित गर्ने काम प्रभावकारी भएको देखिएको छैन । भ्याउन्याहरूले आफ्नो छायाबाटै मानिसलाई बिरामी बनाउने जनविश्वास (अन्धविश्वास) तोड्ने एउटै उपाय शिक्षा वा वैज्ञानिक चिन्तनको प्रचार हो । अशिक्षाको कारण आममानिस पखेटाविनाका चराजस्ता हुन्छन् । नत्र मानिस भूतप्रेतलाई खुसी पार्न वा देउतालाई खुसी पार्न लाग्दैनथे, कप्टिनी, बोक्सी, डङ्किनीजस्ता अज्ञात शक्तिको पछाडि मानिस लाग्देनथे होला !

नयाँ कोरोना भाइरसले कुनै पण्डित, पुरोहित, पादरी वा धर्मगुरुलाई पनि छोडेन । इटालीमा ५० भन्दा धेरै पादरी मरे ! दक्षिण कोरियामा चर्चबाटै कोरोना भाइरस फैलियो । इरानमा धार्मिक गुरुहरूसमेत धमाधम मरे । ईश्वर, जिसस, अल्लाहले कसैलाई बचाउन सकेनन् । सबैजना अस्पताल गए, डाक्टरको उपचारमा ।

कर्णाली प्रदेशका धामी तथा झाँक्रीलाई नै सामाजिक चेतनाको विस्तार कार्यमा उपयोग गर्नुपर्ने तर्क भने मननीय छ । धामी तथा झाँक्रीलाई कर्णालीतिर प्रतिष्ठितरूपमा मानिन्छ । मस्टोसँग जोडिएका धामी तथा झाँक्रीले पुरेत्याइँदेखि न्यायनिसाफसमेत गर्छन् । त्यसैले तिनीहरूमाझ कोभिड – १९ कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्नेबारे प्रचार गर्नुपर्ने आवश्यकता छ । धामी तथा झाँक्रीका पुराना उपचार विधि कुनै खास रोगको निम्ति उपयोगी देखिनु संयोगमात्र हुनसक्छन् तर सबै रोगको एउटै उपचार विधि हुन्छ भन्ने मान्यता गलत हो भन्ने कुरा उस्तै प्रकृतिका सार्स, मर्स र कोरोनाका फरकफरक उपचार विधि अवलम्बन गर्नुपर्ने तथ्यले छर्लङ्ग पारिसकेको छ । तर, लोकले पत्याएका तिनैै धामी तथा झाँक्रीलाई वैज्ञानिक तथ्यसहितको शिक्षा दिएर जनविश्वास परिवर्तन गर्ने प्रयास गर्नु जरुरी छ ।
थोरै परिवर्तनको सङ्केत
यता काठमाडौँमा यसपालिको घोडाजात्रा मनाइएन । भक्तपुरमा नवदुर्गाको नाच स्थगित गरिएको छ । पशुपतिनाथको मन्दिरमा पूजा गर्नेको भीड लाग्न बन्द भएको छ । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय गरिसकिएको छ । वयस्क किसानहरू खेत आउनजानसमेत नाकमुख छोपिने मास्क लगाएर हिँड्न थालेका छन् । अब कुनै रोग लागेमा फुकफाक वा भूत पन्छाउनतिर नलागी सबै मानिस सिधै अस्पताल जान्छन् सायद । चेतनाले मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ ।
नयाँ कोरोना भाइरसले कुनै पण्डित, पुरोहित, पादरी वा धर्मगुरुलाई पनि छोडेन । इटालीमा ५० भन्दा धेरै पादरी मरे ! दक्षिण कोरियामा चर्चबाटै कोरोना भाइरस फैलियो । इरानमा धार्मिक गुरुहरूसमेत धमाधम मरे । ईश्वर, जिसस, अल्लाहले कसैलाई बचाउन सकेनन् । सबैजना अस्पताल गए, डाक्टरको उपचारमा । सबैजनाले आधुनिक चिकित्सा विज्ञानको अनुसन्धानले भनेका निर्देशनको पालना गरे । साबुनपानीले हात मिचीमिची धुने, सामाजिक दूरी कायम गर्ने, हाँछ्यू गर्दा नाकमुख छोप्ने, हातले आँखा वा नाक नचलाउनेजस्ता विश्व स्वास्थ्य सङ्गठनका निर्देशन पालना गर्नलागे । जसले वैज्ञानिकहरूका कुरा सुनेनन् वा त्यसअनुसार व्यवहार गरेनन्, ती धेरैजसो रोगका सिकार भए । कुनै पाप वा पूर्वजन्मको फलभन्दा पनि यो जन्ममै गरेका गल्ति वा कमजोरीका कारण कोरोना भाइरस बाक्लो जङ्गलमा लागेको डढेलोजस्तो फैलिएको हो । यसरी विश्वभर नै एउटा सकारात्मक विचार स्थापित हुँदैछ । धर्म तथा त्यससँग जोडिएका अन्धविश्वासका कुरामा परिवर्तन आउने सङ्केत देखिएको छ ।
यस सन्दर्भमा धार्मिक केन्द्र र सरकारहरूले मन्दिर, चर्च वा मस्जिदमा भीड हुन नदिने भनेर अत्यन्तै सान्दर्भिक निर्णय गरे । ‘भगवान, अल्लाह वा इसामसिह’ फेरि नबिउँतिएलान् वा धर्मको नाममा शोषण रोकिइहाल्ला भनेर अहिले नै भन्नु हतार हुनेछ । तर, धर्मको नाममा हुने राजनीति डगमगिएको छ । कोरोनाको कहर खप्ने विश्वले अब अन्धविश्वासलाई मलजल गर्न सक्दैन । विज्ञानप्रति पूर्णतः भरोसा नगरेमा मानव समाजले अरू ठूलो क्षति भोग्नुपर्नेछ । किनभने इतिहासले भन्छ – यस्ता महामारी दोहोरिरहन्छन् ।
केही भ्रम र तथ्य
कोभिड – १९ नयाँ रोग भएकैले पनि केही भ्रमहरू छन् । ती भ्रम चिर्नु जरुरी छ । सुरुमा भारतका केही तथाकथित विज्ञहरूले नयाँ कोरोना भाइरस ‘कोल्ड भाइरस’ (रुघाको भाइरस) भएकोले भारतमा फैलिँदैन भने । त्यहाँ पनि यो भाइरस फैलिएपछि ती सबैको मुखमा बुजो लाग्यो । अस्ट्रेलियामा गर्मी हुँदाहुँदै भाइरस फैलिन कम भएन । मानिसको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । यो तापक्रम नै मानवमा फैलिने कुनै पनि रोगका कीटाणु हुर्किने सबभन्दा उपयुक्त तामक्रम हो । मानिसले तातोपानीले नुहाउँदा भाइरस लाग्दैन भन्ने हावादारी प्रचार पनि गरियो । अझ स्यानिटाइजरमा रक्सी राखेको हुन्छ, रक्सी खाएपछि भाइरस मर्छन् भन्दा इरानमा सयौँ मानिसको एकै चिहान भयो ।
केही मानिस लामखुट्टेले पनि कोरोना भाइरस सार्छ कि भनी डराएका पनि थिए । औलो, डेङ्गु, हात्तिपाइलेजस्ता रगतबाट सङ्क्रमित हुने रोग लामखुट्टेले सार्छन् । तर, यो कोरोना भाइरस स्वासप्रस्वाससँग सम्बन्धित भाइरस हो । ¥याल वा सिङानका स–साना कणबाट फोक्सोका कोषहरूलाई कामै गर्न नसक्ने बनाउने भाइरस हो कोरोना । एकचोटि मानिसले खोक्दा करिब ३ हजार कण र हाच्छयूँ गर्दा १० हजार कणहरू वरपर खस्नसक्छन् । हातले सङ्क्रमित सतहमा छोएर त्यही हात नाक, मुख र आँखामा छुँदा भाइरस स्वस्थ मानिसमा पनि सर्छ । स्मरणीय छ, पश्चिमा संस्कृतिमा चुम्बन, आलिङ्गन, हात मिलाउने व्यवहारलाई स्वाभाविक मानिन्छ र कोभिड – १९ फैलिइसकेर पनि त्यस्तो व्यवहारमा परिवर्तन नगर्दा नै आजको जस्तो भयावह अवस्था व्यहोर्नपरेको एकथरी विश्लेषण पनि गरिएको छ । यसको अर्थ पूर्वीय समाजमा भाइरस फैलिँदैन भन्ने होइन । कोरोना भाइरस फैलिएकै समयमा युरोपमा हजारौँ मानिसको भीड जम्मा गरी फूटबल प्रतियोगिताहरू सञ्चालन गरिए, परम्परागत जात्रा (कार्निभल) रोकिएन र युरोपमा कोभिडको त्राहीमाम फैलियो ।
कोभिड – १९ बारे नेपाल सरकार आफै पनि भ्रममा रह्यो । नेपालमा कोभिड – १९ को सन्त्रास बढ्नुको एउटा मुख्य कारण जिम्मेवार अधिकारीहरूमा सतर्कताको कमी, बेवास्ता र भ्रम मान्न सकिन्छ । स्वास्थ्यमन्त्री आफै पनि स्वास्थ्यको ज्ञाता नभएको भनी छुट्कारा दिलाउने कुचेष्टा सरकारका ‘चम्चे’ पत्रकारहरूले गरिरहेका छन् । चीनमा कोभिड – १९ फैलिएको करिब ३ महिनापछि मात्र नेपाल सरकारको होस् खुल्यो । ‘…पछि दैलो’ देखेझैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिएको थर्मल स्क्यानरले मात्र कोही व्यक्ति कोरोना भाइरस सङ्क्रमित भए नभएको छुट्याउन सकिन्न भन्ने कुरा सङ्क्रमण फैलिसकिएका देशबाट हजारौँ मानिस नेपाल प्रवेश गरेपछिमात्र चाल पायो, नेपाल सरकारले । सङ्क्रमण फैलिइसकेका देशबाट आउने कुनै पनि व्यक्तिलाई समयमै क्वारेन्टिनमा राखिनुपथ्र्यो, सिङ्गो देशलाई लक डाउनमा राख्नुपर्ने थिएन । स्पष्ट छ, रोगको लक्षण नदेखिएरै पनि व्यक्ति सङ्क्रमित हुनसक्छ । मानिसमा ज्वरो वा अन्य लक्षण देखिन २ देखि १० दिनसम्म लाग्नसक्छ । अझ १४ औँ दिनमा पनि रोगका लक्षण देखिएको पाइन्छ । यति यथार्थ बुझ्नसक्ने हैसियत भएका मानिस सरकारमा नरहेकै हो त ? अब यो आश्चर्यको विषय रहेन ।
कतिपय नेपालीले प्रचार गरेझैँ लसुनले सङ्क्रमण रोक्नसक्ला ? यसबारे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पनि बोलेको छ । लसुनमा जीवाणुविरुद्ध लड्नसक्ने गुण हुनसक्ला तर नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट मानिसलाई बचाउने भन्ने कुरा प्रमाणित हुनसकेको छैन । यसैबीच युवा र केटाकेटीलाई कोभिड – १९ लाग्दैन भन्ने भ्रम पनि फैलियो । कुनै पनि उमेर समूह कोरोना भाइरसबाट सङ्क्रमित हुनसक्छन् भनी डब्ल्यूएचओले स्पष्ट पारेको छ । तर, बढी उमेरका र दम, मधुमेह, मुटुरोगजस्ता रोग लागेका व्यक्ति बढ्ता जोखिममा पर्नसक्ने उसको कथन छ । खासमा कुनै पनि उमेर समूह सङ्क्रमित हुनसक्ने विषयलाई सबैले मनन गर्नु जरुरी छ ।
भ्याक्सिन वा अन्य कुनै औषधीको खोजि कार्यमा संसारभरका वैज्ञानिकहरू रातदिन लागिरहेका छन् । तर, आजसम्म कुनै भाइरल रोगको औषधी पत्ता नलागिसकेको अवस्थामा कोभिड १९ को औषधी तत्काल बन्ला भन्ने आशा गर्न सकिन्न । रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ ।
आशाको लहर
अहिले अमेरिकी गायक पिट सिगरको ‘वी स्याल ओभरकम’ अर्थात् ‘हामीले जित्नेछौँ’ भन्ने चर्चित गीतको चर्चा फेरि चुलिएको छ । यस गीतले बीसौँ शताब्दीको सुरुआतमा अमेरिकी जनतामा आफ्नो अधिकारको निम्ति लड्न साहस बढाएको थियो । विश्व कोभिड – १९ सँग लडिरहेको बेला फेरि आशाको गीत गाउनु सान्दर्भिक छ । मनोबल कोभिड १९ सँग लड्ने सशक्त हतियार हो । धैर्य र आाशाले पनि मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तर, मनोबल नै सबै रहेनछ । विकसित देशका सरकार प्रमुखहरूसमेत यो रोगको सिकार भएका छन् । नोवल कोरोना भाइरस अत्यन्तै शक्तिशाली सङ्क्रामक रोग भएकैले यो रोग यति छोटो समयमा विश्वव्यापीरूपमा फैलिएको हो ।
चीन र क्युवाले आवश्यक चिकित्सा सामग्री तथा औषधीसहित चिकित्सकहरू कोभिड – १९ बाट नराम्ररी प्रभावित देशका नागरिकको उपचार तथा सेवामा पठाएबाट अन्तर्राष्ट्रिय भाइचाराले अब नयाँ मोड लिने आशा पलाएको छ । धन्य छन् समाजवादी देशहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *