भर्खरै :

आफ्ना नानीहरूको बहुमुखी क्षमता पनि चिनौँ

गृहकार्यको चक्‍कर

हरफका हरफ गीतका रङ्गीन फाँकीहरू गुन्गुनाउँदै
स्कूलबाट फर्कन्छन् नानीहरू
वीरहरूको देश, बहादुरहरूको देश
पराक्रमी र पौरखीहरूको देश
दिनभरि पाठशालामा यस्तै यस्तै
पाठ घोक्छन् नानीहरूले
किताबका पानाभरि तस्वीर छन्
सहिदका विभूतिका वीरहरूका वैज्ञानिकका
महापुरुष र कविका
यस्तै बन्नुपर्छ भन्ने सन्देश घोकाउँछन् मास्टरहरू
झोलाभरि राष्ट्रियताको गह्रुँगो गृहकार्य बोकेर
स्कूल आउने जाने गर्छन् नानीहरू
देशका लागि गृहकार्य गर्नुपर्ने चाहिँ
सानाहरूले मात्रै हो !
                             (गाउँ हराएको साँझ, पृष्ठ–८९)
            कवि हरिहर तिमिल्सिनाको कविता सङ्ग्रह ‘गाउँ हराएको साँझ’ को ‘गृहकार्य’ शीर्षकको यो कविताले यो पङ्क्तिकारलाई झक्झकाइरहन्छ । कारण कविताले हाम्रो शैक्षिक दैनिकीको वास्तविकता उजागर गरेको छ । कवि तिमिल्सिनाले जुनै भावमा कविता लेखेका भए पनि दुईवटा प्रश्नवाचक सन्देश यसमा अन्तरनिहित देखिन्छ । पहिलो, किन भएभरका गृहकार्य उनीहरूलाई ? दोस्रो, साँच्चिकै गृहकार्य भनेको स्कूले नानीहरूले मात्र गर्ने हो ? विद्यालय र शिक्षकले गृहकार्यको व्यवस्था केटाकेटीहरूको लागि नै गरेको हुन्छ । गृहकार्यबिना नानी घर आएमा भोलि अभिभावकको कम्प्लेन विद्यालयमा दर्ता भइहाल्छ । मानौँ गृहकार्य छुटाउनै नहुने नानीको अक्सिजनको सिलिन्डर हो । गृहकार्यबिना सारा शिक्षण पद्धति नै अधुरो हुनेजस्तो । विद्यालय, शिक्षक र अभिभावक सबै सरोकारवालाहरू यहीँ गृहकार्यको गोलचक्‍करमा घुमिरहेको प्रतीत हुन्छ । नानीहरूलाई बोकाइने यो गृहकार्यको भारिको औचित्यको बारेमा बेलामौकामा कुरा नउठेको होइन । युरोपलगायत हाम्रै धेरै एसियाका देशहरूमा प्राथमिक तहसम्म गृहकार्यलाई अनिवार्य गरिएको छैन । जर्मनीमा त त्यो तहमा गृहकार्य दिनुलाई अपराध नै मानिन्छ र गृहकार्य दिने शिक्षकलाई पेशाबाट बिदा नै दिइन्छ । हाम्रो परिप्रेक्षमा गृहकार्यलाई परीक्षामा उसले ल्याउने अङ्कसँग गाँसिएर हेरेको पाइन्छ । जति बढी गृहकार्यमा केटाकेटीलाई अलमलाउन सकिन्छ त्यतिकै अब्बल नतिजा । विद्यालयबाट फर्केपछि उसको कर्म विद्यालयमा पढेर आएका विषयको फेरि गृहकार्य । उसलाई हामीले पाठ्यपुस्तक र त्यससँग सम्बन्धित गृहकार्यको घेराबाट बाहिर आउनै दिएनौँ । जसको परिणाम नानीहरूमा यान्त्रिक स्वभावको विकास र उनीहरूमा अन्तरनिहित अन्य बौद्धिकता, क्षमता र प्रतिभाहरूको ह्रास ।

अबको नयाँ पुस्तालाई चारवटा सी (The four Cs’) को सिकाइ हुनुपर्दछ । पहिलो C= Critical Thinking (विवेचनात्मक चिन्तन), दोस्रो C=Communication (सम्प्रेषण), तेश्रो C=Collaboration (सहकार्य) तथा चौथो C=Creativity (सृजनात्मकता) । हरारीका अनुसार अब विद्यालयहरूले प्राविधिक दक्षतामा कम जोड र जीवनोपयोगी दक्षतामा (life skills) बढी जोड दिनुपर्दछ ।  ती जीवनोपयोगी दक्षताहरूमा सबभन्दा महत्वपूर्ण भनेको परिवर्तनको सामना गर्ने (Deal with Change), दोस्रो, नयाँ कुरा सिक्ने (To learn New Things) र तेस्रो, विषम तथा नयाँ परिस्थितिमा पनि आफ्नो मानसिक अवस्थालाई सन्तुलनमा राख्ने (To preserve your mental balance in unfamiliar situation) ।

            हरेक अभिभावकले बालबालिका हुर्काउने तथा विद्यालय र शिक्षकको पढाउने मात्रले उनीहरूको कर्तव्य पूरा भएको हुँदैन । शिक्षा मनोविज्ञानले भन्छ, “हरेक नानी विशेष हुन्छ  ( Every Child is Unique and Special)।” केटाकेटी वा मानिसलाई वस्तुको रूपमा हेरिनुहुन्न । वस्तुमा नहुने जीवनमात्र त्यसमा हुने होइन बरु जीवनबाहेक उसमा बुद्धि, विवेक, सोच र भावना, संवेदना तथा विशेष क्षमता र प्रतिभा पनि अन्तरनिहित हुन्छ । लकडाउनको एक महिनाको समयमा हामी फरक–फरक पेशामा आबद्ध मानिसहरू अहिले अभिभावक बनेका छौँ । हिजोभन्दा आज हामीले उनीहरूको स्वभाव र संवेगलाई नजिकबाट नियाल्ने मौका पाएका छौँ । उनीहरूमा अन्तरनिहित विशेष प्रतिभा र स्वभावलाई पनि पहिचान गरौँ । लकडाउनमा हामी पनि अलिकति गृहकार्य गरौँ । कवि हरिहर तिमिल्सिनाको कविताको दोस्रो सन्देश सायद यहीँ हो, “नानीहरूले मात्र होइन, हामी अभिभावक र शिक्षकहरूले पनि गरौँ केही गृहकार्य ।”
बहुमुखी बौद्धिकताको सिद्धान्त
            विश्वविख्यात हार्वर्ड विश्वविद्यालयका प्रोफेसर हवार्ड गार्डनर (Hovard Gardner) संज्ञानात्मक मनोविज्ञ (Cognitive Phycologist) हुन् । उनले पहिलोपल्ट आफ्नो पुस्तक ‘फ्रेम अफ माइन्ड’ मार्फत सन् १९८३ मा बहुमुखी बौद्धिकता वा क्षमता (Multiple Intelligence = MI) को बारेमा नयाँ सिद्धान्तको सार्वजनिक गरे । सन् ९० को दशकसम्ममा शिक्षा शास्त्रको क्षेत्रमा यो सिद्धान्त निकै चर्चित भए । विद्यालयहरूको परम्परागत पठन–पाठनमा पनि यसको प्रभाव बिस्तारै देखिन थाल्यो । यो सिद्धान्तको प्रतिपादन हुनुअघिसम्म कुनै स्कूले विद्यार्थीको बौद्धिकता मापनको आधार विज्ञान, गणित र भाषामा उसले कस्तो दख्खल राख्दछ भन्नेसँग सम्बन्धित हुन्थ्यो । त्यसैले यी तीन विषयमा अब्बलले विज्ञानसँग सम्बन्धित चिकित्साशास्त्र वा इन्जिनियरिङ्ग सङ्कायमा, त्यसभन्दा मुनिकाले व्यवस्थापन सङ्काय र अझ त्यसभन्दा तल्लो स्तरकाले मानविकी सङ्कायमा उच्च शिक्षा अध्ययन गर्नुपर्छ भन्ने एउटा परम्परा नै बन्न गयो । वास्तवमा विज्ञानप्रतिको त्यो आकर्षण समयअनुसार जायज पनि थियो । औद्योगिक क्रान्ति चरम बिन्दुमा पुगेको १९ सौँ शताब्दी र २० सौँ शताब्दीको आधाआधीसम्म (करिब १५० वर्षसम्म) मानव जीवन शैलीमा जति पनि उतार चढाव र परिवर्तन आए त्यसमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका रह्यो । मानव सभ्यताको विगत ६ हजार वर्षमा नभएका परिवर्तन र उपलब्धिहरू यस १५० वर्षको समयमा भयो । तर, विज्ञान विकासमात्र होइन, विनाश पनि हो भन्ने हेक्‍का दुईवटा महायुद्ध झेलिसकेपछि महसुस गरायो । यस अवधिमा भएका ज्ञान, विज्ञान, प्रविधि र विकासले समग्र मानव जाति र सिङ्गो पृथ्वीमा यसले पारेको प्रभाव र असरलाई फरक कोणबाट अध्ययन र विश्लेषण गर्न वैज्ञानिक, दार्शनिक, चिन्तक, साहित्यकारलगायत सबैलाई बाध्य बनायो । हरेक क्षेत्रमा नयाँ–नयाँ अध्ययन र अनुसन्धानहरू भए । शिक्षा र मनोविज्ञानको क्षेत्रमात्र यसको अपवाद रहेन । हवार्ड गार्डनरको बहुमुखी क्षमताको सिद्धान्तले पनि परम्परागत बौद्धिकताको मानकलाई फरक कोणबाट प्रस्तुत गरे । उनका अनुसार विज्ञान, गणित र भाषामा अब्बललाई मात्र बौद्धिकता मान्ने परम्परागत सोच अब त्याग्नुपर्छ । उनले विभिन्न विद्यालयमा बालबालिकामा गरेका अध्ययन अनुसन्धानको आधारमा उनीहरूमा विभिन्न आठ किसिमका क्षमताहरू निहित हुने र सबै क्षमता एकै बालकमा हुनु अनिवार्य नहुने निष्कर्ष निकाले । बालबालिकामा यी आठ क्षमताहरूमध्ये कुनै न कुनै क्षमता सशक्त हुने उनले ठहर गरे । यी आठ किसिमका क्षमताहरूलाई नै हवार्ड गार्डनरले बहुबौद्धिकता वा क्षमताको संज्ञा दिए । यस आठ क्षमताहरूको अर्को पाटोको बारेमा पनि उनले विश्लेषण गरे । उनको विश्लेषणअनुसार सबै केटाकेटीले एउटै किसिमले सिक्दैनन् । जस्तो मानौँ हामी कक्षा कोठाका ४० जना नै विद्यार्थीहरूलाई कुनै कुरा बुझाउन एउटै तरिका अपनाउँछौँ । यस किसिमको पठन–पाठनमा शिक्षकले बुझाउन खोजेको कुरालाई सबै विद्यार्थीहरूले सहजै बुझ्दैनन् । किनभने, कसैले सुनेरमात्र सिक्छन् भने कसैले साथीसँगको अन्तरक्रियाको माध्यमले सिक्छन् र कसैले कुनै चिजलाई हातले चलाएर वा अनुभव गरेर र कसैले हेरेर र कसैले आफ्नो शरीरलाई चलायमान गरेर वा कुनै कुरा प्रयोग गरेर सिक्छन् । गार्डनरका अनुसार अब यो पुरानो सिकाइ पद्धतिमा परिवर्तन ल्याउनुपर्छ । गार्डनरका अनुसार पहिलो क्षमता वा बौद्धिकता हो – दृश्य र स्थानीक (Visual and Spatial Intelligence) । कुनै दृश्य वा फोटोलाई गहिरिएर हेरेर त्यसलाई विश्लेषण गर्ने, त्यसमा अन्तरनिहित विविध पक्ष र आयामको बोध गर्नसक्ने, कुनै नक्साको अध्ययन गर्नसक्ने र दिशाको सही ज्ञान हुने क्षमता नै दृश्य र स्थानीक बौद्धिकता हो । यस्तो क्षमता भएका विद्या
र्थीहरूले शिक्षकका कुरा सुनेरभन्दा त्यस पाठसँग सम्बन्धित कुनै फोटोहरूको माध्यमले छिटो सिक्छन् । गार्डनरका अनुसार यस दृश्य र स्थानीक क्षमता भएका केटाकेटीहरूमा कुनै नक्सा, ग्राफ वा चार्टहरू वा फोटोहरूलाई बुझेर यसमा अन्तरनिहित अर्थको व्याख्या गर्नसक्ने, पजल गेमहरू छिटो सिक्ने, चित्रकला र अन्य दृश्यसँग सम्बन्धित कुराहरू गर्न रुचाउनेजस्ता गुणहरू हुन्छ । यो क्षमता भएका केटाकेटीहरू नै पछि कलाकार, चित्रकार (आर्टिस), आर्किटेक्ट तथा इन्जिनियर हुने सम्भावना हुन्छन् । त्यस्तै आठौँ, प्रकृतिवादी बौद्धिकतालाई हेरौँ । गार्डनरका अनुसार यस क्षमता भएका जो कोही पनि प्रकृतिको नजिक हुन रुचाउँछन् । चराचुरुङ्गी, कीराफट्याङ्ग्रा, पशुपक्षीलाई माया गर्ने र उनीहरूसँग खेल्न रुचाउँछन् । पदयात्रा, हाइकिङ्ग, क्याम्पेनिङ्ग गर्नेजस्ता क्रियाकलापमा लाग्न सक्रियता देखाउँछन् । यस प्रकृतिवादी बौद्धिकता भएका केटाकेटीहरू नै पछि प्रकृति तथा विभिन्न जातका पशुपक्षीका संरक्षणविद् हुने सम्भावना हुन्छन् । आफ्नो चिकित्सक बुबाले धेरै प्रयास गर्दा पनि चिकित्साशास्त्रमा रुचि जगाउन नसकेका बरु कीराफट्याङ्ग्रासँग खेल्न तल्लीन हुने केटो नै पछि चार्ल्स डार्विन भए । उनको जीव उद्‍बिकासको सिद्धान्तले संसार नै हल्लाइदियो । गार्डनरका सिद्धान्तअनुसारको आठवटै बौद्धिकता (क्षमता) लाई सँगै दिइएको तालिकामा पनि हेरौँ ।


मूल्याङ्कन पद्धति
            गार्डनरको यस बहुबौद्धिकताको सिद्धान्तलाई हाम्रो पठन–पाठनको तौरतरिकामा पूर्णरूपमा नभए पनि आंशिकरूपमा अँगालिसकेको देखिन्छ । तर, यसलाई पूर्णरूपमा लागू गर्न प्रथमतः हाम्रो मूल्याङ्कन पद्धतिमै परिवर्तन गर्नु आवश्यक हुन्छ । किनकि हाम्रो अहिलेको मूल्याङ्कनको आधार र मानक परम्परागत नै छ । यस पद्धतिमा निर्धारित पाठ्यपुस्तकमा पढाइएका कुराभित्र रहेर नै मूल्याङ्कन गरिन्छ । अझ यसलाई प्रस्टरूपमा भन्दा यदि आठवटा विषयको अध्यापन गराएको छ भने त्यहीँ आठ विषयको परीक्षा लिइन्छ र परीक्षार्थीले उत्तरपुस्तिकामा लेखेका आधारमा उनको मूल्याङ्कन गरिन्छ । गार्डनरको बहुबौद्धिकताको सिद्धान्तअनुसारको भाषिक, गणितीय तार्किकबाहेकका अन्य क्षमताहरूको मापन यस परम्परागत मूल्याङ्कन पद्धतिले गर्नसक्दैन । पहिलेको मार्कसीट र अहिलेको ग्रेडसीटमा हामी ती बहुबौद्धिकताको मूल्याङ्कन र मापन गर्ने कुनै नापो भेटाउन सक्दैनौँ । अबको ग्रेडसीटमा हामी ती क्षमताहरूको कसरी मापन गर्न सकिन्छ भनेर अभ्यास पनि गरौँ र आगामी दिनमा छलफल गरौँ ।
            तीव्रगतिमा परिवर्तन भइरहेको भोलिको समाजका लागि नयाँ पुस्तामा परम्परागत बौद्धिकता अब पर्याप्त नहुनसक्छ । इतिहासकार तथा चिन्तक युवालनोआ हरारीले आफ्नो पुस्तक 21 Lessons for 21st Centuryमा सुझाएका छन् – अबको नयाँ पुस्तालाई चारवटा सी (The four Cs’) को सिकाइ हुनुपर्दछ । पहिलो C= Critical Thinking (विवेचनात्मक चिन्तन), दोस्रो C=Communication (सम्प्रेषण), तेश्रो C=Collaboration (सहकार्य) तथा चौथो C=Creativity (सृजनात्मकता) । हरारीका अनुसार अब विद्यालयहरूले प्राविधिक दक्षतामा कम जोड र जीवनोपयोगी दक्षतामा (life skills) बढी जोड दिनुपर्दछ ।  ती जीवनोपयोगी दक्षताहरूमा सबभन्दा महत्वपूर्ण भनेको परिवर्तनको सामना गर्ने (Deal with Change), दोस्रो, नयाँ कुरा सिक्ने (To learn New Things) र तेस्रो, विषम तथा नयाँ परिस्थितिमा पनि आफ्नो मानसिक अवस्थालाई सन्तुलनमा राख्ने (To preserve your mental balance in unfamiliar situation) । हरारीका यी सुझावहरू गार्डनरको बहुबौद्धिकता र डनियलगोलमेनको संवेगात्मक तथा सामाजिक बौद्धिकतामै आधारित देखिन्छन् । हाम्रा नानीहरूमा अन्तरनिहित नयाँ बौद्धिकता र क्षमतालाई चिन्ने प्रयास गरौँ र नयाँ परिवेशको लागि उनीहरूलाई तयार बन्न मद्दत गरौँ ।
१२ वैशाख  २०७७
– योगेन्द्रमान बिजुक्छेँ
कोभिड महाव्याधिको अवधिलाई अवसरको रूपमा लिऔँ – ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *