भर्खरै :

‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा कहिलेसम्म लगाउनुपर्ने ?

भारतीय रक्षामन्त्रीले नेपाली भूमि कालापानी हुँदै लिपुलेकसम्मको सडक उद्घाटन गरेको समाचार एकाएक आयो । लगत्तै सामाजिक सञ्जालहरूमा विरोध र आक्रोशका स्वरहरू गुञ्जिन थाले । सडकमा भारतीय अतिक्रमणविरुद्ध नारा जुलुस हुनथाले । भारतले नेपाली भूमि अतिक्रमण गर्दा होस् या नेपाली भूमिलाई डुबान पर्ने गरी सीमापारि ठूला–ठूला सडक वा नहर बनाउँदा होस् नेपाली जनताले वर्षौंदेखि देशभक्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । सन् १९५० को असमान सन्धिदेखि गणतन्त्रमा आइपुग्दा भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण र हस्तक्षेप गर्न नछोडेपछि देशभक्त नेपाली जनता भूअखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको लागि निरन्तर सङ्घर्षरत छन् ।
म जान्ने हुँदादेखि नै ‘भारतीय सेना कालापानी छोड’ भन्ने नारा सुनेको थिएँ । मलाई याद छ, कालापानीमा भारतीय सेनाले अस्थाई क्याम्प राखेको विरोधमा राती–राती राँके जुलुस भएको थियो । गाउँमा भारतीय दलालको विरोध गर्ने गाउँमा कम्युनिस्टको नाममा एमाले पनि थियो । मलाई पनि राँके जुलुसमा खुब जाउँ–जाउँ लाग्थ्यो । तर, म सानो भएकोले जान दिइँदैनथ्यो । फेरि हाम्रो परिवार सबै काङ्ग्रेस रै’छन् । बाबा ज्यान जाला काङ्ग्रेसको झन्डा बोक्न र रुख चिह्नमा भोट माग्न नछोड्ने । ‘कम्युनिस्टहरू’ ले बाबालाई भारतीय विस्तारवादको दलाल, भ्रष्टाचारी, गुण्डा र फटाहा भन्दै तथानाम गाली गर्ने । हाम्रो घरलाई थुक्दै हिँडेको अनि हाम्रो घरको भित्तामा भारतीय सेना कालापानी छोड, भारतीय दलाल नेपाली काङ्ग्रेस मुर्दावाद भन्दै कोइलाले राती लेखेर छाडेकोे पनि याद हुन्छ ।
अहिले मैले शिशु कक्षाबाट अक्षारम्भ गरी स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको छु । करिब २० वर्षसम्म शिक्षण गरिरहँदा पनि भारतीय सेना कालापानी छोड, लिपुलेक, कालापानी र लिम्पियाधुरा अनि सुस्ता पनि हाम्रै हो भन्दै नारा लगाइरहनुपर्ने बाध्यता तोडिएको छैन । हिजो भारतीय सेनाले कालापानी छोड भनेर नारा लगाएका ‘कम्युनिस्टहरू’ एमालेमात्र होइन, माओवादीहरू पनि पटक–पटक सरकारमा गए । मसाल पनि सरकारमा गयो । तर, भारतीय सेनालाई कालापानी छोडाउन त के दुई देशबीचको सीमा विवाद सुल्झाउन दरो कूटनीतिक पहल पनि गरेको देखिएन । भारतीय शासकहरूसँग आँखा जुधाएर वार्ताको टेबलमा बस्न हिम्मत गरेको देखिएन । जब जब भारतीय अतिक्रमण र हस्तक्षेपको विरोधमा जनता सडकमा आउँछन् अनि लाज जोगाउन कम्युनिस्ट खोल ओढेका यी शासक दलका भ्रातृ सङ्गठनहरू सलबलाउन थाल्छन् । देशभक्तिपूर्ण आन्दोलनमा साँच्चिकै व्यापक जनता सचेततापूर्वक सहभागी हुन जाला भनी आम जनताको आँखामा छारो हाल्न शासक दलका भुराहरूले आन्दोलन गरेजस्तो गर्छन् । शासक दलका नेताहरू नेपाली जनतासामु चर्को चर्को भाषण पनि गर्छन् । अनि औपचारिक सरकारी विज्ञप्तिमा नाम राख्दा सात पुस्ता मन्त्री बन्न नपाउने भयले परराष्ट्र मन्त्रालयको बेनामी विज्ञप्ति निकाल्छन् । हिजो भारतीय सेना कालापानी छोड भन्दै मेरै घरका भित्तामा, हाम्रै गाउँघरका भित्तामा, चौतारीमा, मन्दिरमा, विद्यालयका भित्ताहरूमा लेख्दै, हिँड्ने देशभक्त कम्युनिस्ट भनेको एमालेमात्रै हो भन्दै हिँड्ने हाम्रो गाउँका नेता प्रदीपकुमार ज्ञवाली नै आज पराराष्ट्रमन्त्री भएका छन् । जनताको मत र मन जित्न भारतीय दलालको विरोध गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नै मन्त्रालयको विज्ञप्तिमा हस्ताक्षर गर्ने हुति नभएर अन्तर्राष्ट्रिय प्रचलनमा हस्ताक्षर नभए पनि चल्ने छली भाषा बोलिरहेका छन् । अझै ‘लिपुलेकमा बाटो बनाएको थाहा छैन’ भन्दै भारतीय विस्तारवादका दलालहरूको लाइनमा उभिन गएका छन् ।
कस्तो अचम्म ? मन्त्री पदमा पुगेपछि आफ्नै पदको लगौँटी च्यातिँदा पनि थाहा नहुने ? कस्तो सुताइ हो ? कस्तो रनभुल्लमा परेको हो ? हिजो बुर्जुवा शिक्षाको विरोधमा वर्गसङ्घर्षको नारा दिने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध विद्यार्थीहरूलाई उचाल्ने अनि कम्युनिस्ट आन्दोलनप्रति मोह जगाउने ‘गुल्मीका प्रखर नेता’ भनी चिनाइएका ज्ञवालीले परराष्ट्रमन्त्री हुँदा आफ्नै देश लुटिएको बिर्सने ? कस्तो भुलक्कड ? यो देश र जनताप्रतिको जिम्मेवारी भुल्ने रोग मन्त्री बनेपछि मात्रै लाग्यो कि हिजैदेखि मन्त्री बन्ने आकाङ्क्षाले जनतालाई लौरो बनाउन राती राती जनताको गाउँगोठमा क्रान्तिकारी टोपली हिँडेको हो ? हिजो हाम्रो अगाडि दिएका क्रान्तिकारी वचन र त्याग सत्तामा पुग्ने लिस्नोमात्रै हो ? आफैँले जगाएका जनता र सिकाएका कार्यकर्ताहरूको भावनामाथि यति विघ्न खेलबाड गर्न हुने थिएन । मौकामा धोती बचाउन नसक्नेहरू जनताको अगाडि नाङ्गिदै गएका छन् । सुन हजार चोटि जोखे पनि मान्छे त एक पटक जोखे पुग्छ । कम्युनिस्टको नाममा भोट बटुले पनि यिनीहरू कम्युनिस्ट होइनन्, देशभक्ति होइनन् भन्ने कुरा आफैँले उदाङ्गो पार्दै गएका छन् । अब सचेत जनताले यी नक्कली कम्युनिस्टहरूको असली चरित्र बुझ्नु र बुझाउनु आवश्यक छ ।
कम्युनिस्टको बदनाम गर्नेमा नेकपामा परराष्ट्रमन्त्री ज्ञवालीमात्र होइन, साम्राज्यवाद र विस्तारवादको विरोध गरेजस्तो गर्ने अनि पद र सत्ताको लागि उनैको आशीर्वाद पाउन हानथाप गर्ने धेरै छन् । हिजो विद्यालय–विद्यालयमा विद्यार्थी सङ्गठन गठन गरेर राजनैतिक कक्षाहरूमा देशको समसामयिक विषयमा जानकारी गराइन्थ्यो । लुकी लुकी कम्युनिस्ट आन्दोलनबारे पढाइन्थ्यो । देशप्रेमका नालापानी र सुस्ताको कथा पढाइन्थ्यो । भारतीय विस्तारवाद र एकाधिकार पुँजीको ज्यादतीबारे प्रकाश पारिन्थ्यो । देश र जनताका मुहार फेर्न जोसिलो भाका दिइन्थ्यो । कालापानी बचाउनको लागि ज्यान दिन पनि तयार भएर खुकुरी चम्काउन प्रोत्साहित पारिन्थ्यो । आज प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले त ‘सीमा विवाद मिलाउने विषय पँधेरोमा पानी लिन गएजस्तो सजिलो छैन’ भनी राजपाठ पढाउन पो थालेका छन् । सो¥है आना ठीक हो कि देशको सीमा विवाद मिलाउने कुरा पानी पँधैराजस्तो सरल विषय होइन । यो कठिन काम पार लगाउन इमानदारिता र दृढता दुवै चाहिने होला नि ¤ जुन दुइटै तत्व कम्युनिस्ट नाम गरेको नेकपालगायत नेपाली शासक दलहरूसँग देखिएन । पञ्चायती व्यवस्थापछि आजसम्म क–कसले कति पटक सरकारको नेतृत्व ग¥यो ? देशको सीमा विवाद समाधान गर्न के–के ग¥यो ? अतिक्रमित नेपाली भूमि फिर्ता लिन के कस्तो पहल भयो ? कालापानीबाट भारतीय सेना हटाउन कुन सरकारले ठोस कदम चाल्यो ? एमाले वा माओवादीकै नाममा पनि नेकपा पटक–पटक सरकारमा गइसकेको छ । हालै नेपाली भूमि हडपेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाली विज्ञहरूले तयार पारेको लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्न माग गर्दा प्रधानमन्त्री ओलीले नक्सामात्र छापेर के काम ? यो सरकारले भूमि नै फिर्ता लिएर देखाउँछ भनी फूर्ति लगायो । प्रधानमन्त्री ओलीको फूर्ति पनि लिपुलेक मार्गले फुस्काइदियो ।
अर्धउपनिवेशको रूपमा रहेको नेपालको शासक दलहरूमा देश र जनताप्रतिको जिम्मेवारीबोध छैन । भारतीय विस्तारवाद र एकाधिकार पुँजीको दलालीबाहेक अरू कुनै चिन्तन छैन । कतिबेला देशभक्ति देखिन खोजेको पनि चुनावको बेला जनतालाई थाङ्नामा सुताउनकै लागि रहेछ भन्ने देखियो । यी शासक दलहरूबाट देशमा आमूल परिवर्तन होला वा देशको स्वाभिमान र स्वाधीनता रक्षा होला भनेर कहिल्यै आशा गर्न नहुने भयो । शासक दलका कुनै पनि व्यक्तिको बोलीमा ठेगान छैन । सचेत कामदार जनताले, नयाँ पुस्ताले यी शासक दलहरूको चर्तिकला सूक्ष्म ढङ्गबाट अध्ययन गरिरहेका छन् । दलाल शासक दलहरूले गुलियो पोतिएको विषालु ललिपप दिएर जनतालाई सधैँभरि ठग्न सक्दैन । देशको माटोप्रति इमानदार देशभक्त कामदार जनताले देशको बागडोर सम्हालेपछि जरुर पनि देशको भूअखण्डता, स्वाधीनता र सार्वभौमसत्ता रक्षा हुनेछ । अनि कालापानी लिम्पियाधुरालगायत सबै नेपाली भूमिमा शानदार नेपालको झन्डा फहरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *