भर्खरै :

सरकारजस्तै काम चलाउ हो कि अनलाइन कक्षा पनि !

            विश्वव्यापी कोरोना महामारीको कारण चैत ११ गतेदेखि विश्वविद्यालयसहित सबै तहका शैक्षिक संस्था सरकारले ठप्प बनायो । यो सरकारको निर्णयले परीक्षा दिन तयार भएका विद्यार्थीमात्र होइन, अभिभावकदेखि शिक्षकसम्मलाई अन्योलमा पुर्‍यायो ।  केही विद्यार्थीको परीक्षा स्थगित भयो त केही विद्यार्थीको परीक्षाफल आउन ढिला भइरहेको कारण विद्यार्थीहरू चिन्तामा छन् । यहीबेला सरकारले नयाँशैक्षिक सत्र सुरू गर्नको लागि अनलाइन प्रविधि अपनाउने तयारी गरेको छ । दिनदिनै लकडाउन लम्बिँदै गएपछि सरकारले नयाँशैक्षिक सत्र नबिग्रियोस् भनेर तत्कालका लागि अनलाइन शिक्षणलाई प्राथमिकता दिएको छ । तर अनलाइन वा इन्टरनेटको पहुँचमा कति विद्यार्थीहरू छन् भन्ने व्यवहारिक अध्ययन सरकारले  गरेको छैन । सरकार तत्कालका लागि काम चलाउ अनलाइन शिक्षामा अल्झिएको जस्तो छ । दीर्घकालीन योजनाको रूपमा अगाडि बढाएर यसलाई वैकल्पिक माध्यम बनाउने सोच सरकारको देखिँदैन ।
            अहिले त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा अनलाइन कक्षा सुरू गरेको छ । अनलाइन कक्षा सुन्दा त राम्रो लाग्यो, हामी पनि विभिन्न विकसित मुलुक जसरी अगाडि बढ्न लागेका रहेछौ जस्तो लाग्यो । तर, १० प्रतिशत विद्यार्थीको पनि इन्टरनेट सेवामा पहुँच पुग्न नसकेको देश जहाँ शिक्षा क्षेत्रलाई हेर्ने राज्यको साँघुरो र सङ्कुचित दृष्टिकोण छ । बर्सेनि शैक्षिक सत्र सुरू भएको धेरै समयपछि पाठ्यपुस्तहरू विद्यार्थीसम्म पुग्ननसकेका समाचारहरू गत वर्षसम्म सुनिँदै आएको हो । यसैबीच यो परिस्थितिमा अनलाइन कक्षा सञ्चालन गर्नु आवश्यकता भए तापनि सबै विद्यार्थीको पहँुचमा नपुगेकोतर्फ विचार गरिनुपर्छ । विश्वविद्यालय र विद्यालयले विद्यार्थीको मर्म र बाध्यतालाई बिर्सेका छन् । देशकै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको काँधमा उच्च शिक्षा प्रदानको ठूलो अभिभारा छ । त्रिविको लागि अनलाइन कक्षा सञ्चालन गर्न त्यति सहज छैन । व्यवस्थित अनलाइन कक्षा सञ्चालनको लागि त मुख्य चुनौती त्रिविसँग भौतिक पूर्वाधारहरूको अभाव हो । त्रिविले यसअघि कहिल्यै पनि अनलाइन कक्षा सञ्चालन नगरेको हुनाले त्यसको लागि आवश्यक कुनै प्रविधि र पूर्वाधारको विकास गरेन । त्रिविको पठनपाठन शैली अझै  परम्परागत शैलीबाट उठाउन सकिएको छैन । लामो समयदेखि नोटबुक, चक र डस्टर बोकेर कक्षामा पढाउँदै आएका कतिपय प्रविधि अमैत्री प्राध्यापकको लागि अनलाइन कक्षा असहज विषय हुनसक्छ । त्रिभुवन विश्वविद्यालयका ६० आङ्गिक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पस छन् ।
            ६ अध्ययन संस्थान (इन्जिनियरिङ, कृषि र पशुविज्ञान, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि र  वन विज्ञान), चार सङ्काय (कानुन, व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिकशास्त्र) र चार  वटा अनुसन्धान केन्द्र (आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सीडीईए), नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सीईआर आईडी) हरू छन् । यी सयौँ क्याम्पसहरूमा लाखौँ विद्यार्थीहरू अध्ययरनत छन् ।
            देशमा भइरहेको महामारीको विकराल अवस्थाको कारण विद्यार्थीहरू यो आपत्कालीन समयमा गाउँगाउँमा पुगेका छन् । ती विद्यार्थीहरू अनलाइनको पहुँचबाट बाहिर छन् ।
            विश्वविद्यालय र क्याम्पसमा पढ्ने अधिकांश विद्यार्थीहरू गरिब र किसानका छोरा–छोरी हुन् । उनीहरू विभिन्न दूरदराजका गाउँमा बस्छन् । कतिपय विद्यार्थीको गाउँमा  फोन गर्नसमेत नेटवर्क छैन । त्यस्ता विद्यार्थीको लागि अनलाइन कक्षाको परिकल्पना समेत गर्न सकिँदैन । हो, विश्वविद्यालयले आफ्नो शैक्षिक वर्षको क्यालेन्डरलाई लागू गर्न खोज्नु स्वागतयोग्य कुरा हो । विद्यार्थीको पढाइलाई निरन्तरता दिन खोज्नु कदापि गलत हुनसक्दैन । तर प्रश्न उठ्छ अनलाइन कक्षा सञ्चालन गर्नको लागि विभिन्न पूर्वाधार विकास छ कि छैन ? देशको सबै ठाउँमा बत्ती, तीव्र गतिको इन्टरनेटको व्यवस्था, सबै ठाउँका शिक्षकहरूलाई आईसीटीबारे ज्ञान, स्मार्ट फोन, कम्प्युटर आदि पूर्वाधारको विकास पहिले हुनु आवश्यक छ ।
            विश्वविद्यालयले शिक्षकहरूलाई काम गरेको देखाउन र तलब खुवाउन तथा हामीले यो गरेका छौँ भनी हल्ला गर्नमात्रै विद्युतीय कक्षा सञ्चालन गर्न खोजेको हो वा विद्यार्थीको सिकाइका लागि ? के सबैलाई अनलाइन कक्षाले समेट्न सक्छ त ? के विद्युतीय कक्षा सञ्चालनले विद्यार्थीको मनोबल र मनोविज्ञान उच्च बन्छ ? अहँ, कदापि बन्न सक्दैन । सबैको घरमा विभिन्न किसिमका समस्याहरू छन् । अनि एकातिर गाँस र बासको चिन्ता अर्कोतिर अनलाइन कक्षाको चिन्ता हुँदा यो विद्यार्थीको अहितमा नै हुने देखिन्छ । विश्वविद्यालयले अहिले कक्षा सञ्चालन गर्नु भन्दा जाडो र गर्मी बिदाको बेला पढाओस् । अहिले पढाउने भए पहुँचबाहिरकालाई पछि के–के व्यवस्था गर्ने र कसरी तनावमुक्त गर्ने भन्ने निर्णय पहिले नै गरोस् ।
            त्यसैले विश्वविद्यालयले बिनातयारी हचुवाको भरमा गरिब परिवारका विद्यार्थीहरूलाई नजरअन्दाज गरेर ल्याउन खोजेको विद्युतीय कक्षा विद्यार्थीको लागि अस्वीकार्य नै छ । हाम्रो देश जहाँ ठूलो पानी पर्‍यो भने त दूरदराजका गाउँमा नेटवर्क खोज्न अग्लो ठाउँमा र डाँडामा जानुपर्छ । तथापि लकडाउनको समय बिताउन धौ–धौ परिरहेका टीभी र मोबाइल गेममा समय बिताइरहेका सहरी क्षेत्रका विद्यार्थीको निम्ति भने यो उपयोगी हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *