भर्खरै :

ट्रम्पधम्कीको अन्त्य कसरी होला !?

जोराल
विश्व स्वास्थ्य सङ्गठनलाई संरा अमेरिकाले ४० करोड अमेरिकी डलर सहयोग दिएको तर ‘सबै निर्णय चीनको शैलीमा भइरहेका छन् यो सही होइन, हामीमाथि न्याय भएन’ भन्दै संरा अमेरिकाका राष्ट्रपति ट्रम्पले दुखेसो पोखेका छन् । उनले सङ्गठनलाई दिइरहेको सहयोग रोक्ने धम्की हालै दिएका छन् ।
तर, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुस (Tedros Adhanom Ghebreyesus) ले सङ्गठनबाट हरेक देशको नजिक रहेको रङ्गको आधारमा भेदभाव नगरिएको भन्दै ‘चीन केन्द्रित’ भएको भन्ने ट्रम्पको आरोप गलत भएको बताए । उनले स्पष्ट शब्दमा कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गर्दै यदि राजनीतिकरण गरे कोभिड – १९ का कारण थप लासका पोका हुनेतर्फ सावधान गराए ।
सबैलाई थाहा छ, गएको डिसेम्बर २७ मा चीनमा ३ जना अज्ञात निमोनियाका बिरामी भर्ना भएका थिए । त्यसको आवश्यक परीक्षणपछि डिसेम्बर ३१ मा चीनले त्यसको सूचना विश्व स्वास्थ्य सङ्गठनलाई दियो । त्यसलगत्तै सङ्गठनले त्यस रोगबारे सचेत पार्दै कोभिड – १९ नामाकरण ग¥यो र रोकथामको लागि सङ्गठनले गर्नुपर्ने कामहरू ग¥यो । सुरुमा रोग चीनमा देखिएकोले सूचना पनि त्यहीँकै आउनु स्वाभाविक थियो । तर, विभिन्न देशमा फैलिएपछि विश्वव्यापी भन्दै सबैलाई रोकथाम र नियन्त्रणको लागि आह्वान गर्दै सङ्गठन सर्वत्र क्रियाशील देखियो । अहिले त यस रोगबारे सङ्गठन चीनमा भन्दा अन्यत्र नै केन्द्रित भएको छ । यस्तो स्थितिमा ट्रम्पको आरोप गलतभन्दा पनि मानसिक असन्तुलनको प्रदर्शन अनुभव भएको छ । स्मरणीय छ, सन् २०१७ तिरै मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने झन्डै ६० हजारले ट्रम्पमा एक प्रकारको पागलपन (insanity) भएको ठहर गर्दै राष्ट्रपतिको कर्तव्य निर्वाह गर्न अयोग्य, गम्भीर र मानसिक बिरामी भएको भनी द एट्लान्टिक डेली, साइकोलजी टुडे आदिमा प्रकाशित भएका थिए ।
आज अमेरिकामा यो रोगबाट सबभन्दा बढी सङ्क्रमित छन् र मृत्यु हुनेहरूमा इटालीलाई पनि उछिनिसकेर पहिलो भएको छ । संरा अमेरिकाले न उपचार गर्न सकेको छ न रोकथाम नै । यस्तो अति भयावह स्थितिमा नियन्त्रणको लागि चिन्तन र क्रियाकलाप गर्नुको साटो, विश्वसँग हातेमालो गर्नुको साटो राजनीतिकरण गरेर जगहँसाइको पात्र बनेको छ संरा अमेरिका । त्यतिमात्र होइन रोकथाम, नियन्त्रण र उपचारमा सक्रियतापूर्वक लागिरहेको विश्व स्वास्थ्य सङ्गठनलाई आफूले कबोल गरेको सहयोगसमेत रोक्ने धम्की दिँदै हिँड्छन् भने ट्रम्पलाई गम्भीर मानसिक रोगी अर्थात् पागलको संज्ञा दिँदा के अतिशयोक्ति होला ?
‘अमेरिका प्रथम’ को मानसिकता बोकेको साम्राज्यवादी संरा अमेरिका विश्वमै केन्द्रित रहेको विश्व स्वास्थ्य सङ्गठनलाई आफ्नै देशमा मात्र केन्द्रित गराउन चाहन्छ । सबै जोगी मरोस्, आफ्नै तुम्बा भरोस् भन्ने अमानवीय चरित्र र दुष्प्रवृत्तिलाई निरुत्साहित पार्नैपर्छ ।
त्यसो त साम्राज्यवादी अमेरिकाले आफ्नो स्वार्थ प्रतिकूल गतिविधि गर्नेलाई बाधा अवरोधमात्र पु¥याउँदैन हमला, हत्या, विध्वंस पनि मच्चाएको लामो इतिहास छ । संरा सङ्घ आफ्नो ज्यावल नबन्दा उसले यसका महासचिवको हत्या गराएको थियो भने युनेस्कोका महानिर्देशकलाई हटाएको थियो । अहिले पनि विश्व स्वास्थ्य सङ्गठनलाई सहयोग रोक्ने धम्की दिएको छ ।
टेड्रोस
विश्व स्वास्थ्य सङ्गठनका वर्तमान महानिर्देशक टेड्रोस अधानोन घेब्रेयेसुस इथियोपिया (इरिट्रिया) का पूर्वमन्त्री हुन् । उक्त पदमा पुग्ने पहिलो अफ्रिकी टेड्रोस औलो रोगसम्बन्धी अनुसन्धानमा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त माइक्रोबायोलोजिस्ट पनि हुन् । उनी सन् २०१७ देखि उक्त पदमा छन् । उनी नेतृत्वको विश्व स्वास्थ्य सङ्गठनले विश्वका सबै देशमा आफ्नो गतिविधि सक्रियरूपमा सञ्चालन गरिरहेको छ । तर, अमेरिकालाई चित्त बुझेन त्यसैले उसको निम्ति सही भएन, न्याय भएन र सहयोग रोक्ने धम्की दिन थालेको छ ।
एमबो
यसअघि सन् १९८५ तिर पनि अमेरिकाले यस्तो चरित्र प्रदर्शन गरेको थियो । युनेस्कोका महानिर्देशक सेनेगालका शिक्षाविद् अमाडु महतर एमबो (Amadou Mahtar M’ Bow)पश्चिमा सूचना साम्राज्यको विरोधमा विश्व जनमतप्रति सकारात्मक दृष्टिकोण राख्थे । उनी तेस्रो विश्व नयाँ सूचना र सञ्चार व्यवस्था (New World Information and Communication Order) स्थापना गर्ने प्रयासको समर्थक थिए । तर, सूचना साम्राज्यवादको जन्मदाता पश्चिमी शक्ति विशेषगरी संरा अमेरिका, बेलायतलाई एमबोको गतिविधि मन परेन । तिनीहरूले महानिर्देशकको कार्यलाई वित्तीय साधनको दुरुपयोग भन्दै एमबोलाई पदबाट नहटाएमा युनेस्कोलाई दिँदै आएको सहयोग रोक्ने धम्की दिए । अमेरिका र बेलायत युनेस्कोबाट बाहिरिए । अन्ततः सूचना माध्यमलाई विश्व शान्ति र प्रगतिको हितमा उपयोग गर्ने प्रयास साम्राज्यवादी र युद्ध प्रचारकहरूबीचको प्रचण्ड प्रतिद्वन्द्विता एमबोको युनेस्को परित्यागबाट टुङ्गिएको थियो । स्मरणीय छ एमबो युनेस्कोको शीर्षपदमा पुग्ने पहिलो कालाजातिका अफ्रिकी थिए ।
हाम्मरस्कोल्ड
संरा सङ्घको दोस्रो महासचिव ड्याग हाम्मरस्कोल्ड (Dag Hammerskjold) स्वीडेनमा जन्मेका थिए । उक्त पदमा पुग्ने उनी आजसम्मकै कम उमेरका हुन् । उनी सन् १९५३ मा महासचिवमा नियुक्त हुँदा ४७ वर्षका थिए ।
त्यसबेला अफ्रिकी महादेशमा उपनिवेशवादबाट स्वतन्त्र हुने क्रम चलेको थियो । त्यसैक्रममा सन् १९६० मा बेल्जियमको उपनिवेशबाट कङ्गो स्वतन्त्र भयो । प्याट्रिस लुमुम्बा प्रथम प्रधानमन्त्री भए । तर, युरेनियम, तामा, हिराजस्ता खनिजमा धनी कङ्गोमा बेलायत, अमेरिका, बेल्जियमलगायतका देशहरूले गृहयुद्ध छेड्न लगाए । युरोपेली पिँजडाको सुगा ठहरिएका मोसे शोम्बेलाई अलग राज्य खडा गरी राष्ट्रपति बनाए । यसबाट कङ्गोको सङ्कट चर्कियो ।
तर, संरा सङ्घले भाडाका सिपाही र बेल्जियमका सेनालाई निकाला ग¥यो । चर्किएको गृहयुद्ध साम्य पार्न हाम्मरस्कोल्ड आफै शोम्बेसँग वार्ता गर्न कङ्गो गए । तर, उपनिवेशवादीहरूले भेट हुन नदिने प्रयास गरिरहे । अन्तमा सेप्टेम्बर १३ मा कङ्गो पुगेका हाम्मरस्कोल्डको सेप्टेम्बर १८ मा रोडेसियामा शोम्बेसँग भेट गर्ने तय भयो । त्यसको लागि एउटा विमान सेप्टेम्बर १७ को राती उड्यो तर बीचैमा दुर्घटना भयो र महासचिवसहित १६ जनाको मृत्यु भयो ।
महासचिवको दुर्घटनामा मृत्यु वा हत्याको विषयमा धेरैवटा जाँचबुझ आयोग बने, नयाँ – नयाँ तथ्यहरू फेला पारियो । ती तथ्यबाट दुर्घटनाको कुरा ओझेलमा परेको छ, विमान नै विस्फोट गराइएको कुरा आएको छ । यसमा बेलायतको एमआई छ, अमेरिकाको सीआईए, बेल्जियम र दक्षिण अफ्रिकाको जासुसी संस्था रोडेसियामा संलग्नताको कागजपत्रहरू फेला परेका छन् । यसैक्रममा सन् १९९३ मा हत्या गरिएका दक्षिण अफ्रिकाका कम्युनिस्ट नेता क्रिस हानीको हत्याको सिलसिलामा एउटा दस्तावेज फेला परेको थियो सन् १९९८ मा । त्यसमा हाम्मरस्कोल्डलाई ‘हटाउने’ षड्यन्त्रका साथै तत्कालीन सीआईए प्रमुख एलेन डलेसको वक्तव्य फेला परेको छ जसमा “ड्यागले समस्या पार्दै छन्… । उनलाई हटाउनुपर्छ”, भनिएको छ ।
अफ्रिकी मुलुकहरू स्वतन्त्र हुनुपर्छ र उपनिवेशी शक्तिहरूको हस्तक्षेपविना सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्ने हाम्मरस्कोल्डको हत्यापछि लुमुम्बाको पनि हत्या भयो । कङ्गोको अपार खनिज स्रोतमा साम्राज्यवादी र उपनिवेशवादीहरूको हालिमुहाली भएपछि ‘कङ्गो सङ्कट’ पनि मत्थर भयो ।
अहिले विश्व स्वास्थ्य सङ्गठनलाई सहयोग रोक्ने ट्रम्पको धम्कीको अन्त्य कसरी होला !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *