भर्खरै :

गिमलेटको ऐतिहासिक कृति ‘नेपाल एन्ड द नेपालिज’

-नीरज
लेफ्टिनेन्ट कोलोनल जीएचडी गिमलेट सन् १८८३ नोभेम्बर महिना (विसं १९४० कार्तिक) को कुनै साँझ काठमाडौँ उपत्यका आइपुगे । जुन महिनामा नै उनलाई काठमाडौँस्थित बेलायती रेसिडेन्सीमा चिकित्सकको पदमा जान नियुक्ति पत्र दिइएको थियो । त्यहीबीच इजिप्टमा फैलिएको हैजाको महामारीको कारण उनी त्यहाँ खटिए । इजिप्टको काम सकेर उनी भारततिर हानिए । उत्तर भारतमा केही दिन टहलेर उनी हेटौंडा–भीमफेदीको बाटो हुँदै काठमाडौँ उपत्यकामा पाइला टेके । थानकोट पुग्दा झमक्क रात परिसकेको थियो । काठमाडौँका साँघरा गल्ली छिचोेलेर उनी बेलायती रेसिडेन्सी पुग्दा रेसिन्डेसीका चिकित्सक डा. ब्राउन उनको स्वागतमा कुरिरहेका थिए ।

            डा. ब्राउनकै ठाउँमा काम गर्न गिमलेट काठमाडौँ आएका थिए । गर्मी महिनामा तराईको यात्रा गर्दा औंलो लाग्ने खतरा भएको हुनाले उनी आएर केही समयपछि जाडो महिनामा मात्र डा. ब्राउन काठमाडौँबाट बिदा भए ।
            त्यसपछि (बीचमा केही महिना छोडेर) लगातार पाँच वर्ष गिमलेटले काठमाडौँमा समय व्यतीत गरे । नेपालमा राणाशासन थियो र प्रधानमन्त्री थिए–रणद्धिप सिंह । पेशाले गिमलेट चिकित्सक थिए । तर, पाँच वर्षको अवधिमा उनको जिम्मेवारी चिकित्सामात्र सीमित रहेन । उनको पाँच वर्षको नेपाल बसाईको क्रममा तत्कालीन नेपालमा भएका केही महत्ववपूर्ण राजनीतिक घटनाक्रमले उनको नेपाल बसाई अझ उल्लेखनीय बन्यो । राणा प्रधानमन्त्री रणद्धिप सिंहको हत्या गरी वीर शम्शेरको पदस्थापन र बेलायती फौजमा गोर्खाली सेनाको सङ्ख्या वृद्धि गिमलेट काठमाडौँमा रहँदा भएका दुई निकै महत्ववका र उनी स्वयम् प्रत्यक्ष संलग्न घटना थिए । रणद्धिप सिंहको हत्यापछि दरबारबाट भागेका रानी र भारदारहरूलाई गिमलेट स्वयम्ले बेलायती दूतावासमा शरण दिएका थिए र उनीहरूको सुरक्षाबारे दरबारसँग उनकै प्रत्यक्ष संलग्नतामा सम्झौता भएको थियो । बेलायती फौजमा गौर्खाली लडाकूको सङ्ख्या वृद्धिको लागि काठमाडौँबाट छनौट कार्य गिमलेट आफैँले गरेका थिए । स्वयम् आफूले भोगेका यी घटनाबारे गिमलेटका वृत्तान्तले नेपालको इतिहास लेखनको लागि बलियो आधार प्रदान गरेको छ ।
            गिमलेटको पुस्तक ‘नेपाल एन्ड द नेपालिज’ विदेशीहरूले नेपालको विषयमा धेरै महत्ववपूर्ण कृतिमध्ये एउटा मानिन्छ । त्यसो त गिमलेटले पाँच वर्षको नेपाल बसाइको क्रममा काठमाडौँ उपत्यका तीन जिल्ला, नुवाकोट, मकवानपुर आदि ठाउँको मात्र यात्रा गरेका छन् । त्यसकारण तत्कालीन नेपालको सिङ्गो तस्वीर उनको पुस्तकमा खोज्नु उचित होइन । विदेशीलाई त्यतिबेला आफू खुशी काठमाडौँ उपत्यकाबाहिर आउजाउ गर्न दिइँदैनथ्यो । त्यसकारण पनि गिमलेटको पुस्तकको परिधि मूलतः काठमाडौँ उपत्यकामा सीमित छ । तथापि आजभन्दा झन्डै १४० वर्षअघिको काठमाडौँ उपत्यकाको समाज, संस्कृति, राजनीतिक र आर्थिक अवस्थाबारे बुझ्न उनको पुस्तक महत्ववपूर्ण सन्दर्भ ग्रन्थ हो ।
            पुस्तक मूलतः दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा लेखकले नेपालको बहुआयामिक परिचय लेखेका छन् । नेपाल, विशेषतः काठमाडौँ उपत्यकाको प्राचीन, मध्यकालीन र आधुनिककाल हुँदै तत्कालीन राणाशासनसम्मको ऐतिहासिक रुपरेखा पुस्तकको पहिलो खण्डमा व्याख्या गरिएको छ । आफ्ना देशबासीलाई नेपालबारे जानकारी दिने हेतुले गिमलेटले पुस्तकको पहिलो खण्ड लेखेको अनुमान गर्न सकिन्छ । उनले काठमाडौँ उपत्यकाका तीन सहर, त्यहाँका ऐतिहासिक धरोहर, संस्कृति, धार्मिक गतिविधि, आर्थिक क्रियाकलाप, नेपालका विभिन्न जातजाति र उनीहरूको विशेषता, चाड, पर्व र परम्परा, कानुन व्यवस्था आदिबारे आफ्नो अध्ययन र बुझाइ चर्चा गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर जान नसकिने, सीमित स्रोतसाधन र यसअघि लेखिएका पुस्तकको सीमितताको कारण उनले सिङ्गो नेपालको चित्र सगोल प्रस्तुत गर्न सम्भव थिएन । तथापि त्यत्तिबेला प्राप्त नेपालसम्बन्धित दुई व्याख्यात्मक पुस्तक, आफ्ना भोगाइ र आफूले भेटेका मानिसहरूसँगबाट प्राप्त जानकारी नै गिमलेटको लेखाइका स्रोत हुनुपर्छ ।
            गिमलेट काठमाडौँ उपत्यकाको कलाकृति, विशेषतः पाटनको कलाकारितामा हुरुक्क थिए । पाटनप्रति उनको विशेषतः मोह भएको उनको पटक पटकको पाटनको यात्राले झल्काउँछ । तर, मल्लकालीन कलाकृतिलाई गोर्खालीहरूले भद्दा बनाएकोमा उनी असन्तोष पोख्छन् । मल्लकालीन सम्पदालाई नेपालको मौलिक सम्पदाको रुपमा व्याख्या गरी तिनको भव्यतालाई गोर्खालीहरूको काठमाडौँ विजयपछि कृत्रिम बनाइएको गिमलेटले लेखेका छन् ।
            पुस्तकको दोस्रो खण्डमा लेखेकाले आफ्नो नेपाल बसाईको व्यक्तिगत अनुभव लेखेका छन् । उनले आफू संलग्न विभिन्न घटनाक्रमबारे व्याख्या गरेका छन् । लेखकको लेखाइ हेर्दा उनले आफ्नो नेपाल बसाइबारे सानोतिनो दैनिकी नै कायम राखेको अनुमान गर्न सकिन्छ । मुख्यमुख्य घटनाको मिति र सिलसिला मिलाएर लेखिएको आधारमा पाठकले यस्तो अनुमान गर्न सक्छन् । काठमाडौँको इन्द्रजात्रा र पाटनको मच्छिन्द्रनाथको जात्राबारे उनले विस्तृत व्याख्या प्रस्तुत गरेका छन् ।
            गिमलेटले नेपालको आन्तरिक राजनीतिमा बेलायत सरकारले कुनै हस्तक्षेप नगरेको तर नेपाली शासकहरू स्वयम् बेलायत सरकारप्रति निर्भरता खोजेको पुस्तकमा लेखेका छन् । चिकित्सक भए पनि उनले पाँच वर्षको अवधिमा लामो समय स्वयम्ले राजदूत (रेजेन्ट) को पनि भूमिका निभाए । राजदूत नभएको बेला उनले कार्यवाहक भूमिका निभाएको थिए । त्यसकारण उनले आफ्नो कृतिमा त्यसप्रकारको अहस्तक्षेपको कुरा गर्नु स्वाभाविक हो । तर, राणाशासन आफैँको राजनीतिक आधार बेलायती उपनिवेशवादी शक्ति हुनाले तत्कालीन शासकहरूले कुनै पनि निर्णय गर्न बेलायतको मुख हेर्ने गर्थे । राणाशासकहरूलाई बेलायती उपनिवेशवादको चाकडी गरेर नै मात्र नेपालमा आफ्नो अस्तित्व जोगाउन सकिने थाहा थियो ।
            गिमलेट चिकित्सक भएकोले हुनाले उनलाई तत्कालीन राजा र राणाको दरबारभित्रका धेरै भित्री कुराको जानकारी थियो । चिकित्सक भएकोले कतिपय राणापरिवार उनलाई नजिक राख्न उद्यत थिए । राणा पदाधिकारीहरू उनीसँग नजिकको सम्बन्ध राख्न खोज्थे । त्यसकारण तत्कालीन नेपालको राजनीतिबारे उनले खुलाएका छन् । तथापि उनी एकजना चिकित्सक भएकोले हुनाले आफ्ना सीमाबारे पनि उनी सचेत छन् ।
            गिमलेटको नेपाल बसाइको क्रममा नेपालमा हैजाको महामारी फैलिएको थियो । हैजाको कारण अन्तिम अवस्थामा ल्याइएका मानिसको पशुपतिमा घुइँचो लागेको थियो । नजिकै हैजाले मरेका मानिसको लास पोलिरहेको हुन्थ्यो भने त्यहीँ बिरामीले थला परेका मानिस अन्तिम घडी कुरिरहेका हुन्थे । अझ कति मानिसलाई पूर्ण प्राण त्याग नगर्दै पनि पोलिएको गिमलेटले त्यत्तिबेलाको भयावह चित्रण गर्दै लेखेका छन् ।
            गिमलेट काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएको उनले उपत्यकाका विभिन्न उच्च पहाड जस्तै शिवपुरी, चन्द्रागिरी, महादेशपोखरी (नगरकोट), ककनी आदि स्थानको यात्राले देखाउँछ । ती उचाइमा पुगेर हिमालय, पहाडको तरेली हुनुमा उनी मज्जा मानेका कुरा पुस्तकमा उल्लेख छ । भारतबाट कोही पनि बेलायती अधिकारी काठमाडौँ उपत्यका आउनासाथ सँगै पिकनिकको लागि ती डाँडा पुग्नु उनको सौख बोध गर्न सकिन्छ ।
            काठमाडौँ उपत्यकाका विभिन्न चाड पर्वमा पशुको बली दिंदा गरिने नृशंस व्यवहारप्रति उनले अरुचि पोखेका छन् । राँगालाई निर्मम तरिकाले बध गर्ने परम्पराबारे उनले राणा अधिकारीसमक्ष गुनासो गर्दा ‘त्यो परम्परा नेवारहरूको परम्परा भएको’ पन्छिएको उल्लेख छ ।
            पुस्तकको भूमिकामा लेखकले इतिहासकार टीआर वैद्यले गिमलेटको कृतिमा रहेका असङ्गत विषयको शल्यक्रिया गरेका छन् । सीमित स्रोत र देखे सुनेकै आधारमा लेखिएको कृति हुँदा केही असङ्गत र अमिल्दो कुरालाई अस्वाभाविक मान्न नसकिएला । तर, साथै नेपालको इतिहास लेखनमा ‘नेपाल एन्ड द नेपालिज’ पुस्तकको महत्ववलाई उनले उजागर गरेका छन् । जस्तै गोर्खाली सेनाले पाटनमाथि हमला गर्दा त्यहाँका प्रधानहरूको सम्पत्ति कब्जा गरेको र यातना दिएको कुरा अधिकांश पुस्तकमा लेखिएको पाइएको तर पाटनका मठमन्दिर र चैत्यबाट पनि सम्पत्ति लुटेको गिमलेटको खोज नयाँ भएको वैद्यले भनेका छन् ।
            नेपालीहरूले सचेत रुपमा आफ्नो देश र समाजबारे लेख्नुभन्दा धेरै अघि लेखिएका यस्ता कृति आज हाम्रा अमूल्य निधि बनेका छन् । आफ्नो समाज र देशको विगतको अनुहार आज हामी विदेशी लेखकले लेखेका कृतिमा हेरिरहेका छौं । गिमलेट पेशाले चिकित्सक भए पनि आफू बसेको ठाउँको इतिहास, समाजशास्त्र, जातजाति, धर्म संस्कृतिबारे अध्ययन गर्ने उनको चाहनाले अनुकरणीय छ । उनलाई उनको चिकित्सा कर्मले भन्दा समाजको अध्ययन गर्ने दृष्टिले अमर बनायो । नेपाली समाजको विगतको तस्वीर हेर्न चाहने जोकोहीको लागि गिमलेटको यो पुस्तक उपयोगी र सन्दर्भ सामग्री बनेको छ ।
मजदुर दैनिक, २०७६ चैत्र २९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *