भर्खरै :

किम जङ उनबारे पश्चिमा सञ्‍चारमाध्यमको झूट

            प्रजग कोरियाका नेता किम जङ उनको विषयमा हालैका दिन पश्चिमा सञ्‍चारमाध्यमले गरेका प्रचारबाजीले उनीहरू कति झूटा र पूर्वाग्रही हुन्छन् भन्‍ने कुरा पुष्टि गरेको छ । प्रजग कोरियाबाट भागेका केही मानिसले चलाएको एउटा सञ्‍चारमाध्यमको स्रोत उद्धृत गर्दै अमेरिकी सञ्‍चारमाध्यमहरूले ‘किम जङ उन गम्भीर बिरामी भएको’ समाचार लेखे । केही सञ्‍चारमाध्यमले त अझ अघि बढेर उनको ‘मुटुसम्बन्धी शल्यक्रिया गरिएको’ दाबी गरे । केहीले त ‘किमको निधन भएको हुनसक्ने’ सम्मको समाचार बनाए । अप्रिल १५ अर्थात् कोरियाली क्रान्तिका नेता किम इल सङको जन्म दिवसको अवसरमा आयोजित समारोहमा नेता किम जङ उनको उपस्थिति नदेखिएको आधारमा पश्चिमा सञ्‍चारमाध्यमहरूले यस्तो ‘अनुमानकारिता’ गरेका थिए । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जङ उनबारे आएको समाचारमा सत्यता नभएको भनी बोल्दा पनि अमेरिकी सञ्‍चारमाध्यमले यस्तो ‘अनुमानकारिता’ रोकेनन् । प्रजग कोरियाको छिमेकी देश कोरिया गणतन्त्रको सरकारी स्रोतले समेत पटक–पटक त्यस्ता समाचार गलत भएको र किम स्वस्थ रहेको बताउँदा पनि कोरियाली नेताबारे अतिरञ्‍जनापूर्ण समाचार आउने क्रम रोकिएन । भूउपग्रहबाट खिचिएको तस्वीरको आधारमा नेता किम प्योङयाङ बाहिर रहेको उनीहरूले समाचार प्रसारण गरिरहे । प्योङयाङ बाहिर भएकोले किमको कुनै गम्भीर शल्यक्रिया भएको हुनसक्‍ने उनीहरूको तर्क आफैँमा हास्यास्पद र मूर्खतापूर्ण थियो । एक जना राष्ट्रप्रमुख आफ्नो देशको कुनै क्षेत्रमा गएर बस्‍न बिरामी नै हुनुपर्छ भन्‍ने होइन । प्रजग कोरियाको आधिकारिक स्रोतको आधारमा कोरिया गणतन्त्रको सैनिक स्रोतले नेता किम स्वस्थ रहेको सोमबार पुनः पुष्टि गरेको छ । यो घटनाले पश्चिमा सञ्‍चारमाध्यमको झूटा चरित्र पुनः उजागर गरेको छ ।
            पश्चिमा सञ्‍चारमाध्यमले यसअघि पनि प्रजग कोरियाको विषयमा यस्ता अनेकन झूटको प्रचार गर्दै आएको छ । पश्चिमा सञ्‍चारमाध्यमले प्रचार गरेका त्यस्ता झूटको आधारमा दृष्टिकोण निर्माण गर्ने मानिसहरू आज पनि प्रजग कोरियामाथि अनेकन आक्षेप लगाउने गर्छन् । पश्चिमा प्रजातन्त्रको ध्वंसात्मक चरित्रलाई त्यहाँका सञ्‍चारमाध्यमले पनि बोकेका छन् । त्यसकारण उनीहरूले प्रजग कोरियाको विषयमा पत्रकारिता कम, अनुमानकारिता बढी गर्दै आएका छन् । नेता किम कुनै कारण किम इल सङ जन्म दिवसको समारोहमा सहभागी नबन्नुलाई ‘गम्भीर बिरामीदेखि निधनसम्म’ को प्रचार गर्नु पीत्त पत्रकारितामात्र होइन, पेशागत अनैतिकता पनि हो ।
            पश्चिमा सञ्‍चारमाध्यमले यस्तो खालको झूट र अनैतिकता देखाएको यो पहिलो घटना भने होइन । यसअघि पनि विशेषतः पश्चिमा मूल्यमान्यता, राजनीतिक जालसाजी र हस्तक्षेपको विरोध गर्ने देश र नेतृत्वबारे झूटा र अनावश्यक प्रचार गर्ने काममा उनीहरू पोख्त छन् । वास्तवमा पश्चिमा सञ्‍चारमाध्यमले पश्चिमा राजनीतिक र आर्थिक स्वार्थको लागि अरू देशमाथि हस्तक्षेप र हमला गर्ने पृष्ठभूमि तयार गर्न ठूलो मद्दत गर्दै आएको छ । इराकमाथि हमला गर्न पश्चिमा सञ्‍चारमाध्यमले सद्दाम हुसेनबारे त्यस्तै झूटको प्रचार गरेर सैनिक हमलाको आधार तयार गरिदिएको थियो ।
            स्वस्थ नेतालाई ‘गम्भीर बिरामी’ र ‘निधन भएको हुनसक्ने’ भनी झूटा प्रचार गर्ने पश्चिमा सञ्‍चारमाध्यमले माफी माग्नुपर्छ । त्यस्ता गलत खबर दिने स्रोतलाई सञ्‍चारमाध्यमले कारबाही गर्नुपर्छ । अनि पत्रकारिता पूर्वाग्रह र अनुमानकारिताबाट जोगिन सक्छ । पश्चिमा व्यवस्था प्रजग कोरियालाई पनि अर्को इराक बनाउने मौकाको प्रतीक्षामा छन् । तर, यस्ता पू्र्वाग्रही प्रचारले वास्तवमा पश्चिमा सञ्‍चारमाध्यमको विश्वसनीयमाथि प्रश्न उठेको छ । ती सञ्‍चारमाध्यम झूट बेचेर नै संसारमाथि प्रभुत्व जमाउन उद्यत्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *