काठमाडौँ, २० वैशाख । संरा अमेरिकाका राष्ट्रपति ट्रम्पका वैज्ञानिक सल्लाहकार डाक्टर एन्थोनी फाउसीले शारीरिक दूरी कायम नगरी लकडाउन हटाइएमा प्रत्युत्पादक हुने बताएपछि ट्रम्पले उनलाई आफ्नो कोभिड–१९ भाइरस सङ्‍क्रमण कार्यदलबाट हटाए । ट्रम्प जस्तोसुकै विनाश निम्तिए पनि अर्थतन्त्र खुला गर्ने पक्षमा छन् । त्यसरी खुला गरिए सर्वसाधारणमा भाइरस सङ्‍क्रमण बढ्ने खतरा छ ।

            विश्व स्वास्थ्य सङ्ठगनले सुरूमै सबै देशलाई यो भाइरस सङ्‍क्रमण पत्ता लगाउने, सङ्‍क्रमितलाई अलग्ग राख्ने, सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने, बिरामीको उपचार गर्ने र सङ्‍क्रमितसँग सम्पर्क भएकाहरूको खोजी गर्ने एउटा निर्देशिका तयार गरी वितरण गरेको थियो । त्यसबेला चीनबाहिर ८२ जनामात्र सङ्‍क्रमित भेटिएको थियो । त्यो निर्देशिकालाई  पालना नगरिएको हुँदा सङ्‍क्रमण विश्वव्यापी फैलिएको हो । ट्रम्पलाई उनका विज्ञहरूले जनवरीमै १२ पटक सचेत गराएका थिए । ट्रम्पले विश्व स्वास्थ्य स·ठनलाई चीनको पक्ष लिएको आरोप लगाउँदै अहिले यो अन्तर्राष्ट्रिय संस्थालाई अनुदान नदिने घोषणा गरे । चीनको उहानको अस्पतालमा यो भाइरस सङ्‍क्रमित बिरामी अब छैन । डब्लूएचओले उहानका जनताको अथक परिश्रमको प्रशंसा गर्‍यो । के यसलाई पनि ‘चीन केन्द्रित’ भएको आरोप लगाउन मिल्छ ?

            अमेरिकाको रोग रोकथाम औषधिका डाक्टर एवम् भान्डेविल्ट विश्वविद्यालयका प्राध्यापक विलियम चाफनरले रूघाखोकीको मौसमसँगै जनवरी वा त्यस अगाडि नै अमेरिकामा यो भाइरस फैलिएको तर अमेरिकी जनताले चाल नपाएको बताए । सान्टाक्लारामा फेब्रुअरी ६ र १७ मा दुई जना सङ्‍क्रमितको मृत्यु भएको थियो । तर, अमेरिकी डाक्टरले फेब्रुअरी २९ मा मात्र सङ्‍क्रमितको मृत्यु भएको दाबी गर्‍यो । प्रा. विलियमले भाइरस सङ्‍क्रमण घटाउन खोप पत्ता नलागेसम्म शारीरिक दूरीमा बस्ने नै बताए ।

            चीनमा भाइरस सङ्‍क्रमण नियन्त्रण भइरहेको छ । तर, १३१ औँ मई दिवसमा चीन सरकारले जनतालाई मास्क राम्रोसँग लगाउन र भीड नगर्न सचेत गरायो । यसविपरीत ट्रम्प मास्क नलगाउने र छिट्टै लकडाउन हटाउने दाबी गर्दै छन् । यसकारण अमेरिकामा सङ्‍क्रमण बढ्दो छ ।

            चीनको पत्रिका चाइना मर्निङ पोस्टमा नोभेम्वर १७ मै उहानमा २६६ सङ्‍क्रमित भएको समाचार प्रकाशित भएको भनी केही अमेरिकीहरू हल्ला गर्दै छन् । चीनले अक्टोवर १८–२७ को उहानमा सम्पन्न सैनिक खेलकुदमा भाग लिन आएका अमेरिकीहरूबाट यो भाइरस फैलिएको बताएको हो । यसकारण नोभेम्वरमा चीनमा यो भाइरस देखिएको हुनसक्छ । अमेरिकी विज्ञहरूले भनेझैँ चीनमा यो भाइरस ठम्याउन गार्‍हो भएकै हो । यसकारण ट्रम्पले नै विश्वका जनतालाई सत्य खोलेर भन्नुपर्छ र चीनलाई आरोप लगाउन छोड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *