काठमाडौँ, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांस्कृतिक सम्पदा संरक्षण, आन्तरिक पर्यटनको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा राख्‍नुपर्नेमा जोड दिनुभयो ।

            संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा संसद्मा भएका राजनीतिक दलहरूबीचको छलफलमा सांसद सुवालले काठमाडौँ थः वहीस्थित सार्वजनिक कमलपोखरी मासेर व्यापारिक भवन छायाँ कम्प्लेक्स बनाउनेहरूकै संरक्षणमा सरकार लागेको जनगुनासो राख्‍नुभयो ।

            उहाँले सुर्खेतको काँक्रेविहारको ढुङ्गा सोही विहारमै उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांस्कृतिक सम्पदा संरक्षण कार्य मानव जातिको सभ्यतासँग जोडिएको उल्लेख गर्नुभयो ।

            देशको सन्तुलित विकास गरिएको भए कोभिड – १९ महामारीको सङ्कटमा लाखौँ मानिस सहर छोडेर आ–आफ्नो ठाउँ फर्कनुपर्ने स्थिति नआउने र दुई खर्ब रुपैयाँको काठमाडौँ – बारा द्रुतमार्गको सट्टा बिजुली उत्पादन गरी ग्यास र तेलबाट भइरहेको व्यापारघाटा कम गर्न मद्दत पुग्ने उल्लेख गर्दै सांसद सुवालले बोङा र खोनाको सांस्कृतिक सम्पदा संरक्षण गर्न द्रुतमार्गको योजना खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

            वैदेशिक रोजगारीमा गएका नेपालीले धेरै दुःख पाएको उल्लेख गर्दै सांसद सुवालले सम्बन्धित अधिकारी र म्यानपावर कम्पनीमाथि कारबाही गर्ने र अब उप्रान्त स्वदेशमै रोजगारी दिने योजना सरकारको हुनुपर्नेमा जोड दिनुभयो ।

            सांसद सुवालले कोभिड–१९ को खोप विकास नभएसम्म पर्यटन उद्योग सञ्‍चालन हुने सम्भावना नभएको हुँदा त्यस क्षेत्रका मजदुरलाई वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

            छलफलमा सहभागी अन्य पार्टीका सांसदहरूले बुद्ध हुर्केको तिलौराकोट जगदीशपुर ताल र प्युठानको स्वर्गद्वारीलाई आन्तरिक पर्यटन विस्तारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारी जग्गा फिर्ता लिनुपर्ने

            भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको अर्को छलफलमा सांसद सुवालले देशको सन्तुलित विकास नगरिएको हुँदा सहर बजार र राजमार्ग दायाँबायाँको सार्वजनिक (सरकारी) जग्गा अतिक्रमण भएको उल्लेख गर्दै सुकुमवासी भूमिहीन र अव्यवस्थित बसोबासीको निहुँमा सार्वजनिक (सरकारी) जग्गा वितरण गरी भ्रष्टाचार गर्ने गराउने काम सरकारमार्फत हुन नहुनेतर्फ सचेत गराउनुभयो ।

            उहाँले जोत्‍नेलाई जमिन वितरण गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सडकमा हुँदा जमिन जोत्‍नेको नारा लगाउने नेका र क्रान्तिकारी भूमिसुधारको नारा लगाउने एमाले – माओवादी सत्तामा पुगेपछि मौन रहनु जनताप्रति विश्वासघात भएको उल्लेख गर्नुभयो ।

            सांसद सुवालले गुठी संस्थान वा गुठी प्राधिकरण वा नेपाल ट्रस्टको नाममा सार्वजनिक र सरकारी जग्गामा भवन राखी आर्थिक अनियमितता र घोटाला गर्न दिन नहुने उल्लेख गर्दै ती जग्गा र भवन तत् तत् नगरपालिका र गाउँपालिकालाई हस्तान्तरण गरी स्थानीय जनताको सहभागितामा संस्कृति र पर्व सञ्‍चालनको जिम्मेवारी पनि स्थानीय तहलाई दिनुपर्ने  आवश्यकता औँल्याउनुभयो ।

            उहाँले गुठी संस्थान वा प्राधिकरण वा नेपाल ट्रष्ट खारेज गर्नुपर्ने र स्थानीय जनताको निजी गुठीलाई यथावत राख्‍नुपर्नेमा जोड दिनुभयो ।

            सांसद सुवालले देशको सन्तुलित विकास गर्न र सुकुमवासी भूमिहीन एवम् अव्यवस्थित बसोबासीलाई निरुत्साहित गर्न बसोबास स्थानान्तर गर्न नपाउने ऐन बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

            छलफलमा सहभागी सांसदहरूले काठमाडौँ उपत्यकाभित्र भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको नाममा जग्गा दिन नहुने जमिन राज्यको स्वामित्वमा ल्याउनुपर्ने सहर बजारमा खोलाभित्र घर बनाइएकोले वर्षामा डुबान भएको, टेकुको पुलमुनि टेक्स्टाइल कारखाना बनाउन दिइएको, पुलको सीधै बाटो हुनुपर्नेमा पेट्रोल पम्प राख्‍न दिइएको, काठमाडौँ उपत्यकालगायत अन्य सहरमा घनाढ्य भनी कहलिएकाहरूको एउटा काम जग्गा दलाली भएको लिटिल एन्जेल्स, सिप्रदी, नर्भिक अस्पताललगायतले सार्वजनिक जग्गा खोला अतिक्रमण गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

            श्री पदमाकुमारी अर्यालले खेती गर्न नसकेकाहरूको जग्गा स्थानीय तहमार्फत भूमि व्यवस्था गरी जोत्‍ने किसानलाई बिक्री गराउने र भूउपयोग नक्सा बनाउने सरकारी योजना रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *