भर्खरै :

‘जनताको साहित्य’ को नयाँ अङ्क सरसर्ती पढ्दा

कोभिड– १९ को महामारीको कारण चालू बन्दाबन्दीको असहज परिस्थितिमा पनि ‘जनताको साहित्य’ वर्ष ४६ अङ्क १२ प्रकाशित हुनु स्रष्टा, पाठक एवम् साहित्यानुरागीहरूका निमित्त सुखद पक्ष हो । नेपाली साहित्याकाशमा माक्र्सवादी विचारलाई जीवन्त राख्ने र प्रगतिशील साहित्यको पक्षमा सदा उभिने ‘जनताको साहित्य’ को यो अङ्कले पनि प्रगतिशील साहित्य लेखन र माक्र्सवादी साहित्य अध्ययन गर्न हौस्याउँछ । साहित्य राजनीतिको हतियार हो भन्ने का. रोहितको विचारलाई हुर्काउने ‘जनताको साहित्य’ का १२ वटै अङ्कहरू नेपाली साहित्यिक आन्दोलनका राता झन्डाहरू हुन् । ‘जनताको साहित्य’ ले आमूल परिवर्तनको पक्षमा अगाडि बढिरहेको साहित्यिक आन्दोलनको विकासमा टेवा पु¥याउने विश्वास छ । साथै, अङ्क ६ सम्म विगतमा भारत प्रवासबाट प्रकाशित ‘जनताको साहित्य’ को निरन्तरता, इतिहासप्रति सम्मान र गौरवबोधको बलियो अभिव्यक्ति हो भन्नु उपयुक्त हुनेछ ।
यस अङ्कमा अन्य अङ्कहरूमा जस्तै क्रान्तिको आह्वान छ । साहित्यमार्फत जनसेवाको पक्षधरता छ । अराजनैतिक तथा जनविरोधी विचारको विरोध छ । प्रतिक्रियावादी विचारको खण्डन एवम् निन्दा छ । त्यति मात्र होइन साम्राज्यवादविरुद्धको आक्रोश जताततै छ । यो अङ्क बोल्छ – “साहित्य विचारको प्रचार माध्यम हो ।” का. नारायणमान बिजुक्छेँ
(रोहित) लेख्नुहुन्छ – “जुन देशको भाषा र साहित्यले गति लिएको हुन्छ तत्तत् देशमा राजनैतिक आन्दोलन, सङ्घर्ष र क्रान्तिलाई सहयोग पु¥याएको देखिन्छ । सशक्त अभिव्यक्तिले राजनैतिक सिद्धान्तलाई चमक दिएको हुन्छ । बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्यक्रान्ति, जर्मन तथा रुसी समाजवादी क्रान्ति आदिको विश्लेषण गर्दा ती देशका साहित्यको राजनीतिमा मनग्य प्रभावको अनुभव गर्छु ।”
यो अङ्कभित्र का. रोहितको अन्तर्वार्ताले साहित्य, प्राज्ञिक क्षेत्र, राजनीतिमा उहाँको स्पष्ट विचार तथा दृष्टिकोण प्रस्तुत गरेको छ । उहाँको साहित्यिक व्यक्तित्व र उँचो राजनैतिक कदलाई बौद्धिक कुराकानीले थप उजिल्याएको अनुभूत हुन्छ ।
यस अङ्कमा का. रोहितको संस्मरणका केही पृष्ठहरू, उहाँको जीवनका केही पानाहरू पल्टाइएको छ । यी इतिहासका पृष्ठहरू पनि हुन् । आजभन्दा ५०–६० वर्ष अगाडि उहाँले चीनमा भेट्नुभएका प्रधानमन्त्री चाउ एनलाइको सौहार्दपूर्ण व्यवहार, नेपाल र नेपाली जनताप्रतिको सद्भाव का. रोहित खुसीपूर्वक सम्झनुहुन्छ । चिनियाँ नापित मित्रसँगको उहाँको भेटले चिनियाँ क्रान्ति अघि र पछिको एउटा शब्द–दृश्य प्रस्तुत गर्छ । पत्रकारिता तथा लेखनमा का. रोहितको झुकाव गज्जबको छ । पत्रकारिता, अध्ययन, लेखन र राजनीतिलाई उहाँले सँगसँगै अगाडि बढाउनुभयो । अन्य पत्रिकाहरूमा विचारप्रधान लेखनदेखि आफ्नै प्रकाशनसम्मको यात्राको स्मरण गर्नुभएको छ । साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वहरूसँग का. रोहित अर्थात् हरिबहादुर श्रेष्ठको सौहार्द सम्बन्धबारे जानकारी लिन ‘जनताको साहित्य’ नपढि हुँदैन । का. रोहित राणाविरोधी सङ्घर्षमा लागेका रामहरि जोशी, पूर्णबहादुर एम.ए, साहित्यकार बालकृष्ण पोखरेल, वरिष्ठ पत्रकार गोविन्द वियोगीको मीठो सम्झना गर्नुहुन्छ । समालोचक गोविन्द भट्टलाई उहाँ अनुवाद र आलोचनाका प्रखर व्यक्तित्व भन्नुहुन्छ । कविवर सिद्धिचरण  श्रेष्ठ, साहित्यकार श्यामप्रसाद, कवि केदारमान व्यथित लगायतका स्रष्टाहरूलाई उहाँले स्मृतिपटलमा राख्नुभएको छ । समालोचक गोविन्द भट्टले का. रोहितको कृति ‘चीन यात्रा’ र ‘रोहितको आकृतिमा’ महत्वपूर्ण मन्तव्य दिएका छन् । आभारसहित का. रोहित भट्टजीलाई सम्झनुहुन्छ ।
नीरज लवजूको ‘एउटा सार्थक भेट’ ले भने समालोचक गोविन्द प्रसाद लोहनीसँगको का. रोहितको आत्मिय सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गर्दछ । का. रोहित हृदयचन्द्रसिंह प्रधानको साहित्यिक योगदानको बरोबर चर्चा गर्नुहुन्छ । नेपाली साहित्यका अविस्मरणीय व्यक्तित्व प्रधानको नाटक ‘छेऊ लागेर’ को समीक्षा सीतुले प्रस्तुत गरेकी छिन् । प्रगतिशील साहित्य जगतका एक हस्ताक्षर प्रधानको व्यक्तित्व समेतलाई सीतुले उजागर गरेकी छिन् ।
‘साहित्य र क्रान्ति’ शीर्षकमा का. रोहितको विचारलाई गुरुङ सुशान्तले व्यवस्थित ढङ्गले प्रस्तुत गरेका छन् । का. रोहितको गहन अध्ययनको प्रतिविम्ब यसमा मिल्छ । उहाँले कम्युनिस्ट घोषणापत्र मात्र ५०–६० पटक पढ्नुभयो । उहाँ माक्र्सवादी साहित्यको अध्ययन गर्न नयाँ पुस्तालाई उत्साहित गर्नुहुन्छ । माक्र्सवाद या माक्र्सवादी साहित्य अध्ययनलाई सहज बनाउन काल्पनिक समाजवादबारे अध्ययन आवश्यक हुन्छ । यस अङ्कमा काल्पनिक समाजवादीहरू विल्हेम वेटलिङ र इटिन काबेटको सङ्क्षिप्त जीवन चर्चा र तिनका विचार प्रस्तुत छन् ।
माओ त्सेतुङ र चे ग्वेभाराबीचको कुराकानी अत्यन्त पठनीय रचना हो । आजभन्दा ६० वर्ष अगाडिको सो कुराकानीमा क्युवाली र चिनियाँ क्रान्तिको चर्चा छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकी देशहरूमा सामाजवादी क्रान्तिको सम्भावना एवम् आन्दोलनको सुरुआतबारे विचार विमर्श छ । फरक देशको फरक अनुभव हुनु स्वाभाविक हो तर तिनको क्रान्तिप्रतिको समर्पण, सङ्घर्षप्रतिको दृढ निश्चयी ऐक्यबद्वता, अन्तर्राष्ट्रवादप्रतिको विश्वास, वर्गसङ्घर्षप्रतिको प्रतिबद्वता, वर्गशत्रु र साम्राज्यवादबारे धारणा एउटै थियो भन्ने जानकारी कुराकानीबाट मिल्छ ।
सल्लाहकारको लुगामा ठग समूह ? नामक निर्जलाजीको नाटकले सङ्घ, प्रदेश र स्थानीय तह ठगहरूको घेरामा परेको सजीव चित्र उजागर गर्दछ । एसआरको ‘एउटा साहित्यिक आधारशिला हस्तलिखित ‘क्रान्ति’ ले आजभन्दा ६३ वर्ष अगाडि भक्तपुरमा सुरु भएको क्रान्तिकारी साहित्यमार्पmत आमूल परिवर्तन ल्याउने युवा स्रष्टाहरूको साहित्यिक अभियानको यथार्थ चित्र पेश गर्दछ । विजय सागरजीको विडम्बना शीर्षकको कथा छलफलयोग्य छ । ‘पत्रसाहित्य सिद्धान्तको आधारमा हजुरबुबाका चिठ्ठी’ शीर्षकमा सुन्दर बासीको समीक्षा प्रयास सराहनीय छ ।
पाकिस्तानका कवि फैज अहमद फैजको अत्यन्त चर्चित एवम् लोकप्रिय कविता, गीत ‘हामीले हेर्नेछौँ’ को नेपाली अनुवाद क्रिश्चिनाले गरेकी छन् । माक्र्सवादी कवि फैज लेख्छन् –
अत्याचार र क्रुरताको पहाड जब
ऊनजस्तै पानीमा बग्दा देख्नेछौँ
हाम्रै खुट्टाको तल, शासित हामी
भूमि फुटेको प्रतिध्वनी
मुटु फुट्लाजस्तो
शासकहरूको टाउकाको आकाशमाथि
मेघको गर्जन हुँदाको प्रतिध्वनी
हामीले देख्नेछौँ, हामीले हेर्नेछौँ ।
प्रगतिशील साहित्यको आवश्यकताबारे चर्चा गर्दै निर्जला पुँजीवादी प्रचारयुद्धको विरुद्धमा सङ्घर्षको आवश्यकता औल्याउँछिन् ।
नेमकिपाको गौरवपूर्ण इतिहास र सङ्घर्ष गर्ने प्रतिबद्धता बोकेको एसआरको गीत ऊर्जाले ओतप्रोत छ । उनी लेख्छन् –
“पचास वर्ष सङ्घर्षमा जुट्यौँ गौरवसाथ
पचासौँ वर्ष क्रान्तिपथमा हिँड्छौँ साथ–साथ”
कवि दामोदर सुवालका दुई कविता प्रतिकात्मक एवम् सुन्दर छन् । सामयिक छन् । नक्कली कम्युनिस्टहरूलाई प्रहार गरिएको ‘शरद समय’ मा कवि सुवाल प्रश्न गर्छन् –
के झिँगाले पनि मह बनाउँछ ?
कवि हरिहर तिमिल्सिना, क्रिस्चिना, रुद्र ज्ञवाली (भैरहवा), सुरेश परियार (रुपन्देही), एसजी, नसला, मिजला, सुस्मिता न्यौपाने (काभ्रे) का गरी १२ वटा सामयिक फुट्कर कविताहरू छापिएका छन् । स्रष्टा बुँद राणा, कवि बासुदेव अधिकारी, कृष्णकुमार वैद्य (बनेपा), आकाश मानन्धरका गरी ४ वटा गजल सङ्ग्रहित छन् । एसआर र सुरेन्द्रराजका गरी ३ गीतहरू छन् भने सरस्वती श्रेष्ठ (पोखरा) को ‘जन्मोत्सव’ शीर्षकको लघुकथाले यो अङ्कलाई थप पठनीय बनाएको अनुभूत हुन्छ ।
यस अङ्कमा अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एससीसी) विरुद्ध संरा अमेरिकी सरकारलाई नेमकिपाको तर्पmबाट सम्प्रेषित विरोधपत्र र चीन कोभिड–१९ को सङ्क्रमणविरुद्ध लडिरहँदा अध्यक्ष का. रोहितद्वारा चिनियाँ कम्युनिस्ट पार्टीलाई पठाइएको ऐक्यबद्धता सन्देश समेत समेटिएको छ ।
समग्रमा यो अङ्क पठनीयमात्र नभई सङ्ग्रहणीय समेत छ । आकर्षक गाता तथा सज्जाको लागि कलाकारहरू धन्यवादका पात्र हुन् । यो अङ्मा झैँ ‘जनताको साहित्य’ सामयिक अध्ययन सामग्रीका साथ नियमित प्रकाशनको कामना र ‘जनताको साहित्य’ ले प्रकाशनको गतिमा देखिएको सुस्तता तोड्न सके धेरै –धेरै पाठकमात्र होइनन् सर्जक तथा नवसर्जकहरू लाभान्वित हुनेमा विवाद नहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *