भर्खरै :

मस्कोका चिट्ठी – ५

 रवीन्द्रनाथ टैगोर
जब युरोपको विश्वास इसाई उपदेशमा अडिग रह्यो, धार्मिक सत्य भनेको मानिसहरूलाई पाङ्ग्राले किच्याई, आगो लगाई, ढुङ्गाले हानी, क्रसमा झुन्डयाएर मारी प्रमाणित गर्ने प्रयास गर्न चाहन्छन् । आज बोल्सेभिकवादका शत्रु र मित्र दुवै उस्तै अनियन्त्रित र अरूको विचारलाई सम्मान नगरिकन विरोध गर्ने कुरामा तल्लीन हुन्छन् । एक अर्कालाई अरूको विचारलाई सम्मान नगरेकोमा दोष लगाउँछन् । पाश्चात्य मानव प्रवृत्ति दुवै पक्षको मृत्युको कारण परेशान छ । पूर्णदास बबलको गीत सम्झनुहोस् त ः–
तुरून्त खाँचो टार्न हे दुष्ट मानव !
मानव मस्तिष्कलाई धैर्यमा राख !
फूल फक्रन बाँकी छ ।
कोपिलामात्र भएको छ ।
सुगन्धको निम्ति अधैर्य भई
तिमी कोपिला टिपी
विनास गर्दै छौ !
हे महागुरु ! के तिमी यो देख्दैनौ ?
फूल फक्रन त समय लाग्छ ।
हतार र रिस गरेर हुन्छ ?
डरलाग्दो लोभ
शक्तिको मात
हे मानव ! किन तत्काल परिणाम खोज्छौ ?
कवि मदन भन्नुहुन्छ, “मेरो गुरुको मन नदुखाउनुहोस्”
जसले आफूलाई बिर्सन्छ
स्वच्छ प्रवाहको अनुसरण गर्छ
उसले मात्र यो आवाज सुन्छ
उसले मात्र यो बुझ्छ
हे तुरून्छ परिणाम खोज्ने मानव !
एउटा अन्तिम प्रश्नको उत्तर मेरो विचारमा मसँग पनि छैन । बोल्सेभिक अर्थशास्त्रको बारेमा मसँग धेरैले प्रश्न राखे । मेरो डर योमात्र हो कि धर्मशास्त्र र महात्माले डो¥याएको मेरो देश प्राकृतिक सहजता र अज्ञानता छ जो विदेशीहरूको बाइबलको कानुनी सत्यलाई अनुसरण गर्दछ । खतराको समयमा आफूलाई सम्हाल्दै हामीले यो स्वीकार गर्नुपर्छ कि सिद्धान्तको वास्तविकता प्रयोगले मात्र निर्धारण गर्दछ । हालसम्म परीक्षणको अन्त भएको छैन । मुख्य कुरा मान्छेसँग मानवीय प्रवृत्ति हुनैपर्दछ । यो मानवको मुख्य तत्व हो । मानवताको कुन हदसम्म प्रकृतिले साथ दिन्छ यो त समयले बताउने नै छ । सिद्धान्तले सहजता नपाएसम्म तथ्याङ्क र तर्कमा नभएर मानव प्रवृत्तिलाई सधैँ यथार्थमा राखेर छलफल सम्भव छ, धर्म गर्नुपर्छ ।
मानवका दुई पक्ष छन् ः व्यक्तिगत र सामाजिक । एकको अनुपस्थितिमा अर्को अवास्तविक हुन्छ । जब मानिस आवेगमा एउटा पक्षमा अघि बढ्छ ः सन्तुलन गुमाएर सबै खालका दुःख पाउँछ । व्यक्ति जब सर्वथा स्वार्थमा लिप्त हुन्छ र समाजलाई बेइमानीतिर डो¥याउँछ त्यहीँ स्वार्थबाट बाहिर आउनु नै हरेक प्रकारको दुःखको निदान हो । दुःख कम हुँदै जान्छ तर, समाज हरतरहले अगाडि बढ्ने प्रचलन रोकिंदैन । लगामविनाको घोडाले पूरै बगी खाल्टोतिर धकेलिन्छ । यसबाट बच्न घोडालाई गोली हान्नुभन्दा लगाम चलाउने व्यक्ति सचेत हुन आवश्यक छ ।
मानिसहरू मिल्दैनन् किनभने उनीहरू शारीरिकरूपले फरक–फरक छन् । सबै मानिसहरूको हात बाँधेर एकछत्र राज्य गर्ने काम घमण्डी जार शाहीका अर्थशास्त्रीहरूको जस्तै हो । प्रोभिडेट्न्सको कानुनलाई उछिन्नु र पछि पार्नुले साहसभन्दा मुख्याइँ देखाउँछ ।
कुनै समयमा भारतीय समाज पूरै ग्रामीणमात्र थियो । त्यसबेला व्यक्तिगत र समुदायको सम्पत्तिमा सामञ्जस्यता थियो । धनी मानिसले सम्पत्ति आफ्नो खुसीको लागि प्रयोग गर्ने तत्कालीन विचारमा लज्जाबोध हुन्थ्यो । समाजले उसलाई मन परायो वा स्वीकार गरेमा आफू सम्मानित भएको महसुस गर्दथ्यो । अङ्ग्रेजहरूको जस्तो दानको सम्बन्ध हुँदैनथ्यो । धनीहरूले घरवारविहीनहरूको पक्ष लिन्थे । आफ्नो यस्तो अस्तित्व स्थापना गर्न आफ्नो पक्षबाट समाजका लागि धेरै योगदान गरेका हुन्थे । शुद्ध खोनपानी, स्वास्थ्यसेवा, शिक्षा, मन्दिरहरू, मनोरञ्जन, बाटाघाटाहरू सरकारी राजस्वबाट नभई व्यक्तिगत तवरबाट प्रदान गरिएको हुन्थ्यो । त्यहाँ व्यक्तिगत र सामाजिकताको बीचमा एक प्रकारको पारस्परिक इच्छा प्रकट भएको हुन्थ्यो । यसमा एक किसिमको आध्यात्मिक सिर्जनशीलता थियो । यसको आधार राजनीतिक प्रतिनिधित्व नभई स्वविचार र स्वविवेक हुनेगर्दथ्यो । अर्को शब्दमा भन्दा यसले कानुनी सफलतामात्र नभई व्यक्तिगत सुधार पनि गर्दछ । पछिल्लो समयमा वास्तवमै मानव कल्याणको स्थायी र सजीव आश्रय नै मुख्य तत्व थियो ।
व्यापारी समुदायको मुख्य ध्येय भनेको आर्थिक लाभ हुने प्रवृत्ति हाम्रो समाजमा गौण थियो किनभने सम्पत्तिमा धेरै सम्मान थिएन । परिणामस्वरूप धनी र गरीबको बीचको खाडल त्यति धेरै थिएन । सम्पत्ति बटुल्नुमा भन्दा सामाजिक उत्तरदायित्व वहन गर्नुमा प्रतिष्ठा देखिन्थ्यो । नत्रभने यो लज्जाको विषय बन्थ्यो । त्यसकारण त्यसबेला सम्पत्तिलाई भन्दा सत्कर्मलाई सम्मान गरिन्थ्यो । त्यस्तालाई सम्मान गर्न कसैले उपहासको महसुस गर्नु पर्दैनथ्यो । त्यस्ता दिनहरूको समाप्त भइसकेको हुँदा अधैर्यका आभासहरू विभिन्न स्वरूपमा देखापरेका छन् किनभने धनले मानिसलाई कुनै उपहार दिंदैन, यसले अपमान गर्दछ ।
सुरुदेखि नै युरोपेली सभ्यता आफूलाई सहरमा मजबुत बनाउने खोजीमा छ । सहरमा अवसरहरू बढी हुन्छन् तर सामाजिक सम्बन्धको घेरा भने साँघुरिंदै जान्छ । सहर ठूलो छ, मानिसहरू छरिएर बस्छन्, चरम व्यक्तिवाद छ, प्रतिस्पर्धा तीव्र छ । समृद्धिको दबाबमा धनी र गरीबहरूको बीचमा ठूलो खाडल छ । अलिकति केही गरिएको छ भने दान छ जसमा सम्मान र सुख छैन । यस्तो धनोपार्जनको क्रममा एकअर्कासँग भौतिक सम्बन्ध हुन्छ । उनीहरूको सामाजिक सम्बन्ध कि त छैन भए पनि अस्तित्वविहीन छ ।
यान्त्रिक युगको आगमनसँगै फाइदा अत्यन्त बढ्दै गयो । जब यस्तो नाफाको महामारी संसारभर फैलिन थाल्यो, गरीब सर्वसाधारणहरूको असहायपनको कुनै सीमा नै रहेन । चीनलाई अफिम खान बाध्य पारियो । हिन्दुस्तानलाई सधैँका लागि विभाजन गरियो । अफ्रिकामा पूरा युगभरि अत्याचार गरियो र हाल पनि शिकार भई नै रहेको छ । तर, यो गैर युरोपेलीहरूलाई मात्रै भयो । युरोपमै पनि धनी र गरिबबीच ठूलो भेद छ । भेदको पासो तीव्रगतिमा वृद्धि हुँदै छ । यसरी यी दुई वर्गबीचको भिन्नता नाटकीय ढङ्गले बढ्दै गयो । पहिले हाम्रो देशमा व्यर्थको सम्पत्ति मुख्य गरेर कल्याणकारी र समाजसेवामा लगाइन्थ्यो । तर, अचेल व्यक्तिगत खुसीमा प्रयोग गरिन्छ । यसले व्यक्तिलाई मज्जा त देला तर सुख र सन्तुष्टि दिँदैन । यसले इष्र्या पैदा गर्छ प्रशंसा बटुलिंदैन । महत्वपूर्ण कुरा त्यतिबेला धन सम्पत्तिको प्रयोग दाताको इच्छामा मात्र निर्भर हुँदैनथ्यो बरु सामाजिक इच्छाको बलियो दबाबको विषय बन्दथ्यो । उपकार गर्नेहरू पनि आफ्नो दान नम्र भएर प्रदान गर्दथे । श्रद्धापूर्वक दिइएको दानलाई मात्र उत्तम मानिन्थ्यो ।
छोटकरीमा, धेरै सम्पत्तिले धनीलाई शक्ति प्रदान गर्दछ तर सबैलाई प्रतिष्ठा र सुख दिंदैन । आशक्तिले एकातर्फ लालच र अर्कोतर्फ इष्र्या उत्पन्न भई असमान बनाउँछ । प्रतिस्पर्धाले पारस्परिकताभन्दा अचाक्ली शक्तिशाली बनाउँछ । एक अर्को वर्गको बीचमा शत्रुता बढाउँछ । एक देशदेखि अर्को देशसम्म त्यो भाव फैलिन्छ । त्यसपछि शङ्का–उपशङ्का र हतियार वृद्धि हुन्छ, कसैले रोक्न सक्दैन । नयाँ विचारहरूले दुर्गमकाहरूको आवश्यकता पूरा गर्ने काम गर्ने हो भने लोभ लालचरूपी दानवीभाव कमजोर हुँदै जानेछन् । यसले बृहत् स्वतन्त्रताको हठले अन्धो भई कुनै राम्रो परिणाम दिन नसकेको राम्ररी बोध गराउँछ । ती दुःखी दयनीय मानिसहरूले अनन्तकालसम्म दुःखै पाउँदा क्रान्तिको ज्वाला उनीहरूको भोक र दुःखबाट बीजारोपण हुन्छ, उनीहरू नै भगवानका दूत या सहयोगीहरू हुन् ।
बोल्सेभिकवाद यस्तै बृहत् दुःखको पृष्ठभूमिबाट प्रस्फुटन भएको हो । यो आँधीजस्तै हो । यो सबै प्रकारको रिसबाट गुज्रन्छ । यस्तै अवस्थामा वातावरण शान्तजस्तो हुन्छ । यहीँ अवस्थाबाटै क्रान्ति अचानक सुरु हुन्छ किनभने समाजले सबै किसिमको असन्तुलन गुमाइसकेको हुन्छ ।
व्यक्तिको समुदायप्रतिको उदासिनता बढेको परिणामस्वरूप यस्तो अवस्था आउने हो । व्यक्ति सामूहिकताका लागि समर्पित हुँदै अगाडि बढ्छ । ज्वालामुखीले किनारामा समस्या निम्त्याइरहेको बेला समुन्द्र नै एकमात्र मित्र हुन् भनेर घोषणा गर्नुजस्तै हो । यो त्यसबेला मात्र हुन्छ जब किनाराविहीन समून्द्र धैर्यता गुमाएर निकासतर्फ फर्कन्छ । व्यक्तिलाई गौण गरी सामूहिकतालाई मानिसले सधैँका लागि स्वीकार्दैन । कुनै राजनीतिक एजेन्सीहरूको गढलाई परिष्कृत गर्नुपरेमा बाह्य कानुनबाट सम्भव हुँदैन बरु व्यक्तिगत विकासको अपरिहार्यता नितान्त आवश्यक हुन्छ । व्यक्तिगत योगदान समाजको लागि दिगो र कल्याणकारी हुन्छ ।
लोभलालचको गठबन्धनलाई समाजमा नियन्त्रण गरी निस्तेज पार्नुपर्छ । तर, समाजमा व्यक्तिलाई सदाका लागि गौण पारेमा यसलाई कसले संरक्षण गर्दछ । म सहकारी सिद्धान्तको विजय होस् भनी प्रार्थना गर्दछु । यसले गाउँको उत्पादन र नियन्त्रण गरोस् किनभने यसले मानवीय प्रवृत्तिको पहिचान गर्दछ । सहकार्य गर्नेहरूको इच्छा र विचारको खिल्ली उडाउँदैन । यसको विरुद्धमा आउने नकारात्मक मानवीय प्रवृत्तिको विजय कहिल्यै हुँदैन ।
यस सम्बन्धमा मैले एउटा विषयमा जोड दिनैपर्छ । जब म मेरो गाउँ फेरि जीवित देख्न चाहन्छु तर म यस्तो गाउँको कल्पना गर्न चाहन्न जहाँ शिक्षा, विवेक, विश्वास र मानवकल्याणको सोझै अन्धविश्वाससँग सम्बन्ध होस् । एउटा नयाँ युगको अत्यन्त फरक रुप होस् । नवीन ज्ञान र मस्तिष्कको क्षेत्र विश्वव्यापी हुन्छ । तैपनि नवीन हृदयहरूलाई गर्नुपर्ने कदर विस्तृत हुन्न, जीवनको लागि गाउँ उपयुक्त हुनुपर्छ । यो न तुच्छ, न साँघुरो, यो न मानव कुप्रवृत्ति, न अन्धकार नै होस्
एकपटक म बेलायतको कृषक परिवारमा बास बसेँ । त्यो परिवारका छोरीहरूको लन्डन जाने तीव्र इच्छा थियो । गाउँको स्रोत सहरको असीमितताको तुलनामा अत्यन्त दयनीय थियो । सहरले सधैँ गाउँको मनलाई आकर्षित बनाइराख्थ्यो । देशको बीचमा भए पनि गाउँहरूले एक किसिमको निर्वासनको दुःख भोगिरहेका थिए ।
मैले रुसमा गाउँ र सहरको भेद कम गर्न खोजेको महसुस गरेँ । यदि यो प्रयास सफल भएमा सहरको अप्राकृतिक वृद्धि रोकिनेछ । गाउँको जोश र विवेकको प्रसार हुनेछ र यस्तो सोच देशभरि फैलिने छ ।
म हाम्रा गाउँहरूले पूरा मानव प्रतिष्ठाको खुसियाली पाऊन् भन्ने चाहन्छु । तर, सहरलाई बेवास्ता गर्न चाहेको पनि होइन । यो मेरो दृढ विश्वास हो कि मेरो सहकारी योजनाले मात्र मेरो गाउँमा हराइसकेका शक्तिहरू प्रस्फुटित हुनेछन् र मुक्ति पाउनेछन् । मलाई एउटा कुराले पश्चाताप लागिरहेछ त्यो हो हालसम्म बंगालको गाउँमा महाजनहरूको ऋण दिने प्रथालाई सहकारीको रङ प्रदान गरिएको छ । यसले उत्पादन र उपभोगको सेवा गर्दैन ।
हाल सरकारले चलाएको सहकारी जसको निगरानी कुनै सरकारी कार्यालयले गर्दछ, त्यो बहिरो अन्धो र यान्त्रिक हुन्छ । यस्तो सहकारी साँचो सहकारी अवधारणाको पूरै विमुख छ । हामीले हाम्रो प्रवृत्तिमै सहकारीको मूल मर्म नभएको कुरा दुःखका साथ स्वीकार गर्नुपर्छ । हामी आफै कमजोर भए पारस्परिकता र सहकारिता झन् कमजोर हुन्छ । आत्मविश्वास अभाव नै अरूहरूको अपमानको आधार हो । हामी मानवताको उजाडपनमा आत्मसम्मानको क्षयीकरण हुने अवस्थाको उच्च विन्दुमा छौँ । मानिसहरू आफ्ना मालिकको नियम शिर निहु¥याएर अनुसरण गर्दछन् तर आफ्नै वर्गको नियन्त्रण सहँदैनन् । उनीहरू सजिलै आफ्नालाई ठग्छन् र निर्दयी व्यवहार गर्दछन् ।
रुसी कथाबाट के सिक्न सकिन्छ भने लामो कालरात्रीको दुःखमा हामी रुसी किसानहरूजस्तै छौँ । तथापि निराकरण गा¥हो छ । अरू कुनै उपाय छैन । मन र मस्तिष्कको शक्ति एकत्रित गरेर प्रकृतिलाई सुधार्नुपर्छ र सबैको लागि समान अवसरको सिर्जना गर्नुपर्छ । यो काम सहकारी ऋण दिएर नभई साझा प्रयासले मात्र हुन्छ । गाउँवासीलाई सहकार्यउन्मुख गराएर हामी गाउँलाई बचाउनेछौँ ।
अनुवादक ः भानु हुमागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *