भर्खरै :

भक्तपुर नगरपालिकाका सबै वडामा राहत वितरण

भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिकाकाले लकडाउनको कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र असहायहरूको लागि आवश्यक खाद्यान्न राहत वितरणको लागि २ हजार ६८८ परिवारको विवरण लगत सङ्कलन गरिएकोमा १० वटै वडामा सम्बन्धित वडाको पायक पर्ने ठाउँबाट आइतबार राहत वितरण ग¥यो ।
नगरपालिकाले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड, २०७६ पारित गरी २ जनाभन्दा बढी सङ्ख्या भएको परिवारलाई २० के.जी चामल, १ के.जी. दाल, १ पाकेट नुन, १ लिटर खाने तेल, १ वटा साबुन र ३ के.जी. चिउरा तथा २ जनासम्मको परिवारलाई १० के.जी चामल, १ के.जी. दाल, १ पाकेट नुन, १÷२ लिटर खाने तेल, १ वटा साबुन र ३ के.जी. चिउरा वितरण गरेको थियो ।
राहत वितरणको क्रममा भनपा– १, ४, ५, ६ र ७ वडा कार्यालयहरूले घरदैलोमा गई राहत वितरण गरेको थियो भने २ नं. वडा कार्यालयले नगरपालिका परिसर, ३ नं. वडा कार्यालयले मेधा मा.वि., ८ नं. वडा कार्यालयले वडा कार्यालय परिसर तथा वडा नं. ९ ले दत्तात्रय आधारभूत विद्यालय र वागीश्वरी मा.वि., च्याम्हासिंह गरी २ स्थानमा र १० नं. वडा कार्यालयले ख्वप कलेज देकोचा र कमलविनायक भोजघरमा राहत वितरण गरेको थियो । कुल लाभग्राही २ हजार ६८८ मध्ये २ हजार २५२ परिवारले राहत प्राप्त गरेकोमा वडा नं. १ मा ३७१, वडा नं. २ मा १९१, वडा नं. ३ मा ७५, वडा नं. ४ मा १८५, वडा नं. ५ मा १३७, वडा नं. ६ मा १२६, वडा नं. ७ मा १५८, वडा नं. ८ मा ३१५, वडा नं. ९ मा १६७ र वडा नं. १० मा ४२७ रहेको थियो ।
राहत वितरणको लागि नगरपालिकाले वडाध्यक्षको अध्यक्षतामा वडा समन्वय समिति गठन गरेको थियो । समन्वय समितिमा स्वास्थ्य स्वयंसेवक, स्थानीय युवा र सामाजिक कार्यकर्ताहरू सदस्य रहेका छन् । राहत वितरणमा स्वयंसेवकहरूले अनुशासन पालना गरी १ मिटर दुरीलाई विशेष ध्यान दिएका थिए ।
नगरपालिकाले राहत पाउनको लागि तोकिएको ढाँचामा फाराम भर्नुपर्ने व्यवस्था गरेको थियो । बैङ्क र सहकारीमा पैसा नभएको, परिवारमा मासिक तलब खाने कर्मचारी नभएको जस्ता विषयलाई ध्यानमा राखी दैनिक ज्यालादारी गरी बस्ने लकडाउनको अवस्थामा काम नपाएर भोकै पर्ने परिवारलाई मात्रै वितरण गर्ने नीतिअनुसार राहत वितरण गरिएको थियो ।
सरकारले घोषणा गरेको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७६ तयार गरिएको छ । उक्त मार्गदर्शनअनुसार अति विपन्न, दैनिक ज्यालादारी र असहाय नागरिकलाई राहत प्रदान गरिएको हो । अति विपन्नअन्तर्गत सहरी क्षेत्रको हकमा मौद्रिक आम्दानीको कुनै स्रोत नभएका परिवारलाई सङ्केत गरिएको छ । विगतदेखि विभिन्न असङ्गठित व्यवसाय वा सेवाप्रदायक क्षेत्रमा दैनिक ज्याला पाउने गरी मजदुरी गर्दै आएका व्यक्ति दैनिक ज्यालादारी र अभिभावक नभएका, आर्थिक आयआर्जन गर्नसक्ने परिवारको सदस्य नभएका अरुको सहयोग एवम् सहारामा बस्ने, अपाङ्गता भई कुनै आम्दानी गर्न नसक्ने, अभिभावक नभएका बालबालिका र परिवारमा ७५ वर्षभन्दा माथिका नागरिकलाई असहाय मानिएको छ ।
राहत पाउने पीडित परिवारमा आफ्नो नातासम्बन्धबाहेक अन्य व्यक्तिको घरमा सरसफाइ वा भान्सामा काम गर्ने, कागज, फलाम, खाली बोटल सङ्कलन गर्ने,, बजार क्षेत्रमा भरियाको काम गर्र्ने वा खाद्यान्न गोदाममा सामान ओसारपसार गर्ने श्रमिक, ठेलागाडा वा साइकलमा सामान बिक्री वितरण गर्ने नाङले÷झोले पसल चलाउने, चोक चौराहामा बसी मकै पोलेर बेच्ने नागरिकहरू पनि परेका छन् ।
राहत वितरण गर्न यसअघि तिनै असहाय, अति विपन्न र दैनिक ज्यालादारी परिवारको विवरण सङ्कलन गरिएको थियो । सङ्कलित फाराममा लक्षित परिवारका मुख्य व्यक्तिको नाम, परिवारका सदस्य सङ्ख्या, टोलबस्तीको नाम र घरमुलीको नागरिकता नम्बर संलग्न गरी फाराम भर्नुपर्छ । निर्देशिकामा राहतबापत नगद बाँड्न नपाइने व्यवस्था गरिएको छ । राहत वितरण सहज तुल्याउन टोल–टोलमा स्वयम्सेवकहरूको व्यवस्था गरिएको छ । राहत वितरणमा स्वयम्सेवकहरूको पहिचान गर्न मिल्ने पोशाकको व्यवस्था मिलाइको छ । यदि कोही व्यक्तिले राहतका लागि योग्य नभएको अवस्थामा गलत विवरण पेश गरी राहत बुझिलिएको पाइएमा निजलाई प्रचलितबमोजिम सजाय हुने व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *