भर्खरै :

भारतीय टीभी च्यानलहरूको गैरजिम्मेवार दुष्प्रचार

– सुरजसिंह
कोरोना भाइरसको सङ्क्रमणको सम्भावना बढेपछि नेपाल र भारत दुबै देशमा लकडाउन गरिएको छ । सीमानाकामात्र होइन सिमाना नै बन्दजस्तै छ । त्यसबाट नेपालतर्फ कोरोना सङ्क्रमणको सम्भावना कम भएको छ । भारतमा जनवरी महिनादेखि नै कोरोना भाइरस सङ्क्रमित देखिन थालेको थियो । भारत सरकारको निगरानी कम हुँदा मध्यपूर्व र युरोपेली देशबाट फर्केका कतिपय भारतीय नागरिकले कोरोना भाइरस बोकेर आए र आफ्नो समुदायमा फैलाउन पनि भ्याए । त्यसैकारण भारतको मुम्बईबाट नेपाल फर्केका एक नेपाली युवकमा समेत कोरोना सङ्क्रमण देखियो, कुनै लक्षण नै देखा नपर्दै ती युवक आफ्नो परिवारका सदस्य र साथीलाई समेत सङ्क्रमित बनाउनमा माध्यम बने । नेपालमा २ हजारभन्दा बढी सम्भावित कोरोना सङ्क्रमितको परीक्षण भइसकेको छ तर तीमध्ये ९ जनामा मात्र पोजिटिभ पुष्टि भयो । ती कोही पनि गम्भीर बिरामी भएका छैनन् । एक जना त जनवरीमै निको भएका हुन् भने बाँकी ८ जना पनि निको भइ घर फर्कने प्रक्रियामा छन् ।
नेपालमा पुष्टि भएका अरु कोरोना सङ्क्रमित छैनन् तर जी टीभी, टीभी नाइनलगायत केही भारतीय टीभी च्यानलहरू कुनैले ५०–६० जना त कुनैले दुईसय जति कोरोना सङ्क्रमितहरू नेपालबाट भारतमा कोरोना फैलाउने नियतले पस्दै छन् र पसेका छन् भनी जोडतोडले झूटा प्रचार गर्दै छन् । जी टीभीको त्यही समाचारमा भारतको विहारका गृहमन्त्रालयका सचिव र प्रहरीका एक वरिष्ठ अधिकारीले उक्त अपुष्ट खबर एसएसबीको गुप्तचरबाट आएको, त्यो सही नभएको र त्यसको छानबिन भइरहेको बताइएको छ भने अर्कोतिर पटक – पटक त्यही असत्य र झूट खबरलाई सत्य नै हो भन्ने जस्तो गरी गैरजिम्मेवार ढङ्गले दुष्प्रचार गरिरहेका छन् । पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भारतमा कोरोना महामारी फैलाउन षड्यन्त्र गरिरहेको आरोप भारतीय सञ्चारमाध्यमले लगाइरहेका छन् । यो नेपालको र गाउँपालिका अध्यक्ष मियाँको बदनाम गर्ने र चरित्रहत्या गर्ने षड्यन्त्रमात्र भएकोमा कुनै सन्देह छैन । भारतीय सञ्चारमाध्यमको दुष्प्रचार निराधार छ । कोही पनि कोरोना सङ्क्रमण पुष्टि भएको मानिस अस्पताल र आइसोलेसन छोडेर भाग्न सक्ने अवस्था छैन । जानी जानी आफूलाई भाइरस सङ्क्रमित गराएर नेपाल वा भारतमा सङ्क्रमण फैलाउने सोच राख्ने नेपाली सायदै होला । त्यो भारतीय गुप्तचर अधिकारी र सञ्चारमाध्यमहरूको आफ्नो काम र आम्दानी बढाउने छुद्र सोचले सिर्जना गरिएको हल्लाबाहेक केही होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *