युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
काठमाडौँ, २० वैशाख । कुनै देश संसारको अगाडि प्रशंसित र मित्रवत हुनको निम्ति त्यस देशको क्षेत्रफल ठूलो हुनुपर्छ वा जनसङ्ख्या धेरै ठूलो हुनुपर्छ र आर्थिक तथा सैन्यरूपमा शक्तिशाली हुनुपर्छ भन्ने छैन । नेपालजस्तै कम क्षेत्रफल र जनसङ्ख्या भएको पूर्वी र पश्चिमी गोलाद्र्धका दुई देश क्युवा र प्रजग कोरिया सुन्दर र व्यवस्थित छ ।
क्युवा एक समाजवादी देश हो । सन् १९५९–६० मा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा क्रान्ति भएको थियो । अमेरिकी साम्राज्यवादी पिछलग्गू तानाशाहहरूबाट पीडित यो देश व्यापक क्रान्तिकारी जनताको बलमा मुक्त भएको थियो । क्युवा मुक्त भएदेखि अमेरिकी साम्राज्यवादले त्यस देशमा आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । क्युवाली सरकार र जनताले अनेक दुःख–कष्ट सहेर पनि आफ्नो देशलाई आफ्नै खुट्टामा उभ्यायो, तर शत्रुको अगाडि झुकेन । क्युवाको स्वतन्त्रता, सार्वभौमिकता र मुक्तिको निम्ति संसारका सबै न्यायप्रेमी देश र जनताले समर्थन गर्दै आएका छन् ।
जसरी वर्षौँ अगाडि अफ्रिकी देशहरूमा गएर अफ्रिकी जनतालाई जातीय भेदभावको विरोधमा सहयोग गर्न क्युवाली युवाहरू समर्पित भए त्यस्तै इबोला भाइरसको विरोधमा पनि ज्यानको बाजी लगाएर चिकित्सक र स्वास्थ्यकर्मीहरू अफ्रिकी जनताको निःस्वार्थरूपले सेवामा समर्पित भए । त्यस्तै १०–१५ हजार क्युवाली चिकित्सक र स्वास्थ्यकर्मीहरू क्यारिबियाली, ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकहरूमा सेवारत छन् । नेपाललगायत अन्य देशमा पनि भूकम्प पीडित जनतालाई सहयोग गर्न जाडो र गर्मी, पहाड, हिमाल र बगर नभनी कष्टपूर्ण प्रदेशहरूमा गएर स्थानीय जनतासँग काँधमा काँध मिलाएर स्वास्थ्य सेवा र भग्नावशेषलाई पन्छाउने काममा पनि क्युवाली चिकित्सकहरुले सहयोग गरेका थिए ।
आज कोभिड–१९ सँग लड्न क्युवाली चिकित्सक र स्वास्थ्यकर्मीहरू आफ्नो औषधि र उपचार थैली लिएर चीनलगायत एसियाली र युरोपेली महादेशमा सयौँ सङ्ख्यामा सेवामा लागेका छन् – २१ औँ शताब्दीको नयाँ पुस्ताको रूपमा !
आर्थिक र सैन्य शक्तिले मात्तिएका अमेरिकी राष्ट्रपतिले कूटनैतिक सीमाभन्दा बाहिर गएर आफ्नो सर्वोच्च नेतालाई ‘रकेटम्यान’ भनेकोमा प्रजग कोरियाका जनताले राष्ट्रपति ट्रम्पलाई जस्तालाई तस्तैको कहावतअनुसार ‘मूर्ख बुढा’को संज्ञा दिएपछि ट्रम्प ठाउँमा आएका थिए । सिङ्गापुर र भियतनाममा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनसँग समानस्तरमा वार्ता गरे । यसले उत्तर र दक्षिण कोरियाका सरकार र जनतामा राम्रो सन्देश गयो ।
ती घटनाहरूले संसारलाई दुइटा सन्देश दिए । एक, हरेक देश आफ्नो खुट्टामा उभिनुपर्छ र शक्ति राष्ट्र भनेर अहँकारी र आक्रामक देशको अगाडि झुक्नुहुन्न । दुई, हरेक सार्वभौम एसियाली देशले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको निम्ति अरूसँग भिक्षा माग्ने हुने होइन, जनतामा भरपर्नुपर्छ र एसियाली जनता एक हुनुपर्छ ।
तर, आज नेपालको दक्षिणको छिमेकी मित्र देश भारतको दिल्लीका केही विद्युतीय प्रचारमाध्यम बारम्बार कूटनैतिक सीमाभन्दा बाहिर गएर प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनलाई ‘तानाशाही’ र अन्य अनेक शब्दहरूले निन्दा गर्दै छन्, किन ? कूटनैतिक सम्बन्ध भएको एक मित्र देशलाई बिनाकारण अमेरिकी साम्राज्यवादको प्रचारयन्त्र भई मनपरी बोल्नु के भारतजस्तो प्राचीन सभ्यता र संस्कृतिको देशलाई सुहाउँछ ? सहिद भगत सिँहजस्ता साम्राज्यवाद र उपनिवेशवादवरोधी भावनाविपरीत साम्राज्यवादको समर्थन गर्नुको अर्थ ‘जी न्यूज’, ‘एफपी’, ‘आजतक’ जस्ता प्रचारमाध्यमले व्यापक भारतीय जनताको भावना बोक्दैन । ती सञ्चारमाध्यम अमेरिकी साम्राज्यवादका विवादास्पद राष्ट्रपति ट्रम्पको ‘प्रचारयन्त्र’ बन्नु सुहाउने विषय होइन । यस अर्थमा दक्षिणपन्थी र फासीवादी मोदी सरकारका प्रचारयन्त्र पित्पत्रकारिताको संवाहक र साम्राज्यवादका पिट्ठू हुन् ।
आज अमेरिकी वैज्ञानिक र बुद्धिजीवीहरू कोरोना भाइरस (कोभिड–१९) फैलाएको दोष संरा अमेरिका र राष्ट्रपति ट्रम्पलाई दिँदै छन् र ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ गलत हो भनी सबै एकै मुखले ट्रम्पको आलोचना गर्दै छन् । तर, भारतीय जनता पार्टीका समर्थक केही विद्युतीय सञ्चार माध्यमहरू पित्पत्रकारिताका खम्बाहरू हुन् र अमेरिकी साम्राज्यवादका पिछलग्गू हुन् । भारतीय जनताको भावनाविरोधी फासीवादी दृष्टिकोण राख्ने सञ्चारमाध्यमहरुलाई हरेक तटस्थ र असंलग्न भावना स्वीकार्ने एसियाली जनताले विरोध गर्ने छन् ।
Leave a Reply