युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
-भरत ढुङ्गेल
‘केरा पाक्दा मामा आएनन्, मामा आउँदा केरा पाकेन, अनि केरा नि पाक्दा मामा नि आउँदा दसैँ आएन ।’ यो भनाइ अहिले हाम्रा शासक राजनीतिक पार्टीका नेताहरूसँग ठ्याक्कै मेल खान्छ । हाम्रा नेताहरू भाषण, अन्तर्वार्तामा त अनेकौँ गफ खुब फलाक्छन्, जब काम गर्ने अवसर आउँछ अनि माथिको भनाइजस्तै अनेकौँ बहाना बनाउने गर्छन् । २०७२ सालको भूकम्पपश्चात् सरकार यति धेरै ‘सक्रिय’ भयो, लागेको थियो–अब उप्रान्त कसैलाई पनि धेरै तलाको आवासीय घर बनाउन दिने छैन । सरकारको व्यवहार हेर्दा लाग्थ्यो–बनाइसकेकाको घरको पनि केही तला भत्काउने पो हो कि ! तर, जब समय बित्दै गयो, सबैले पुराना घटनाक्रम बिर्सिदै गए, बहस सेलायो । पुरानै तौरतरिकाबाट घर बन्दै गए ।
सन्दर्भ हो, नेपाल–भारत सीमामा काँडेतार लगाउने विषय । जब खुला सीमाको कारणले नेपालले कुनै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउँछ, सिमानामा तारबार लगाउनुपर्ने विषयमाथि तात्तातो बहस हुन्छ । नाकाबन्दीको समयमा नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने र देश आफैँ आत्मनिर्भर हुनुपर्ने बहस खुब चल्यो । तर, नाकाबन्दी सकिएसँगै त्यो कुरा न नेतृत्वले ध्यान दियो न जनताले सम्झे ।
अहिले कोराना सङ्क्रमणले देशमा बन्दाबन्दी छ । नेपाल–भारत सीमामा तारबार लगाउनुपर्ने बहस फेरि एक पटक चुलिएको छ । भारतबाट कोरोना सङ्क्रमित नेपाल भित्रिएको तर भारतीय मिडियाले नेपालबाट कोराना सङ्क्रमित भारत पठाएको हल्ला फैलाएपछि सीमामा तारबारको व्यवस्था हुनुपर्ने बहस नेपाली जनताबीच चलेको हो । वास्तवमा यी विषयमाथि बहस सङ्कटका बेलामा मात्र नभई सहज अवस्थामा पनि कामको कार्यान्वयन नभएसम्म हुनुपर्ने हो । यो कार्य धेरै अगाडि गरिसक्नुपथ्र्यो । तर, नेपालमा राजनीतिक अस्थिरता र परनिर्भरताको कारण जुनसुकै दलले सरकार बनाए पनि यसमाथि बहससम्म हुन्छ तर कार्यान्वयन कहिल्यै भएन । नेपालको राजनीतिक अवस्थालाई अस्थिर बनाउने, नेपाललाई परनिर्भर बनाइराख्ने र सीमा अतिक्रमण गरिराख्ने काम प्रत्यक्ष–अप्रत्यक्षरूपमा भारतबाटै भइरहेको छ । भनिन्छ, ‘आफ्नो थैलीको मुख राम्रोसँग बाँधे अरूलाई चोर दोष लगाउनु पर्दैन ।’ तारबार लगाउने कार्य ढिला भए पनि अहिले गर्नसके नेपाल र भारत दुवैको हितमा देखिन्छ ।
आफ्नो देशको सीमा रक्षाका लागि विश्वमा धेरै मुलुकहरूले सिमानामा पर्खाल अथवा तारबार लगाएका हुन्छन् । नेपाल एक भूपरिवेष्ठित मुलुक हो । उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने बाँकी सबै दिशामा भारत पर्दछ । तिब्बतसँगको सिमाना अग्ला–अग्ला हिमाल तथा पर्वतले छुट्याएको हुनाले सीमाका कारणले खासै अप्ठ्यारो परेको छैन । नेपाल र चीनबीच सिमाना सन्धि पनि भइसकेको छ । तर, पूर्व, पश्चिम र दक्षिण तीनैतिर भारतसँग जोडिएको नेपालको सिमाना अधिकांश ठाउँमा खुला नै भएकोले अनेकन नयाँ–पुराना समस्या आउने गरेको छ । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ भन्दै सिमाना व्यवस्थित नबनाउने हो भने समस्या दिनानुदिन बढ्दै जानेछ । हालै केही भारतीयहरू वीरगञ्जमा र केही उदयपुरमा कोरोना सङ्क्रमित भएको भेटियो । उनीहरूले आफ्नो सही यात्रा विवरण नदिँदा कहाँ कहाँसम्म सङ्क्रमण फैलिसक्यो भनेर अनुसन्धान गर्न कठिन भइरहेको छ । सीमानाकामा तारबार वा पर्खाल हुन्थ्यो भने एक त उनीहरू सजिलै नेपाल भित्रिन सक्दैनथे । भित्रिइहाले पनि उनीहरूको विवरण अभिलेखमा रहन्थ्यो । एउटा सामान्य संस्थाले समेत को को नयाँ व्यक्ति के कति कामले संस्थामा प्रवेश गर्छ भनेर आगन्तुक पुस्तिकाको व्यवस्था गर्छ । तर, यहाँ नेपालमा एक देशबाट अर्कोमा प्रवेश गर्नेको कुनै अभिलेख नहुनु विडम्बना हो ।
नेपालको सीमानाका कहिले सुस्तामा, कहिले तिलाठीमा त कहिले लिम्पियाधुरामा अतिक्रमणमा परेको समाचार आइरहन्छन् । सिमानाका बासिन्दालाई भारतीय सीमा सुरक्षा बलका सेनाले कुटपिटका समाचार पनि बारम्बार आइरहन्छन् । खुला सीमाकै कारणले कतिपय हत्या–हिंसा, लुटपाट एवं बलात्कारका घटना पनि मौलाइरहेका छन् । सीमापारिबाट मानिसहरू आएर अप्रिय घटना घटाई उतै फर्कने हुँदा सुरक्षाकर्मीलाई समेत शान्ति सुव्यवस्था कायम राख्न हम्मेहम्मे पर्ने गरेको छ । पटक–पटक गरी भारतले नेपालको धेरै भूमि अतिक्रमण गरिसकेको छ । त्यसैले आफ्नो सीमाक्षेत्र रक्षाको लागि र अरू अवाञ्छित गतिविधि रोक्न नेपाल सरकारले सीमानाकामा तारबार वा पर्खाल लगाउन भारतसँग कूटनीतिक पहल गर्न विलम्ब गर्नुहुन्न । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जित्नुमा उनले उठाएको मुद्दा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल निर्माणको विषय पनि थियो । हरेक नेपाली जनता आफ्नो देशको सिमाना रक्षाको लागि सीमामा पर्खाल खडा भएको वा काँडेतार लगाएको हेर्न आतुर छन्, सरकारको ध्यान जाओस् ।
छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हो । नेपाल र भारतको मामिलामा खासै यो भनाइ चरितार्थ भने हुँदैन । भूकम्पले थिलथिलो बनाएको अवस्थामा गरेको नाकाबन्दी मात्रै पनि एउटा ज्वलन्त उदाहरण हो । यसका साथै कैयौँ अदृश्य घटनाहरू छन् जसले भारत असल छिमेकी हो भन्न सकिँदैन । नाकाबन्दीमा अत्यावश्यक समान पठाएको छ भनेर देखाउन कपटी भारत सरकारले नेपालमा अत्यावश्यक पेट्रोलियम पदार्थ नपठाई उसको अत्यावश्यक पदार्थ गोलभेँडा, प्याजलगायत छिट्टै कुहिने सामान भने पठायो । यस्तो देशको अगाडि नेपालले आफूलाई आत्मनिर्भर भएर देखाउन सक्नुपर्दछ । कृषिप्रधान देशले कृषिजन्य वस्तुको आयात गर्नुपर्ने विडम्बना छ ।
आत्मनिर्भर हुनका लागि सर्वप्रथम नेपालले आफ्नो स्रोत साधन राम्रोसँग परिचालन गर्नुपर्दछ । कोरोनाको कारणले धेरै मानिसहरूको रोजगारी गुमाउने सम्भावना छ । तिनीहरू अहिले रोग र भोकबाट बच्न आफ्नै गाउँमा गएका छन् । रोजगार गुमाउन बाध्य भएकाहरूलाई गाउँमा बस्ने वातावरण बनाई उनीहरूलाई कृषि पेशामा लगाउनु आत्मनिर्भरताको एउटा उपाय हुनसक्छ । विभिन्न ठाउँको माटो परीक्षण गरी कुन ठाउँमा के लगाउँदा राम्रो उत्पादन हुन्छ भन्ने पत्ता लगाई मानिसहरूलाई खेतीपातीमा लगाउन सकिन्छ । अझै उन्नत जातको बीउबिजन, मललगायत आवश्यक कृषि सामग्री सरकारले नै उपलब्ध गराई उत्पादन पनि सरकारले नै किनिदिने व्यवस्था गर्ने हो भने धेरैलाई यस पेशामा लगाउन सकिन्छ । जसले गर्दा रोजगार गुमाएकाहरूलाई काम हुन्छ भने देशलाई पनि आफ्नै उत्पादन । यसो गरिरहँदा आफ्नो उत्पादनले धानुञ्जेल आयात बन्द गर्नुपर्दछ । खेतिपातीसँगै जोडिएको पशुपालनलाई पनि व्यवसायिक ढ·ले गर्न सकिन्छ । जलविद्युत् त आत्मनिर्भरताको लागि सबल पक्ष नै हो । यसले ग्यासलगायत पेट्रोलियम पदार्थलाई विस्थापन गर्नसक्छ । यो कठिन समयमा पनि जलविद्युत् उत्पादन गर्ने परियोजनालाई जारी राखी कृषि क्षेत्रमा केही परिवर्तन ल्याउने गरी काम गर्ने हो भने नेपाल आत्मनिर्भरउन्मुख हुनेछ ।
(लेखक ख्वप कलेजमा अध्यापनरत हुनुहुन्छ ।)
Leave a Reply