भर्खरै :

कोरोना भाइरसको महामारीमा अमेरिकी शासकहरूको बदनियत

 गत डिसेम्बरमा चीनको उहानमा देखापरेको कोरोना भाइरसको उत्पत्तिबारे चीन र संरा अमेरिकाबीच सुरुदेखि विवाद रहँदै आएको छ । संरा अमेरिकाले उहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आरोप लगाइरहेको छ भने चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । यसअघि युरोपेली सङ्घले पनि कोरोनाको उत्पत्तिलाई लिएर चीनको आलोचनासहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, पछि उसले सो प्रतिवेदनमा चीनको आलोचना हटायो । उता संरा अमेरिकी राजनीतिक शासकवर्ग चीनको उहान प्रयोगशालामा कोरोना भाइरस बनाएको आफ्नो अडानमा कायमै छ । तर, अमेरिकी गुप्तचर समूहहरूले कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस ‘मानव निर्मित’ वा ‘आनुवंशिकरूपमा परिवर्तन गरिएको’ नभएको ठहर गरेका छन् । कोरोना भाइरसको महामारीबाट संरा अमेरिका आफै सबैभन्दा बढी प्रभावित बनेपछि अमेरिकी शासकहरू जसरी पनि चीनलाई दोषी ठहर गर्ने र क्षतिपूर्ति तिर्न लगाउने वा क्षति पु¥याउने सोचमा पुगेका छन् । तिनीहरूको उक्त बदनियतको खुलासा अमेरिकी सञ्चारमाध्यमले नै गरिसकेका छन् । सर्वसाधारण अमेरिकी जनता भने अन्योलमा छन् ।
कोरोना भाइरसको उत्पत्तिबारे ट्रम्प ठीक कि गुप्तचर निकाय ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भएको पत्रकार सम्मेलनमा उहान प्रयोगशालामा कोरोना भाइरस बनेको प्रमाण आफूसँग रहेको दाबी गरे । राष्ट्रपति ट्रम्पको दाबी र अमेरिकाको गुप्तचर एजेन्सीको भनाइ भिन्न छ । गुप्तचर एजेन्सीले बिहीबार नै कोरोना भाइरस प्रयोगशालामा बनेको कुनै प्रमाण नभेटिएको स्पष्ट पारेको छ ।
राष्ट्रपति ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको दाबी गरे जबकि अमेरिकी गुप्तचर अधिकारीहरूले भने कोरोना भाइरस मानव निर्मित वा आनुवांशिकरूपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको देखिएको बताएका छन् ।
यूएस इन्टेलिजेन्स कम्युनिटी (यूएसआईसी) ले भाइरस मानव निर्मित नरहेको बताएको हो । यद्यपि, यसको उद्गम थलो वा उत्पत्ति कहाँ भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको बताइएको छ । कम्युनिटीले उपलब्ध प्रमाण र वैज्ञानिक सहमतिका हिसाबले कोरोना भाइरस कुनै प्रयोगशालामा आनुवांशिक परिवर्तन गरी नबनाइएको जनाएको छ । आफूहरूले भाइरसको सङ्क्रमण मानवमा जनावर हुँदै आएको वा प्रयोगशालामा भएको दुर्घटनाका कारण फैलिएको भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
मे २ तारिखसम्ममा कोरोना भाइरसका कारण साढे ३४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २ लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै कोरोना भाइरसबाट ६७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
ट्रम्पको दाबीको आधार के ?
बिहीबार ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा पत्रकारले ट्रम्पसित “उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोरोना भाइरस पैदा भएको भनेर भन्नसक्ने कुनै आधार देख्नुभएको छ ?” भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफमा उनले भने, “हो, मैले देखेको छु । मलाई लाग्छ विश्व स्वास्थ्य सङ्गठनलाई चीनको जनसम्पर्क संस्थाको रूपमा काम गरेकोमा लज्जाबोध हुनुपर्ने हो ।” तर यसबारे अझै प्रस्टरूपमा जवाफ दिन गरिएको आग्रहमा उनले भने, “म तपार्इँलाई भन्न सक्दिनँ । मलाई यो भन्ने अनुमति छैन ।” ट्रम्पले पत्रकारसँगको कुराकानीमा भने, “चाहे चीनले गल्ती ग¥यो या गल्तीका रूपमा सुरु भयो र फेरि त्यसपछि पनि अन्य गल्ती ग¥यो या जानीबुझीकन गरेको हो ? म अझै ठम्याउन सकिरहेको छैन कि मानिसलाई चीनको बाँकी क्षेत्रमा जान दिइएन तर बाँकी देशहरूमा जान दिइयो । यो निकै दुःखद हो । यो उनीहरूका लागि कठिन प्रश्न हो र यसको जवाफ दिनुपर्छ ।”
बिहीबार न्युयोर्क टाइम्सले ह्वाइट हाउसका अधिकारीहरूले गुप्तचर एजेन्सीलाई उहान रिसर्च ल्याबबाट कोरोना भाइरस बाहिर आए÷नआएको जाँच गर्न आग्रह गरेको समाचार प्रकाशित गरेको थियो । एक जना अधिकारीले आफ्नो नाम नबताउने सर्तमा चीन र डब्लुएचओले पहिले कोरोना भाइरसबारे जानकारी लुकाए वा नलुकाएको अनुसन्धान गर्न पनि निर्देशन दिएको थियो ।
चीनप्रतिको पूर्वाग्रह र घरेलु राजनीतिमा आफ्ना पासा माथि राख्ने दाउपेचबाहेक ट्रम्पको दावीको कुनै आधार भने छैन । कोरोना भाइरसबारे सूचना नलुकाएको बरु चीन र डब्लुएचओले सुरुमै विश्वका सबै देशलाई आवश्यक सतर्कता अपनाउन सूचना दिएको विगत चार महिनाको अन्तर्राष्ट्रिय समाचारका नियमित पाठक सबैलाई जानकारी नै छ । चीनको उहान सहर र हुपै प्रान्त कोरोना भाइरसको सङ्क्रमणले प्रताडित हुँदा चीनले सारा चीनमा लकडाउन गरेर हुपै प्रान्तमा सघन तवरले भाइरस उन्मूलन कार्य दुई महिनासम्म चलाएको थियो । चीनले आफ्नो देशमा गरेको लकडाउनलाई संरा अमेरिकी र पश्चिमा शासकहरूले चिनियाँ जनताको मानवअधिकारमाथि गम्भीर नियन्त्रण र प्रहार भनी दुष्प्रचार गरेका थिए ।
नेसनल इन्टेलिजेन्सको भनाइ
निकै बिरलै हुने घटनाको रूपमा बिहीबार नै अमेरिकी गुप्तचर समन्वय निकाय – नेसनल इन्टेलिजेन्सका निर्देशकको कार्यालयले वक्तव्य जारी ग¥यो । नेसनल इन्टेलिजेन्सले अमेरिकी गुप्तचर संस्थाहरूमाथि निगरानी र नियन्त्रण राख्दछ ।
नेसनल इन्टेलिजेन्सको वक्तव्यमा भनिएको छ, “युएस नेसनल इन्टेलिजेन्स कोरोना भाइरसको उत्पत्तिबारे वैज्ञानिकको रायमा सहमति जनाउँछ । अमेरिकाको एजेन्सी भाइरसको बारेमा आइरहेका सूचना र गुप्तचर जानकारीको जाँच राखिरहनेछ । जसले कोरोना भाइरसको उत्पत्ति जनावरको सम्पर्कमा आएर भयो या उहानको ल्याबमा कुनै दुर्घटनाकाका कारण यस्तो भयो भन्ने पत्ता लगाउने कोसिस गरिरहेको छ ।”
अमेरिकी एजेन्सीका तर्फबाट ‘षड्यन्त्र सिद्धान्त’का विषयमा पहिलोपटक प्रतिक्रिया आएको हो । संरा अमेरिकासहित केही देशमा कोरोना भाइरस जैविक हतियार भएको चर्चा चल्ने गरेको छ । यसलाई षड्यन्त्रको सिद्धान्त भनिँदै आएको छ ।
कोरोना भाइरस बारेको ‘षड्यन्त्र सिद्धान्त’ लाई लिएर अमेरिकी निकायहरूबाट बिहीबार पहिलोपटक यस्तो भनाइ आएको हो । त्यसले यो भाइरस मानवनिर्मित हो भन्ने सिद्धान्तलाई खारेज गरिदिएको छ । प्रयोगशाला परीक्षणका क्रममा असावधानीवश कोरोना भाइरस मानिसको सम्पर्कमा पुगेको थियो भन्ने सिद्धान्त अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन । बरु कोरोना भाइरस चीनको उहानमा फैलिनुभन्दा महिनौँ अगाडि नै संरा अमेरिकाका हवाईलगायत विभिन्न राज्यमा ‘छिटफुटरूपमा’ देखापरेको थियो भन्ने दाबीसहितका समाचारहरू आइरहेका छन् । संरा अमेरिकामा ‘छिटफुटरूपमा’ देखापरेको उक्त सङ्क्रमणका कारण संरा अमेरिकामा त्यतिबेला नै ‘सामान्य रुघाखोकीका कारण’ २० हजारभन्दा बढीको ज्यान गएको अमेरिकी सरकारी निकायकै तथ्याङ्कले पुष्टि गर्छ ।
‘‘अमेरिकाले गत फेबु्रअरी र मार्चको सुरुको सम्पूर्ण समय बर्बाद ग¥यो । यो मानिसका कारण उत्पन्न भएको कोरोना भाइरसको त्रासदी हो ।’’ मे एकका दिन अन्तर्राष्ट्रिय चिकित्सा पत्रिका ‘द लान्सेन्ट’ का प्रधान सम्पादक रिचार्ड होर्टोनले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा बताउनुभएको थियो ।
होर्टोनको विचारमा अमेरिकाका केही राजनीतिज्ञहरूले आफ्नो जिम्मेवारी वहन गर्न छोडेर चीनमाथि जिम्मेवारी पन्छाएका छन् तर महामारीको प्रतिरोध क्षेत्रमा संरा अमेरिकाको अभिनयको सिंहावलोकन गर्दा यस्तो नतिजा प्राप्त गरिएको छ । केही अमेरिकी राजनीतिज्ञको गल्तीका कारण महामारी अमेरिकामा तीव्ररूपमा फैलिएको हो र विश्वमा फैलिनका लागि गति प्रदान गरिएको हो । महामारीको क्षेत्र सिमानाविहीन हुन्छ । अमेरिकाको निर्णायक तहको गल्ती र महामारीलाई राजनीतिकरण गर्ने प्रयासका कारण अमेरिकामा सङ्क्रमित बिरामी र मृत्यु भएकाको सङ्ख्या तीव्ररूपमा बढेको हो । यसले विश्व महामारीको रोकथाम तथा नियन्त्रणका लागि ठूलो दबाब बढाएको छ ।
संरा अमेरिका विश्वको महामारीको केन्द्र बनेपछि अमेरिकी राजनीतिज्ञहरूले नीतिको सामञ्जस्यता नगरेका मात्रै होइनन्, जीवन जोगाउने कामसमेत गरेका छैनन् । उनीहरूले कसरी अरूमाथि दोष पन्छाउने योजना गरेका छन् ?
अमेरिकी शासकवर्गको बदनियत
जब कोरोना भाइरसको सङ्क्रमण संरा अमेरिकालगायत पूरै विश्वमा फैलियो, तब अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि दोषारोपण गरी टिप्पणी गर्न सुरु गरे । हुँदाहुँदा गएको बुधबार त उनले ‘चीनले आफूलाई दोस्रोपटक राष्ट्रपति भएको हेर्न नचाहेको र त्यसको लागि चीनले जे पनि गर्नसक्ने’ सम्मका टिप्पणी गरे । उनले त्यसअघि देखि नै चीनले कोरोना भाइरसबारे जानकारी लुकाएको र चीनले चाहेको भए फैलिनबाट रोक्न सक्ने थियो भन्ने आरोप लगाउँदै आएका छन् । ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन –डब्लुएचओविरुद्ध निरन्तर अभिव्यक्ति दिनुका साथै संरा अमेरिकाले उक्त विश्व निकायलाई दिँदै आएको आर्थिक सहयोगसमेत रोक्का गरेका थिए ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विदेशी विशेषज्ञलाई उहानको प्रयोगशालामा जाने अनुमति दिन आग्रह गरेका थिए । उनले चीनका अन्य ल्याबको सुरक्षामाथि समेत प्रश्न उठाएका छन् । यद्यपि, चीन सरकाले सबै आरोप र अमेरिकी प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
संरा अमेरिकाले कोभिड–१९ सङ्क्रमण फैलिनमा चीन जिम्मेवार भएको आरोप लगाउँदै चीनले त्यसको निम्ति क्षतिपूर्ति तिर्नुपर्ने अनौठो दाबी गर्दैआएको छ । संरा अमेरिकी शासकहरू चीनमाथि दोषारोपण गरेर एकातिर कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्नमा आफू असफल भएको तथ्यलाई ढाकछोप गर्न चाहन्छन् भने अर्कोतिर उदयीमान आर्थिक महाशक्ति चीनलाई ठूलो आर्थिक भार बोकाएर अगाडि बढ्नबाट रोक्न चाहन्छन् । चीनलाई नोक्सान पु¥याउनका लागि मुद्दा हाल्नेदेखि ऋण नतिर्नेसम्मको योजना अमेरिकी शासकहरूको रहेको समाचार प्रकाशित भएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिका चीनलाई आर्थिकरूपमा दण्डित गर्ने तरिकाको खोजीमा रहेको छ ।
पहिले कोरोना भाइरसलाई ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ अमेरिकासम्म आइपुग्न नसक्ने भन्दै खोक्रो दाबी गर्दै आएका अमेरिकी शासकहरू अहिले संरा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेपछि हतास देखिएका छन् । उनीहरू एक नेपाली लोककथामा ठग व्यापारीले आफ्नो आत्महत्यामा सोझा शत्रुहरूलाई फसाएझैँ महामारीको यो अवस्थालाई आफ्नो स्वार्थ रक्षाका लागि प्रयोग गर्न तम्सिएका छन् ।
आधारहीन आरोपबारे चीन सरकारको भनाइ
चिनियाँ विदेशमन्त्रालयले भने ट्रम्प सरकार सङ्कट समाधानमा आफ्नो असफलता लुकाउनका लागि यस्तो गरिरहेको बताएको छ । जनगणतन्त्र चीनले कहिल्यै कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको कसैमाथि हमला नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट पारेको छ । जनवरी ३ देखि नै चीनले निरन्तररूपमा संरा अमेरिकालाई कोरोना भाइरस सङ्क्रमणसित सम्बन्धित सूचना दिँदै आएको हो । जनवरी ४ का दिन चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र–सीडीसीका प्रमुखले आफ्ना अमेरिकी समकक्षीलाई टेलिफोनमार्फत सङ्क्रमणका बारेमा सूचना दिँदै छलफल गरेका थिए । जनवरी २७ का दिन दुवैै देशका स्वास्थ्य निकायका प्रमुखहरूले टेलिफोनमार्फत रोगबारे थप छलफल गरेका थिए । त्यसको तनि दिनपछि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संरा अमेरिकी सरकारलाई रोग सङ्क्रमणबारे थप जानकारी दिँदै स्थलगत निरीक्षणमा जाने विश्व स्वास्थ्य सङ्गठन र चीनका स्वास्थ्य विज्ञहरू रहेको संयुक्त आयोगमा संरा अमेरिकी विज्ञहरूको सहभागिता गराइदिन औपचारिक पत्र पठाएर अनुरोध गरेको थियो । फेब्रुअरीको पहिलो हप्ता संरा अमेरिकी सङ्क्रमक रोग विशेषज्ञहरूसहितको संयुक्त आयोगले चीनको हुपेइमा नौ दिने निरीक्षण भ्रमण गरेको थियो ।
सन् २०२० को सुरुमा कोरोना भाइरस आकस्मिकरूपमा देखापरेको थियो । चीनका सर्वोच्च नेता सी चिन फिङको नेतृत्वमा एक अर्ब चालीस करोड चिनियाँ जनताले एकताबद्ध भएर विश्वका लागि पहिलो रक्षा रेखा खडा गर्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा ठूलो विजय प्राप्त गरेका छन् । यसका साथै चीनले खुला, पारदर्शी, उत्तरदायित्वपूर्ण सिद्धान्त पालना गरेको छ र प्रथम प्रहरमै विश्व स्वास्थ्य सङ्गठनलाई महामारीबारे रिपोर्ट गरेको छ । मार्च महिनादेखि महामारीबारे विश्वमा फैलिएको छ । विश्व सार्वजनिक स्वास्थ्य सुरक्षासामु अभूतपूर्व चुनौती देखापरेको छ । चीनले स्वदेशी महामारीको नियन्त्रण गर्नुका साथै विश्वलाई मद्दत दिँदै स्वास्थ्य सामग्री प्रदान गरेर रोकथाम तथा नियन्त्रण र उपचार अनुभव पनि बाँडेको छ ।
‘विश्व कारखाना’को रूपमा रहेको चीनले महामारीको प्रतिरोध सामग्रीको उत्पादन गरी विभिन्न देशमा महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रत्याभूति उपलब्ध गराउन प्रयास गरिरहेको छ । अर्थतन्त्रको विश्वव्यापीकरणको युगमा कोरोना भाइरस अन्तिम ठूलो आकस्मिक घटना होइन । विश्वको अभूतपूर्व परिवर्तन छनोटमा रहेको मानवले कसरी सामना गर्ने छ त ? यस पटकको महामारीले जवाफ दिएको छ । एकता र सहयोगमार्फत मानवले महामारीको सङ्कटलाई पराजित गर्ने र निरन्तररूपमा अगाडि बढ्ने चीनको इच्छा हो ।
(विभिन्न सञ्चारमाध्यमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *