‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विदेशी रेमिटेन्सले समेटेको छ । युवाहरूलाई स्वदेशमै राजगारीको व्यवस्था गर्नुपर्ने, स्वदेशमै ठूलाठूला उद्योग, कलकारखाना खोल्नुपर्ने, नेपालभित्रको असीमित जलसम्पदाको उपयोगको लागि दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्ने, आयमूलक जङ्गल बनाएर हजारौँको रोजगारी सृजना गर्नुपर्ने, आधुनिक तथा व्यावसायिक कृषिको विकास गर्नुपर्ने, जल, जमिन र जडिबुटीको वैज्ञानिक उपयोगको नीति लागू गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उल्टै सरकारले वैधानिकरूपमा युवाहरूलाई विदेश पठाउने नीति लिएको छ । सरकारमा रहेका, शक्ति केन्द्र वरिपरि चलखेल गर्ने व्यक्तिहरूले नै वैदेशिक रोजगारका हजारौँ पसल खोलेर बेरोजगार नेपालीबाट ठगेर सहरबजारमा गगनचुम्बी महलहरू खडा गरेका छन् । सरकारले विदेशी मुलुकमा जीवनलाई नै जोखिममा राखेर कमाएको रकमको रेमिटेन्सले मस्ती लिइरहेको छ । तर, दुःख पर्दा साथ दिने न त सरकार देखियो न ती मानव बेचबिखनमा लागेको रोजगारदाता भनिने सङ्घसंस्थाहरू देखिए । नेपाल र नेपालीको हितको लागि खोलिएका नेपाली राजदूतावास पनि कैयौँ देशमा नेपालीको फोन नै नउठाउने, बेवास्ता गर्ने गरेको भेटिए । अधिकांश नेपालीले विदेशमा गएर गर्ने तीन प्रकारका काम हुनेछन् । जसलाई थ्री डी (Three D) पनि भनिन्छ । पहिलो डीको अर्थ डिफिकल्टी हो । उक्त देशका नागरिकले गर्न नचाहने, नसक्ने कठिन काम नेपालीले गर्छन् । सस्तोमा कठिन काम गर्नका लागि नेपाली कामदारको माग हुन्छ । दोस्रो डीको अर्थ डेन्जर हो । धेरै खतरा काम, बढी जोखिमपूर्ण कामको लागि नेपाली कामदारको प्रयोग गरिन्छ । जसबाट कति खेर कसको कसरी मृत्यु हुन्छ कुनै ग्यारेन्टी हँुदैन । न बीमा हुन्छ, न कुनै उपदान वा पेन्सन । तेस्रो डीको अर्थ हो डर्टी । आफ्नो देशका व्यक्तिहरू काम गर्न हिच्किचाउने काम, फोहोरी काम सस्तोमा गर्ने नेपालीहरू धेरै छन् । यसरी दुःख, कष्ट, पीडा, बेदनासँगै आँसु र रगत बगाउँदै देशको लागि, आफ्नो लागि तड्पिरहने वैदेशिक कामदारको लागि किन यो सरकारले गम्भीर चासो लिएको छैन ? यो सरकार कसको हितमा छ ?
विदेशमा नेपाली
कोरोनाले संसारभर लकडाउन भएको कारण लाखौँ नेपाली पराइ देशमा अलपत्र परिरहेका छन् । रोजगार गुमेको छ, खाने गाँस छैन, बस्ने बास छैन, अर्काको मुलुकमा दुःख पीडा सुनिदिने कोही छैन । विदेशमा बस्ने वातावरण छैन भने स्वदेशमा आउने अनुमति छैन । यस्तो अवस्थामा भोक र रोगले अकालमा मर्नेबाहेक अर्को विकल्प नै छैन । सबैभन्दा नजिकैको मुलुक भारतबाट नेपाल आउन नपाएर कैयौँ दिनदेखि हजारौँ नेपाली सिमानामा अलपत्र परेका छन् । २६ दिनदेखि भारतको उत्तर प्रदेशको पलियाको क्वारेन्टिनमा करिब २ सय जना नेपाली अलपत्र छन् । भारतीयहरूले केही सहयोग गरेका छन् तर नेपाल सरकार चुपचाप छ । प्रदेशमा बसेकाको वेदनालाई वैशाख २४ को दिनेस खबर पत्रिकामा लेख्छ ‘भारतको नम्बर देखे सुदूर पश्चिमका मन्त्रीको फोन उठ्दैन, कसलाई पीडा पोख्ने’ भारतको गोवामा हजारौँ नेपाली ४० दिनदेखि अलपत्र छन् । दिनरात विभिन्न सञ्चारमाध्यमबाट पीडा पोखिरहेका छन् तर सुनिदिने कोही छैन । भारतको पिथौरागढमा धेरै दिनदेखि २१४ जना नेपाली अलपत्रमा छन् (हिमाल पोस्ट) । सयौँ दिनसम्म सिमानामा बस्दा पनि नेपालीको सरकारले सुनुवाइ नगर्दा विदेशमा भोकै मर्नुभन्दा नेपालमै मर्ने भन्दै महाकाली नदीबाट पौडेर नेपाल पस्ने युवाको दर्दनाक वेदना सुनिदिने कोही भएन । भारतले आफ्ना तीन लाख नागरिकलाई स्वदेशमा ल्याउँदै छ । तर, नेपालले कहिले सोच्ने ? भारतमा मात्रै लाखौँ नेपाली अलपत्र छन् ।
भारतभन्दा बाहिरी मुलुकमा रहेका नेपालीको पीडा अझै दर्दनाक रहेको छ । दैनिक कोरोनाले आक्रमण गरिरहेको छ । दैनिक मृत्युको शिकार भइरहेको छ । एनआरएनका पुर्वी क्षेत्रीय संयोजक प्रवीण गुरुङका अनुसार मध्यपूर्वका देशहरूमा मात्रै करिब २० लाख नेपाली रहेका छन्, जसमध्ये तत्काल ७० हजार ठूलो सङ्कटमा छन् । जतिसक्दो छिटो उद्धार गर्नुपर्नेछ । नेपालको सरकारी भनाइअनुसार अहिले अलपत्र परेका मलेसियामा ७ हजार, कतारमा पचास हजार, साउदी अर्बमा बीस हजार, संयुक्त अर्ब इमिरेड्समा १२ हजार, कुवेतमा नौ हजार, बहराइनमा तीन हजार, ओमनमा तीन हजारलाई तत्काल ल्याउनुपर्ने अवस्था छ । (मेठ चौतारी दैनिक) । विदेशमा भएका चार लाख (भारतभन्दा बाहिर) नेपालीहरू तुरून्तै स्वदेश फर्कन इच्छुक रहेका छन् । यी केही उदाहरणमात्रै हुन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, बहराइनलगायत विश्वभर नेपाली कोरोनाका कारण सङ्कटमा छन् । बहराइनमा मात्रै करिब २४५ जना नेपाली कोराना सङ्क्रमित भएका छन्, कैयौँको निधन भएको छ । जताततै दुःख, पीडा र वेदना तथा छटपटीका कथाहरूमात्रै छन् प्रवासी नेपालीहरूमा ।
आफूलाई दुईतिहाइको सरकारको धङधङी भएको, कम्युनिस्ट पार्टीको सरकार भन्न रुचाउनेहरू, जनयुद्ध लडेकाहरू, जेल जीवन खाएकाहरू, प्रवासी जीवन बिताएकाहरू भनिएको अहिलेको सरकारले प्रवासिहरूको दुःख र पीडा बुझेका छैनन् । चीनमा डाक्टर पढ्न गएका विद्यार्थीलाई चीन सरकारले सबै सहयोग र सुविधाको जिम्मा लिने भन्दाभन्दै करोडौँ खर्च गरेर ल्याएको सरकारले मजदुरीको लागि परदेशिएका गरिबका छोराछोरीले दुःख पाउँदा कुनै चिन्ता लिएको छैन । लकडाउनको नियम कुल्चिएर मन्त्रीहरूले रातारात बसमा मानिसलाई आ–आफ्नो जिल्लामा पुर्याउन हुने, लाखौँ करोडौँको आर्थिक चलखेल गर्न हुने, कोरोनाको नाममा भित्रभित्र कालोधन्दा तथा आर्थिक अपचलनहरू गर्न हुने तर आफूलाई भोट दिएर सत्तामा पुर्याएका व्यक्तिहरूको दुःख नदेख्ने के जनताको सरकार हुनसक्छ र ? विदेशमा रहेका नेपालीलाई सीधै घरमा नल्याई नियमानुसार तोकिएको सर्त पूरा गर्नेगरी क्वारेन्टिनमा बस्ने व्यवस्था गरी किन आउन नदिने ? घरमा आमाबुबा र छोराछोरी तड्पिनु र प्रदेशमा युवा तड्पिन दिनु लाजमर्दो कुरा हो ।
अबको बाटो के ?
नेपाल र नेपालीको हित चाहने सरकार भइदिएको भए नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र विकसित देशको सूचीमा उभ्याउने सुनौलो अवसर थियो । सत्ताको लागि कुकुरझगडा नगरिकन, सांसद खरिदबिक्रीको घृणित क्रियाकलाप नगरी, काण्डैकाण्डका चुलीहरू नथुपारी नेपाली अर्थतन्त्रमा नयाँ आयाम थप्न सकिने थियो । कृषिप्रधान भनेर चिनिने हाम्रो देशको कृषिलाई व्यावसायिक बनाउने, प्रविधिमैत्री कृषि बनाउने, कृषिमा नवीनतम अभ्यासहरू गरेर विदेशबाट नेपाल फर्कन लागेका युवालाई स्वरोजगारको वातावरण बनाउनु थियो । वन–जङ्गलको वैज्ञानिक प्रयोगको आयमूलक मानव मैत्री जङ्गलहरू बनाउन सकिन्थ्यो । नेपालको जलस्रोतको बहुउपयोग गर्ने नीति ल्याएर विद्युत् उत्पादन, सिंचाइको व्यवस्था मिलाउने काम गरे हजारौँले रोजगार पाउने र देशको अर्थतन्त्र पनि सुदृढ हुने थियो । जडिबुटी तथा अमूल्य खनिजहरूको खोज र अनुसन्धानको अभियान सञ्चालन गर्न सकिने थियो । देशभित्र स्वदेशी पुँजीबाट साना तथा ठूला उद्योगको स्थापना गरिनुपथ्र्यो । भूमिको वैज्ञानिक उपयोगको नीतिले बाँझो जग्गाको उपयोगको नीति ल्याउनुपथ्र्याे ।
शिक्षालाई सीप र श्रमसँग एकाकार गरेर आत्मनिर्भर तथा स्वावलम्बी नागरिक तयार हुने थिए । पढेलेखेका व्यक्ति विदेश जाने नभई स्वदेशमै काम गर्ने वातावरण सृजना गर्नुपथ्र्यो । शिक्षालाई सर्वसुलभ र निःशुल्क बनाएर अनिवार्य देशको सेवामा लाग्ने योग्य, दक्ष नागरिक तयार गर्नुपथ्र्यो । यसैगरी सरकारले वास्तवमा निःस्वार्थरूपले जनताको हित चाहेमा देश विकासका हजारौँ उपायहरू छन् । लाखौँको रोजगारी सृजना हुने बाटाहरू छन् । अब निःस्वार्थ मन भएका सम्पूर्ण नेपालीहरूले देश विकासको लागि सोच्नुपर्ने बेला आएको छ । वास्तविक जनताका सेवकलाई चिन्न सक्नुपर्ने बेला आएको छ । आशा गरौँ, आगामी दिन नेपाल र नेपालीको हितको लागि उपयोगी हुनेछन् ।
Leave a Reply