भर्खरै :

असफल शासकहरू जनताको ध्यान अन्यत्रै मोड्दै छन्

– प्रकाश
कोरोना भाइरसको महामारी विश्वव्यापी बन्दै गर्दा त्यसको सामना र समाधान गर्न नसकेका विभिन्न देशका शासकहरू जनताको ध्यान अन्यत्र मोड्न अनेकौँ नाटक गरिरहेका छन् । तीमध्ये एक नम्बरमा छन् ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो । ब्राजिलको सेनाका पूर्वकनिष्ठ अधिकारी रहेका बोल्सोनारो सेना छाडेदेखि नै अनुदारवादी राजनीतिमा थिए । सन् २०१८ मा ब्राजिलका लोकप्रिय नेता पूर्वराष्ट्रपति लुइस इनासियो दा सिल्भा (लुला) लाई झूटो अभियोगमा जेलमा राखेर गरिएको निर्वाचनमा उनी राष्ट्रपति निर्वाचित भएका थिए । दक्षिण अमेरिकी देशहरूमध्ये भूगोल र जनसङ्ख्या दुवै आधारमा सबभन्दा ठूलो देश ब्राजिल कोरोना भाइरस सङ्क्रमणको सम्भावना उच्च थियो । विश्व स्वास्थ्य सङ्गठन र त्यस देशकै विज्ञहरूले समयमै रोकथामका उपाय अपनाउन आग्रह गरे ।
बोल्सोनारोको जवाफ थियो– ब्राजिलियालीहरूमा प्राकृतिकरूपमै रोग प्रतिरोध क्षमता निकै बलियो छ, त्यसैले कोरोनाजस्तो भाइरसले ब्राजिलियालीहरूलाई छुनै सक्दैन । बोल्सोनारोको भनाइ केही दिन पनि टिकेन । आज दक्षिण अमेरिकामा सबैभन्दा बढी कोरोना सङ्क्रमित भएको देश बन्न पुगेको छ । चिली र इक्वेडर ब्राजिलपछिको नम्बरमा छन् । ती तिनै देशका राष्ट्रपतिहरूले अकेन बहानामा कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्ने कदम चाल्न अस्वीकार गरेका थिए ।
अहिले जब कोरोनाले आफ्नो कहर देखाउन थालेपछि बोल्सोनारो रोग सङ्क्रमण रोक्नका लागि देशभरका चर्चहरूमा प्रार्थना गर्न आह्वान गर्दै आफू शुद्ध क्याथोलिक रहेको र आफ्नी श्रीमती तन्जेलिकल क्रिश्चियन रहेको भन्दै आफूहरूको प्रार्थना ईश्वरले पक्कै सुन्ने बताउँदै जनताको धार्मिक भावनामाथि खेलेर आफ्नो सत्ता सुरक्षित पार्न खोज्दै छन् । समयको मागअनुसार चल्न नसकेका चिली, इक्वेडरका राष्ट्रपतिहरू तथा बोलिभियाको सैनिक विद्रोहको सरकार पनि सङ्क्रमण रोकथाम गर्ने वैज्ञानिक उपायमा भन्दा ईश्वरमा भरोसा राख्न सिकाउँदै छन् ।
यही मेसोमा आइतबार साँझ दीपावली र मसाल ¥याली गरेर कोरोनाविरुद्धको लडाइँलाई तेज पार्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरे । प्रम मोदीको आह्वानमा भारतभर धेरैले दीपावली र मसाल ¥याली गरे र त्यसलाई पछिबाट भारतीय जनता पार्टीको स्थापना दिवस (अप्रिल–६) को देशव्यापी स्वागतको नाममा प्रचार गरियो । प्रम मोदीको यस कदमले उनी र सरकार नै विवादमा तानिए तर २१ दिने लक डाउन गरेर गरिब र असहाय जनताको निम्ति उचित व्यवस्था गर्न नसकेको जनगुनासोलाई छायाँमा पार्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *