युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
प्रत्येक वर्ष मे १ का दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन थालिएको पनि सय वर्षभन्दा बढी भइसकेको छ । श्रम बेचेर खाने मजदुर वर्गको हित नै अन्तर्राष्ट्रिय मजदुर दिवसको मूल मर्म भए तापनि मजदुर दिवस आयोजनाको जिम्मेवारी पाएका कतिपय मजदुर महासङ्घ-सङ्गठन र राजनीतिक दलहरूले त्यसको मूल मर्म नै बिर्सिदिएका छन् । फलतः कतिपय देशमा अन्तर्राष्ट्रिय मजदुर दिवस एउटा औपचारिकता हुन पुगेको छ । नेपालमा पनि त्यसभन्दा तात्विक भिन्नता छैन ।
श्रमिक जनताको हितको ठूलठूला भाषण गर्ने मजदुर महासङ्घहरू नीतिगत परिवर्तन ल्याएर समग्र प्रणालीमै परिवर्तन गर्नेभन्दा केही मानिसलाई दया गर्ने र बाँच्न दिने गैरसरकारी संस्थामा सीमित भएका छन् । त्यस्ता महासङ्घको नेतृत्व पसिना बगाउने श्रमजीवी वर्गबाट नभई श्रमिक र प्रबन्धक वा सरकारबीच मध्यस्थता गर्ने वर्गबाट हुँदा हरेक अवसरमा मजदुर वर्गको हित सजिलै पन्छाइँदै आएको छ । केही प्रतिष्ठानहरूका सङ्गठित क्षेत्रका मजदुरहरूलाई छोडेर अधिकांश असङ्गठित क्षेत्रका मजदुरहरूबिना कुनै सुरक्षा जोखिमपूर्ण काममा घोटिन बाध्य छन् । काम गर्नुपूर्व उनीहरूसित कसैले श्रम करार गर्न आवश्यक ठानेका छैनन् । त्यसैले काम गरिसकेपछि ज्याला माग्न जाँदा कहिल्यै पहिले भनिए जति दरमा ज्याला पाउँदैनन् । कतिपयको हकमा त ज्यालाबापत्को रकम पाउन महिनौँ र वर्षौँ दौड्नुपर्ने हुन्छ । त्यसरी दौडी सकेर आफ्नो ज्याला पाउनसक्ने मजदुरले आफूलाई भाग्यमानी ठान्ने गर्छन् ।
तोकिएको दरभन्दा कममा र भनिएको अवधिभन्दा बढी काम गराउनु त कठित ठेकेदार वा ज्यामी नाइकेहरूको प्रणाली नै भइसकेको छ । त्यस्तो अन्यायको विरोध गर्ने मजदुरहरूलाई गुण्डा वा आसेपासे लगाएर त्यतिखेरै तह लगाइन्छ । श्रमजीवी मजदुरहरूको हितका निम्ति खुलेका मजदुर सङ्घ-महासङ्घहरूको तल्लो या स्थानीय नेतृत्व ती नै ज्यामी नाइके वा ठेकेदारहरू छन् । उनीहरू मे दिवस अर्थात् मजदुर दिवसको भावना र सङ्घर्षको इतिहास मजदुरहरूलाई बताउन जरूरी ठान्दैनन् । आफूलाई काखी च्यापेको राजनीतिक पार्टीको आयोजना वा निर्देशनमा जुलुस र सभा भएमा सहभागीको सङ्ख्या बढाउन यदाकदा मजदुरहरूलाई विभिन्न लोभ देखाएर लाने गर्छन् । यस वर्ष त झन् कोरोना महामारी र सङ्क्रमणको डरका कारण लगाइएको बन्दाबन्दी मजदुर दिवस टार्ने बहाना बनेको छ । श्रमिक जनता भोकभोकै छन्, राम्रो दिन आउने आसमा जसोतसो बाँचिरहेका छन् । मजदुर महासङ्घका नेताहरू राजकीय सुविधामा मस्तले सुरक्षित स्थानमा आइसोलेसनमा बसेका छन् ।
Leave a Reply