भर्खरै :

राहत वितरणमा ध्यान दिनुपर्ने केही कुरा

-हरिसुन्दर सुवाल
विश्व स्वास्थ्य सङ्गठनबाट महामारी घोषित कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन लम्बिँदै छ । महामारीबाट बच्न लकडाउनको पालना गर्नु अनिवार्य छ । तर, आजको विषम परिस्थितिमा दैनिक रोजीरोटी कमाउन मजदुरी गर्ने श्रमिक जनता भोकै बस्न बाध्य छन् । कतिपयले चाहेर पनि आफ्नो गाउँ–ठाउँ फर्कन पाएका छैनन् । ज्येष्ठ नागरिक उमेरले डाँडा काटिसकेको अवस्थामा आफ्नै छोराछोरीबाट अलग्ग बस्न बाध्य छन् । कतिपय मानिसहरूले यस्तो अप्ठ्यारो परिस्थितिमा आमाबुबालाई बेवास्ता गरिरहेको टोलछिमेकमा देख्छौँ । 
            देशभरिका स्थानीय निकायअन्तर्गत वडा वडा र टोलटोलमा राहत वितरण कार्य तीव्ररूपमा अगाडि बढाइँदै गर्दा राहत वितरणमा जुट्ने सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वयम्सेवकहरूले समाजका यस्ता जटिलता बुझ्न जरुरी छ । पहिलो कुरो त फिल्डमा जानु अगाडि सम्भावित चुनौती वा समस्याबारे छलफल गरी वास्तविक विपन्नको सूची तय गर्नुपर्दछ । राज्यले राहतस्वरूप प्रदान गर्ने खाद्यान्न, अन्य सामग्री वितरण एकै ठाउँबाट वितरण गर्दा एकातिर भीड जम्मा भई कोरोना फैलिने जोखिम हुन्छ भने । अर्कोतिर अनावश्यक विवाद सिर्जना भई राहत वितरण कार्यमा कठिनाइ र समस्या उत्पन्न हुनसक्छ । त्यसैले राहत वितरण एकै ठाउँबाट नगरी वडाका छुट्टाछुट्टै भेगहरूको निश्चित स्थानबाट स्वयम्सेवकमार्फत वितरण गरिनुपर्दछ ।
            कतै–कतै आफ्नै सङ्गठन वा समूहका व्यक्तिले मात्र राहत पाउने र वास्तविक विपन्नले नपाएको समाचार आइरहेका छन् । त्यसकारण सम्बन्धित निकायले यतिबेला कडाइका साथ अनुगमन गरी वास्तविक विपन्न, गरिब र निमुखाले राहत पाउने व्यवस्था मिलाउनुपर्दछ । विपन्न वर्गका समुदायसमक्ष पुगेर स्थानीय तहबाट तयार पारिएको फाराम व्यवस्थितरूपमा भर्न लगाई राहत दिने हो भने लक्षित वर्गलाई विपत्‍को बेला राहत हुनेछ अन्यथा समाजमा थप विभेद र बेमेलको स्थिति उत्पन्न भई सामाजिक एकता र सहिष्णुतामाथि खलल पुग्ने सम्भावना नकार्न सकिन्न ।
            सरकारले डेरावालहरूलाई पनि राहत दिने व्यवस्था सकारात्मक छ । तैपनि विपन्नताको आधार निश्चित नहुँदा कमाइको हिसाबले घरधनीको भन्दा बढी सम्पति जोड्न भ्याएका र आफ्नै गाडी र बैङ्क ब्यालेन्स भएका डेरावालहरूसमेतले ‘सरकारले दिने राहत किन नलिने ?’ जस्ता भनाइ सुनिन्छ । यसले त्यस्ता व्यक्तिको स्वार्थी भावनामात्र अभिव्यक्त भएको छ । समाजमा मानवता भन्ने कुरो कुन चरीको नाउँझैँ भएको छ । कतै सुनको सिक्री लगाएर राहत लिन लाइन कसेको देख्दा नेपाली समाजको कुरूप पक्ष उजागर भएको छ । २०७२ सालको भूकम्पका बेला पनि कतिपय धनाढ्य व्यक्तिले समेत गाडीमा आएर राहत लिएको खबर सुनिएको थियो ।
            सरकारले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नै पुग्दो परिमाणमा मास्क र पञ्जा उपलब्ध गराउन नसकिरहेको बेला आम जनतालाई कसले प्रदान गरून् । राहत वितरण कार्यमा जाँदा महामारीबाट सुरक्षित रहन सक्ने त्यस्तै स्वास्थ्य सामग्री पनि दिइने हो कि भनी प्रश्न गरिएको सुनियो । विडम्बना, टोल र वडाहरूमा परिचालित स्वयम्सेवकहरूले नै ती सामग्री प्रयोग गर्न पाइरहेका छैनन् ।
            अरूले पाए आफूले किन नपाएको, आफू पनि राज्यको नागरिक भएको, सरकारले विभेद गर्न नहुने, सित्तैमा दिए खास्तोमा समेत थाप्नुपर्ने धारणा राख्ने मानिसहरू अझै थुप्रै भेटिन्छन् । त्यसैले राहत बाँड्ने स्वयम्सेवक र निकायले विनापूर्वाग्रह निष्पक्ष ढङ्गले वास्तविक विपन्न र दिनभरि काम गरेर पनि दुई छाक टार्न मुश्किल मानिसलाई प्राथमिकता दिनुपर्छ । महामारीलाई पूर्णतया नियन्त्रणमा लिन नसकुञ्जेल लकडाउन लम्बिने सम्भाव्यता देखिन्छ । परिणामरुवरूप दैनिक मजदुरी गरेर घर–परिवार पाल्नुपर्ने सर्वहारा वर्गका जनताले भोकभोकै मर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । यतिबेला लाखौँ नेपाली कामदार र विपन्न जनता बिच्चलीमा परेका छन् ।
            विश्वभरिका लाखौँ मानिस चिन्ता र शोकमा डुबिरहेको आजको समयमा डराएर वा आत्तिएर बस्नुभन्दा अत्यावश्यक तयारीमा जुट्नु नै बुद्धिमानी ठहरिने छ । देश र समाजले के दियो होइन, देश र समाजलाई के दिन सकिन्छ भन्ने सोचका साथ आफ्नो जिम्मेवारीबोध गर्ने र सोहीअनुरूप कर्तव्यपालन गरे महामारीविरुद्धको लडाइँमा विजय हासिल गर्न सकिन्छ । हो, तत्कालका लागि भौतिक वा सामाजिक दूरी कायम राख्न हामी बाध्य छौँ । निश्चय नै कोरोनाले निम्त्याएको सङ्कटबाट पार पाउन धनी गरिबबीच, उद्योग मालिक र मजदुरबीच, घरधनी र डेरावालबीच, सरकार र जनताबीच राम्रो समझदारीको खाँचो छ । मानव मात्रमा हुने दया, माया, प्रेम, सद्भाव, आपसी सहयोग र समर्पण भावजस्ता गुणमार्फत लाखौँ करोडौँ हतोत्साही नेपालीहरूको मनमा विश्वास र खुसी भर्न सकिन्छ । मानव अस्तित्व रक्षाका लागि प्रत्येक मानिसले कठिन परीक्षा दिइरहेको सङ्कटको घडीमा पक्षपातरहित भई राहत वितरण कार्यक्रमलाई साथ दिनु अपरिहार्य सर्त हो । तसर्थ, कुनै पनि किसिमको बहानाबाजी, मतलबी र कञ्जुस्याइँ नगरी गरिब, विपन्न र असहाय व्यक्ति र तिनका परिवारको आवश्यकता पूर्तिमा केन्द्रित भई राहत पुर्‍याउनुपर्छ ।
            देश र आम जनतालाई भोग्नु परेको यो असहज परिस्थितिमा जागिरदार, सिपालु, सक्षम युवाहरूले दैनिक छाक टार्न मुस्किल अवस्थामा रहेका देशका अशक्त, बेसहारा तथा असहाय महिला तथा वृद्धवृद्धाहरूलाई प्राथमिकता दिई तिनलाई सहजै राहत पुर्‍याउने कार्यमा निःस्वार्थ सहयोग गर्न तत्पर हुनुपर्दछ । धर्म, संस्कृति, परम्परालगायत मानव सभ्यताको रक्षा गर्ने मानव जातिको अस्तित्व नै खतरामा परेको हुनाले मानव अस्तित्व रक्षाका लागि हरसम्भव प्रयास जारी राख्नु सिवाय अन्य कुनै विकल्प हाम्रोसामु देखिंदैन । लकडाउनजस्तोे सङ्कटको बेला सम्पूर्ण नेपालीहरूबीच जोडदार एकता, सद्भाव र समर्पणको टड्कारो आवश्यकता छ । सहकार्य सहअस्तित्वको सिद्धान्तमा अडिग रही गाउँ र बस्तीमा छाइरहेको कालो बादल चिर्न विनासङ्कोच आ–आफ्नो स्थानबाट जुट्ने बेला यही हो । अतः डर, त्रास र भयजस्ता नकारात्मक र कमजोर मानसिकता त्यागी अदम्य साहस, दृढ अठोट र सकारात्मक सोचका साथ सचेत र सजग भई सामाजिक उत्तरदायित्वव वहन गर्ने हो भने यसे सङ्कटबाट खाफू जोगिन र अरूलाई जोगाउन सम्भव छ ।
मजदुर दैनिक, २०७६-१२-२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *