भर्खरै :

हेलिकोप्टरमा चढेर जन्मदिन मनाउन जानसक्ने प्रधानमन्त्रीले मजदुरहरूका लागि बसको व्यवस्था किन गर्नसकेनन् ?

कार्ल मार्क्स भन्नुभएको थियो, “संसारमा हरचीज गतिशील छ, जीवन फेरिन्छ, उत्पादन शक्तिहरू बढ्छन्, पुराना सम्बन्धहरू खतम हुन्छन् ।” यो भनाइले यतिबेला यहाँ लेख्‍न सान्दर्भिक होलाजस्तो लाग्यो ।
कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व त्रासको स्थितिमा छ । मानिसको सबैभन्दा प्यारो सम्पत्ति जीवन हो । महामारीको समयमा त्रसित जोकोही हुन्छ । त्यो स्वाभाविक हो । तर, त्रासलाई किनारा लगाउँदै उच्च मनोबल बनाउनु नै महामारीसँगको लडाइँ जित्नु हो ।
दिनप्रतिदिन मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । यो सङ्कटको समय हो । कोभिड–१९ ले महामारी निम्त्याएको छ । यो समयमा सबैले सतर्कता अपनाउनु सबैभन्दा उत्तम उपाय हो । इतिहासको पाना पल्टाउँदा विश्वमा थुप्रै खालका सङ्कट आएको भेटिन्छ । तर, विश्व नै तहसनहस बनाउने सङ्कट निकै कम आएको थियो र आउने गर्छ । कोरोना भाइरस (कोभिड–१९) त्यसभित्रको एउटा अंश हो ।
सन् २०१९ अन्तिममा चीनको हुपेई प्रान्तको उहान सहरमा देखिएको कोरोना भाइरस ( कोभिड–१९) ले विश्व तहसनहस बनाइरहेको छ । विश्व स्वास्थ्य स·ठनले यस भाइरसको नाम २०१९ नोभेल कोरोना भाइरस नामकरण गरेको छ । तर, यो भाइरसको बारेमा अझै पनि विज्ञहरू अन्योलमा परिरहेका छन् । केबाट मानिसमा सर्यो ? कसरी सर्यो ? जस्ता विविध विषयमा विज्ञहरू अन्योलमा परिरहेका छन् । स्वास्थ्यकर्मीहरूले नै भनेका छन्, एक व्यक्तिबाट अर्कोमा कति चाँडो सर्छ भन्‍न सकिँदैन । पछिल्लो ३ महिना यता विश्वका जनताको दैनिकी जीवन अस्तव्यस्त बनेको छ । आफ्नो काममा निरन्तर व्यस्त हुने लाखौँ मानिस बन्दी कोठामा जीवन बिताउन बाध्य छन् । यसको प्रभाव सबैभन्दा बढी दैनिक ज्यालादारी गरेर खाने श्रमजीवी वर्ग र किसानमा परेको छ । ज्यालादारी गरेर आफ्नो दैनिकी जीवन बाँच्ने मानिसहरू यतिबेला मृत्युको अन्तिम समय कुरिरहेका छन् । कोरोना भाइरसका कारण विश्वभर लाखौँ मानिसको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुला हिँड्न सकिरहेका छैनन् । यो स्थिति नेपालको पनि त्यस्तै हो । लकडाउनको कारण १ महिना यता नेपाल बन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य ढोका बन्द गरेर घरभित्र बाध्यताले थुनिएका छन् । तर, विडम्बना ! के छ भने रोजगारीका सिलसिलामा आफ्नो घरभन्दा टाढा रहेका अधिकांश (विशेषगरी ज्यालादारी काम गर्न जानुभएका) मानिसहरू अलपत्र परिरहेका छन् । यसमा सरकारको ध्यान दिएको देखिँदैन । आफ्ना नागरिक अलपत्र पर्दा किन निदाइरहेको छ सरकार ? जनताको मतबाट विजय भएका जनप्रतिनिधिहरू यतिबेला कुन दुलोमा लुकेका छन् ? सङ्कटको समयमा जनप्रतिनिधिको काम के  ?
देशमा लकडाउन भइरहेको छ भनेर जनप्रतिनिधिहरू निदाइरहनु कतिको उचित हो ? जनता भोकै मरिने हो कि भन्‍ने डरले नेपालका विभिन्‍न ठाउँबाट मानिसहरू सुरक्षित स्थान खोज्दै रातारात हजारौँ किलोमिटर टाढा पैदलयात्रामा हिँड्ने गरेका छन् । उनीहरूका लागि रात पनि दिन बन्‍ने गरेको छ । उनीहरूको भोक, प्यास, थकानको कुरा गरी साध्य छैन । यतिबेला रोगभन्दा भोकमा तड्पिरहेका छन् । आफ्ना जनता भोकले तड्पिरहँदा जनप्रतिनिधि भने आराम गरिरहेका छन् ।
यो सङ्कटको घडीमा जनप्रतिनिधिको काम आराम गर्ने पक्कै होइन । जनप्रतिनिधिको काम सबैभन्दा बढी यस्तै महामारी फैलिँदा बढी हुने गर्छ । जनप्रतिनिधि जनताको सेवाको निम्ति हो । सरकारले बन्दाबन्दी गरेको छ । यो समयको माग हो । तर, जनप्रतिनिधिलगायत राज्य सञ्‍चालन गर्ने तहमा बसेकाहरूले हेरेर बस्‍ने समय पक्कै होइन । सर्वसाधारण जनता लकडाउनमा रहेका बेला जनप्रतिनिधिको भूमिका नै ‘लकडाउन’ मा हुनुलाई स्वाभाविक मान्‍न सकिएला । तर, यो सङ्कटको घडीमा जनप्रतिनिधिहरू कुनै न कुनै रूपमा सक्रिय रहनुपथ्र्यो, कुनै न कुनै भूमिकामा रहनुपर्थ्यो । आफ्ना जनता भोकभोकै हजारौँ किलोमिटर टाढा पैदलयात्र गरिरहँदा जनप्रतिनिधिले किन देखेनन् ? नेपालको मेचीदेखि महाकालीसम्मका मुख्यमुख्य सडकमा लस्करै लागेर पिँठ्युमा बच्चा बोक्दै हिँडिरहेका दृश्य सामाजिक सञ्जालमा देख्दा मनमात्रै दुख्दैन आँखाबाट आँसु नै झर्छन् । के जनप्रतिनिधिहरूको मन दुख्दैन र ? यदि दुख्छ भने आफ्ना जनताको लागि किन केही व्यवस्था गर्न सकिरहेका छैनन् ? सामाजिक सञ्जालमा देखिने ती दृश्य त उदारहणमात्रै हुन् । मन नै बहकिने हजारौँ दृश्य त देख्नै बाँकी छन् ।
चुनाव हुने बेला गाडीका गाडी लिएर लिन जाने जनप्रतिनिधिहरू अहिले के गर्दै छन् ? तिमीहरूलाई भोटमात्रै चाहिने रै’छ है ? जनताको ज्यानको कुनै माया छैन । हुन त पैसाले भोट किन्‍नेहरू जनताप्रति के नै सरोकार राख्थे होला र ?
कोभिड–१९ को कारणले गर्दा, नेपाल र भारतको सिमानामा हजारौँको सङ्ख्यामा नेपालीहरू लकडाउनमा परेका छन् । महाकाली नदीपारिबाट आफ्नो देशलाई टुलुटुलु हेरिरहेका छन् । यता सरकार आराम गरिरहेको छ ।
खै सरकारले उद्धार गरेको ? खै जनप्रतिनिधिहरूको ध्यान गएको ? के ती नेपाली नागरिक होइनन् ? लकडाउन गरेको छ भन्दैमा आफ्ना नागरिक विचलित हुँदा पनि उद्धार गर्न नमिल्ने त होइन होला नि ? लकडाउनको अर्थ जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बस्नुहोला भन्‍ने हो । तर, नागरिक अलपत्र पर्दा उद्धार गर्न नमिल्ने त होइन होला नि ? कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा सङ्कट निम्त्याएको चार महिना भइसकेको छ । तर, नेपालमा यसको प्रभाव परेको एक महिना अलि बढीमात्रै भयो । तीन महिनादेखि सरकारले के हेरेर बस्यो ? नागरिकलाई समयमै सूचना सम्प्रेषण गर्नुपर्दैन ? सरकारले लकडाउन गर्नुभन्दा अगावै नागरिकलाई गन्तव्य (आफ्नु घर जाने) बन्दोबस्त गर्नुपर्ने होइन र ?
नेपालको संविधानको मौलिक हकको धारा १६ (१) मा लेखिएको छ – प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्‍न पाउने अधिकार हुनेछ । भोकभोकै हजारौँ किलोमिटर पैदलयात्रा गर्नु सम्मानपूर्वक बाँच्‍न पाउनु नै अधिकार होला र सरकार ? जन्मदिनमा हेलिकोप्टरमा केक बोकेर आफ्नो जन्मभूमि जानसक्ने प्रधानमन्त्रीले ?
यो सङ्कटको बेला स्वास्थ्यकर्मीको टोली बनाई व्यवस्थित स्वास्थ्य परीक्षणसहित आफ्ना नागरिकलाई गाडीको व्यवस्था गरेर गन्तव्यमा पुर्‍याउन किन सकेनन् ? जन्मदिनमा पन्ध्र (१५) किलोको केक काटेर खुवाउनसक्ने प्रधानमन्त्रीले मजदुरहरू भोकले छटपटिरहँदा दुई किलो चामल किन दिन सकेनन् ?
अझ चुनावको बेला त प्रधानमन्त्रीले यस्तो भन्‍न पनि भ्याएका थिए, “सुतेको ठाउँमै खाना आउँछ, रेलमा आनन्दैसँग निदाएर यात्रा गर्न पाउनुहुनेछ ।” आहा ! कस्तो आनन्दैसँग यात्रा गराउनुभएको है प्रधानमन्त्रीज्यू ? साँच्चै हाम्रा प्रधानमन्त्री हास्य कलाकार नै हुन् ?
अझ लाजमर्दो कुरो के छ भने विश्व कोभिड–१९ ले थलिएको बेला हाम्रा प्रधानमन्त्री हास्यव्यङ्य गर्दै हुनुहुन्छ । एक हप्ताअगाडिको कुरा हो, प्रधानमन्त्रीले कोभिड–१९ सम्बन्धी बोल्नुभएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा प्रधानमन्त्रीले बोल्नुभएको शब्दले राष्ट्रको शिर नै झुकेको भान भएको छ मलाई । त्यो पनि आफैँ डाक्टर नै भएजस्तो गरी भाइरस निर्जीव वस्तु हुन्छ रे । भाइरस न त निर्जीव हुन्छ न त सजीव । भाइरसले दुवै गुण देखाउने गर्दछ । यसको सत्य के हो सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रतिक्रिया दिने नै छन् । यस्ता झूटा सूचना सम्प्रेषण गर्ने प्रधानमन्त्रीबाट देश समृद्ध गर्नेको के आशा गर्न सकिएला र ?
त्यस्तै लकडाउनको समयमा बिहान नन भेज र बेलुका भेज खाना खाएर घर परिवारसँग दैनिकी बिताइरहेका नेकपाका अध्यक्ष प्रचण्डज्यूलाई भोका हजारौँ मजदुरबारे चिन्ता हुने त कुरै भएन ।
सरकारको काम गराइको शैलीले कोभिड–१९ को महामारीले नेपाली जनताको जनजीवनमा उथलपुथल ल्याउने देखिन्छ । त्यसैले तपाईँ हामी जहाँ छौँ, जे जति गर्न सकिन्छ, एकजुट भएर यो महामारीविरुद्व लड्नुबाहेक अरु विकल्प छैन ।
सरकारले आफूले गरेका केही कमी कमजोरीलाई सहजरूपमा स्वीकार गर्दै प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर ठाउँठाउँमा अलपत्र परेका मजदुरहरूलाई समयमै गन्तव्य पुर्‍याउनेतिर ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *