भर्खरै :

लकडाउनमा चैते… का कुरा

            कोरोना सङ्‍क्रमणको त्रासमा सरकारले लकडाउनको अवधि थपेको थप्यै छ । सुरुका दिनमा त प्रायः सबैलाई रमाइलो लाग्दो हो । लामो समयदेखि परिवारसँग समय बिताउन नपाएका, जागीर वा पेशाको खटनपटनले आराम लिन नपाएका, परीक्षाको तनावमा बसेका, सबैलाई केही दिन पक्‍कै राहत मिलेको मान्नुपर्छ । तर, महिना दिनसम्मको घर बसाइ र एकोहोरो दैनिकीबाट बिस्तारै वाक्‍कदिक्‍क लाग्न थालेको सबैमा अनुभव भइरहेको छ ।
            यतिबेला धेरै युवाहरूका लागि समय बिताउने सजिलो साथी फेसबुक, ट्वीटर, युट्युव, म्यासेन्जर, जुमलगायत सामाजिक सञ्जालहरू भइरहेका छन् । यस्तैमा पछिल्लो समय फेसबुकमा केही चिरपरिचित साथीहरूले स्टाटस राखेको देखेर ताजुब लाग्छ । केही स्टाटस यस्ता छन् : “लकडाउनको समयमा ७७ जिल्लामा कसैलाई समस्या भए मेरो नम्बर … … … मा सम्पर्क राख्नुहोला ।” “राहत सामग्री चाहिएमा मलाई सम्पर्क गर्नुहोला, कोठामै पुर्‍याउँछु ।” “घर जान कसैलाई अप्ठेरो छ ? मलाई सम्पर्क गर्नुहोला, तु. गाडीको व्यवस्था गरिदिन्छु ।”
            स्टाटस पढ्दा ती साथीहरूको हातमा ‘जाडुको छडी’ छ कि भन्ने भान हुन्छ, तिनीहरूले ‘तथास्तु’ भनेपछि सबैका माग पूरा हुने पो हो कि भन्ने लाग्छ । समाजसेवा गर्ने तिनीहरूका उत्कट चाहना, परोपकारी भावना र त्यागी दृष्टिकोणप्रति सलाम ठोकौँजस्तो पनि लाग्छ । तर, सबैका विगत पल्टाउने हो भने उपरोक्त स्टाटसको न छेउसँग मेल खान्छ न टुप्पोसँग नै सम्बन्ध देखिन्छ ।
            एउटा ‘परोपकारी साथी’ को विगत कोट्याउन चाहेँ । स्कूलमा सँगै कलम समाएर सँगै कखरा सिकेको र कक्षा ११-१२ सम्म पनि सँगै पढेको भएर उसको सबै आन्द्राभुँडी नै थाहा छ । फूलबुट्टा भरेर कुरा गर्न उसलाई कसैले सिकाउनुपर्दैन । उसको वाक्पटुताको परीक्षण पटक–पटक हुन्थ्यो । कक्षा समयमा हनुमन्ते खोलामा नुहाइरहेको शिक्षकले देखेर सँगै गएका सबै साथीहरूले सिस्नोपानी खाने तर ऊ भने हाँसी हाँसी शिक्षकसँगै बात मारी आउने । परीक्षाको समयमा सिनेमा हलमा फिलिम हेरिरहेको बेला अभिभावकले समाएर ल्याउँदासमेत उसको कान निमोठ्न कसैले जरुरी नठान्ने । कक्षा कोठामा शिक्षिकाले पढाइरहँदा उहाँको हातेझोलाबाट १० रूपैयाँ निकालेको सबै साथीहरूले देखेर शिक्षिकालाई उजुरी गर्दासमेत उल्टै खाजा खर्च भनेर उनै शिक्षिकाबाट थप २० रूपैयाँ बक्सिस पाउने ।
            त्यही साथी केही वर्षअघि जेलमा परेको खबर सुनेँ । कसुर बुझ्दा थाहा लाग्यो, आफु प्रबन्धक रहेको एउटा सहकारी संस्थाका सञ्चालकहरूलाई शब्दजालमा फसाएर संस्थाको करोडौँ रकम हिनामिना गरेको, सर्वसाधारण बचतकर्ताहरूले जम्मा गरेको रकम क्यासिनोमा डुबाएको ।
            साथी त नराम्रै केसमा फसेछ भन्ने लागेको थियो, ६ महिना नबित्दै बजारमा देखिन थाल्यो बा ! छोरालाई जेलबाट रिहा गर्नको लागि बुबाले घरखेत धितो राखी रकम निकालेको भन्ने बुझियो । उनै साथीले अहिले फेसबुकमा ७७ वटै जिल्लाका कसैलाई समस्या परे समाधान गर्न आफु हाजिर हुने स्टाटस राखेर ‘माक फुइँ’ (बाँदरे फूर्ति) देखाएको अनुभव भयो ।
            राहतको खाँचो भए आफुले पुर्‍याइदिने वाचा गरेका साथीको विगत पनि मैले जानेजति कोट्याउन चाहेँ । नजिकैको गाउँको साथी, पढाइमा अब्बलै मान्नुपर्छ । एउटा फाइनान्स कम्पनीमा ऋण शाखा प्रमुख भई काम गर्थ्यो, एउटा क्याम्पसमा आंशिक प्राध्यापन पनि गर्थ्यो ।
            केही समयअघि नक्‍कली पुर्जा धितो राखेर फाइनान्स कम्पनीबाट करोडौँ ऋण स्वीकृत गरेको आरोपमा उसबाट कम्पनीले क्षतिपूर्ति तिराएको र नोकरीबाट निकालेको नमीठो समाचार सुनेको थिएँ । घटनाबारे उसैसँग बुझ्दा गल्ती स्वीकारेको पनि देखियो । इज्जतमा दाग लागेकोले विद्यार्थीहरूसामु उभिने आँट पनि गर्न सकेको थिएन । त्यही साथीले एकाएक ‘राहतदाता’ भएको फेसबुकमा स्टाटस लेख्दा अचम्म लाग्यो ।
            हुन त दुवै साथीलाई फसाउने गिरोह एउटै हो । सत्ता र शक्तिको दुरूपयोग गरी अपराध चोख्याउने गिरोह पनि त्यही नै हो । आफुलाई सङ्कटबाट जोगाउने र पुनर्जीवन दिने भन्दै ती साथीहरू त्यही गिरोहको पछि लागेर लकडाउनका बेला समस्यामा परेका सबैलाई उद्धार गर्ने ठेक्का लिन खोज्दै छन् । अपराधलाई राजनीतिको आवरण दिएर डनगिरी गर्नेहरूका पछाडि लागेर समाजसेवी बन्न खोज्ने साथीहरूका परोपकारी भावना चैतको हावाहुरीजस्तै मात्र हो कि भन्ने लाग्छ । चैतको हावाहुरी आउने बेला निकै शक्तिशाली र भयानक भएर आउँछ, घरै उडाउला र बासै उठाउलाझैँ गरी आउँछ तर क्षणभरमै बिलाउँछ । फेसबुकको स्टाटसमा उदार मन देखाउने साथीहरूको समाजसेवी भावना पनि कहीँ चैते हावाहुरीमात्र त होइन ?
            ६२-६३ को जनआन्दोलनपछि २०६४ को निर्वाचन अवधिसम्ममा यस्ता चैते हावाहुरी लागेका साथीहरू प्रशस्तै देख्न पाइन्थ्यो । तत्कालीन विद्रोहीहरू जङ्गलबाट हतियारसहित भर्खरै सहर पसेका थिए । कसैको खराब ऋण उठाउन सकिरहेको छैन भने वा कसैलाई कामबापत उचित ज्याला दिइएन भने वा दाजुभाइबीच सम्पति बाँडफाटमा कुरो मिलेन भने हामी सारा समस्या चुट्की बजाएर समाधान गरिदिन्छौं भन्नेहरू देखिएका थिए । आप्mनो व्यक्तिगत स्वार्थपूर्तिका लागि दल बदल गरी जङ्गलबाट सहर छिरेकाहरूको शरणमा गएका अवसरवादीहरूले यस्तै चैते फूर्ति लाउँथे । चुनावताका सर्वसाधारण जनतालाई तिनका चैते हावाहुरी थेग्न धौ–धौ भएको थियो ।
            चुनाव सकिएको वर्षदिन बित्न पाएको थिएन, भित्ते राष्ट्रपति भित्तामै अड्कियो, चैतेहरूको फुर्ति माटोमा हरायो । टोलमा बस्न नसकेर कोही अमेरिका हानिए, कोही खाडीतिर भासिए । यही भएकाहरू पनि कोठाबाट निस्कने आँट गरेनन् ।
            फेसबुक स्टाटसमा दानी र समाजसेवीको परिचय दिन खोज्ने प्रिय साथीहरूमा आग्रह छ, ‘तिमीहरू जसको बुइँ चढेर चैते फुर्ति गरिरहेका छौँ, त्यही गिरोहले हिजो तिमीहरूलाई खाल्डोमा जाकेको थियो । कुनबेला अझै गहिरो समुद्रमा फाल्ने हो थाहा छैन । भर्खरै खबर आएको छ, त्यो गिरोह त आफैँ सांसद अपहरण काण्डमा नराम्रोसँग फसेको छ अरे । आफैँ त महादेव उत्तानो पर, कसले देला भर !’

One response to “लकडाउनमा चैते… का कुरा”

  1. Saroj B.k. says:

    निकै सार प्रासंगिक कुरा।बिश्वास छ यति हुदां पनि उसैको पुच्छरमा घुम्ने माखा धपाउदै भक्तीगान गाउन छोड्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *