“लु सुन संसारको कामदारवर्गको पक्षमा साहित्य लेख्ने एक महान् क्रान्तिकारी साहित्यकार हुन्”
- कार्तिक १७, २०८३
विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रण गर्न विश्वका जनता झैँ नेपाली जनता पनि झण्डै सवा एक महिनादेखि सामाजिक दुरी र भौतिक दुरी कायम राख्दै घरभित्रै रहेको अर्थात् बन्दाबन्दीको सामना गरिरहेको अवस्था छ । त्यही सिलसिलामा मैले पनि यो बन्दाबन्दीभित्रको समयलाई फलदायी बनाउन प्रयास गरेँ ।
एकदिनमा १–२ घण्टा अनलाइनमा बस्ने, दैनिक सरसफाइमा विशेष जोड दिने, रेडियो नेपाल, बीबीसी नेपाली, एफएमलगायतका विविध सञ्चार माधयमहरूबाट अवगत (अपडेट) रहने र आफूसँग भएका पुस्तकहरूमध्ये आफूलाई रूचीकर लागेका पुस्तहरूको अध्ययनलाई अगाडि बढाउने क्रममा ‘जेलका चिठीहरू’ पुस्तक पहिलो रोजाइमा प¥यो र यस्तै बन्यो मेरो दिनचर्या !
विक्रम संवत् २०४५ साल भदौ ५ गते मुलुकमा विनाशकारी भूकम्प आयो । त्यस भूकम्पले देशका विभिन्न भागमा जनधनको क्षति पु¥यायो । भक्तपुर जिल्लामा पुरानो शैलीका इँटाबाट निर्मित पुराना घरहरू भत्किए । यसले भक्तपुरवासीको बिचल्ली हुनपुग्यो ।
पञ्चायती सरकारको तर्फबाट राहत सामग्रीको वितरणमा गरिएको पक्षपातप्रति भूकम्प पीडित जनताले आक्रोश पोखे । तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य कर्ण ह्योजूलाई षड्यन्त्रको गोटी बनाइयो । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले उक्त घटनालाई उपयुक्त अवसरका रूपमा मरिचमानसिंहको सरकार र स्थानीय पञ्चायती प्रतिक्रियावादी तत्व मिलेर त्यो राष्ट्रिय स्तरको षड्यन्त्र रचिएको थियो ।
बर्बरतापूर्ण पञ्चायती कारलारात्रीले नेमकिपामाथि राजनैतिक प्रतिशोध साँध्दै नेमकिपाका ६७ जना नेता तथा कार्यकर्ताहरूलाई ज्यान मुद्दामा फसायो । धेरै जना पक्राउमा परे । सोही क्रममा नेमकिपाका अध्यक्ष रोहितलाई २०४५ भदौ ९ गते पक्राउ गरी काठमाडौँका विभिन्न कारागारमा बन्दी बनाइएको थियो ।
का. रोहितले बन्दी अवधिभर पार्टी सञ्चालनको लागि आवश्यक पर्ने सल्लाह, सुझाव कारागारभित्रबाटै भेटघाट तथा पत्राचारमार्फत गर्नुभएको थियो । सोही क्रममा का. रोहितले आफ्नी जीवन सङ्गिनी शोभा प्रधानलाई चिठीमार्फत आफ्ना भावनाहरू अभिव्यक्त गर्नुभएको थियो । ‘जेलका चिठीहरू’ तिनै भावनाहरूको सङ्गालो हो । पुस्तकमा सोही समयावधिमा प्रहरीको कडा निगरानी, कापी कलमसमेत बन्देज लगाइएको अवस्था, दिनहुँको प्रताडना–बर्बरतापूर्ण यातनापश्चात्का कार्यकर्ताहरूको चित्कार युद्धबन्दीतूल्य व्यवहारबीच कोरिएका पत्राक्षरमा चयन शब्दहरूको मौलिक महत्व झल्केको पाइन्छ । ३०–३१ वर्ष अगाडि शोभा भाउजूको नाउँमा लेखिएका यी चिठीहरू आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।
शोभा भाउजूको अविचलित पारिवारिक एवम् राजनीतिक यात्रा र अथक सङ्घर्षका पछाडि यी चिठीहरूमा उल्लेखित का. रोहितका प्रासङ्गिक उदाहरण एवम् अनुभवका श्रृङ्खला रहेको अनुभव गर्न सकिन्छ । चिठीहरूले उहाँको कर्तव्यप्रतिको निष्ठा र उत्साह जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
भनिन्छ– राजनैतिक जीवनमा ‘जेल जीवन अप्रिय छ तर अनिवार्य छ’ । यहाँ त्यही कथन चरितार्थ भएको पाइन्छ । हुनत बिना कारण, बिना प्रमाण र मानव अधिकारको गम्भीर उल्लङ्घनबाट जेल बस्नु स्वयम् दुःखदायी परिस्थिति हो । यद्यपि, अनुभवका दृष्टिले यो राजनैतिक जीवनोपयोगी छ ।
पुस्तकको अध्ययनले हामी पाठकहरूको पनि मन छुने, ऊर्जा पैदा गर्ने, सङ्घर्षशील भावनाको विकास गर्ने र न्यायपूर्ण सङ्घर्षमा भाग लिने हौसला प्रदान गर्छ ।
चिठीहरूमा का. रोहितले विभिन्न मितिमा पार्टी तथा परिवारजनलाई आफ्नो स्वास्थ्यबारे जानकारी दिनुभएको छ । लेखकले हरेक घटनाको सही विश्लेषण र विवेचना गर्नुभएको छ । यसरी का. रोहितले बन्दी जीवन व्यहोरिरहँदा बन्दी साथीहरूको परिवारसम्म पु¥याइने अनेक झूटा हल्ला, आरोप, लोभलालच र विचलित पार्ने विषयहरूलाई पन्छाएर राजनैतिक भविष्यमाथिको उज्यालो एक सन्देश शोभा भाउजूमार्फत समाजमा सञ्चार गर्ने तत्कालीन एकमात्र भरपर्दो विकल्प चिठी आदानप्रदान पद्धतिलाई सशक्त माध्यमको रूपमा अवलम्बन गर्नुभएको पाइन्छ ।
यो पुस्तक अध्ययन गर्दा अरू धेरै पुस्तक पढेको हुनुपर्ने वा पढ्नुपर्ने, पत्रपत्रिका पढ्नुपर्ने, कथा–कविताको स्मरण हुने त्यसले ज्ञानको क्षितिज फराकिलो हुने विषयमा दुईमत छैन ।
जनताका राजनीतिक र मौलिक हक–अधिकारलाई कुण्ठित पार्ने काममा प्रतिक्रियावादीहरूले अपनाउने दमनका शैलीको स्मरण गर्नु र त्यसबारे नयाँ पुस्तालाई अवगत गराउँदै तिनीहरूविरूद्ध घृणा जगाउँदै सङ्घर्षमा निरन्तर उत्रिरहन उत्साहित गर्ने काममा ‘जेलका चिठीहरू’ पुस्तक महत्वपूर्ण राजनैतिक अस्त्र हो ।
यसमा उल्लेखित विभिन्न मितिमा विभिन्न समयका विविध प्रसङ्गहरू समसामयिक एवम् समयसापेक्ष छन् । यस पुस्तकअन्तर्गतको एउटा चिठीमा शोभा भाउजूलाई सुझाउँदै बालबच्चाको सामाजिकीकरण गर्ने तरिका र त्यसले आम जीवनमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावका बारेमा व्यापक दृष्टिकोणको धरातलमा उभिएर अत्यन्त व्यावहारिक दृष्टान्तहरू प्रस्तुत गर्नुभएको छ । यसले हरेक सफल व्यक्ति ‘हरेक काम फरक किसिमले गर्छन्’ भन्ने कथन सिद्ध भएको छ ।
एक कम्युनिस्ट जेलमा होस् या खुला समाजमा जनताप्रतिको बफादारी, परिवारप्रतिको जिम्मेवारी र उसको मन, विचार एवम् भावनालाई कसैले थुन्न खोजेर थुन्न सक्दैन, ऊ जनतामाझ विविध रूप र शैलीमा पुगिरहन्छ भन्ने अनुभवसिद्ध सन्देश तथा अमिट प्रमाण हो – का. रोहितको ‘जेलका चिठीहरू’ ।
यो पुस्तकको अध्ययनबाट पाठकहरू निकै नै लाभान्वित हुने मेरो ठहर छ ।
Leave a Reply