भर्खरै :

अनलाइन कक्षा:अवसर र चुनौती

            कोभिड–१९ को महामारीका कारण विश्वभरका अधिकांश देशका नागरिकहरू बन्दाबन्दीमा छन् । कोभिड–१९ बाट करिब ३३ लाख ४० हजारभन्दा बढी मानिसहरू सङ्‍क्रमित भएका छन् भने २ लाख ३० हजार जतिको ज्यान लिइसकेको छ । अधिकांश देशका सरकारहरूले कोभिड–१९ सङ्‍क्रमणलाई फैलिन नदिन अस्थायीरूपमा सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरे । युनेस्कोको पछिल्लो तथ्याङ्कअनुसार बन्दाबन्दीका कारण १८६ देशका करिब १ अरब ३० करोड विद्यार्थीहरू प्रभावित भएका छन् । तथ्याङ्कलाई आधार मान्दा नेपालका करिब ८८ लाख विद्यार्थी महामारीको असरका कारण घरमै बस्न बाध्य छन् ।
            शिक्षा क्षेत्रमा कोभिड–१९ ले पारेको असरका कारण धेरै देशहरूले विद्यार्थीहरूलाई अनलाइन  रेडियो र टेलिभिजनमार्फत कक्षाहरू सञ्चालन गर्दै आइरहेका छन् । नेपालमा पनि केही विश्वविद्यालय, कलेज, स्कूलहरू र भक्तपुर नगरपालिकाले टेलिभिजन र अनलाइनको सहायताबाट अध्यापन गरिराखेका छन् । नेपालमा अनलाइन कक्षा सञ्चालनार्थ विशेषतः शययm । जुम (Zoom), गुगल मिट (Google Meet), माइक्रोसफ्ट टीम्स (Microsoft Team), गुगल क्लास रुम (Google Classroom) लगायतका प्लेटफर्महरू (Platform) हरूको प्रयोग बढ्दो छ । महामारीकै कारण Zoom प्लेटफर्मको प्रयोगकर्ताहरूको सङ्ख्या दिनमा १ करोडबाट २० करोड पुगेको बताइन्छ ।
के हो अनलाइन शिक्षा ?
            इन्टरनेटको माध्यमबाट विद्यार्थीहरूले घरमै कम्प्युटर वा ल्यापटप वा स्मार्ट फोनको प्रयोग गरी शिक्षा प्राप्त गर्ने प्रक्रियालाई अनलाइन कक्षा भनिन्छ । सन् १९९२ मा वल्र्ड वाइड वेब (World Wide Web) को विकासपश्चात् अनलाइन कक्षाको अवधारणामा व्यापकता बढ्न थाल्यो । अनलाइन कक्षाले नयाँ अध्यापन विधिको उदय भयो । त्यसो त प्रविधिगतरूपमा अनलाइन सिकाइ नौलो भए पनि यो शताब्दी अगाडिदेखि नै सुरु भएको दूर शिक्षा (Distance Learning) को आधुनिक संस्करण मान्नुपर्छ । १९ औँ शताब्दीतिर विश्वविद्यालय र कलेज ज्ञान सम्भव नभएका विद्यार्थीहरूलाई हुलाकबाट पाठ्य सामग्री पठाउने चलनबाट दूर शिक्षाको सुरुआत भएको मानिन्छ । सन् १९१९ मा विस्कोन्सिन (Wisconsin) विश्वविद्यालयका प्राध्यापकहरूले शैक्षिक कार्यक्रम प्रसारित गर्न प्रयोग गरेको रेडियो स्टेसन र सन् १९३० मा टीभीको आविष्कारपछि टीभीमार्फत हुने पढाइ (Tele Course) दूर शिक्षाको निरन्तरता थियो ।
            जब सन् १९६९ मा प्याकेट स्विचि· नेटवर्क (एक प्रकारको एक कम्प्युटर र सुदूरमा रहेको कम्प्युटरबीच सञ्चार स्थापित गर्ने विधि) को आविष्कारपछि १९७० बाट शिक्षामा कम्प्युटर नेटवर्कको प्रयोग भयो । इमेलमार्फत शैक्षिक सूचनाहरू एक अर्काबीच आदानप्रदान हुनथाल्यो । सन् १९६८ देखि क्यालिफोर्निया भर्चुअल विश्वविद्यालय न्यु योर्क विश्वविद्यालयलगायतले पूर्णरूपमा अनलाइन कक्षा सञ्चालन गरिएको देखिन्छ ।
            आजकाल असिन्क्रोनस (Asynchrunous) र सिन्क्रोनस (Synchronous) गरी दुई अनलाइन सिकाइका विधिहरू प्रचलित छन् । असिन्क्रोनसमा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरू एकै साथ अनलाइनमा उपस्थित हुनु आवश्यक छैन । यसमा विद्यार्थीहरूले आफूलाई अनुकूल समय र आफ्नै गतिमा अनलाइनमा उपलब्ध पाठ्यसामग्री अध्ययन गर्न सकिन्छ । त्यसैगरी सिन्क्रोनस प्रणालीमा  शिक्षक र विद्यार्थीहरू दुवै एकै साथ अनलाइनमा हुन जरुरी छ । शिक्षकले भिडियो कन्फेरेन्सिङ्ग (Vedio Conferencing) मार्फत विद्यार्थीहरूलाई अध्यापन गराइन्छ । यसमा शिक्षक र विद्यार्थीहरूबीच अन्तरक्रियात्मक तवरले अध्ययन–अध्यापन गर्न सकिन्छ । असिन्क्रोनस विधि तुलनात्मकरूपमा सिन्क्रोनसभन्दा अलि लचिलो सिकाइ विधि हो ।
के अनलाइन कक्षा भौतिक कक्षा (Classroom Based learning) को विकल्प हो ?
            अनलाइन सिकाइ र परम्परागत सिकाइ (Classroom Based Learning) का आफ्नै विशेषता र सीमितता छन् । सूचना, सञ्चार र प्रविधि (ICT) को तीव्रतर विकाससँगै अनलाइनका माध्यमबाट हुने अध्ययन–अध्यापनको अभ्यास बढ्दो छ । अनलाइन सिकाइमा आबद्ध भएका विद्यार्थीहरूको सङ्ख्या यकिन गर्न जटिल भए पनि हार्वड विश्वविद्यालयमा विगत ३७७ वर्षमा उपस्थित भएका वास्तविक विद्यार्थीभन्दा एक वर्षमा हार्वड अनलाइन कक्षामा आबद्ध हुने सङ्ख्या अधिक रहेको फ्युचर प्रोफेसन (Future Profession) पुस्तकमा लेखक Richard Susskind ले उल्लेख गरेका छन् ।
            भौतिकरूपमा कक्षामा उपस्थित नभई संसारको जुनसुकै क्षेत्रमा रहेका व्यक्तिले आफूले चाहेको जुनसुकै विश्वविद्यालय-कलेजमा अध्ययन गर्नसक्ने वातावरण जुनसुकै स्थानबाट असीमित विद्यार्थीहरूको सहभागिताबाट अध्यापन गराउन सम्भव भएको र आफ्नो पेशा सँगसँगै इच्छुक व्यक्तिले उच्च शिक्षा हासिल गर्नसक्ने लचिल्लोपनाका कारण यसको व्यापकता बढ्दै गइरहेको छ ।
            हुन त अनलाइन सिकाइले हालको अध्यापन विधिको परिदृश्यलाई परिवर्तित रूप दिए पनि Times Higher Education (THE) ले सन् २०१८ मा ४५ देशका २०० प्रतिष्ठित विश्वविद्यालयका नेतृत्वकर्ताहरूसँग गरिएको सर्वेक्षणमा २४ प्रतिशतले मात्र अनलाइन संस्करण परम्परागत कलेजमा आधारित पढाइभन्दा लोकप्रिय मानेको छ । अनलाइन उच्च शिक्षा कहिले पनि वास्तविक एवम् भौतिक शिक्षा बराबर नहुने ती नेतृत्वकर्ताहरूको जोडदार निष्कर्ष रह्यो । धेरै विज्ञहरू यो विधि सबै प्रकृतिका वा तहका विद्यार्थीहरूको लागि उपयुक्त नहुने बताउँछन् ।
कोभिड१९ र अनलाइन कक्षा
            कोभिड–१९ संसारभरकै शैक्षिक संस्थाहरूलाई शैक्षिक क्षेत्रमा अल्पकालीन समयको लागि नवीनतम उपाय खोज्न उत्प्रेरक बनेको छ । कोभिड–१९ को महामारीले शैक्षिक संस्थाहरूलाई अनलाइन कक्षातर्फ जबरजस्त धकेलेको छ । तर, धेरै संस्थाहरूका निम्ति यो नौलो अवधारणा हो । महामारीले संसारका ९० प्रतिशत विद्यार्थीहरूलाई प्रभाव पारेको बताइन्छ । बन्दाबन्दीमा विभिन्न देशहरूले अनुकूलताका आधारमा रेडियो प्रसारण, टीभी कार्यक्रम र अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको छ ।
            नेपालमा बन्दबन्दीका कारण पूर्वप्राथमिक तह, प्राथमिक, माध्यमिक र विश्वविद्यालय तहका क्रमशः ९,५८,१२७,  २४,६६,५७०,  ३४,६३,७६३  र  ४,०४,७१८ विद्यार्थीहरू स्कूल-कलेज जान नपाई घरमै बस्न बाध्य भएको अवस्थामा नेपाल सरकारको तर्फबाट यो समयमा कुन–कुन तहका विद्यार्थीहरूलाई कुन–कुन विधि र प्रक्रियाबाट अध्ययन-अध्यापनको वातावरण बनाउन सकिन्छ भन्नेतर्फ कुनै योजना बनाउने प्रयास भएको देखिँदैन ।
            नेपालका केही विश्वविद्यालय कलेज र स्कूलहरूले सीमित कार्यक्रम र तहका विद्यार्थीहरू लक्षित अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् भने केही महँगा स्कूलहरूले स्कूले विद्यार्थीहरूलाई विभिन्न प्लेटफर्मको उपयोग गरी गतिविधिहरू र गृहकार्य दिई व्यस्त बनाएका छन् । पूर्वतयारी विनै प्रि नर्सरी, नर्सरी, १, २ र ३ कक्षामा अध्ययनरत साना नानीहरूलाई अनलाइन कक्षा कतिको उत्पादनमूलक होला या नहोला, उनीहरूलाई कस्तो मनोवैज्ञानिक असर पर्ला भन्ने निक्र्योलविना सञ्चालित अनलाइन कक्षा एक प्रकारको लहडबाजी र देखावटीमात्र हुनेछ । यसले झन् अराजकता सृजना गर्दछ ।
अनलाइन शिक्षाका चुनौतीहरू
             Abai Kazakh National Pedagogical University का  Tenlik Dalayeva का अनुसार अनलाइन सिकाइको मुख्य उद्देश्य भनेको सिकाइ प्रक्रियामा सहभागी सम्पूर्णलाई उपलब्ध स्रोत र प्रविधिको समान पहुँच पुर्‍याउनु हो । यदि प्रविधिको अभावका कारण अनलाइन कक्षाहरूले अब शिक्षामा विभेद निम्याउनेछ । बिल गेट्सले भनेजस्तै विशेषगरी कम आय भएका अभिभावकका छोराछोरीहरूका लागि अनलाइन कक्षा उपलब्ध नहुनसक्छ । किनकि उनीहरूसँग अनलाइन जोडिनका लागि आवश्यक उपकरणहरू नहुनसक्छ । यसले शिक्षामा ठूलो असमानता ल्याउनेछ ।
            NTA को पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ७२ प्रतिशतसँग ब्रोडव्यान्ड सुविधा रहेको छ । १७ प्रतिशतसँग मात्र ब्रोडव्यान्ड र वाइफाइ सुविधा छ भने ५५ प्रतिशत मानिसले मोवाइलमार्फत इन्टरनेट चलाउँछन् । २०६८ को जनगणनाअनुसार ८ प्रतिशत घरहरूसँग मात्र कम्प्युटर रहेको छ । यो तथ्याङ्कले हामी अनलाइन कक्षामा जान साँच्चिकै तयार भयौँ कि भएनौँ भन्नेमा निष्कर्षमा पुग्न सहयोग गर्छ त ? उत्तर सहज छ गर्दैन । इन्टरनेटको सुविधा पनि सहरी र अर्धसहरी क्षेत्रमा मात्र सीमित छ । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका विद्यार्थीहरूले डाटा प्याकेट र ब्रोडक्यान्ड सर्भिस किन्न समर्थ हुँदैन ?
            सहरी क्षेत्रमै पनि सामुदायिक विद्यालय र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा इन्टरनेटको अभावका कारण अनलाइन कक्षामा सहभागी हुन नसक्ने हुन्छ । सहरी क्षेत्र र ग्रामीण भेग त्यसैगरी सामुदायिक र निजीबीचको डिजिटल विभाजन फराकिलो भएको समयमा त्यसलाई घटाउन नसके अझ असमानताको खाडल बढ्ने निश्चित छ ।
            नेपालमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन योसम्बन्धी नीतिहरू, कार्यविधि र अध्यापन विधिको स्पष्ट आवश्यकता छ । जुन हाम्रोमा ठूलो अभाव छ । सरकारले सर्वप्रथम सबै स्कूल र कलेजहरूमा भरपर्दाे र सुलभ सूचना, सञ्चार र प्रविधि (ICT) को पूर्वाधार पुर्‍याउनुपर्छ । अनलाइन कक्षा सञ्चालनका लागि दक्ष जनशक्ति तयार पार्नु झन् टड्कारो आवश्यकता छ ।
            अन्तमा, कोभिड–१९ ले सम्पूर्ण शिक्षण संस्थाहरूमा आईसीटीलाई पाठ्यक्रममा समावेश गराउन घच्घच्याएको छ । यदि हामीले राम्रो नीति निर्माणसँगै त्यसको कार्यान्वयन गर्नसक्यौँ भने डिजिटल असमानतालाई साँघुरो बनाउन सक्छौँ । संसारमा अनलाइन कक्षा प्रायःजसो धेरै देशमा विश्वविद्यालयस्तरमा प्रचलित छ । नेपालको सन्दर्भमा दुर्गम र सहरी क्षेत्रका विद्यार्थीसरह गुणस्तरीय शिक्षा प्रदान गर्न अनलाइन कक्षा महत्वपूर्ण माध्यम बनाउनुपर्छ । त्यसका लागि दुर्गम क्षेत्रका विद्यालयहरूमा व्यवस्थित कार्य योजनासहित आईसीटीको पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *