युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
चाकरीले सीमा नाघेको छ । यद्यपि चाकर हुन कम गार्हो छैन । भक्तिमार्गको अर्को नमुना पेश गर्दै छन् २१ औँ शताब्दीका जङ्गबहादुरहरूले । आजभन्दा पुग नपुग २०० वर्षअघि सनकी राजकुमार सुरेन्द्रविक्रम शाहले आफ्नो सनक देखाउँदै जङ्गबहादुरलाई त्रिशुली नदीमा घोडासँगै हाम फाल्न हुकुम दिन्थे । अनि मालिकको हुकुम भुइँमा खस्न नपाउँदै चाकरले पूरा गर्थे चाहे त्यो ठीक होस् या गलत । यसरी नै चाकर भविष्यमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मालिकको सामु अनेक दुस्साहस गरिरहन्थे । यसैमा चाकर गर्व गरेर ठूलो स्वरमा भन्थे, “म मालिकको निम्ति ज्यान अर्पण गर्न हिचकिचाउँदिन ।” ताकि यो आवाज मालिकको कानसम्म पुगोस् र फेरि भविष्यमा आफ्नो स्वार्थसिद्ध होस् ।
सनकी आधुनिक सुरेन्द्रविक्रम शाहको हुकुममा जस्तोसुकै दुस्साहस गर्ने जङ्गबहादुरले काम फत्ते गरे । जनताबाट यस्तो कुकृत्यको घोर विरोध भएपछि मालिकको हुकुम भए ‘धरहराबाट हाम फाल्न पनि तयार भएको’ चाकर हुनुको उत्कृष्ट उदाहरण प्रस्तुत गरे ।
कोरोनाको महामारीले विश्व आजित भइरहेको यो अवस्थामा सम्पूर्ण जनताको स्वास्थ्यको ख्याल गरेर सदियौँदेखि मानिआएको चाड विस्का जात्रासमेतलाई त्यागे । भक्तपुरका जनताले । कति जनता आफ्नो गाउँ ठाउँसमेत नगएर डेराको सानो कोठामा थुनिएर बसे भने अर्कोतिर सरकारले एक हुल जङ्गबहादुरहरूलाई बालुवाटारबाट रातारात तराई पुगेर सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याए । सनकी आधुनिक सुरेन्द्रविक्रम शाहको हुकुममा जस्तोसुकै दुस्साहस गर्ने जङ्गबहादुरले काम फत्ते गरे । जनताबाट यस्तो कुकृत्यको घोर विरोध भएपछि मालिकको हुकुम भए ‘धरहराबाट हाम फाल्न पनि तयार भएको’ चाकर हुनुको उत्कृष्ट उदाहरण प्रस्तुत गरे ।
‘हात्तीको दाँत देखाउने र खाने फरक – फरक हुन्छ’ भनेजस्तै जनताको समृद्धिको गफ गर्दै कहिल्यै नथाक्नेहरूको व्यवहार फरक हुन्छ । काम चाहिँ दलाल भएर ठेकेदार, भ्रष्ट कर्मचारी र व्यापारीहरूको गर्ने कुरा चाहिँ गरिब जनताको समृद्धि । विकासका काम सबै ठप्प पार्दै देशको सम्पत्ति लुट्ने ठेकेदारसँग कारबाहीबाट बचाइ दिने भन्दै साठगाँठ गर्दै आफ्नो कमिसनको भाग हात पार्ने कामलाई राजनीतिका खेलाडी भनेर गर्व गर्ने । एयरपोर्टबाट सुन तस्करी गर्नेबाट पार्टीको नाममा चन्दास्वरूप फिरौटी माग्नेलाई नै राजनीतिक खेलाडी भनेर हुङ्कार छोड्ने । गुण्डा लगाएर सांसद अपहरण गरी सरकार जोगाउन कुकृत्य गर्नेलाई राजनीतिक खेलाडी भन्ने । त्यसैले यी आधुनिक जङ्गबहादुर भनेका माफिया, गुण्डा र तस्करहरूका नाइके हुन् भन्दा फरक पर्दैन ।
सामाजिक सञ्जालमा एउटा वाक्य पोष्ट गरेको आधारमा जेलमा हाल्नसक्ने शासकको हैसियत भनेको राणाकालमा हुकुमी शासनसँग मेल खान्छ । शासकलाई चित बुझेन भने सीधै झ्यालखाना हाल्नसक्ने भनेको जङ्गे शासनमा हुन्छ न कि प्रजातन्त्रमा । मन्त्रीलाई सम्पत्तिबारे प्रश्न सोध्यो भनेर एकजना टिभी पत्रकारको जागिर खाइदियो । एकजना गायकले ‘लुट्न सके लुट कान्छा’ भन्दै गीत गाउँदा ज्यानको धम्की दिने यस्तै जङ्गेहरू हुन् । पर्यटन मन्त्रीले जहाज अड्काएर सबै यात्रुलाई विलम्ब गराएकोमा एक पत्रकारले प्रतिवाद गर्दा यस्तै जङ्गेहरूले चितवनमा भौतिक कारबाही नै गरे । एकजना पूर्वसचिवले देशमा भइरहेका अनियमितताबारे सामाजिक सञ्जालमा पोस्ट गर्दा प्रहरी हिरासतमै राखियो । निरङ्कुशताले सीमा नाघेकै हो ।
त्यतिबेलाको गणेशमान सिंह याद आउँछ जसले ‘ट्वाइलेटमा १ घण्टा बस्नुपर्छ म सक्दिन, कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्री बनाउनु’ भनेर राजालाई भनेका थिए । तर, अहिले ट्वाइलेटसम्म आफै जान नसके पनि जङ्गेहरूलाई वरिपरि राखेर सरकार चलाउन थोरैमात्र पनि लाज शरम बाँकी राखेन, आधुनिक सुरेन्द्र विक्रमलाई ।
हिजो संविधानभन्दा माथि रहेको राजाको घोर विरोध गरेर सत्तामा आएका मान्छे आज संविधान र कानुन मान्न नपर्ने नयाँ राजा भएका छन् । जन्मोत्सव मनाउन सार्वजनिक बिदा दिँदै राजा नै भएको महसुस गरे । वास्तवमा गणतान्त्रिक प्रधानमन्त्रीको जन्मदिन मनाउन सार्वजनिक बिदा दिनु सामन्ती चिन्तनको उपज हो । यो चाकडीवाजको भद्दा नमुना हो । तलुवा चाट्नेले पनि कम्मरमा लाउने बेल्ट घाँटीमा लगाएर आफ्नो हैसियत प्रमाणित गरे । अझ देशको उच्च पदमा आसीन व्यक्ति नै पराइ संस्कृतिको प्रवर्द्धकजस्तै आयातीत संस्कृतिमा रमाउन थालेपछि आम मान्छेले चाहिँ के सिक्लान् ? अरूको लागि केक काट्नु सामान्य भए पनि ‘राइनो होइन गैँडा भन्नुपर्छ’ भन्ने मान्छेको लागि केक काट्नु दोहोरो चरित्र हो ।
महाविपत्तिमा पनि राज्यको ढुकुटी लुट्ने शासकलाई जयजयकार गर्ने जङ्गेहरूले अरूलाई अपराधी भन्न सुहाउँछ ? गुण्डा र प्रहरीको न्यानो सम्बन्ध भएको हाम्रो देशमा अपराधीले अन्यायको विरोध गर्ने जनतालाई जेल हाल्ने धम्की दिन्छ । बुढी मरेकोभन्दा काल पल्केकोमा चिन्ता । यिनीहरू यसरी नै गुण्डा र अपराधीको सहयोगमा राज्य सत्ता हातमा लिनसक्ने ठानिसकेका छन्, यिनीहरूलाई जनताको मतलब भएन । नाकाबन्दीमा अग्लिएको राष्ट्रवादी कदले अवकाश प्राप्त सरकारी कर्मचारीले पेन्सन खाएजस्तै नाजायज, भ्रष्टाचारीलाई उन्मुक्ति दिइनेजस्ता काम पनि जनताले सहेर बस्नुपर्ने भयो !
समयले पनि कस्तो संयोग मिलाइदिएको ? हिजो आफू सरकार बाहिर हुँदा सरकारलाई अनेक शब्द प्रयोग गरी धारे हातले सराप्नेले अहिले आफू सरकारमा हुँदा कसैबाट आलोचना सुन्न नसक्नु भनेको ‘राणाकालमा राजनीतिलाई कि टपरीमुनिको बास कि हस्तिनापुरको राज’ भनेजस्तै हो । जतिबेला राजनीतिज्ञ भनेका कि भगुवा हुन्छ कि शासक हुन्छ । ‘मीर खोटा त जमातै खोटा’ भनेजस्तै विशिष्ट व्यक्तिले नै सबैभन्दा निम्छरो र घटिया शब्द यति तल्लो स्तरमा झरेर प्रयोग गर्दा नेपालको वर्तमान समयको राजनीतिक वृत्तमा थुप्रै नेताहरूबीच असभ्य भाषा प्रयोग गर्न एकखालको प्रतिस्पर्धा नै चलिरहेको छर्लङ्गहुन्छ ।
कोरोना महामारीको यो विषम परिस्थितिमा कोरोनाको असरलाई न्यूनीकरण गर्न यतिखेर बालुवाटारमा नेताहरू बैठक बसेर किसान, मजदुरको समस्या समाधान गर्ने, सिमानामा अलपत्र नागरिकको व्यवस्थापन गर्ने, बन्द भएका उद्योग सञ्चालन गर्ने, पर्यटन व्यवसाय उकास्ने, कृषि क्रान्ति गर्ने, भ्रष्टाचार रोक्ने, वैदेशिक रोजगारीबाट फर्केर आएका लाखौँ युवालाई रोजगारी दिनेजस्ता महत्वपूर्ण कुरामा छलफल हुनुपर्ने हो, दुर्भाग्य केवल आफ्नै लागि पद र कुर्सीको भागबण्डाबारे बहस भइरहेको होला । सुरेन्द्रविक्रम शाह र जङ्गबहादुर हुन चाहनेहरूमा चेत आओस्, अहङ्कार र घमण्डले मै हुँ भन्ने बादशाहहरूले जनताको सामु घुँडा टेकेको इतिहास साक्षी छ ।
Leave a Reply