भर्खरै :

‘रोहितको आकृति’ पुनः अध्ययन गर्दा

समा
नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रका एक आदर्श व्यक्तित्व नारायणमान बिजुक्छेँ (रोहित) को जीवनबारे बुभ्mने इच्छा कसको नहोला ¤ तर, का. रोहितको सङ्घर्षको लामो कथा र पृथक् व्यक्तित्व केही पुस्तकका केही पृष्ठभित्र के अटाउन सम्भव होला ? फराकिलो हृदय बोकेर देश र जनताको निःस्वार्थ सेवामा अनवरत समर्पित र वैचारिक सङ्घर्षको मैदानमा स्पात बनेर लडिरहनुभएका का. रोहितका योगदान तथा अनुभवबारे अवगत हुन के एक–दुई पुस्तक अध्ययनबाट सकिएला ? राजनीतिक तथा सैद्धान्तिक सङ्घर्ष, कठोर प्रवास जीवन, जेल यात्रा, कामदार जनताको हक र हितको निम्ति गरिएको त्याग तथा तपस्यालाई के एक–दुईवटा क्यानभासले न्याय गर्न सक्लान् ? मनमा यी प्रश्नहरू उठिरहँदा आँखा अगाडि लेखक एवम् जीवनीकार नरेन्द्रराज प्रसाईंकृत ‘रोेहितको आकृति’ माथि दृष्टि प¥यो । ‘रोहितको आकृति’ नरेन्द्रजीले देखेका, सुनेका र पढेका नारायणमान बिजुक्छेँको सुन्दर आकृति हो । खोतलिनुपर्ने कथाहरू अझ थुप्रैथुप्रै होलान् ¤ लेख्न बाँकी भोगाइका गीतहरू अझ धेरै धेरै होलान् ¤ यद्यपि, का. रोहितलाई आदर्श मान्ने र का. रोहित पढ्न चाहनेहरूका निम्ति नरेन्द्रजीले गुण लगाएका छन् ।
जीवनी लेखनमा सिद्धहस्त नरेन्द्रराज प्रसाईँको यस कृतिमा का. रोहितको सङ्क्षिप्त जीवनी उतारिएको छ । उनको सुन्दर लेखनशैली र सरस भाषाले धेरैलाई जीवनी अध्ययन गर्न हौसला मिल्नेछ ।
अध्यक्ष माओ र का. रोहितको आकृति उस्तै – उस्तै देख्ने प्रसार्इंजीले यस कृतिलाई उनको किशोरावस्थाका नायक माओ त्सेतुङमा समर्पित गरेका छन् । ‘रोहितको आकृति’ अध्यक्ष माओ त्से तुङको प्रसङ्गबाट सुरु हुन्छ । प्रसाईंजीले हरिबहादुर श्रेष्ठ सिर्जित माओको जीवनी पढेका थिए । आप्mनो मनपर्ने नेता माओबारे लेख्ने स्रष्टा हरिबहादुर श्रेष्ठ खोज्दै जाँदा उनले नारायणमान बिजुक्छेँ (रोहित) भेट्टाए । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङका विचारलाई नेपाली जनताबीच पैmलाउन सङ्घर्षरत का. रोहित र उहाँको सरल तथा सादा जीवनशैलीबाट प्रभावित भए । राजनीतिक विचारमा भिन्नता भएपनि मान्छेलाई असल व्यवहार गर्ने का. रोहितभित्र उनले एक सच्चा कम्युनिस्ट भेट्टाए । का. रोहितमाथि नियोजितरूपमा हिलो छ्यापेर अनेकौँ अफवाह पैmलाइरहेको बेला प्रसाईंजीले का. रोहितलाई भेटेका थिए । उनी भन्छन् – “रोहित त सरल, मिलनसार, असल र शिष्ट पो रहेछन् ¤”
भक्तपुरको एउटा पुरानो तस्वीर प्रसार्इंजीले पुस्तकमा उतारेका छन् । फोहोर, दुर्गन्धित भक्तपुरलाई तुलनात्मकरूपमा सफा तथा सांस्कृतिक नगरी बनाउन जनचेतना, जनपरिचालन चुनौतीपूर्ण हुनु स्वाभाविक हो । राजधानीको छेवैमा पर्ने भक्तपुरका जनता शिक्षाको उज्यालोबाट विमुख थिए । शिक्षाको उज्यालो घाम छर्न सम्पूर्ण प्रतिकूलतासँग लड्दै मार्गनिर्देश गर्नुहुने का. रोहितसँग प्रसाईंजीले पाठकलाई साक्षात्कार गराएका छन् । का. रोहितको जीवनका विविध पक्ष यहाँ उजागर गरिएको छ ।
‘रोहितको पूर्वकथा’ मा उनले का. रोहितको जन्मथलो भक्तपुरको प्राचीन वैभवको विषयमा चर्चा गरेका छन् । ‘रोहितका पूर्खा’ मा पाठकले का. रोहितका हजुरबुबा–हजुरआमा, आमा–बुबासँग भेट्छन्, परिवार र पारिवारिक उपार्जनबारे थाहा पाउँछन् । ‘रोहितको जीवनआरम्भ’ भित्र का. रोहितको जन्म, बाल्यकाललाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । उहाँ सानैदेखि अध्ययनशील र तीक्ष्ण बुद्धिका हुनुहुन्थ्यो भन्ने ज्ञात हुन्छ । आमाबाट सानैमा दुःखी, गरिब र अनाथलाई सेवा गर्नुपर्छ भन्ने भावना सिक्नुभएका का. रोहितले निःस्वार्थ जनसेवालाई नै जीवनको उद्देश्य बनाउनुभयो । का. रोहितको विद्यालययात्रा भक्तपुरदेखि गौर र गौरदेखि काठमाडाँैसम्म चलिरह्यो । सद्ज्ञान र शिक्षा दिने गुरु लिलाराजदेखि चिन्ताहरणलगायतलाई उहाँ सम्झिरहनु हुन्छ ।
का. रोहितको जीवनमा १२ वर्षको बाल्यकालमै राजनीतिक प्रभाव प¥यो । उहाँको प¬स्तक र पुस्तकालय मोह गज्जबको थियो । प्रगतिशील साहित्य अध्ययन उहाँको हुर्काइको महत्वपूर्ण पाटो थियो । गौरमा बस्दा नै उहाँले कम्युनिस्ट पार्टीका बैठकहरू देख्नुभएको थियो । गौरको किसान आन्दोलन उहाँले आप्mनै आँखाले देख्नुभयो । उहाँले त्यतिबेलै आन्दोलनको शक्ति र तेज महस¬स गरिसक्नुभएको थियो । नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनबाट का. रोहितको सङ्गठित राजनीतिक जीवन सुरु भयो । माक्र्सवाद – लेनिनवाद र विश्व प्रसिद्ध कम्य¬निस्ट आन्दोलन, दर्शन, साहित्य उहाँले पाठ्पुस्तकभन्दा बढी पढ्नुभयोे । जातभात, साम्प्रदायिक भावना, धार्मिक अन्धविश्वासलाई ज्ञानले जित्दै थियो । का. रोहितको बुद्ध दर्शनप्रतिको आस्था र भिक्षु बन्न चाहेको प्रसङ्ग रोचक छ ।
का. रोहित सेवाभाव र समर्पणभावको पर्याय बन्नुभयो । शिक्षण सेवा उहाँको लागि सेवा र सङ्घर्षको महत्वपूर्ण अनुभव थियो । अत्यन्त दरिद्र सामाजिक, आर्थिक परिवेशका विद्यार्थीलाई पाठ्यपुस्तकसँगै सांस्कृतिक स्तर उकास्ने र नैतिक शिक्षा दिने कार्यमा का. रोहितले कहिल्यै थकाइको महसुस गर्नुभएन । उहाँ विद्यार्थीलाई कहिले हो चि मिन्ह पढाउनुहुन्थ्यो, कहिले माओ त कहिले लेनिन पढाउनुहुन्थ्यो । उहाँ विद्यार्थीका मनपर्ने शिक्षक हुनुहुन्थ्यो । तर, प्रहरी सुराकीहरूको दबाबमा स्कुल प्रशासनबाट अवरोध खडा हुन्थ्यो । नागरिकशास्त्रबाट भूगोल, भूगोलबाट अङ्गे्रजी विषय परिवर्तन गराइँदा पनि उहाँले विद्यार्थीलाई विश्वका युद्ध, आन्दोलन तथा सङ्घर्षबारे जानकारी दिन छोड्नुभएन । उहाँलाई ‘भियतनाम शिक्षक’ समेत भनियो । अमेरिकी साम्राज्यवादबारे उहाँ कक्षा कोठाभित्र पनि विद्यार्थीलाई यथार्थ जानकारी दिई सचेत बनाउँदै हुनुहुन्थ्यो ।
का. रोहितले जनताका एक इमानदार प्रतिनिधि बनी जनताकै पक्षमा काम गर्नुभयो । प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर समाज र देशको हित एवम् उत्थानमा लाग्ने लेनिनवादी सिद्धान्तलाई उहाँले व्यवहारमा उतार्नुभयो । वडा सदस्यदेखि संसद्सम्मको उहाँको यात्राले त्यही कुराको पुस्टि गर्छ ।
त्यतिबेलाको राजनीतिक जीवनमा जेलजीवन स्वाभाविक जस्तै थियो । का. रोहित जनताबीच सक्रिय हुँदाहँुदै जेल पर्नुभयो । कहिले भियतनाम युद्धको विरोध गर्दा त कहिले अमेरिकी साम्राज्यवादविरुद्ध बोल्दा उहाँ जेल पर्नुभयो । उहाँले स्नातकको परीक्षा जेलबाटै दिनुभयो । जेल जीवन, भूमिगत जीवन, निर्वासन आदि जीवनकै अभिन्न अध्याय बनिसकेको थियो । का. रोहितलाई एक समाजवादी चिन्तक र सच्चा कम्य¬निस्टका रूपमा प्रसाईंजीले प्रस्तुत गरेका छन् । राजनीतिलाई मागी खाने र कमाउने भाँडो बनाइरहेकाहरूको भीडमा का. रोहितलाई अपवाद मान्छन्, जीवनी लेखक प्रसार्इंजी ।
का. रोहित मजदुर किसानका प्रिय नेता हुनुहुन्छ । किसानको आर्थिक स्तर उकास्न उहाँले खेल्नुभएको भूमिका अतुलनीय छ । शोषित पीडित जनताको सांस्कृतिक स्तर उठाउन उहाँले गरिरहनुभएको सङ्घर्ष खुला पुस्तकभैmँ छ । कामदार वर्गको पक्षमा चट्टानझैँ उभिएर वर्गसङ्घर्षको नेतृत्व गर्नुहुने का. रोहित जनताका सच्चा नेता हुनुहुन्छ । का. रोहित साम्राज्यवाद तथा विस्तारवादविरुद्ध निरन्तर सम्झौताहीन ढङ्गमा जुझिरहने यो देशका एक योद्धा हुनुहुन्छ । पद र पैसालाई तिलाञ्जली दिई सिद्धान्त, विचार र नैतिकतामा जोड दिन सदा अभिप्रेरित गर्ने उहाँ कामदारवर्गका सच्चा अगुवा हुनुहुन्छ । गहिरिएर अध्ययन गर्दा पुस्तकमा यस्तै भाव छचल्किरहेको अनुभूति हुन्छ ।
नेमकिपाको स्थापना नेपालको कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण तथा ऐतिहासिक घटना थियो । नेमकिपा २०३१ सालमा स्थापना हुनुका थुप्रै कारणहरू प्रसार्इंजीले कोट्याएका छन् । त्यतिबेला पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तान विभाजन हुँदा भारतीय हस्तक्षेपको चर्को विरोध का. रोहितले गर्नुभयो । रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन हुँदै छ भनी का. रोहितले स्पष्ट पार्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको निरन्तर खण्डन गर्नुभयो । वर्गसङ्घर्ष जारी राख्नेबारे अडान लिनुभयोे । कम्युनिस्ट आन्दोलन अवसरवाद र संशोधनवादको भासमा फस्दै थियो । भारत र अमेरिकाले कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्न खोज्दै थिए । त्यो समयमा कम्युनिस्ट आन्दोलन जोगाउन र जनताको सेवा गर्न नेमकिपाको स्थापना भयो । अशिक्षित किसानलाई सङ्गठित र सचेत गर्ने कार्य जरूर सजिलो थिएन । उहाँले धैर्यपूर्वक सङ्घर्ष अगाडि बढाउनुभयो र जारी राख्नुभयो ।
जनताले माया गर्ने का. रोहितलाई पञ्चायती व्यवस्था बदला लिन चाहन्थ्योे । नेमकिपा समाप्त पार्न पञ्चायत षड्यन्त्रका अनेकौँ जाल बुन्दै थियो । २०४५ साल भाद्र ९ गते राज्यस्तरबाटै षड्यन्त्र गरी नेमकिपाको तेजोबध गर्न खोजियो । का. रोहित जेल पर्नुभयो । ‘रोहितलाई फाँसी दे’ को नारा पञ्चायती सरकार स्वयम्ले लगायो । त्यो घटना नेपालको राजनीतिक इतिहासकै कालो दिन थियो । लामो सङ्घर्षपछि जनताले प्रजातन्त्र पाए ।
का. रोहितको विदेश यात्राबारे मिठो चर्चा छ, यस कृतिमा । किशोरावस्थामा स्वाथ्योपचारका निम्ति चीन बस्दाको अनुभव र पटकपटकको भ्रमणले ‘चीन यात्रा’ कृति जन्मायो । सो पुस्तकमाथि प्रतिबन्ध लाग्यो । ‘कोरिया भ्रमण’ उहाँको पठनीय यात्रा संस्मरण हो । बर्मा, थाइल्यान्ड, बङ्गलादेश, जर्मनी, पाकिस्तान, फ्रान्स, कोलम्बिया, संरा अमेरिकालगायतका देशमा का.रोहितले भ्रमण गर्नुभयो । आपूmले देखेका भोगेका अनुभवलाई जनताबीच पु¥याएर शिक्षित बनाउन का. रोहित सदा तत्पर हुनुहुन्छ ।
का. रोहितको लेखन तथा पत्रकारिता अनुभव बेजोडको छ । निर्वासनमा छँदा र निर्वासनबाट फर्केपछि पनि विभिन्न नामहरूमा लेख्ने र पत्रिका प्रकाशन गर्ने कार्य कहिल्यै रोक्नुभएन । पत्रिका र लेखनबाट पनि समाजलाई सचेत बनाउन उहाँ निरन्तर सङ्घर्षरत हुनुहुन्छ । प्रवासमा प्रकाशित मजदुर–किसान, जनताको साहित्य, धु्रवतारा आदि आजपनि चालू छन् । मातृभूमि, रातो झन्डा लगायतमा काम गर्दाको अनुभव शिक्षाप्रद छ । का. रोहितको नारी मित्रता र महिलाप्रतिको श्रद्धा, सद्भाव अनुकरणीय छ । का. रोहितको दाम्पत्य जीवनबारे असाध्यै मिठो प्रस्तुती कृतिमा छ । का. रोहितको प्रेम जीवन रोमाञ्चक छ । शोभा भाउजू सङ्घर्षमा सदा साथै हुनुुहुन्छ । शोभा भाउजूले घर, छोराहरूमात्रै सम्हाल्नुभएन राजनीतिमा पनि सक्रिय हुनुभयो । शोभा भाउजूलाई का. रोहितले जेलबाट लेख्नुभएका चिठ्ठीका अंशहरू यसभित्र पनि पढ्न पाइन्छ ।
का. रोहित नाचगान र गीत सङ्गीतप्रति पनि अभिरुचि राख्नुहुन्छ । उहाँको साहित्यिक व्यक्तित्वबारे थुप्रै स्रष्टाहरूले दिएका अभिव्यक्ति मार्मिक छन् । स्रष्टा लैनसिङ बाङ्देलदेखि गोविन्द भट्टसम्म, नरहरी आचार्यदेखि प्रा.डा गार्गी शर्मासम्मका साहित्यिक महारथीहरूद्वारा अभिव्यक्त भनाइहरूले का. रोहितको स्रष्टा व्यक्तित्व थप उजिल्याएको आभास हुन्छ । प्राज्ञ तथा साहित्यकारका निमित्त का. रोहितले पु¥याउनुभएको योगदानको उच्च कदर गरिएको छ । पुस्तक पढ्दै जाँदा नइले नारायणमान बिजुक्छेँभित्रको हरिबहादुर श्रेष्ठप्रति अझ बढी झुकाव देखाएको प्रस्ट हुन्छ । एक असल राजनेता र जनसाहित्यकार का. रोहित कृतिबारे भन्नुहुन्छ– “मैले यस कृतिमार्पmत आप्mनो प्रतिरूप पाएँ ।”
का. रोहित प्रसार्इंजीको लेखनीबारे भन्नुहुन्छ – “लेखकीय स्वतन्त्रता वा विचार एवम् अभिव्यक्ति स्वतन्त्रताको म हिमायती छु । मतमतान्तर हुनु स्वाभाविक हो, एउटै वस्त्रको हेराइमा आ–आप्mनो स्थानअनुसार भिन्नता देखापर्छ भने मानव समाजबारेको चिन्तनमा भिन्नता हुनु अत्यन्त स्वाभाविक होे ।”
का. रोहितको कम्युनिस्ट विचारसँग असहमत प्रसाईंजीले का. रोहितप्रति उच्च सम्मान व्यक्त गर्न भने कुनै कञ्जुस्याईं गरेको देखिँदैन । वैचारिक बेमेलबीच पनि का. रोहितको व्यक्तित्व र साहित्य साधनाले प्रसाईंजीलाई आकर्षित गरेका प्रसङ्गहरू पुस्तकमा छन् । यस कृतिले का. रोहित त जरूर चिनाउँछ साथै शोभा भाउजूको सङ्घर्षबारे पनि बताउँछ । का. रोहितलाई नजिकबाट चिनेकाहरूले प्रस्तुत जीवनीमा राजनीतिक तथा वैचारिक पक्ष एवम् व्यक्तित्वबारे अझ थप चर्चा आवश्यक भएको अनुभव गरेमा आश्चर्य हुने छैन । समग्रमा कृति पठनीयमात्र होइन सङ्ग्रहणीय समेत छ । आगामी दिनमा का. रोहितको वैचारिक सङ्घर्ष, नेपालको प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनमा भूमिका, देशभक्तिपूर्ण आन्दोलनमा योगदान र अन्तर्राष्ट्रिय सवालमा उहाँको दृष्टिकोणबारे प्रकाश पार्ने पुस्तकहरू प्रकाशित भए नेपाली पाठकप्रति थप न्याय हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *