भर्खरै :

ए बाबै ! कति ढाक्ने हो र सबै उदाङ्गिदा पनि

            सामाजिक सञ्जालहरूमा कतिपय साथीहरूले विकास हिजोभन्दा आज निकै छलाङ मारेको छ भनेर सरकारलाई ग्वाम्मै ढाकेका छन् । ए बाबै ! विकास त पञ्चायतमा पनि त भॉथ्यो । यति त बुझ्दिनुपर्‍यो के । समयअनुसार विकासले गति नलिए त समय परिवर्तनको कुनै अर्थ हुँदैन नि । तर, पुँजीवादी दल र सो दलको विचार सिद्धान्तअनुसारको व्यवस्थामा हुने लक्षणलाई नै निरन्तरता दिने हो भने केको लागि कम्युनिस्ट नाम जबरजस्ती राख्नुपर्‍यो ? कि ३ काले मगर भने नि ३ मगर काले भने पनि उस्तै हो भनेर जनतालाई झुक्याउने भित्री कुरो हो हँ ?
            विरोधका लागि विरोध गर्न सरकारले गरेको राम्रो कामको प्रचार गर्न चाहनन् भनेर पनि सरकारलाई जोगाउन खोज्छन् । ए बाबै ! संसारमा समाजवाद र पुँजीवाद यी दुवैको सङ्घर्ष छ । पुँजीवाद र पुँजीवादी व्यवस्थाको वकालत नेपालमा काङ्ग्रेस, राप्रपा, जनता समाजवादीलगायतका दलहरूले गर्छन् । भारतमा भाजपालगायतका शासक दलले र अमेरिकामा ट्रम्प, बुस, बराकलगायत नेतृत्व र समर्थित दलजस्ता डेमोक्रेटिक पार्टीले गर्दै आएका छन् । अहिले विश्वमा पुँजीवादी व्यवस्थाको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरेको छ भने नेपालमा समाजवादी सिद्धान्त बोकेको वकालत अहिलेको ‘डबल’ नेकपाले गरेको दाबी गरेको छ । तर, कम्युनिस्ट सिद्धान्तका मार्गनिर्देशक सिद्धान्त के हो ? कम्युनिस्टहरूको लक्ष्य र दृष्टि केमा हुन्छ भन्ने कुरा र कम्युनिस्टहरूले नेतृत्व गरेको शासनसत्ता कस्तो हुन्छ र त्यसले जनतासँग के सम्बन्ध राख्छ भन्ने हेक्का छैन भने विकासको भजन गाउँदै बजार तताउनेहरू नक्कली कम्युनिस्टसिवाय अरु केही होइन भन्ने कुरा बुझ्नुपर्छ कि ?
            आफूलाई कम्युनिस्ट भन्ने अनि चीन, प्रजग कोरिया, क्युवा, भेनेजुएलामा भएको समाजवादी चरित्रको शासनसत्तालाई निरङ्कुश र तानाशाह भनेर वकालत गर्दै हिँड्छन् भने के अब ट्रम्प पनि कम्युनिस्ट हो ? भारतको मोदी पनि कम्युनिस्ट हो ?
            ‘डबल’ नेकपाका दिग्गज कामरेडहरूले त विश्वमा चीनपछि कम्युनिस्ट सरकारको नेतृत्व गरेको प्रजग कोरियाको खोइरो खन्न निपुणता हासिल गरेका छन् । ‘उत्तर कोरियामा निरङ्कुशता छ’, ‘त्यहाँ मानव अधिकार छैन’, ‘जबरजस्ती त्यहाँका नेताहरूको पूजा र भक्तिगान गर्न लाउँछन्’ भनेर सत्तोसराप गर्छन् । यसबाट उठ्ने प्रश्न उनीहरूले कतै साम्राज्यवादी अमेरिका, विस्तारवादी भारतका शासकहरूबाटै भरण पोषण त गरिएका त छैनन् ?
            आफूलाई कम्युनिस्ट भन्नेहरूले कम्युनिस्ट सिद्धान्त अन्तर्राष्ट्रवादी हुन्छ, नेताको होइन नेतृत्वले देश र जनताको लागि लिएको विचार अङ्गीकार गर्न अनिवार्य गराइन्छ, नेता र व्यक्तिको होइन पार्टीको राजनैतिक सिद्धान्तको अनुसरण गर्न अनिवार्य गराइन्छ भन्ने हेक्का छैन ? किन त्यहाँको नेतृत्वलाई सम्मान गरिन्छ भन्ने आत्म समीक्षा गर्ने हिम्मत राख्दैनन् ? किनभने हाम्रो देशका आफूलाई खाँती कम्युनिस्ट भन्न मन पराउनेहरू पार्टीको राजनैतिक सिद्धान्त, जनताको भावना र मर्मलाई भन्दा पद पैसा सत्ता, कमिसन भ्रष्टाचार, गुटबन्दी र दादागिरीमा आत्मनिर्भर भई बाँचेका र बाँच्दै आएका हुनाले उनीहरूलाई जनताले गाली र सत्तोसराप गरेका हुन्छन् ।
            तर, चीन, क्युवा र प्रजग कोरियामा त्यहाँको नेतृत्वलाई सम्मान र आदर गरेको र मातृभूमिप्रतिको उच्च सम्मान देखेर त्यतातिर बरोबर भात खान पल्किएका नेकपाका नेताहरू लज्जित भई मुसो बनेर नेपाल फर्किन्छन् । अनि सञ्चारमाध्यमका अगाडि केही त बोल्नै पर्‍यो । त्यसपछि अनुहारमा हिनताबोध देखाउँदै लाज छोपेर त्यहाँ मानव अधिकार छैन, तानाशाही र निरङ्कुशता छ भनेर केही बेर उदाउँछन् । किनभने चीन, प्रजग कोरिया र क्युवालगायत समाजवादी देशहरूको बयान गरे यहाँका सञ्चारमाध्यमले मुखमा बुजो लाग्ने गरी सोधिहाल्छन्–कम्युनिस्ट नेतृत्वको सरकार भएर पनि बहुमत जनताको पक्षमा काम गरेर नेतृत्व र देशप्रति उच्च सम्मान पाउने काम किन नगरेको ?
            अनि त्यस्तै नेतृत्वको व्यक्तिपिच्छेको स्वभाव पस्किएर फलाना यस्तो उस्तो भन्दै हामी भक्तिगान गाउँछौँ । जहाँ कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकार छ, त्यहाँ नेताहरू मनलाग्दी जथाभावी बोल्दै हिँड्दैनन् । तर नेपालमा पार्टी बोलेको हो कि व्यक्ति बोलेको केही अत्तो पत्तो लाग्दैन । भन्दा पार्टीको केन्द्रीय सदस्य हो तर उसको विचार न पार्टीको हुन्छ न त ऊ आफैँको ।
            यस्तो भूगोल त संविधानसभामा संविधान बनाउने बेलामा सांसदहरूले प्रस्तुत गरेका सङ्घीयताको नक्साबाटै प्रस्ट हुन्छ । कुन नेताको कुन कुरा ठीक हो भन्ने जनताले ठम्याउन नसकिने व्यक्तिपिच्छेको भनाइ र गराइले पनि पार्टीभित्र ठूलो सड्ढट आउँछ । किनभने पार्टीको कुरा जुनसुकै नेताले बोलेको भए पनि एउटै हुनुपर्छ तर, व्यक्तिअनुसारको बोली र व्यवहार प्रस्तुत भएपछि उक्त पार्टीमा सड्ढट नआए, उक्त पार्टीमा दुर्घटना नभए अन्त कतै हुँदैन ।
            पार्टी र पार्टी सदस्यले गलत गरेको, चुनावमा गरेको प्रतिबद्धताअनुसार काम नगरेपछि भएको आलोचनालाई विरोधका लागि गरिएको विरोध, विकासमा छलाङ मारेको, भएको राम्रो कामलाई दुष्प्रचार गरेको भनेर आफ्नो घुँडामा आफै बञ्चरो हान्छन् भने केही भन्नु छैन । तर, एक पटक सोच्नुपर्छ–सडक कालोपत्रे बनाउने, बिजुली बत्तीको विस्तार गर्ने र शक्ति र पहुँचको भरमा पद, पैसा र अधिकार अनि सुविधा पाउन र दिलाएको भन्ने कुरालाई विकासको गति मान्ने हो भने कम्युनिस्ट नै बन्नुपर्छ नै भन्ने छैन । यसरी अन्धभक्त भएर कसैको भक्तिगान गाएर थुङ्से, डोको हुँदै उदाङ्गिसकेको नेतृत्वको हरेक गल्तिहरूलाई घुलुम्न पारेर ढाकिरहनु आफू र भावि सन्ततिको भविष्यमा बञ्चरो प्रहार गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *