भर्खरै :

लकडाउनको पीडा

  • बैशाख २०, २०७७
  • तुलसी ग्वाछा
  • विशेष

            वीरबहादुर चार दिन हिँडेर बल्ल आफ्नो जन्म गाउँमा पाइला टेक्न पाएपछि सन्तोषको सास फेर्‍यो । टाढैबाट उही ढुङ्गा र माटोले बनेको पुरानो घर देख्दा मन प्रफुल्ल भयो । परिवारले उसको प्रतिक्षा गरिरहेका थिए । घर पुग्नेबित्तिकै पिँढीमै थचक्क बस्यो । जुत्ता पनि फाटेको रहेछ । खुट्टामा घाउ भएजस्तो छ । रगत बगिरहेको छ । आमाले हतपत भित्र गएर एक गिलास दूध र खानेकुरा ल्याउनुभयो । छोराको हातमा दिँदै भन्नुभयो, “छोरा, तिमी थाकेर आएका छौ । तिमीलाई धेरै भोक लाग्योहोला । पहिला यो खाजा खानू, अनि कुरा गर्ने ल ।” वीरेले मनमनै,  भन्यो । “मेरी आमाले मेरो मनको कुरा कति चाँडै बुझ्नुभएको होला । आखिर आमा न हो । सन्तानको पीडा बुझ्नेरहेछ ।” धेरै दिनपछि आमाको हातबाट मीठो खाजा खान पाउँदा ऊ साह्रै खुसी भयो ।
            खाजापछि वीरेले आफूले भोगेका दुःख सुनाउन थाल्यो, “आमा, सहरमा गाउँमा जस्तो नहुनेरहेछ । गाउँमा घर टाढा भए पनि मन नजिक हुन्छ । सहरमा घर नजिक भए पनि मन टाढा हुनेरहेछ । सहरमा आफ्नो पाखुरा बलियो छउञ्जेल काम दिन्छ । पैसा दिन्छ । काम गर्न नसकेपछि वास्ता गर्दैनन् ।
            आमा, कोरोना भाइरसले जात, भाषा, धर्म, क्षेत्र, महिला पुरुष, धनी गरीब, सानो ठूलो कसैलाई पनि बाँकी नराखी आक्रमण गरेपछि सबै मानिस डराए । यो रोगको औषधि पनि छैन । त्यसैले यो रोगबाट बच्न र बचाउनको लागि अरु देशमा जस्तै हाम्रो देशमा पनि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो । एक हप्ता जति निर्माण कार्य भयो । पछि सामान नभएकोले काम पनि रोकियो । ठेकेदारले लकडाउन लामो होलाजस्तो छ भनी थोरै पैसा दियो । घर जाउ भन्यो । तैपनि लकडाउन खोल्ला कि भनेर केही दिन बसियो । हाम्रो देशमा पनि सङ्‍क्रमितको सङ्ख्या बढेकोले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्यायो । खल्तीमा पैसा कम भयो । कोठामा रासन सकियो । घरबेटीले कोठा भाडा माग्यो । गाडी चलेन । अनि रामबहादुर र म हिँडेरै आफ्नो घर आएको । बाटोमा खर्च गर्दागर्दै पैसा सक्यो । झोलामा खानेकुरा सक्यो । भोकभोकै हिँडियो । हिँड्दाहिँड्दै थाकियो । थाक्दाथाक्दै हिँडियो । बाटोमा कसैले मायाले खानेकुरा दिए, कसैले दिएनन् । भोकै हिँडियो । राति कसैले बास दिए, कसैले दिएनन् । खुला आकाशमुनि सुतियो । आमा, समाजमा सबै मानिस उस्तै नहुनेरहेछ । कोही दयालु हुन्छ त कोही निर्दयी । कोही सहयोगी हुन्छ त कोही स्वार्थी हुँदारहेछन् ।”
            वीरबहादुरको मार्मिक कुरा सुनेर परिवारका सबै सदस्यहरुको आँखा रसायो । छोराको हृदयस्पर्शी कुरा सुनेपछि आँसु पुछ्दै आमाले भन्नुभयो, “वीरेका बाबा, अस्ति न चुनावमा भोट माग्न आउँदा हामी जित्यो भने खाने लाउने सबै व्यवस्था गरिदिन्छौँ। भनेको होइन र ? भोट हामीले दिएकै हो । चुनाव पनि जितेकै हो । कम्युनिस्ट सरकार बनेकै हो । खोइ त वचन ? यो राजनीति पनि कस्तो कस्तो ? बुझिनसक्नु छ । यस्तो दुःखको बेला खान नपाएकाहरुलाई राहत दिए पो !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *