भर्खरै :

महामारी प्रतिरोधको अवरोध राजनीतिक सङ्कीर्णता

हरिचन्द्र पाण्डे
कोभिड–१९ को महामारीले विश्व तरङ्गित छ यतिबेला । संसारभरका आधाभन्दा बढी मानिसहरू कोठाभित्रै स्वघोषित बन्दी सो सरहको जीवन बिताइरहेका छन् । विश्वको मसिहा भन्ने अमेरिका पानीबिनाको माछासरह छटपटाइरहेको छ । यो पङ्क्ति लेख्दासम्म १२ लाखभन्दा बढी मानिसहरू कोभिड– १९ बाट सङ्क्रमित छन् भने ७० हजार बढीले ज्यान गुमाइसकेका छन् । जसमध्ये पौने ३ लाख बढी अमेरिकी नागरिकहरू सङ्क्रमित छन् । त्यस्तै अमेरिका कोभिड– १९ बाट ज्यान गुमाउनेको सङ्ख्या स्पेन र इटालीभन्दा कम भए पनि सङ्क्रमित सङ्ख्या र दैनिक मृत्युदर हेर्ने हो भने स्थिति भयावह हुने देखिन्छ । यसरी हेर्दा शक्ति सम्पन्न र स्वास्थ्य सेवाका दृष्टिले विश्वका उत्कृष्ट र अब्बल भनिएका सबै राष्ट्रहरू माकुराको जालोमा झिङ्गा लटपटिएझँै कोभिड– १९ को भड्खालोमा जाकिएका छन (चीन– बाहेक) ।
३० हजार सङ्क्रमित रोक्न स्वास्थ्य उपकरण माग्दा सङ्घीय सरकारले नदिएपछि न्युयोर्क सहरका मेयरको रोइकराइ र हारगुहारले अहिलेको अमेरिकी वास्तविकता प्रस्ट भएको छ । संसारलाई चीनको स्वास्थ्य सामग्री र उपकरण नलिन आदेश दिने ट्रम्प कोभिड– १९ माथि चिनियाँ सफलताको प्रशंसा गर्दै सहयोगको याचना गर्दै छन् भने विश्व बजारमा तेल गिरावटको अन्त्य गरिदिन रुसी राष्ट्रपति पुटिनसँग बिलौना गर्न बाध्य छन् ।
जतिबेला कोभिड– १९ ले चीनमा उपद्रो मचाइरहेको थियो त्यतिबेला अमेरिकालगायत पश्चिमीहरू चीनको खिसिटिउरी गर्नमै व्यस्त रहे । जतिबेला चीनलाई विश्व समुदायको सहानुभूति आवश्यक थियो त्यतिबेला पश्चिमा साम्राज्यवादीहरू चीनको बदनाम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँदै थिए । साम्राज्यवादी र पुँजीवादीहरूले पालेका संसारभरिका छर्राहरू समेत हात धोएर चीनको विरुद्ध प्रयोग भएका थिए ।
तर, चिनियाँ राजनीतिक नेतृत्वको सुझबुझपूर्ण निर्णय, देश र जनताप्रतिको जवाफदेहिता, नागरिकहरूको देश र सरकारप्रतिको समर्पण एवं स्वास्थ्यकर्मीहरूको अथक मेहनत र राष्ट्रप्रतिको कर्तव्यबोधबाट प्राप्त उपलब्धि र अनुभव नै आज चीन सम्पूर्ण विश्व एवं हिजो उपहास गर्ने पुँजीवादी र साम्राज्यवादीहरूसमेतको लागि कोभिड– १९ विरुद्ध लड्ने तागत बनेको छ ।
संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न देशहरूमा विभिन्न नाममा सेना पठाउँदा हातहतियारले सुसज्जित सेना र देशको झन्डासहित प्रचार गर्ने फोटोको चुनौती लामो समयदेखि अमेरिकी अमानविय नाकाबन्दी व्यहोरिरहेको समाजवादी देश क्युवाले स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी र आफ्नो देशको गौरवशाली झन्डाले दिइरहेको छ । उत्तर कोरियाले कोभिड– १९ फ्री देश घोषणा गरेर गतिलो जवाफ दिएको छ ।
कोभिड– १९ ले एकातिर शान्ति र प्रजातन्त्रको नाममा कुनै पनि देशको शान्ति र स्थिरताको चिरहरण गर्ने अमेरिका र यसका पिछलग्गूहरूको वास्तविकता उदाङ्गिनुका साथै निन्द्रा भङ्ग गरिदिएको छ भने अर्कोतिर चीन, क्युवा र उत्तर कोरियाजस्ता समाजवादी देशहरूको सजगता, सामीप्यता र आपसी बन्धुत्व एवं समान मानवीय व्यवहार लेआशाको नयाँ इतिहास कोर्दै छन् ।
स्वास्थ्य सामग्री, साधन स्रोत र उपकरणका लागि बलियो मानिने इटाली, स्पेन, जर्मनी, फ्रान्सलगायत देशहरूसमेत हायलकायल भएको बेला दक्षिणी छिमेकी देश अछुतो छैन कोभिड– १९ को डरबाट । भारतीय प्रम झन् कहिले थाली र घण्टी बजाउ भन्छन् त कहिले मैनबत्ती बाल भनेर बरबराउँदै छन् ।
ती देशहरूसँग तत्कालको लागि अत्यावश्यक सामग्री र उपकरण निर्माण र उत्पादन गर्नसक्ने क्षमता भएका उद्योगहरू नभएका होइनन् तर तिनीहरू पैसा वा नाफाबिना उत्पादन गर्दैनन् र गर्न पनि सक्दैनन् किनकि ‘लागत र नाफा’ को सिद्धान्तबाट निर्देशितहरू देश र जनताको सेवा होइन मौका परे देश र जनता बेच्न तयार हुन्छन् ।
विश्वभरि त्राहिमामको परिस्थितिमा हाम्रो देशका शासकहरूको अवस्था बुझिसक्नु छैन । न साधन स्रोतको जोहो, न देश र जनताप्रतिको जवाफदेहिता, न जिम्मेवारीबोध । बिपत्ती बाजा बजाएर आउँदैन भन्ने लोकउक्ति भए पनि कोभिड– १९ ले बाजामात्र बजाएन विश्वभरि एकैचोटि नाच्दै आयो । तर, हाम्रो सरकारले सम्भावित जोखिम र पर्नसक्ने अप्ठ्यारोको पुर्वानुमान गरेन वा आवश्यक ठानेन । अझ भनाँै, पश्चिमीहरूजस्तै बिरालोले चुल्हो कुरेझँै टोलाइरह्यो ।
तर, जब कोभिड– १९ ले देश जलाउनसक्ने खतरा आयो तब सरकार राजनीतिक सुझबुझ, जिम्मेवारी र जवाफदेहीताका आधारमा होइन आफ्ना चम्चा, चाटुकार, सुण्ड, मुण्ड, ठग र दलालहरूको उपदेश र सहयोगमा नाटक देखाइरहेको छ ।
सबैलाई थाहा छ– निर्वाचनताका यदि यस्तो हँुदो हो त झन्डा हल्लाउने जागिर खाएका,अहिले खाएका र खान लाइनमा भएका सबै सरकारी पार्टीहरू ट्रकका ट्रक देखावटी नै भए पनि माक्स, पञ्जा, साबुन, स्यानिटाइजर, खाद्य सामग्री, औषधि बोकेर प्रायजसो ठाउँमा पुग्थे होला । राता रात नाङ्गै र भोकै गाउँ जानेहरूले अपराधीसरह प्रशासनको आँखा छल्नुपर्थेन । गाडीका गाडी मान्छे ओसार्थे होला ।
बच्चा बोकेर सडकमा भीख मागिरहेको दृश्य देखिन्थेन होला ।
यो त देश र जनताको सेवा गर्ने समय हो तर राजनीतिक पार्टी नामको उद्योग र पसल थाप्नेहरूबाट सेवा सम्भव छैन र हुँदैन पनि ।
साझा दुश्मन (Covid 19) विरुद्व लड्न घरमै बसेर स्वास्थ्यकर्मीहरूको हौसला बढाऔँ । समय सधँै एकनास रहँदैन । हरेक रातपछि अवश्य बिहानी हुनेछ । इतिहासका अन्यायविरुद्व कुनै पनि सङ्घर्षले कहिल्यै हार्नु परेको छैन । त्यसैले क्युवाली क्रान्ति नायक फिडेल क्यास्ट्रोको शब्दमा पुनः प्राण भराँे, हामी अवश्य जित्नेछाँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *