युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
जोराल
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को विरोध गरेर पेट पाल्ने नेता, लेखक, पत्रकारबारे विगतमा धेरै पटक प्रकाशित भएका छन् । तर, त्यो रोकिएको छैन र रोकिने पनि छैन । किनभने, पेट भर्ने समस्या त बाँचुन्जेल रहन्छ ।
आलोचना र आत्मालोचनालाई कम्युनिस्टहरूको सशक्त हतियार ठान्ने नेमकिपाको चरित्र हो । त्यसैले अरूको सही र तथ्यपूर्ण आलोचनाको सधैँ कदर र सम्मान गर्छ । तर, निराधार, आलोचना, पूर्वाग्रही टिप्पणी गर्ने भरौटेहरूको प्रतिवाद गर्न पनि कहिल्यै पछि पर्दैन ।
सन्दर्भ अलि पुरानै हो । गएको माघ २४ गते नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको सम्मेलनको उद्घाटन समारोहमा नेमकिपाका अध्यक्ष रोहितले एउटा शङ्का व्यक्त गर्नुभएको थियो । चीनमा देखापरेको कोरोना भाइरस संरा अमेरिकाले फैलाएको त होइन ¤?
यस शङ्काबारे माघ २९ गतेको कान्तिपुरमा सीकेलालले ‘कोरोनाको भूराजनीतिक असर’ शीर्षकमा लामै शब्द खेलाए । उनले अध्यक्ष रोहितप्रति पूर्वाग्रह र द्वेष पोख्न रोहितको विरोध गरेर पेट पाल्नेहरूका आपत्तिजनक र मिथ्या धेरै विशेषण सापट लिएर पारिश्रमिकको जोहो गरेका छन् । उनको ठम्याइबारे यसै पत्रिकामा खण्डन र प्रतिवाद पनि प्रकाशित भइसकेको छ । साथै, अध्यक्ष रोहितको शङ्का पुष्टि या प्रमाणित भइनसके पनि कोरोना महामारीमा संरा अमेरिकाको हात हुनसक्ने एकपछि अर्काे घटना र तथ्यहरू प्रकाशित भइरहेका छन् । ती समाचार, विश्लेषण, अनुसन्धानका स्रष्टाहरू कोही पनि ‘भक्तपुरको सङ्कीर्ण तथा साम्प्रदायिक राजनीतिका बेताज बादशाह’ होइनन् । यति कुरा त शब्द खेलाउने सीकेलालको मथिङ्गलले बुझेकै हुनुपर्छ । ती ‘भक्तपुरका अघोषित भूपति’ या ‘जुछे विचारधाराका मुख र हिमायती’ पनि होइनन् भन्ने कुरा चिमोटेर थाहा दिनुपर्दैन होला ¤ तर, भन्न सकिन्न किनभने धेरै घटना र सन्दर्भमा सुतेकालाई उठाउन सजिलो, परन्तु उठेकालाई ब्यूँझाउन गा¥हो हुने गर्छ । कतिपय पढेलेखेका त मूर्खभन्दा महामूर्ख ठहरिएका छन् । यसमा स्वतन्त्र र स्वाभिमानी होइन, भरौटेहरू नै धेरै पर्छन् । विश्वका थुप्रैले कोरोना उत्पतिको खोजी गरिरहेका छन् र अध्यक्ष रोहितको शङ्का सही साबित भएमा सीकेलालजस्ता शब्द खेलाउनेहरू कुन कोटिमा पर्लान् ?
यद्यपि, सीकेलाल अध्यक्ष रोहितको ‘विस्फोटक वक्तव्यहरूलाई समेत गम्भीरतापूर्वक लिँदैनन्’, ‘सार्वजनिक शङ्कालाई कसैले भाउ दिएको देखिँदैन’ भन्दाभन्दै पनि कान्तिपुरको ठाउँ ओगटेका छन् ।
अध्यक्ष रोहितको शङ्काबारे जैनेन्द्र जीवनले फागुन ५ गतेको नागरिकमा ‘चिनियाँभन्दा चिनियाँ’ शीर्षकमा शब्द खेलाएका छन् । उनले आफूलाई ‘अमेरिकीभन्दा अमेरिकी’ साबित गर्दै अध्यक्ष रोहितले व्यक्त गर्नुभएको ‘शङ्का’ लाई ‘ठोकुवा’ लेखिदिएका छन् । कोरोनाको उत्पत्तिबारे आजसम्म कहीँकतै ‘ठोकुवा’ भएको छैन, सर्वत्र शङ्का र अनुमानमात्र छ । तर, उनले यस्तो शङ्कालाई ‘वामपन्थी सङ्कीर्णता, कूपमण्डुकता र पछौटेपनका प्रतिविम्ब’ ठानेका छन् । अनि ‘शङ्का’ लाई ‘ठोकुवा’ देख्ने केको प्रतिविम्ब हो– पूर्वाग्रही या भरौटे ?
शब्द खेलाउने जैनेन्द्रलाई हरेक कुरामा अमेरिका १ नम्बरमा रहिरहन चाहेको तथ्य अवगत रहेछ ¤ ‘विद्वता’ मा खुसी लाग्यो । तर, अमेरिकी साम्राज्यवादको आफ्ना सम्भावित प्रतिद्वन्द्वी चीनलाई घेर्ने रणनीतिबारे उनी अनभिज्ञ रहेछन् ¤ चीन घेर्ने कथनलाई नै उनी ‘हावादारी’ ठान्दा रहेछन् ¤ उठेकालाई ब्यूँझाउन गा¥हो हुन्छ भनेको यहीँ हो । यसको उपाय त अमेरिकी चस्मा फुकालेर विद्यालय जानु या अध्ययन गर्नुबाहेक अरू के होला ?
जहाँसम्म उहानबाट फर्काइएका नेपाली विद्यार्थीको सन्दर्भ छ, तिनीहरूलाई अध्यक्ष रोहितको निर्वाचन क्षेत्र भएर होइन मानव बस्ती नजिक कहीँ पनि राख्नु हुँदैन भनिएको हो । त्यो कुरा अहिले पनि मननयोग्य छ । तर, शब्द खेलाउने जैनेन्द्रले के निहुँ पाउँ कनिका बुकाउँ गरेर केवल माना पचाउने काम गरे ।
जैनेन्द्रजस्ता शब्द खेलाउनेहरू भारतले नाकाबन्दी लगाउँदा, नेपालको ठूलो भूभाग ‘हडप्दा’ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा नदेखेजस्तो गर्छन् भन्ने कुरा उनको कथनले प्रमाणित गर्छ । उनी लेख्छन्, “अमेरिकामा हजारौँ नेपाली बसोबास गर्छन्, हाम्रो मित्र र दाता मुलुक हो । त्यसैले अमेरिकाले कोरोना फैलाएको भन्नु हुँदैन ¤ उनी थप उपदेश दिन्छन्, राजनीतिक आस्था वा कथित वैचारिक भ्रातृ सम्बन्धको आधारमा एउटाको भक्ति गर्ने र अर्काको खोइरो खन्ने गर्नैहुन्न । आहा क्या राम्रो ¤ तर, उपदेश दिन जान्नेले पालना गरेको देखिएन । उनले प्रजग कोरियाको खोइरो खन्न मज्जाले शब्द खेलाए ¤ डलरभक्ति स्पष्टै प्रदर्शन गर्दा आफँै हास्यास्पद बने !
अध्यक्ष रोहितको शङ्कालाई हाँसो बनाउने खगेन्द्र सङ्ग्रौला, राजेन्द्र दाहाल, जुगल भुर्तेल…हरूको पनि पछिल्ला समाचार, विश्लेषण र अनुसन्धानहरूबाट ‘घैँटोमा घाम’ लागेकै हुनुपर्छ ¤
अमेरिकाले कोरोना फैलाएको हुनसक्ने शङ्का गर्दा शब्द खेलाउने केही नेपालीलाई चोट परेको कुरा यो र त्यो रूपमा देखिएको छ । अब के हलेदो भनेपछि कोट्याइरहनुपर्छ ?
nikai ramro jawaf.