भर्खरै :

जनप्रतिनिधि आराम गर्ने समय होइन

कोभिड–१९ को महामारीको प्रतिरोधमा भक्तपुर नगरपालिकाले गरिरहेका गतिविधिबारे भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिसँग बीएल नेपाली सेवाका प्रतिनिधि माधव ढुङ्गेलले लिनुभएको अन्तर्वार्ता सान्दर्भिक भएकोले साभार गरिएको छ : 

यो राहत मजदुरलाई मात्र होइन, खान नपाएका सबैका निम्ति हो । 

सिङ्गो भक्तपुर नगरपालिका सुनसान छ । मान्छे घरबाट बाहिर निस्केका छैनन् तर तपाईँलगायत नगरपालिकाको टीम भने यति व्यस्त देखिन्छ । नगरपालिकामा काम हुन्छ ‘लकडाउन’ मा पनि ?
जनप्रतिनिधि जनताको सेवाको निम्ति हो । सरकारले ‘लकडाउन’ भनेर घोषणा गरे पनि जनप्रतिनिधि, सेना, प्रहरी, सशस्त्रलगायत राज्यको सञ्‍चालन तहमा बसेकाहरूले आराम गर्ने समय होइन यो । यस्तै बेलामा सबैभन्दा बढी समस्या हुनसक्छन् । दुःखद घटना हुनसक्छन् । हामी तयारी अवस्थामा बस्‍नुपर्छ । नगरपालिकामा निश्चित साथीहरू पालैपालो गरेर बस्‍नुहुन्छ । महत्वपूर्ण शाखा खाली छैनन् । पाँच–सात जना भएको ठाउँमा एक जनामात्र भए पनि उपस्थित हुनुहुन्छ । कुनै पनि बेला केही पर्‍यो भने जनताको समस्या सहजै समाधान हुन्छ ।
मेयर स्वयम् नियमित हुनुहुन्छ । ‘लकडाउन’ को बेला जनतालाई के–के समस्या आइपर्दा रहेछन् ?
अहिले दुई–तीन वटा महत्वपूर्ण काम छ । स्वास्थ्यसँग सम्बन्धित काम हुन्छ । सरसफाइको काम हुन्छ । सरसफाइका १६० कर्मचारीहरू कसैलाई पनि बिदा दिएको छैन । हिजो–अस्ति मात्रैको कुरा, खानेपानीको पाइपमा ढल मिसिएर समस्या आयो भनेर साथीहरू आउनुभयो । हामीले डोजर पठायौँ । डोजरले काम गरेन । त्यसपछि जेट मेसिन पठाइदियौँ । त्यसले पनि काम गरेन । केही नलागेपछि धेरै जना मान्छे  लगाएर खनेर बल्ल बेलुका सात बजेमात्र काम सक्यौँ । खानेपानी, ढल र स्वास्थ्यसँग सम्बन्धित समस्या भने दिनरात भन्‍ने नै हुँदैन ।

सबैतिर नाम सङ्कलन भयो । नाम सङ्कलन भइसकेपछि हामी अत्यन्तै सतर्कतापूर्वक छानबिन गर्यौँ । साँच्चिकै हाम्रो कार्यविधिअन्तर्गत पर्छ कि पर्दैन ? उसले खान पाएको छ कि छैन ? छानबिन गरेरमात्र दिने हो । खान पुग्ने भएकोलाई दिनका लागि यो रहत हुँदै होइन । खान नपाएका काम गरी खाने मान्छेलाई केन्द्रबिन्दुमा राखेर उहाँहरूको एक–एक गरी छानबिन भयो ।  करिब २७०० जतिको नाम सङ्कलन भयो । साथीहरू दिनुपर्ने हो कि होइन भनेर घर–घरमा जानुभयो । सबैलाई एकसाथ दियौँ ।

अहिले हाम्रो बिस्का जात्राको समय छ । केही साथीमा के हुन्छ, कसो हुन्छ भन्‍ने कौतुहल पनि छ । त्यसैले धेरैले फोन गरेर सोध्नुभएको छ । यी कुरा हामीले कतिलाई फोनमार्फत जानकारी दिन्छौँ । कतिलाई सम्बन्धित साथीलाई सम्पर्क गर्न भन्छौँ ।
राहत वितरणको चटारो कतिको छ ?
कोरोनासँग सम्बन्धित खाद्यान्‍न वितरणको पनि विषय छ । सबैतिर नाम सङ्कलन भयो । नाम सङ्कलन भइसकेपछि हामी अत्यन्तै सतर्कतापूर्वक छानबिन गर्यौँ । साँच्चिकै हाम्रो कार्यविधिअन्तर्गत पर्छ कि पर्दैन ? उसले खान पाएको छ कि छैन ? छानबिन गरेरमात्र दिने हो । खान पुग्ने भएकोलाई दिनका लागि यो रहत हुँदै होइन । खान नपाएका काम गरी खाने मान्छेलाई केन्द्रबिन्दुमा राखेर उहाँहरूको एक–एक गरी छानबिन भयो ।  करिब २७०० जतिको नाम सङ्कलन भयो । साथीहरू दिनुपर्ने हो कि होइन भनेर घर–घरमा जानुभयो । सबैलाई एकसाथ दियौँ ।
 ऐतिहासिक बिस्का जात्रा नै स्थगित गर्ने ठूलो निर्णय नगरपालिकाले गर्‍यो । यो निर्णय गर्नुअगाडि कस्तो गृहकार्य गर्नुभो ? फेरि यो धार्मिक विषय पर्‍यो, मान्छेको आस्थासँग जोडिने । यसबारे बताइदिनुस् न ?
रोगव्याधिकै कारण जात्रा स्थगित भएको त हामीले सुनेका छैनौँ । मल्ल कालमा एकचोटि आजभन्दा ३ सय ५६ वर्षअगाडि वि.सं. १७२० मा कान्तिपुरका राजा प्रताप मल्लले पाटनका राजा श्री निवास मल्लसँग मिलेर बिस्का जात्रा हुन दिएन भन्‍ने इतिहासमा पाउँछौँ । रोग आएर बन्द भएको यसअघि सुनेको छैन । परम्परा यति नै सालदेखि सुरु भएको भन्‍ने हुँदैन । यो जात्रा सयौँ धेरै वर्ष अघिदेखि सुरु भएको भन्‍ने सुनेको छु । कति साँचो हो वा होइन, त्यो तथ्यप्रमाण हामीसँग छैन । फेरि कति सालदेखि सुरु भयो, संवत् हुँदैन । इतिहासकारहरूको पनि व्यक्तिपिच्छे फरक–फरक सुन्‍ने गर्छौँ ।
यसपालि बिस्का जात्राको के–के चाहिँ मनाइन्छ ? जात्रा हुन्‍न, पूजा चाहिँ हुन्छ ?
बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण चाड हो । परम्परादेखि चलेको कुरोलाई नरोक्‍ने, जनता बाहिर पनि ननिस्कने गरी बीचको बाटोबारे छलफल गर्यौँ । बिस्का जात्रा परम्परागत संस्कृति हो । लिङ्गो उभ्याउने दिन, ढाल्ने दिन, भैरवको रथ तान्‍ने दिन हजारौँ मान्छेको जमघट हुन्छ । त्यसकारण प्रमुख जिल्ला अधिकारी, गुठी संस्थानका प्रमुख, टोल–टोलका जो–जो जात्रा गर्नुहुन्छ,उहाँहरूका नाइकेलाई बोलाएर छलफल गर्‍यौँ ।
हामीले भन्यौँ, “आज सारा विश्व नै कोरोनाविरुद्ध लडिरहेको छ । एकातिर कोरोना भाइरस, अर्कोतिर सारा विश्वका मानव जाति छन् । सङ्कटको घडीमा कोही पनि निस्कन नहुने बेला तपाईँहरू दुई–तीन जना गएर पूजामात्रै गरिदिनुस् । भोज खाने र रमाइलो अर्को साल गर्नसक्छौँ अथवा कोरोनालाई जितिसकेपछि अर्को समयमा हामीले क्षमापूजा भनेर गरौँ वा अरु केही गरौँ भनेर आग्रह गर्‍यौँ, उहाँहरू खुसी हुनुभो । यो साल देवतालाई ‘द्यो छेँ’ (देवता राख्ने घर) बाट निकाल्दैनौँ । हामी दुई–तीन जना बसेर पूजाआजा सम्पन्‍न गर्छौँ । पूजामात्र गर्छौँ । बाहिरका मान्छेलाई पनि आउन दिने छैनौँ । एकदमै सामान्यरूपमा गर्छौँ । सबै बसेर निर्णय गरिसकेको हुँदा परम्परागतरूपमा चलिआएको पूजा सामान्यरूपमा हुन्छ । धेरै मान्छे जम्मा हुँदैन ।
 राहतमै फर्कौँ, नगरपालिकाले राहत दिनुपर्ने भनेर ठहर गरेका मान्छेलाई के–कति दिनुहुन्छ ?
नेपाल सरकारले एउटा मापदण्ड बनाएको छ । त्यसमा अलिकति परिमार्जन गरेर हामीले कार्यविधि पारित गर्‍यौँ । दुई जनासम्म भएको परिवार र दुईभन्दा बढी भएको परिवार भनेर दुई किसिमको बनाएका छौँ । दुई जनासम्मको परिवार अर्थात् १० किलो चामल दिन्छौँ । दुईभन्दा बढी भएको परिवारलाई पाँच जनासम्म भयो भने २० किलो चामल दिन्छौँ । त्यही अनुपातमा चिउरा, दाल, साबुन, तेल, नुन सबै दिन्छौँ । त्यसरी दिने निर्णय गरेका छौँ । सबै वडामा त्यही हिसाबले दिन्छौँ ।
नगरपालिकाका कतिजना कर्मचारी नियमित काम गरिरहेका छन् ?
दुइटा जिम्मेवारीका साथीहरूले धेरै काम गर्नुहुन्छ । एउटा, सरसफाइ रोक्नु हुँदैन । यो अत्यावश्यक क्षेत्रभित्र पर्छ । त्यसमा १ सय ६० कर्मचारी हुनुहुन्छ । जनस्वास्थ्य क्षेत्रमा हाम्रो धेरै स्टाफ भए पनि अहिले १५÷१६ जना जतिले नियमित काम गर्नुहुन्छ । हामीसँग जनस्वास्थ्यमा ९६ जना हुनुहुन्छ । ३० जना डाक्टर, नर्स र अरु कर्मचारी हुनुहुन्छ । त्यसपछि भक्तपुर नगरपालिकाको प्रशासन शाखा, दर्ता शाखा, सचिवालयलगायत प्रत्येक शाखामा एक–एक गरी करिब १२–१५ जना हुनुहुन्छ ।
उहाँहरूको सुरक्षा र सुविधाको व्यवस्था के छ ?
नगरपालिकाका सबै कर्मचारी सचेत भएर नागरिकको सुरक्षामा काम गर्नुपर्छ । त्यसैले सबैका निम्ति गेटमै साबुन–पानीले हात धोएरमात्र भित्र पठाउने गरेका छौँ । प्रत्येक ठाउँमा स्यानिटाइजरको व्यवस्था छ । मास्क अनिवार्य गरेका छौँ । बाहिरका मान्छे अति आवश्यक काममा बाहेक नभेट्ने नीति बनाएका छौँ ।

१२ कक्षासम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई भनिएको छ तर अहिले शिक्षक सङ्‍घीय सरकारको शिक्षा मन्त्रालयले खटाउँछ । खारेज भइसकेको अस्तित्व कहीँ नभएको जिल्ला शिक्षा अधिकारीलाई अहिले जिल्ला शिक्षा समन्वय एकाइ भनेर गठन गरिदिएको छ । शिक्षकको खटनपटन उसले गर्छ । तलब खुवाउने नगरपालिकाले, शिक्षकको खटनपटन उसले गर्ने ? न यो कानुन संविधानसँग मिल्छ, न सङ्‍घीयताको भावनासँग मिल्छ । त्यो कुरामा भने हामीले नेपाल सरकारको आलोचना गरिरहेका छौँ । त्यसरी स्थानीय जनता बलिया हुँदैनन् ।

 नगरपालिकाले आइसोलेसन र क्‍वारेन्टिनको के व्यवस्था गरेको छ ?
नेपाल सरकारले एकैसाथ सबै स्थानीय तहलाई क्‍वारेन्टिन र आइसोलेसन वार्ड बनाउने भनेर पत्राचार गरेको छ तर पूर्वतयारीबिना त्यसरी गर्नु त्यति उपयुक्त देख्दैनौँ । बरु जहाँ–जहाँ आवश्यक छ, त्यो ठाउँका लागि आवश्यक सामान पठाइदिनुपर्‍यो । हामीलाई ठाउँमात्र भएर पुग्दैन ।
ती ठाउँमा हामीले आइसोलेसन वार्ड बनाउन, क्‍वारेन्टिन नै राख्न पनि कुनै गाह्रो छैन । त्यसको निम्ति जनशक्ति आवश्यक पर्छ । विभिन्‍न खालका उपकरण आवश्यक छ, औषधि होला । ती सबै नेपाल सरकारले दिएको भए त्यस्तो अवस्थामा हामी गर्नसक्थ्यौँ तर नेपाल सरकारले जनशक्ति पठाउँदैन । सामग्री पठाउँदैन । यतिसम्म कि खाटहरू नै पठाउँदैन भने हामी कसरी बनाउन सक्छौँ र ?
भक्तपुर नगरपालिकाभित्र रहेका छ वटा अस्पतालहरू छन् । सबैलाई बोलाएर हामीले भन्यौँ, तपाईँहरूले कति तयारी गर्नसक्नुहुन्छ, नेपाल सरकारले यस्तो भनेको छ ।
हामीले भन्यौँ, तपाईंहरू आफ्नो क्षमताअनुसार गर्नुस् । कसैले आइसोलेसनका लागि दुई वटा, कसैले छ वटा, कसैले १२ वटा, कसैले एउटा फ्ल्याट छुट्याउनुभएको छ । कथंकदाचित परिहाल्यो भने अस्पतालमै हाम्रो व्यवस्था छ । नगरपालिकाले छुट्टै क्‍वारेन्टिन, आइसोलेसनको व्यवस्था गरेको छैन ।
मुख्य कारण के हो भने हामीले राम्रो बन्दोबस्त गर्नसकेनौँ भने बनाएको भन्दा नबनाएकै वेश हुन्छ । जस्तो, अस्ति (पश्चिम) तराईमा भारतबाट आएकाहरू पाँच सयभन्दा बढी क्‍वारेन्टिनबाट भागे । त्यहाँ कुनै बन्दोबस्त छैन भनेर भन्दै छन् । त्यसो हो भने क्‍वारेन्टिन वा आइसोलेसनमा राख्नु र नराख्नुको अर्थ हुँदैन ।
जहाँ आवश्यक छ, त्यहाँ राज्य (सरकार) ले व्यवस्था गरिदिनुपर्छ । कोरोना सङ्कट हामीले कल्पना गरेका थिएनौँ । अस्पतालको आवश्यकता पर्छ भनेर अस्पताल बनाउँदै छौँ । कलेजको आवश्यकता छ भनेर कलेज बनाउँदै छौँ । पहिले नै सोचेर बनाएको भए हामी एकदमै सुरक्षितसाथ बनाउन सक्थ्यौँ ।
हामीले अहिले गर्नसक्‍ने अवस्था छैन । अहिले न पसल खुल्छ, न केही ल्याउन सकिन्छ । ठाउँको हामीसँग कमी छैन तर जनशक्ति र उपकरणहरू सरकारले पठाइ दिँदैन भने अस्पतालले गर्नसक्लान् तर नगरपालिकाले सक्दैन । हामीले सबै अस्पतालका डाक्टरहरूलाई नै बोलाएर कुराकानी गरेका छौँ ।
सङ्‍घीय सरकारसँगको समन्वय कस्तो छ ?
कोरोनासँग सम्बन्धित कामको हिसाबले त ठीकै छ । सङ्‍घीय मामिला, गृह, आपूर्ति मन्त्रालय र हामी समन्वयात्मक हिसाबले गएका छौँ । त्यसदेखि बाहेक जुन हिसाबले नेपाल सरकारले कानुनबमोजिम स्थानीय तहलाई बलियो बनाउने भन्‍ने सङ्‍घीयताको मर्म हो, त्योअनुरूप भइरहेको जस्तो हामीलाई लाग्दैन ।
केही उदाहरणमात्रै, १२ कक्षासम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई भनिएको छ तर अहिले शिक्षक सङ्‍घीय सरकारको शिक्षा मन्त्रालयले खटाउँछ । खारेज भइसकेको अस्तित्व कहीँ नभएको जिल्ला शिक्षा अधिकारीलाई अहिले जिल्ला शिक्षा समन्वय एकाइ भनेर गठन गरिदिएको छ ।
शिक्षकको खटनपटन उसले गर्छ । तलब खुवाउने नगरपालिकाले, शिक्षकको खटनपटन उसले गर्ने ? न यो कानुन संविधानसँग मिल्छ, न सङ्‍घीयताको भावनासँग मिल्छ । त्यो कुरामा भने हामीले नेपाल सरकारको आलोचना गरिरहेका छौँ । त्यसरी स्थानीय जनता बलिया हुँदैनन् ।
सङ्‍घीयताको मुख्य कुरा भनेको स्थानीय तहलाई बलियो बनाउने हो । अधिकार विकेन्द्रीकरण गर्ने हो । अधिकार विकेन्द्रीकरण गर्ने संविधानको भावना हो तर सरकारको व्यवहारले केन्द्रिकृत गर्दै छ । हिजोको जुन मानसिकता छ, त्यही मानसिकताअनुसारै काम भइरहेको भनेर हामीले आलोचना गरिरहेका छौँ ।
 गरीब मजदुरलाई त राहत बाँडिरहनुभएको छ । किसानका लागि चाहिँ राहत के छ ?
यो राहत मजदुरलाई मात्र होइन, खान नपाएका सबैका निम्ति हो । किसान पनि होला । त्यो किसानले खेतीमा काम गर्न पाएनन् । खान पाएनन् । उसलाई पनि हो, अहिलेको राहत । हामीले किसानका लागि व्यवस्थापन गरेका छौँ । किसानको खेतमा काउली, आलु, सागजस्ता तरकारी फलिराखेको छ । सबै तरकारी खेर जान दिनुहुँदैन भनेर बिहान पाँचदेखि आठ बजेसम्म र बेलुका पाँचदेखि सात बजेसम्म तरकारीको लागि बजार राखेका छौँ । २५ ठाउँमा ससाना टुक्रामा एक–एक मिटरको फरकमा तरकारी बेच्ने व्यवस्था गरिदिएका छौँ । पाँच बजेपछि ठाउँ–ठाउँमा विस्तारै किसानले तरकारी बेच्छन् । अनि खरीद गर्नेहरूले आफ्नो टोलभित्रको खरिदकर्ता त्यही ठाउँमा तरकारी किन्‍न आउँछन् । किसानको तरकारी पनि खेर गएन, जनताले ताजा तरकारी पनि खान पाए । त्यो सन्तुलन मिलाउने गरी हामीले काम गरिरहेका छौँ ।
व्यावहारिक हिसाबले नै भनेको ठाउँमा तपाईंले भन्नुभए जस्तै गरी किन्‍न र बेच्न पाउने व्यवस्था छ ?
बिल्कुलै छ । भक्तपुरमा हामीले धेरै हिसाबले अभ्यास पनि गर्‍यौँ । काठमाडौँमा धेरै तरकारी जाने ठाउँ भक्तपुर । लकडाउनपछि सुरुमा हामीले सोच्यौँ – ठूल्ठूला ठाउँमा तरकारी बेच्न दिनुपर्‍यो भनेर तौमरी चोक, दत्तात्रयको चोक, नासमना चोकजस्तो ठाउँ–ठाउँमा एक–एक मिटरको घेरा हालिदियौँ । मान्छे सबै त्यहाँ केन्द्रित भए । त्यो त राम्रो भएन ।
सञ्‍चारमाध्यमबाट पनि आलोचना भयो । किसानको तरकारी जनताको मुखसम्म पुर्‍याउने हो । त्यो सन्तुलन मिलाउन खोजेको, हाम्रो ठाउँका लागि उपयुक्त भएन ।
तत्काल बदलेर बजारको लामो ठाउँ तोक्यौँ, सुकुलढोकादेखि नासमनासम्म । करिब एक किलोमिटरजति । त्यहाँ पनि नगरभरिकै मान्छे केन्द्रित भए । दुई–तीन दिनमै बदल्यौँ । वडाले पायक परेको ठाउँमा वडावासीका लागि भनेर राखिदिने भनेपछि प्रत्येक वडामा दुई–तीन ठाउँ गरेर २५ ठाउँमा राख्यौँ । त्यसमा पनि २३ ठाउँमा एकदमै व्यवस्थित भो । दुई ठाउँ तालाक्‍वा र त्रिपुरासुन्दरीमा अलिकति भीड भयो भनेर गुनासो आएपछि हामीले छलफल गर्‍यौं । त्यो पनि समाधान भयो । तरकारी खरीद–बिक्रीका लागि केही समस्या छैन ।
आम मान्छेलाई केही अपिल गर्नुहुन्छ कि ?
भक्तपुर नगरपालिका किसानको बाहुल्यता भएको नगर हो । नगरवासीको महत्वपूर्ण जात्रा बिस्का जात्रा हो । त्यसकारण बिस्केट जात्राको समयमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले विगतका वर्षमा जस्तै यो वर्ष पनि लिङ्गो उभ्याउने, भैरवको रथ तान्‍ने, ब्रह्मायणी, माहेश्वरी, इन्द्रायणी, महालक्ष्मी, महाकालीको जात्रा छ भनेर कृपया घर बाहिर ननिस्किदिनुस् । यो हाम्रो आग्रह हो । यो तपाईं–हामी सारा जनताका निम्ति हो । यो मानव जातिले कोरोना भाइरसको विरुद्धमा गरिरहेको सङ्‍घर्ष हो । अत्यन्त ठूलठूला शक्तिशाली भनिने अमेरिका, युरोपकै विकसित इटालीजस्ता देशहरू कोरोनाको प्रतिरोध गर्न असमर्थ भइरहेको समय हो । हाम्रो देशमा अत्यन्त थोरैमात्र सङ्‍क्रमित छन् । यसैमा सीमित होस् । हामी कामना गर्न चाहन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *