भर्खरै :

अमेरिका र चीनबीचको द्वन्द्वले कोरोना महामारीबाट संसार झनै पीडित !

राजन

            अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनको निन्दा गरेका छन् । कोभिड–१९ को उत्पत्तिमा चीनलाई बचाउन विश्व स्वास्थ्य सङ्गठनले सहयोग पुर्‍याएको आरोपमा अमेरिकाले दिँदै आएको सहयोग रोक्‍ने निर्णय ट्रम्पले गरे । तर जनवरीमै चीनले सचेत गराउँदा ट्रम्प भाइरसलाई मजाक बनाउँदै चीनको सुझावलाई कम आकलन गर्नमा व्यस्त थिए । ट्रम्पले ठाने संयुक्त राज्य अमेरिकाका लागि भाइरस ठूलो समस्या हुनेछैन । “अप्रिलमा तातो मौसमको आगमनका साथ कोरोना भाग्नेछ र शेयर बजारमा पनि उछाल आउनेछ” भन्दै थिए ट्रम्प । यहीँ गलत बुझाइले गर्दा अमेरिकामा कोभिड–१९ ले यत्रो सङ्कट ल्याएको हो । अहिले आएर आफूबाट दोष हटाउन ट्रम्पले चीनलाई निषेध गर्ने निर्णय गरिसकेका छन् ।
            आफ्नो ठाउँबाट उत्पति भएको कोरोनाबाट संसार पीडित भएको अवस्थामा आफ्नो छविलाई राम्रो देखाउन चीन विश्वभरि आफ्नो हैसियतअनुसार सहयोगको हात बढाउँदै छ । यसको कारण चीनको विश्वभरि खुलारूपमा प्रशंसा भइरहेको छ । यही कारणले अबको विश्वको नेतृत्व चीनले गर्नेछ भनेर पनि विश्वको राजनीतिको रगमञ्चमा व्यापक बहस  भइरहेको छ । तर, यो कुरा सन्की ट्रम्पलाई मनपर्ने कुरो भएन । संसारको लागि सहयोगको अति नै खाँचो भएको यो समयमा विश्वका दुई महाशक्तिहरू द्वन्द्वमा अल्झेको छ, यसले पक्कै पनि मानव जीवनको कहिल्यै भलो गर्दैन ।
            फ्रान्सको एक अनुसन्धानअनुसार वर्षौँ नभए पनि अमेरिकामा महिनौँसम्म यो महामारी रही नै रहनसक्छ । सामान्य अवस्थामा फर्किन अझै निकै समय लाग्ने छ । ट्रम्पले सोचे यो महामारी एक दुई हप्ताको लागि हो तर स्वास्थ्य विज्ञका अनुसार यो एक दुई वर्षको लागि हुनसक्छ । यो कुरा बुझेपछि आगामी नोभेम्बरमा हुने चुनाव ट्रम्पको दिमागमा आयो । त्यसपछि अचानक परीक्षाको मिति घोषणा हुँदा विद्यार्थी आत्तिएजस्तै ट्रम्प आत्तिएर मनपरी बोल्न थालेका छन् । विज्ञहरूका अनुसार अमेरिकाले सामाजिक दुरीको बारेमा निर्देशहरूलाई कडाइका साथ पालन गर्न जनतालाई आह्वान गर्नुपर्छ । भाइरस परीक्षण गर्ने क्षमताको बिस्तार गर्नुका साथै पर्याप्त सामग्रीसहित अस्पतालहरूको क्षमतालाई विस्तार गर्नुपर्छ । तर, ट्रम्पको भेनेजुयलामा युद्धपोट पठाउनमा ध्यान केन्द्रित छ । उनी आफ्नै समर्थकलाई लकडाउन उल्लङ्घन गराउन उक्साउँदै छन् । 
            अहिले जनमानसमा एउटा धारणा के छ भने अमेरिकाजस्तो धनी राष्ट्रले पनि यो महामारीलाई नियन्त्रण कसरी गर्नसकेन । वास्तवमा परीक्षणहरू भन्नासाथ गर्न गाह्रो हुन्छ । रासायनिक सामग्रीहरू पर्याप्त हुँदैन । त्यसैले परीक्षण क्षमता खर्च गर्नसक्‍ने क्षमताले मात्र निर्धारण हुँदैन । अर्को कुरा चिकित्सा सामग्रीको आपूर्ति कम भइरहेको छ तर भाइरस तीव्ररूपमा फैलिरहेको छ । ट्रम्पको गलत हिसाब किताबले सर्वसाधारण अमेरिकीहरूले कठोर परिणाम भोग्‍नु परिरहेका छन् । प्रारम्भिक निष्क्रियताको कारण ट्रम्पले गुमाएको विश्वसनियता पुनः प्राप्त गर्न गाह्रो छ ।
            भाइरसबारे चीनमाथि अमेरिकी षड्यन्त्रको गन्ध आइरहेको जो कोहीले अनुमान गरिरहेका छन् । घुमाइफिराइ संसारभर महामारी फैलिनुमा चीनकै हात रहेको पुष्टि गर्न चाहन्छ, अमेरिका । भर्खरै दुई अमेरिकी पत्रिकाले भाइरस पशुबाट सीधा मानवमा सर्नुको सट्टा उहानमा सङ्‍क्रामक रोग प्रयोगशालाको कमजोर सुरक्षाको कारणबाट चुहिएको हुनसक्छ भन्‍ने शड्ढा व्यक्त गरेको छ । यसैलाई आधार मानेर अमेरिकी सरकारले कोरोना भाइरस अध्ययन गरिरहेका चिनियाँ वैज्ञानिकहरू कमजोर सुरक्षा प्रणालीको कारणले प्रगोगशालाबाट उछिटिएर यो दुर्घटना भएको हुनसक्छ भनेर कुनै पनि अर्थ लगाउन मिल्ने गरी चीनको बदनाम गर्ने एउटा नयाँ षड्यन्त्र भइरहेको धेरैको भनाइ छ ।
            कोरोना भाइरसको सम्बन्धमा विश्वसनियता प्राप्त शैक्षिक अनुसन्धान, ‘नेचर मेडिसिन’ जर्नलमा मार्चमा प्रकाशित भएको थियो । उक्त जर्नलमा भाइरसको बारेमा स्पष्टरूपमा उल्लेख गरिएको छ कि कोरोना पशुमा पाइने भाइरस हो । जर्नलका अनुसार चमेरो र सालकबाट उत्पत्ति भएको हुनसक्छ । यसको मतलब अनुमान गरेअनुसार यो भाइरस जनावबाट मानवमा सर्‍यो । साइन्स डेलीमा उल्लेख गरिएअनुसार भाइरस प्रायः चमेरो र सालकमा फेला परेका भाइरसहरूसँग मिल्दोजुल्दो छ । यसबाट स्पष्ट हुन्छ भाइरस मानवद्वारा बनाइएको थिएन । अमेरिकी प्रशासनलाई पनि स्पष्ट थाहा छ कि यो कुनै मानव निर्मित भाइरस होइन बल्कि प्रकृतिप्रदत्त हो तर बुझ पचाएर अमेरिकी अधिकारी भनिरहेका छन्, यो मानव निर्मित भाइरस हो भन्‍ने कुरा हामीले पनि सुनेका छौँ तर पुष्टि हुन बाँकी छ । यसरी कुनै पनि अर्थ लगाउन मिल्ने गरी अमेरिकीहरुले आफ्नो कमजोरीलाई लुकाएर चीनमाथि दोष थोपर्ने प्रयास गरिरहेका छन् ।
            अहिलेको समयमा चीनले देखाइरहेको सहयोगलाई एकखाले राजनीतिक विश्लेषकहरुले चीनको महामारी कूटनीतिको रूपमा व्याख्या गरेका छन् । चीनले कोभिड – १९ को माध्यमबाट फाइदा हासिल गरिरहेको छ । हामीकहाँ दुःखको समयमा भन्‍ने एउटा भनाइ छ, ‘शोकलाई शक्तिमा बदल्ने’ । त्यसरी नै चीन कोरोना महामारीलाई शक्तिको स्रोतको रूपमा बदल्न प्रयासरत छ, चाहे त्यो स्वदेशमा होस् या विदेशमा । इटालीले आफ्नो स·ठन युरोपेली युनियनसँग सहयोगको याचना गर्दा युरोपेली राष्ट्रले बेवास्ता गर्दा चीनले सहयोगको हात बढाएको थियो । त्यतिबेला इटालीभरि चीनलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा ह्यास ट्याग चलाएको थियो । इटालीवासीले आफ्नो घरको बाल्कोनीबाट चिनियाँ राष्ट्रिय गान बजाएका थिए । त्यसरी नै स्पेनमा पनि चीनले सहयोग गरेको छ । भलै यस विषयलाई फ्रान्सका राष्ट्रपतिले अस्वीकार गरेका छन् । उनका अनुसार जर्मन र फ्रान्सले इटालीलाई चीनले भन्दा बढी सहयोग गरेका छन् । चिनियाँ सरकारले मात्र होइन चिनियाँ व्यापारीले पनि यो विषम परिस्थितिमा नाफाभन्दा मानवता देखाइरहेका छन् । चैरिटेबल फाउन्डेसनमार्फत चिनियाँ धनाढ्य अलीबाबाका ज्याकमा आफैले पनि अमेरिका लगायत अफ्रिकाका ५४ मुलुकमा भेन्टिलेटर, पीपीई र कोभिड–१९ परीक्षणको लागि चाहिने चिकित्सक सामाग्री पठाएका छन् । अमेरिकाले जासुसी आरोपमा प्रतिबन्ध लगाएको र सुरक्षाको लागि खतराको रूपमा लिएको चिनियाँ टेलिकम कम्पनी हुवावेले ५ लाख मास्क, ५० हजार चस्मा, ३० पीपीई र १ लाख २० हजार पञ्जा अमेरिकाको सबभन्दा कोरोना प्रभावित सहर न्युयोर्कमा पठाएको छ । यस्तो विषम परिस्थितिमा कसैलाई सहयोग गरेर तिनीहरुको मन जित्नुलाई ‘महामारी कूटनीति’ भन्नु अलि सुहाउँदैन कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *