यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
-आरोही श्रेष्ठ
कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बनेको बेला आज विश्वका हरेक देश सङ्क्रमणको विरोधमा लडाइँ लडिरहेको छ । सङ्क्रमण कतै सघन र कडारूपमा फैलिसकेको छ भने कतै नरमरूपमा । कोरोना भाइरस सङ्क्रमण एक भौतिक प्रक्रियाको परिणाम भए पनि आज अन्धविश्वासी सोचहरू बढिरहेको पाउँछौँ । कोरोना सङ्क्रमणको कहरबाट बच्न पूजा प्रार्थना गरिएका, पशुपन्छी बलि दिइएका र होम गरिएका खबर र सामाजिक सञ्जालका पोष्टहरू देखिरहेका छौँ । केही मानिसहरू आजको सङ्कटको अवस्थालाई नै धर्म प्रचार र परिवर्तनको मौकाको रूपमा प्रयोग गर्न क्रिष्चियन वा कुनै धर्म अपनाए कोरोना भाइरसले नछुनेजस्ता झूटा प्रचार गर्न व्यस्त छन् ।
भारतमा त कोरोना भाइरसलाई ‘जिहाद भाइरस’ नाम दिई भारतविरुद्ध मुसलमान र चिनियाँहरूले फैलाएको भनी व्यापक साम्प्रदायिक प्रचार भइरहेको छ । त्यस्तो झूटा प्रचारको प्रभावमा परेका कतिपयले भारतमा मुस्लिमहरूमाथि हमला गरेका समाचार आइरहेका छन् । कोरोना भाइरस चीनमा पहिलोपटक व्यापक सङ्क्रमण भएको थियो तर त्यसकै कारण युरोप र संरा अमेरिकालगायत देशमा चिनियाँ मूलका मानिसहरूप्रति दुव्र्यवहार गरिएका समाचार व्यापकरूपमा आएकै थिए । यो साम्प्रदायिक भावना हाम्रो समाजमा आज पनि उन्मूलन भइनसकेको सामन्तकालीन साम्प्रदायिक सोचको परिणति हो । कोरोना भाइरसले मानिसको कुनै जात, भाषा, लिङ्ग, धर्म, नागरिकता, पेशा वा छालाको रङ्ग अनुसार भेदभाव गर्दैन, अनुकूल स्थितिमा पुग्ने जोकोहीमा सङ्क्रमण हुन्छ । तर हामी मानिसहरू आज जात, भाषा, लिङ्ग, धर्म, र छालाको रङ्ग अनुसार भेदभाव गरिरहेका छन् । युरोप र अमेरिकामा चिनियाँ मूलका मानिसप्रति, भारतमा मुस्लिमहरूप्रति साम्प्रदायिक भावना राखेझैँ हाम्रो देशमा भारतीय मूलका मानिसहरूप्रति कसै कसैले विषवमन गरेको र लखेटेर पठाउनुपर्ने जस्ता अभिव्यक्ति राखेको हामी देखिरहेका छौँ । साम्प्रदायिकताको घेरा साँघुरो हुँदै मतवाली र तागाधारी, काठमाडौँ उपत्यकावासी र उपत्यका बाहिरका, नेवार र गैरनेवार, तामाङ्ग र गैरतामाङ्ग हुँदाहुँदा डेरावाल र घरबेटीबीच समेत तीखो घोचपेच सुरु भएको छ । अकाल मृत्युबाट सबै मानिसको जीवन बचाउनुपर्ने आजको सङ्कटको घडीमा मानववादी बनेर सबैलाई सबैले सहयोग गर्नुपर्ने बेलामा साम्प्रदायिक भावना राखेर फलानोलाई बस्नदिन नहुने, फलानालाई भोकै मरे पनि राहत दिन नहुने, डेरावाललाई राहत सामग्री दिनुपर्ने र दिन नहुने भन्दै बहस गर्नु हामी आजको विश्वयुगका मानिसहरूलाई सुहाउने कुरा होइन । तसर्थ सबैजना साम्प्रदायिक भावनाबाट बचौँ, मानववादी बनौँ ।
मजदुर दैनिक, २०७६-१२-२९
Leave a Reply