भर्खरै :

सरकारले कहिले बुझ्ला खै !

-हरिचन्द्र पाण्डे
            कोरोना महामारीले विश्वभरि नै विकराल अवस्था उत्पन्न भएको छ । देश तथा विदेशका नागरिकहरू भोकसँग लड्दै घर पुग्नका लागि बाटो भरी लरखराउँदै छन् । रोगभन्दा भोकसँग लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । तर, सरकार कहाँ छ ? के गर्दै छ ? गतिलो उपस्थिति कहीँ पनि देखिएको छैन । पूरा विश्वसँगै हामी पनि बन्दाबन्दीमै छौँ । तर, यही अवस्थामात्र अचुक उपाय त होइन होला । रोगसँग लड्न त बन्दाबन्दी सहन गर्ने तर पेटको पीडा कसले सुनिदिने ? सरकार भन्दै छ – लकडाउन ! बाहिर निस्के…कारबाही…। हो सामाजिक दुरी कायम गर्न बन्दाबन्दी ठीक छ । तर, खोइ त सरकारले भोका पेटहरूको चित्कार सुन्ने कोशिश गरेको । कहाँबाट आउँछ होला यिनीहरूलाई वुद्धि ? को होला यिनीहरूको ‘थिङ्कट्याङ्क’ ? निर्णयात्मक क्षमता नभएका कस्ता नालायक मनुवा होलान् ? अध्ययन र अनुभवले खारिएका हुन्छन् भन्थे राजनीतिज्ञहरूलाई तर कसले र कसरी यिनीहरूको बुद्धि विवेकमा बिर्को लगायो होला ? बोली र व्यवहारमा भिन्नताका बीच कसरी अडिन सकिरहेका होलान् ? यी र यस्ता अनेकौँ सवाल सत्ताधारीहरूप्रति उठिरहे पनि असजिलो नमान्ने यिनीहरूका बारेमा मनमा लिने एउटै उत्तर हो–शरीरमा कपडा हुञ्‍जेलमात्र लाज के हो ? थाहा हुन्छ, नाङ्गै भए के लाज ?
       दुई घन्टापछिको अवस्था मूल्याङ्कन गर्ननसक्नेहरू आकाश तारा झार्नेको गफ गर्दै छन् । पानीजहाज, हावाबाट बिजुली, घर घरमा पाइपबाट ग्यास, रोजगार, सुशासन …सम्झनुस् त हामी संसारका भाग्यमानी मानिस हुँदै थियौँ । परिणाम–हत्या, बलात्कार, कालोबजारी, भ्रष्टाचार, ठगी, लुटपाट, चोरी …। यस्तैमा केही हनुमानहरू ‘बादशाह’ को नयाँ लुगामा जयजयकार गरिरहेका छन् ।
            देशमा इतिहासकै दुईतिहाइको सरकार छ । त्यो पनि कम्युनिस्ट नामको । कम्युनिस्ट पार्टी भन्नाले बलियो पार्टी स·ठन, इमानदार र ऊर्जाशील कार्यकर्ता, अनुभवी निष्ठावान र जवाफदेही नेता, पार्टीको गर्विलो इतिहास र जनताबीच घनिष्ठ सम्बन्ध छ भन्ने बुझिन्छ । चीन र चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास र पार्टीको जनतासँगको सम्बन्धको विषयमा पढेकै होलान् यिनीहरूले । कोभिड –१९ विरुद्ध चिकपाका सबै नेता कार्यकर्ताहरूले कसरी काम गरे भनेर पढेकै होलान् । अझ तल्लो तहका कार्यकर्ताहरूले रातदिन, घामपानी नभनी कसरी देश र जनताको सेवा गरे भनेर पढेकै होलान् । तर, हाम्रो देशमा कोभिड – १९ विरुद्धको लडाइँ सरकारी पार्टीका नेता कार्यकर्ताहरूलाई दसैँ आएजस्तो भएको छ । यिनीहरूको काम गर्ने तरिका र शैली हेर्दा लाग्छ–यी सबै राजनैतिक लुटेरा, ठग र अपराधीहरू हुन् । आफूले नजाने अरूले काम गरेको देखेर नि सिकिन्छ भन्छन् तर यिनीहरू त खै…!।
            महाकाली सन्धिको बेला देश कायापलटको कथा सुनाउने अहिलेका शासकहरू भारतीय अमानवीय नाकाबन्दीको समयमा चुट्किला सुनाउने गर्थे । तराईको ६४ हजारभन्दा बढी भूभाग मिचिँदा एवम् कालापानी, लिम्पियाधुराको सिङ्गो भूभाग भारतले आफ्नो नक्सामा राख्दा ‘चुँ’ नबोल्न यिनीहरू पूरै नेपाल जलमग्न हुँदा पनि बोल्दैनथे ।
            नेपाली नागरिकता बस र सिनेमाको टिकटझैँ बाँड्नेहरूले विश्व नै बन्दाबन्दीको अवस्थामा भारतबाट मावली र ससुराली (सरकारी पार्टीका भाञ्जाभाञ्जी र ज्वाइँ) भन्दै भित्रिएकाहरूबाट पर्नसक्ने विकराल अवस्थातिर ध्यान दिइएको देखिँदैन । विगत लामो समयदेखि दक्षिणी सीमा नियमित र व्यवस्थित गरिनुपर्छ त्यसकारण भनिएको हो । भूकम्पले देश थिलोथिलो पारेको बेला अनुदानको त्रिपाल र जस्तापाता चोर्नुका साथै हुनेखानेहरू र सत्ता नजिककाले राहत सामग्रीमा मोज गरेझँै अहिले पनि त्यस्तै अवस्थाको पुनरावृत्ति भइरहेको छ । सरकार र नजिककाहरू कोभिड –१९ विरुद्धको लडाइँलाई धन सञ्चय गर्ने मौकाको रूपमा उपयोग गरिरहेका छन् ।
            यी र यस्ता समस्या निश्चित समयका समस्या होइनन् । जबसम्म मानव जाति अस्तित्वमा रहन्छ तबसम्म विभिन्न खालका समस्या परिरहनेछन् । ती समस्यासँग जुध्ने सरकारले नै हो । तर, सरकारले बुझ्ने कहिले ? पूर्वतयारी आवश्यक हुन्छ भनेर ।
    सरकार नागरिकहरूको अभिभावक हो । त्यसैले नागरिकहरूका हरेक समस्याको समाधान सरकारले स्वाभाविकरूपमा गर्नुपर्छ । तर, हाम्रो देशमा मुठीभर व्यक्तिको घेराबाट सरकार बाहिर निस्किन सक्दैन । जसरी चुनावमा यिनीहरू मत (भोट) किन्छन् त्यसरी नै पुँजीपति, दलाल, ठगहरूले पनि यिनीहरूलाई किनिसकेका हुन्छन् । आफ्नो बुद्धि र विवेक सबै ती समूहहरूले दिने ‘चुनावी सहयोग’ मा बन्धक बनाइसकेका हुन्छन् । यसरी निर्वाचित भएकाहरू ती समूहको इसारामा चल्न बाध्य भइसकेका हुन्छन् । फेरि ती मुठीभर मान्छेहरू नै ‘सरकारी कर्मचारी काम गर्दैनन्, सरकारी अस्पताल राम्रो उपचार गर्दैनन्, सरकारी स्कूलमा राम्रो पढाइ हुँदैन’ वा सरकारी निकाय जनताका लागि काम गर्दैनन् भन्ने भ्रम पैदा गर्छन् । सोझा साझा नागरिकहरूले पत्याउनुपर्ने अवस्था श्रृजना पनि हुन्छ किनकि पुँजीवादी बन्दोबस्तको सरकार कुलिनहरूको सञ्चालक समिति हो भने सरकार प्रमुख कुलीनहरूको उच्च प्रबन्धक हो । कुलीनहरूले भनेझैँ गर्नु उसको दायित्व हो । बाँकी निकायहरूलाई पनि कुलीनहरूको सेवामा प्रयोग गरिन्छ ।
     तर अतिको पनि सीमा त हुन्छ नै । एक समय यस्तो आउँछ (पुँजीपति, ठग, दलालहरूले जोडेका भ्रमहरू आफैँ च्यातिँदै जानेछन् । आजको समयमा निजी अस्पताल सामान्य बिरामी पनि जाँच नगरी फर्काइदिन्छन्, गेटमा ताला लगाएका छन्, भन्ने खालका समाचार र हामी कोरोना जाँच्दैनौँ, खल्ती जाँच्छौँ भन्ने शब्द चित्र सार्वजनिक भए । अर्कोतिर सरकारी स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरूले दिलोज्यान लगाएर नागरिक स्वास्थ्यलाई महत्व दिएको देखिन्छ । त्यसैले यो वा त्यो जो सरकारमा भए पनि उनीहरूको चुनावी वाचाहरूलाई ध्यान दिन जरुरी छ । राजनीतिक दल र नेताले जुन मुद्दामा भोट मागे सोअनुरूप काम नगरेमा हामीले ढाट्यौ भनेर देश र जनतासामु माफी माग्नुपर्छ । अर्कोतिर सचेत नागरिकले पनि आफ्नो बुद्धि विवेकको प्रयोग गरी सरकारका गलत क्रियाकलापको विरोध गर्दै सरकारलाई सही दिशामा ल्याउन सहयोग गर्नुपर्छ ।
            कोभिड–१९ को त्रासका कारण देश बन्दाबन्दी छ । यो अवस्थामा हामीले धैर्य र सरकारको निर्देशन र सुझाव पालना गरी यस महामारीविरुद्ध लडाइँको अग्रमोर्चाका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्नुपर्छ । जथाभावी सडक, गल्ली र चोक चोकमा अनावश्यक टहलिएर सुरक्षाकर्मीलाई हतोत्साही र आक्रामक नबनाऔँ ।
            आफू बचौँ, अरूलाई पनि बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *