भर्खरै :

मल्ल युद्धमा सरदारहरू

            नेकपाभित्रका सरदारहरूबीचको मल्ल युद्ध चालू छ । मल्ल युद्धको क्रममा आफू चेपुवामा पर्दै गएसँगै केपी ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो नम्बरको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । घटनाक्रमले नेकपाका सरदारहरूबीचको झगडा पदकै लागि भएको पुष्टि गर्दै छ । पद, पैसा र शक्तिको लेनदेन मिलेको दिनसम्म नेकपा एक रहनेछ । भागबन्डा नमिलेको दिन नेकपाका सरदारहरू सबै आ–आफ्नो दफ्फा लिएर आ–आफ्नो बाटो लाग्नेछन् । नेकपाका सरदारहरूले गर्ने राजनीतिक सिद्धान्त र आदर्शका व्याख्यान कुरुप मल्ल युद्ध ढाक्ने पर्दामात्र हो । खासमा नेकपाभित्र विचार, सिद्धान्त र आदर्शका कुराले कुनै माने राख्दैन ।
            संसार आज विश्वयुद्धभन्दा खतरानाक विपत्ति सामना गरिरहेको छ । नेपाललाई तीनतिरबाट खुला सिमानाले घेरेको भारतमा कोभिड सङ्‍क्रमित र मृतकको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नेपालमै पनि हरेक दिन सङ्‍क्रमितको सङ्ख्या बढिरहेको छ । नेपाली जनता कष्टकर लकडाउन भोगिरहेका छन् । महामारीपछि निश्चितजस्तै बनेको आर्थिक मन्दीले जनता चिन्तित छन् । दैनिक उपभोग्य सामानको मूल्यवृद्धि अनि रित्तिँदो खल्तीले सर्वसाधारणलाई पिरोलेको छ । तर, यस्तो परिस्थितिमा जनताका समस्या समाधान, ‘फ्रन्टलाइन’ मा उभिएर महामारीको प्रतिरोध गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिको हौसला बढाउन र सबैलाई सान्त्वना दिने जिम्मेवारी बोकेका नेकपाका सरदारहरू आपसमा पद र शक्तिको लागि छिनाझम्टी गरिरहेका छन् । योभन्दा कुरुप राजनीति अरु के हुनसक्छ ? के नेकपाका नेताहरू यतिबेला नेपाली जनताको भावनाअनुसार काम गरिरहेका छन् ? जनताले यो दिन देख्न नेकपालाई झन्डै दुईतिहाईको शक्ति दिएको हो ?
            संसारमा लोभीहरू भएसम्म पापीहरूले काम पाउँछन् । आज नेकपाभित्र पद र शक्तिका लोभीहरूको कुनै कमी छैन । चिनी वरपर कमिला जम्मा भएजस्तै नेकपाभित्र लोभी पापी र बद्मास सबै थुप्रिएका छन् । त्यस्ता लोभीहरूलाई लोभमा फसाएर आफ्नो पाप कर्म फत्ते गर्नेहरूको पनि नेकपाभित्र कमी छैन । नेकपाभित्र आज एक जना सरदार पदको लोभ गर्ने अनि अर्को सरदार पदको लोभ देखाएर आफ्नो सत्ता जोगाउने खेल चलिरहेको छ ।
            नेकपाका सरदारहरूको लागि नेपाली जनताको समस्याभन्दा आफ्नो पद र सत्ता प्राथमिक विषय भएको कुरा यो घटनाबाट पुनःपुष्टि भएको छ । कमजोर स्वास्थ्य पूर्वाधार, लथालिङ शिक्षा, अराजक बजार, कहालीलाग्दो जनजीवन, ओरालोलाग्दो अर्थतन्त्रलाई बेवास्ता गर्दै नेकपाका नेताहरू आज बालुवाटारमा आपसी शक्ति सङ्घर्षमा लागेका छन् । कोभिड–१९ रोकथामको नाममा एकपछि अर्को भ्रष्टाचारका काण्ड उजागर भइरहेका छन् । सत्तासीन दलनिकट मानिसहरू यस्ता भ्रष्टाचार काण्डमा मुछिएका छन् । अनि देश हाँक्ने जिम्मेवारी पाएका सरदारहरू आपसमा मल्ल युद्धमा लागेका छन् । इतिहासले उनीहरूको यो व्यवहार सदैव याद गर्नेछ । इतिहास पढ्दा जनता आपत्मा परेको बखत आफ्नो स्वार्थको लागि आपसमा घाँटी काट्ने शासकहरूलाई कहिल्यै पनि सकारात्मक रूपमा व्याख्या गरिएको छैन । चुनावताका नेकपाका नेताहरूले देशमा स्थायित्वको लागि जनतासँग मत मागेका थिए । आज तिनै नेताहरू देशमा राजनीतिक अस्थिरताको बिजारोपण गर्दै छन् । यसलाई जनताको विश्वासप्रतिको घात नभने के भन्ने ?
            जनताले शासक दलका यस्ता सबै गतिविधिको मसिनो हिसाब राख्न जरुरी छ । शत्रु र मित्र चिन्ने समय आपत्को समय हो । सुखको बेला साथी बन्न आउने त धेरै होलान् । दुःखको बेला कसले के गर्‍यो भन्ने आधारमा शत्रु र मित्रको निक्र्योल गर्नुपर्छ । आजका शासक दलहरूले नेपाली जनता आपत् परेको बेला घाउमा नुनचुक छर्किने काम गर्दै छन् । त्यसकारण शासक दल र यिनका सरदारहरू जनताका मित्र कदापि हुनसक्दैनन् । कोभिड–१९ ले हामीलाई धेरै पाठ सिकाएको छ । तीमध्ये एउटा महत्वपूर्ण पाठ यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *