मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच ‘लेनिन’ को समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् । अघिल्ला अङ्कमा हामीले लेनिनले पत्रिकाको छपाइ र पार्टी स्थापनाको सम्बन्धमा गर्नभएको प्रारम्भिक कामहरूबारे सविस्तार पढ्यौँ ।)
दमनचक्र
पिटर्सवर्गमा एउटा कारखानाको मालिकले बिनाकारण तीनजना मजदुरलाई नोकरीबाट निकाल्यो । फोरम्यानले तिनलाई मन पराउँदैनथ्यो । कारण यत्ति थियो । यस घटनाले कारखानामा असन्तोषको ठूलो लहर फैलियो ।
“हाम्रो कुनै अधिकार छैन ? हामीलाई अधिकार देऊ । हाम्रो रगत चुस्ने फोरम्यान, मुर्दावाद !” मजदुरहरूले माग गरे ।
कारखानामा हडताल भयो । मजदुरहरूले काम गर्न अस्वीकार गरे । कारखाना बन्द भयो । अरू दुई कारखाना पनि ठप्प भए । भोलिपल्ट अन्य ३६० कारखानाका मजदुरहरू पनि हडतालमा सामेल भए । मेसिनहरू बन्द भए । पिटर्सबर्गभरि यसको प्रभाव पर्यो । अब के हुने हो, सबैले प्रतीक्षा गरिरहेका थिए ।
आइतबार । ९ जनवरी, १९०५ । हजारौँ मजदुरहरू सडकमा आए । “जाऔँ, जारसँग न्याय मागौँ,” मजदुरले भनिरहेका थिए । “जार हाम्रा बाबुजस्तै हुन् । उनले हामीलाई भोकै मर्न दिने छैनन् ।”
बोल्शेभिकहरूले सम्झाए – त्यहाँ नजाओ, जारले तिमीहरूको कुरा सुन्ने छैन । तर, मजदुर अघि लम्के । जनताको दुर्दशा कस्तो छ भन्ने जारलाई थाहा छैन भन्ने तिनको सोझो बुझाइ थियो । “थाहा पाएपछि जारले यी बदमास मालिक र फोरम्यानलाई सजाय दिनेछन् । नत्र हाम्रो जीवनै धरापमा पर्छ ।”
जारकहाँ बुझाउन मजदुरहरूले निवेदन लिएर गइरहेका थिए । आइतबार बिहानै पिटर्सवर्गका कुनाकाप्चादेखि मजदुरहरूको जुलुस शीतल दरबारतर्फ लम्किन थाल्यो । सडक र चोकहरूमा मानिसहरूको ताँती लागेको थियो । भीडमा सम्मिलित मानिसहरूले हातमा देवताको मूर्ति र गिर्जाघरका चम्किने झण्डाहरू लिएका थिए । बच्चाबच्ची र महिलाहरू पनि जुलुसमा सामेल थिए । सबैको मनमा विश्वास थियो, आँखामा अनुरोध थियो ।
लौ के हो यो ? चौराहमा बन्दूक हातमा लिएका सिपाहीहरूको फौज तैनाथ थियो । तिनीहरूका अगाडि सेतो पञ्जा लगाएका अफिसरहरू उभिएका थिए ।
त्यसबेला रूसको सुदूर पूर्वी भागमा घमासान लडाइँ भइरहेको थियो । वर्षदिनअघि जापानले रूसमाथि आक्रमण गरेको थियो । रूसी जनरलहरू यस आक्रमणको प्रतिरोध गर्न तयार थिएनन् । फलतः रूसी सेना दिनप्रतिदिन हारिरहेको थियो । हजारौँ सिपाहीहरू सिमानामा मारिइरहेका थिए ।
पिटर्सबर्गमा अहिले भने जारशाही अधिकारीहरूले आफ्नै निहत्था मजदुरहरूविरुद्ध राजधानीभरि फौज तैनाथ गरेका थिए । किन ? के कारणले ?
‘व्यवस्था जोगाउन,’ माता मरियमको प्रतिमा हातमा लिएको एक मजदुरले बडो बुझकीले झैँ भन्यो । “भीडसँग डराएका होलान् ।”
चोकको पारिपट्टि ढुङ्गाले बनेको विशाल शीतल दरबार ठि· उभिएको थियो । त्यसका सयौँ झ्यालहरू मुकदर्शक बनेर हेरिरहेका थिए ।
दरबारअगाडिको प्रा·णमा हिउँ परेको थियो । भयानक अनुहारयुक्त सिपाहीहरूको बाक्लो पङ्क्तिले दरबारको रक्षा गरिरहेको थियो । जनसमूहलाई देखेर अफिसरले हात उठायो । सबै हतियार जनसमूहतिर तेर्सिए ।
“दाजुभाइहरू, हाम्रा सिपाहीहरू, नडराउनुस् !” मजदुरहरू चिच्याए । “हामीहरू तपाईँहरूकै हौँ । जारसँग अनुरोध गर्न मात्र आएका हौँ ।”
“रोक ! भित्र जान निषेध छ ।” अफिसरले चिच्याउँदै आदेश दियो ।
मजदुरहरू क्षणभर असमञ्जसमा परे । तर, पछाडिको भीडले अगाडि धक्का दियो । उनीहरूले सिपाहीहरूलाई देखेका थिएनन् ।
‘प्रभु, जार चिरन्जिवी होऊन् !’ चोक गुञ्जायमान भयो ।
अघिल्लो पङ्क्तिका मजदुरहरूले सेतो रुमाल फहराउन थाले ।
“हामी निहत्था र शान्तिप्रेमी हौँ ! हामी जारसामु निवेदन पेश गर्न चाहन्छौँ !” मजदुरहरू चिच्याए । उनीहरू धार्मिक झण्डा, देवताका मूर्ति र सेता रुमाल फहराउँदै अगाडि बढिरहे ।
“फायर !” अफिसरले आदेश दियो ।
बन्दूकहरू पड्किए । भीडमा करिब २० मजदुरहरू गोलीले तासको घरझैँ ढले ।
“फायर !” अफिसर फेरि चिच्यायो ।
फेरि गोली चल्न थाल्यो ।
“फायर ! फायर ! फायर !”
चोकमा भागदौड मच्चियो । मानिसहरू लुक्नलाई घरका ढोकाहरूतिर भाग्थे । तर, ठहरै हुन्थे । शीतल दरबारअगाडिको मैदान लासैलासले भरियो । त्यसैबेला तरबार नचाउँदै घोडचढी सेना पनि आयो ।
“दाजुभाइहरू ! मारिए ! धिक्कार छ राक्षसका सन्तानहरू !” त्रस्त भीडको चिच्याहटले चोक गुन्जियो ।
“धिक्कार छ ! धिक्कार छ !”
“देख्यौ आफ्नो जारलाई ?” रिसाउँदै एकजना बोल्शेभिक चिच्यायो ।
“यो हो तिमीहरूको जार । खूब विश्वास गथ्र्यौ नि ! कस्तो निदर्यी जन्तुमाथि विश्वास गरेका रहेछौ, देख्यौ !”
मजदुरहरूले बुझे । गोली जारले नै चलाउन लगाएको थियो । जारमाथिको जनताको विश्वास सदाको लागि उड्यो ।
त्यस आइतबारे हत्याकाण्डको दिन पिटर्सबर्गमा एक हजारभन्दा बढी मजदुर मारिए । करिब पाँच हजार घाइते भए ।
साँझसम्ममा पिटर्सबर्गका सडकमा ल्याम्पपोष्ट ढलाएर तगाराहरू लगाइयो । मजदुरहरूले जारशाहीविरुद्ध सङ्घर्षको घोषणा गरे ।
……………
जेनेभाको सिमानामा आर्भा नदीनजिकै कारुझ नामको एक सडक थियो । रूसी प्रवासीहरू त्यसलाई कारुझ्का सडक भन्थे । यस इलाकामा अधिकांश बस्ती उनीहरूकै थियो । यहाँ लेपेशिन्स्की परिवारको एक भोजनालय थियो । लेपेशिन्स्की लोग्नेस्वास्नी दुवैजना साइबेरियामा निर्वासनमा बस्दा लेनिनका साथी बनेका थिए । लेपेशिन्स्की भोजनालय भनेपछि रूसी प्रवासीहरू सबैले चिन्थे । पहिलो तलामा एउटा ठूलो कोठा थियो । साधारण झ्यालको ठाउँमा दुईटा विशेष झ्यालहरू । काठका लामा सफा–सुग्घर कुर्सीहरू । र, कुनामा पियानो । यो भोजनालय मात्र थिएन । बरु एक हिसाबले बोल्शेभिकहरूको क्लब पनि थियो । यहाँ मानिसहरूले व्याख्यान सुन्थे, चेस खेल्थे, राजनीतिक चर्चा गर्थे ।
पिटर्सबर्गको आइतबारे हत्याकाण्डको खबर जेनेभामा पुग्दाबित्तिकै प्रवासीहरू कसैको आमन्त्रणबिना सबै स्वतः लेपेशिन्स्की भोजनालयमा जम्मा भए । सबै मौन थिए । निस्तब्ध र गम्भीर थिए । रूसमा व्यापक र अभूतपूर्व विद्रोह सुरु भएको छ भन्ने बोल्शेभिकहरूले बुझे ।
“घर जानु छ, मातृभूमि फर्कनु छ !” लेनिनले सोचिरहेका थिए ।
कसैले शोकाकुल भाकामा गुन्गुनायो :
तिमी चढ्यौ बलिवेदीमा सङ्घर्षको
अरूले उठीतिमीलाई साथ दिए
निस्वार्थ प्रेम र जनताको मायाले
तिमीले गर्यौ सर्वस्व त्याग
जनसुख र स्वतन्त्रताको निम्ति
धेरैका आँखा रसाए ।
“रूसमा क्रान्ति भइरहेको छ,” भावविह्वल स्वरमा लेनिनले भने ।
क्रान्ति ! कति जोशिलो र प्रिय थियो यो शब्द ! त्यसै साँझ लेनिनले ‘व्यर्योद’
(अगाडि बढ) पत्रिकाको लागि एउटा आह्वानपूर्ण लेख लेखे । यो बोल्शेभिकहरूको नयाँ अखबार थियो । ‘इस्क्रा’ माथि अब मेन्सेभिकहरूले कब्जा जमाएका थिए ।
लेनिनले लेखे, “विद्रोह सुरु भएको छ । बलको जवाफ बलले दिन थालिएको छ । सडकमा लडाइँ भइरहेको छ । तगाराहरू हालिएको छ, गोली र तोपहरू बर्सिरहेका छन्, गर्जिरहेका छन् । रगतका भेल बगिरहेका छन् । स्वाधिनताका निम्ति युद्ध सुरु भएको छ ।”
“क्रान्ति जिन्दावाद !
सर्वहारा विद्रोह जिन्दावाद !”
समुद्रमा रातो झण्डा
गर्मीयाम सकिँदै थियो । एक दिन जेनेभामा उल्यानोभ निवासको घन्टी बज्यो ।
“भोलोद्या, तिमीलाई भेट्न कोही आउनुभएको छ,” क्रुप्सकायाले ढोका खोल्दै भनिन् । एकजना युवक आएका थिए ।
युवकको मुहार गोलो र किशोरहरूको जस्तै निश्छल थियो । कालो आँखीभौँ मुन्तिरका खैरा, उज्याला आँखाले उत्सुकता र आश्चर्यमिश्रित भावले हेरिरहेका थिए ।
“आउनुस्, आउनुस् ! हजुरसँग भेटेर जादै्र खुसी लागिरहेछ,” क्रुप्सकायाले भनिन् र मनमनै सोच्न थालिन् : “कति प्यारो ठिटो हो ! निश्छल र असल छ भन्ने अनुहारमै लेखिएजस्तो । पक्का रूसदेखि नै आएको होला ।”
रूसमा मजदुरहरूका हडताल र प्रदर्शन जारी थिए । जन्मभूमिदेखि बोल्शेभिकहरू लेनिनसँग रायसल्लाह लिन प्रायः आइरहन्थे ।
क्रुप्सकायाको पछिपछि युवक लेनिनको कोठामा पसे । कोठामा पस्नुअघि दैलोनिर उसले सैनिकले झैँ छाती तन्काए ।
“तपाईँ कहाँबाट आउनुभो ?” लेनिनले मुस्कुराउँदै सोधे ।
“म युद्धपोत ‘पोतेम्किन’ को नाविक अफानासी मात्युशेन्को हुँ ।” आगन्तुकले जवाफ फर्काए ।
लेनिनले झ्याप्प अगाडि बढेर जोसिँदै किशोरसँग हात मिलाए ।
“क्रान्तिकारी ‘पोतेम्किन’ का नाविकहरूका नेता ! नाद्युशा, हेर त कति कलिला छन् !…”
आधा घन्टापछि स्पिरिटको चुलोमा कित्ली उम्लिरहेको थियो । टेबलमाथि स्वादिष्ट रोटी र ताजा, पहेँलो दही राखिएको थियो ।
“उम्, भन्नुस्, के भन्न चाहनुहुन्छ,” अतिथिले चिया र रोटी खाएपछि लेनिनले सोधे ।
नाविक अफानासी मात्युशेन्कोले आफ्नो युद्धपोत ‘पोतेम्किन’ को कहानी सुनाउन थाले :
‘पोतेम्किन’ हालसालैबनेको अत्यन्त शक्तिशाली तोपले युक्त सबैभन्दा ठूलो जहाज थियो । त्यसमा सात सय चालीस नाविकले काम गर्थे । त्यसबेला जहाजले सेभास्तोपोल बन्दरगाहमा ल·र हालेको थियो ।
रूसमा जताततै क्रान्तिको ज्वार उठेको थियो । गाउँमा किसान जमिनदारहरूका विरुद्ध उत्रेका थिए । रूस–जापान युद्ध अझै सकिएको थिएन । जापानले जितिरहेको थियो र रूसले एकपछि अर्को लज्जास्पद हार बेहोर्दै थियो । सुसिम्स्की खाडीमा हाम्रो जहाजको एउटा टुकडी नै नष्ट भएको थियो । जारशाही सरकार सङ्कटग्रस्त थियो । जनताले जार निकोलाई द्वितीयलाई घृणा गर्थे ।
युद्धपोत ‘पोतेम्किन’ को कमान्डर एकदमै क्रुर र निर्दयी थियो । क्रान्तिको आगो जहाजमा फैलिन्छ कि भन्ने उसलाई डर थियो । त्यसैले उसले सामरिक अभ्यासको बहानामा युद्धपोतलाई सेभास्तोपोलदेखि टाढा समुद्रमा लिएर गयो । मजदुर हडताल र जुलुस प्रदर्शनहरूदेखि टाढा ।
जहाज समुद्रमै थियो । एकदिन बिहान घन्टी बज्नासाथ सबै नाविक उठे । सबैलाई आ–आफ्ना काममा लगाइयो । नाविकहरूको एक ठूलो समूहलाई डेक धुने काम दिइयो ।
अचानक उनीहरूले माथिल्लो डेकदेखि असह्य गन्ध आइरहेको सुइँको पाए । नाविकहरूमाथि चढ्दा त्यहाँ झुण्ड्याइएका मासुका फिलामा मोटा–मोटा सेता किराहरू चलमलाइरहेको देखे । किराहरू कति धेरै थिए भने मासु नै चलिरहेझैँ प्रतीत हुन्थ्यो । यो दृश्य देखेर नाविकहरूलाई वाकवाकी लाग्यो ।
“ए, यही हो हामीलाई ख्वाउने !”
“हामीले किरा खान्नौँ, अफिसरहरूले नै खाए हुन्छ !”
“को ? अफिसर ? तिनलाई त अलग्गै राशन छ !”
दिउँसोको खाना खाने घन्टी बज्यो । नाविकहरू खाना खाने हलमा जम्मा भए । भान्सेले सुप हाल्यो । त्यसमा पनि किरा तैरिरहेका थिए ।
अनुवाद : माधव अधिकारी
Leave a Reply