भर्खरै :

यो के हो अपहरण ? कोरोना र नेपाल !

कम्युनिस्ट शब्दको बाक्लो खोलभित्र नवसामन्तवाद र नवपुँजीवाद फस्टाइरहेको छ आज हाम्रो नेपालमा । एकछिनमा एउटा रूप र छिनमा अर्को स्वरूपमा बदलिनसक्‍ने स्वभाव र चरित्र भएका हाम्रा उच्च तहका नेताहरू राजनीतिक खेल मैदानमा हाफ पाइन्ट फुकालेर जुध्दै छन् । यी नेता छेपारो झैँ कुनै बेला एउटा रङमा र कुनै बेला अर्कै रङमा देखिन्छन् । राजनीतिमा ठ्याक्‍कै उल्टो बाटो लाग्न यिनलाई कुनै लक्ष्मण रेखा लाग्दैन ! यी महामताहरू आफ्नो पक्षमा खिचडी पकाउनलाई यति प्रशंसा र तारिफ गर्छन् त्यो भन्दा बढी तारिफ गर्न शब्दकोषमा शब्द नै हुँदैन । त्यस्तै मन फाट्यो भने यति तिनका निन्दा गर्छन् त्योभन्दा बढी निन्दा गर्ने शब्द नै हुँदैन । यो प्रशंसा र निन्दाको पराकाष्ठा हुने गरी प्रस्तुत हुनसक्नु नेपाली राजनेताहरूको विशेषता वा विशेष दक्षता नै हो कि ? जस्तो पनि लाग्छ । कुन राजनीतिक नेता कुन नेताको पक्षमा वा विपक्षमा भन्‍ने सोच्न नपाउँदै उहाँहरूको पक्ष विपक्ष फेरिइसक्छ ! यति तीव्रगतिमा समर्थन या विरोधका अवस्था आउँछ मूल्याङ्कन गर्नेले भ्याउँदैन । नेताहरूबीचको यस्तो मर्यादाविहीन दन्तबझान सम्भवतः एसियाको यो पाटोमा अन्यत्र कतै हुँदैन कि जस्तो लाग्छ ! आजको सन्दर्भ हो, प्रधानमन्त्री केपी शर्मा ओली र अर्का महारथी वामदेव गौतमबीच मित्रवत प्रेमलापको । कस्तो प्रेम र आदर ! यी दुई राजनीतिक महारथीबीच । लाग्दैनथ्यो यी दुई कुशल राजनीति खेलाडीबीच यस्तोसम्म पनि मित्रता हुनेरहेछ !
प्रधानमन्त्री बन्‍ने आधार नछोऊँ
केपी ओली जे गरे पनि सत्ता नछोड्ने । वामदेव गोतम जे गरेर भए पनि सत्ताको नेतृत्व नगरी नगई नछोड्ने या प्रधानमन्त्री नभई नछोड्ने । प्रधानमन्त्रीको कुर्सी भने एउटामात्र । प्रचलित संविधानअनुसार प्रधानमन्त्री हुन प्रतिनिधिसभा सदस्य हुनु अनिवार्य छ । संविधानको यो प्रावधान फेर्न सङ्घीय संसद्मा दुईतृत्तीयांश मत चाहिने । आजको सङ्घीय संसद्को स्वरुप हेर्दा केपी र वामदेव बाझ्दा द्वितृत्तीयांश मतबाट त्यस्तो संशोधनसम्म पनि देखिँदैन । वामदेव वा दक्षिणका देव कसैलाई प्रधानमन्त्री बनाउने नाममा प्रत्यक्ष निर्वाचित सांसदमात्र प्रधानमन्त्री बन्‍न पाउने संविधानको प्रावधान बदलिनु कदापि हुँदैन । एकपल्ट त्यसैगरी दुई दुई निर्वाचन क्षेत्रबाट जनताले नपत्याएका माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर के लछारपाटो ल्याए उनले । यसकारण पनि लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति नै प्रधानमन्त्री बन्‍न सक्ने दफा तल–माथि गर्न पाइँदैन । यो प्रावधान राजनीतिक ठट्टा गर्न राखिएको होइन । संविधानको अन्तरात्मक यो धुकधुकीको अपमान नगरौँ । कुनै व्यक्तिको आत्मतुष्टिको लागि वा कुनै व्यक्ति उमेर पाक्व भएको कारण अर्कोपल्ट प्रधानमन्त्री हुन भ्याउँदैन भन्‍नेजस्ता तर्कका कारण संवैधानिक जनपक्षीय बन्दोबस्तमा  तल–माथि गर्ने सोच छोडिहालौँ ।
नेताद्वयको प्रेमालाप ?
गएको शनिबार प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच नराम्रो बाझाबाज भएछ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा । गौतमले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट पनि राजीनामा गर्नोस् र बालकोटको घरमा आराम गरेर बस्नोस् भन्‍ने सल्लाह दिनुभएछ । साँच्चै कति प्रेम गर्‍या ! कति माया गर्‍या ओलीलाई गौतमले । लामो समयदेखिको साथी हो रे वामदेव गौतम र ओली । योभन्दा अघि वामदेवले ओलीलाई सरकारलाई असफल र पार्टीलाई बद्‍नाम बनाएर तपाईँ बसिरहन मिल्दैनसम्म भन्नुभएछ । फेरि भन्नुभएछ, अब हामीलाई धेरै नधम्काउनोस् । यो तपार्इँकै भलाइको लागि राम्रो सुझाव दिएको भनेर फकाउनु पनि भएछ । यो वामदेव गौतम त्यही वामदेव गौतम हो जसलाई एमालेले काठमाडौँको खुलामञ्चमा अनगिन्ती विशाल आमसभामा एमालेले नेपालको सबभन्दा ठूलो भ्रष्टाचारी मन्त्री सार्वजनिक घोषणा गरेको थियो । पार्टीको यावत भारी बोकुञ्जेल ठूलो सदाचारी, मतभेद या राय मिलेन भने ठूलो भ्रष्टाचारी ! हाम्रा मुलुकको सदाचारी र भ्रष्टाचारी ठहर्‍याउने मापदण्ड राय मिल्नु र नमिल्नुमा भरपर्ने । यसकारण राय मिले रथयात्रा गराउने, राय बाँझे सबभन्दा ठूलो भ्रष्टाचारी । यस्तो अभ्यासमा को के ! को के ? को चोखो को बिटुलो छुट्याउनै कठिन ! गएको शनिबारको नेताहरूको भेटघाटमा ओली पनि के कम, वामदेवलाई भन्नु नभन्नु भनेछन् । दुवै नेता प्रख्यात चोथाले, बाझ्ने स्वभावको । ओलीले सोधेछ, मलाई हटाएर कसलाई ल्याउनुहुन्छ र ? गौतमले जवाफ दिएछन्, तपाईँ राजीनामा दिनोस्, पाटीले निर्णय गर्छ । यस्तो प्रेमालाप भएछ शीर्ष नेतृत्वबीच ! यो समाचार नआएको भए हुने, मैले नलेखे पनि हुने ।
बहुमत ओलीको विपक्षमा ! साँच्चै हो ?
सरकारको तर्फबाट बडो हटारमा ल्याइएको दुइटा अध्यादेश पार्टी बाहिर र पार्टी भित्र पनि व्यापक विरोध भएपछि र जुन पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याएको थियो झन् त्यही पार्टी र अर्को पार्टी एकीकरण भएपछि दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश उल्टो भयो । अर्को, संवैधानिक परिषद्को गणपुरक सङ्ख्यासम्बन्धी अध्यादेश पनि सरकारले फिर्ता लिएको समाचार प्रकाशित भइसक्यो । यसलाई अब विवादको आवश्यकता रहेन भनी मुद्दा टुङ्ग्याउन खोजेजस्तो गरेका थिए । ओली पनि कहाँका कम हुन् र ! ओलीले भने रे, मविरूद्ध षड्यन्त्र भइरहेको छ भन्‍ने म सुन्छु । म राजीनामा दिन्‍न । बरू तपाईँहरू अविश्वासको प्रस्ताव ल्याउनोस्, सामना गर्छु । क–कसले मेरोविरूद्ध मतदान गर्छ । तिनको नाम पनि छात्तीमा राख्छु । म अन्तिम घडीसम्म लडिरहन्छु भनी कड्के छन् । नौ सदस्यीय सचिवालयमा ६ सदस्य ओलीसँग असन्तुष्ट छन् रे । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को भूमिका अस्पष्ट छ रे । वामदेवले प्रचण्डलाई साथ दिए भने ईश्वर पोखरेल एक जनामात्र ओलीको पक्षमा देखिएको गणित छ । त्यस्तै स्थायी सदस्यमध्ये १२ जनामात्र ओलीको पक्षमा छन् पनि भनिन्छ । ४४१ केन्द्रीय सदस्यमध्ये ३१० सदस्य असन्तुष्ट छन् भनिन्छ । तर हामीकहाँ को–कहाँ, को–कहाँ मतदानको बेलामात्र थाहा हुन्छ । नेकपा कहाँ पुगेछ । यो स्पष्ट भयो ।
राजनीतिको डीएनए हुन्छ
नेपालमा के भएर हो राजनीतिले बाटो समातेन । एउटा सभामा पूर्वराष्ट्रपति डा. रामवरण यादव भन्दै थिए रे, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा कति नेपाली काङ्ग्रेस हुन् या काङ्ग्रेस नै होइनन् डीएनए परीक्षण गर्नुपर्‍यो । साँच्चै धेरै जनताको प्रश्न हुन्छ, देउवा नेपाली काङ्ग्रेस हुन् होइनन् ? यसको डीएनए परीक्षण हुन्छ, हुन्‍न । तर मान्छेहरूको जिज्ञासा भने छ उनी नेपाली काङ्ग्रेस हुन्, नेपाली काङ्ग्रेस होइनन् भन्‍ने । साँच्चै यदि यो प्रविधि छ भने राजनीतिक पार्टीको या राजनीतिक सिद्धान्तको नेपाल कम्युनिस्ट पार्टीभित्र पनि नेताहरूको डीएनए परीक्षण गर्नुपर्‍यो अन्यथा को–कुन नेता आज कुन पथमा, कुन नेता कुन पक्षमा–विपक्षमा । पद र पैसाले आजका नेताहरूको पक्षपोषण गर्छ । चुनाव खर्चिलो भयो । चुनाव जित्न धेरै पैसा खर्च गर्नुपर्ने भयो । त्यसको लागि पनि पैसा नकमाइ भएन । जब राजनीतिमा पैसा जोडिन आइपुग्छ तब भ्रष्टाचार जोडिन आइपुग्छ । चुनावमा बढी कसले सघायो निर्वाचन जितेपछि जनप्रतिनिधि उसकै मुठीको हुने भयो । यो नेपालको राजनीतिको चुरो कुरो बुझेपछि पैसावालाले राजनीतिक नेतालाई समात्यो । त्यो नेतामार्फत कमाउन थाल्यो । यसकारण आजको राजनीति पैसावालाको पक्षमा गइरहेको छ । गएको साता बडो नाटकीय खेल प्रस्तुत गर्‍यो सरकारले । दुइटा अध्यादेश ल्यायो । एउटा पार्टी फुटाउन अत्यन्त सहज हुने गरी र अर्को आफ्ना मान्छेलाई संवैधानिक पदमा नियुक्ति गर्न । तर, ठूलो विरोध भयो, फिर्ता लियो ।
यस्तैबाट आउने होला यस्तो खर्च
राजनीति ठीक हुन राजनीतिक नेता ठीक हुनुपर्ने । तर, हामीकहाँ राजनीतिक नेता ठीक नहुने । किन हो नेताले नेतृत्व दिन नसक्ने । यो तथ्य हो सत्तामा गएका, जान चाहने र सत्ता नै गन्तव्य भएका पार्टीहरूको । एउटा मन्त्रीलाई के एउटा परियोजनाको उपकरण किन्दा २७ करोड रूपैयाँ दिन एजेन्ट तयार । तर सरोकारवाला मन्त्री २८ करोड माग्ने रे । भने रे २७ करोड दिनेले २८ करोड दिइहाल्छ नि ? कति सजिलो कमाइ । सांसद डा. सुरेन्द्र यादवजस्तालाई अपहरण शैलीमा महोत्तरीबाट ल्याई काठमाडौँकै महँगो होटेल मेरियटमा आठ–आठ कोठा रिजर्भ गर्दाको खर्च र महोत्तरी जाने–आउने गर्दा बाटोमा हुने खर्च यस्तै पैसाबाट हुने होला । त्यो धनराशी सांसद महेश बस्‍नेत र किसान श्रेष्ठ वा पूर्व आईजीपी सर्वेन्द्रनाथ खनालले व्यक्तिगत खर्च गरे होला त ! अनि गोकर्णको  जग्गा, दरबार मार्गको जग्गा कौडीको मूल्यमा भाडामा किन पाउँछन् भन्दा यस्तै काममा सघाउँदा हुन् त्यस्ता पाउनेहरूले । यस्तो यस्तो राजनीतिक ठगीको काममा गोप्य खर्च गर्नेहोला ।  यस्ता घृणित एवं गैरकानुनी काम गर्न करोडौँ रकम आवश्यक पर्ने । त्यस्ता ठूला धनराशी यस्तै पैसाबाट जम्मा हुनेहोला । अब निष्ठाको आस्थाको, दर्शन र सिद्धान्तको राजनीति गर्ने कति उकालो ? यस्तो कुरा प्रचार प्रसार गरी जनतालाई सचेत र सजग बनाउन जरूरी छ ।
यो हो के ? वास्तविकता आउनुपर्‍यो
अपहरण शब्द नै नमीठो । यो डा. सुरेन्द्र यादव काण्ड के हो ? अपहरण नै हो कि राजनीतिक कारण हो ? सांसदद्वय महेश बस्‍नेत र किसान (कृष्णकुमार) श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल किन मौन बस्नुहुन्छ ? यो अर्को रहस्यको पोको भयो । सञ्‍चारमाध्यमबाट यतिका धेरै पोखिइसक्यो । हो के वास्तवमा सार्वजनिक हुन अबेर भयो । तपाईँ सांसदद्वय हामी जनताले तिरेको राज्यकोषबाट पैसा लिनुहुन्छ । तपाईँ खनाल पनि पेन्सनको नाममा राज्यबाट रकम हात पार्नुहुन्छ । तर किन मौन ? हो के ? तपार्इँहरू डा. सुरेन्द्र यादवले भनेझैँ महोत्तरी गएको हो, होइन ? डा. सुरेन्द्रलाई अपहरणको शैलीमा काठमाडौँ उतारेको, होटेलमा राखिएको हो, होइन ? त्यो सार्वजनिक हुनुपरेन ? प्रधानमन्त्री पनि बाक्लोसँग मुछिनुभएको यो घिनलाग्दो मुद्दामा हो, होइन ? किन आउँदैन ? हो भने कति हो, होइन भने नभएको यस्तो काण्डमा मुछेर यति धेरै चर्चा हुनुको स्पष्टीकरण वा खण्डन किन आउँदैन ? यो दिक्दार लाग्दो मौनताप्रति किन चुप ? मलाई निद्रा लागेन भने रात नै नपर्ने हो र ? लौन हो ! हो के सार्वजनिक गरिदिनोस् ता कि यो मुद्दाले सही सही निकास पावस् । यो मुद्दाले यस्तो स्वरूप लिइसक्यो अब ढाकेर ढाकिँदैन, छोपेर छोपिँदैन । नानी जन्मिसक्यो, अब लाज भनेर सुख छैन । किन गर्‍या होला यस्तो नकाम ! तपाईँ जनप्रतिनिधिलाई के यस्तै नकाम गर्न पठाएको हो सदनमा ? लौ न हो यो हो होइन भनिदिनोस् । त्यो काम ठीक लागेर गरेको हो भने त्यस्तै भनोस् । प्रधानमन्त्रीको करमा परेर गर्‍या हो भने पनि त्यसै भन्नोस् । यो नपुंसकता सुहाएन ।  हो के ? किन यस्तो पद र आचरणविपरीत काम गरेको स्पष्ट सार्वजनिक हुनुपर्‍यो । अब घटना लुक्दैन ।
यो उपलब्धिको अन्तर्राष्ट्रीयकरण
अब जाउँ एकपल्ट कोरोना भाइरसतर्फ । अस्ति आइतबारसम्म नेपालले यो महामारीबाट एकजनाको पनि ज्यान गएको छैन । सङ्‍क्रमित ५२ जना, निको भई घर फर्केका १६ जना । कति सुखद् समाचार ! बन्दाबन्दी र नेपाली जनताको सावधानीले होला यस्तो स्थिति भएको । सरकारले फेरि वैशाख २५ सम्म अर्को बन्दाबन्दीको घोषणा गर्‍यो चौथो किस्तामा । विश्व स्वास्थ्य स·ठनले पनि नेपाललाई अति उच्च जोखिमको दर्जाबाट एक तह माथि उचाली उच्च जोखिमको श्रेणीमा राख्नु पनि कम सुखद् क्षण होइन । धुमधामले विकसित मुलुक संरा अमेरिका (उत्तर अ‍ेमेरिका) मा अस्ति आइतबारसम्ममा ५४ हजार भन्दा बढीको मृत्यु भइसक्यो । तर हाम्रो अल्पविकसित मुलुक नेपालमा एकजनाको नोक्सान नहुनु कम सन्तोषको कुरो हो र ? यस्तो कुरा के कारणबाट ? नेपालीहरूको कोरोना सतर्कताबाट, मनोबलबाट, बन्दाबन्दीको आज्ञापालनाबाट वा कोरोना प्रतिरोधी शक्ति पर्याप्त भएकोले हो वा ती सबै पक्षको समष्ठिगत परिणाम के हो खोजी हुनुपर्छ ता कि नेपाल अन्य कैयौँ कुरामा पछि परे पनि जनस्वास्थ्यको फाँटमा उम्दा उत्रिएको । संसारले नेपालबाट एउटा नयाँ पाठ सिक्नसक्छ । यसकारण पनि नेपाल यो मामलामा गम्भीर भएर व्यापकरूपमा अनुसन्धानमूलक कामतिर पनि लागेर नेपालको झन्डा फहर्‍याउनेतर्फ लागौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *